अन्य

पूर्वाधार बनाएर ‘हाउस पुलिङ’

काठमाडौं महानगरपालिका– १८ स्थित किलागलमा पुराना शैलीका ५४ घर छन् । भूकम्पले क्षति पु-याएपछि टेको लगाएर अडाइएका ती घर न पुनर्निर्माण गरिएको छ, न मान्छेहरू बसोबास नै गर्न सकेका छन्।

स–सानो (आना, पैसा) क्षेत्रफलमा बनेको ती घरको स्वामित्वसमेत दुई वा दुईभन्दा बढी रहेका छन् । जसले गर्दा भाग लगाएर प्राप्त क्षेत्रफलमा घर बनाउन सक्ने अवस्था छैन। यस्तै समस्यालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले पनि भूकम्पलगत्तै उक्त बस्तीलाई हाउस पुलिङ गरेर पुनर्निर्माण गर्ने योजना ल्याएको थियो । लामो समयपछि सोही योजनालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अगाडि बढाउने तयारी थालेको छ।

प्राधिकरणको शुक्रबार बसेको कार्यकारी समितिको बैठकले ऐतिहासिक बस्ती किलाकलको हाउस पुलिङ योजनालाई तत्कालै कार्यान्वयमा ल्याउने निर्णय गरेको हो । यससँगै उपत्यकाभित्रका खोकना, बुङमती, साँखुका परम्परागत बस्तीहरूको पनि पुनर्निर्माण गर्दा हाउस पुलिङको अवधारणा अनुसार नै गरिने भएको छ। यसरी पुराना बस्तीको पुनर्निर्माण गर्दा बस्तीको मौलिक स्वरूपलाई भने परिवर्तन नगर्ने योजना प्राधिकरणको छ।

प्राधिकरणको शुक्रबार बसेको कार्यकारी समितिको बैठकले ऐतिहासिक बस्ती किलाकलको हाउस पुलिङ योजनालाई तत्कालै कार्यान्वयमा ल्याउने निर्णय गरेको हो । यससँगै उपत्यकाभित्रका खोकना, बुङमती, साँखुका परम्परागत बस्तीहरूको पनि पुनर्निर्माण गर्दा हाउस पुलिङको अवधारणा अनुसार नै गरिने भएको छ।

हाउस पुलिङ गर्दा उक्त बस्तीको लागि आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकास लगायतका पूर्वाधारको व्यवस्था प्राधिकरण आफैंले गर्नेछ । ‘बस्तीमा अहिले रहेको सार्वजनिक जग्गाको प्रयोग गर्दै पूर्वाधारको निर्माण प्राधिकरण आफैंले गर्नेछ,’ प्राधिकरणका सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरले भने, ‘घर बनाउने जिम्मा स्थानीयकै हुन्छ भने अन्य जिम्मा स्थानीय तहले गर्नेछ ।’ उनका अनुसार स्थानीय तह अर्थात् काठमाडौं महानगरले दिएको डिजाइन अनुसार घर बनाउनुपर्ने हुन्छ । बस्तीको पुनर्निर्माण भने बढीमा दुई महिनाभित्र गरिनेछ।

‘स्थानीय, काठमाडौं महानगरपालिका र प्राधिकरणबीच एक दुई दिनभित्रै एमओयू हुनेछ,’ मानन्धरले भने, ‘असोजको अन्तिमसम्म भने कार्य अगाडि बढाइनेछ ।’ अन्य ठाउँमा पनि प्राधिकरणको हाउस पुलिङ योजना रहे पनि सुरुवात भने किलागलबाटै गरिने उनले बताए।

महानगरपालिकाले पनि किलागलको हाउस पुलिङ योजना अगाडि बढाउन काम थालिसकेको छ । महानगरले स्थानीयका मागलाई सम्बोधन गरेर अगाडि बढाउने काम गरिरहेको छ।

‘स्थानीयले सहुलियत ऋण उपलब्धता लगायतका मागहरू राखेका छन्,’ महानगर वडा १८ का वडाध्यक्ष न्हुंछेकाजी महर्जनले भने, ‘माग सम्बोधन गर्दै दसैंअघि नै प्रक्रियालाई टुंग्याउने पक्षमा हामी रहेका छौं ।’ उनका अनुसार दसैंलगत्तै स्थलगत रूपमा काम थालिनेछ । काम गर्दा भने लगानी स्थानीयबाटै हुनेछ । महानगरले त्यसको निगरानी गर्नेछ । बस्तीलाई व्यावसायिक ढंगबाट बनाउन लागिएको महर्जनले बताए । केही स्थानीयले भने हाउस पुलिङलाई नबुझ्दा आनकानी गरिरहेका छन् । लगानी जुटाउन नसकिएला भनेर पछि हटिरहेका स्थानीय सबैलाई समेटेर लैजाने उनले बताए । प्राधिकरणले पनि ऐतिहासिक बस्तीको पुनर्निर्माण गर्दा भूकम्पपीडितलाई घर पुनर्निर्माणको लागि ५० हजार रूपैयाँ समेत थप गरेको छ । तीन लाख ५० हजार अनुदानै एकै पटक उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ ।
किलागालमा  अधिकांश घरहरू दुई÷चार पैसादेखि एक आनासम्म ग्गामा बनेका छन् । स्वामित्व समेत एकभन्दा बढीको रहेकाले बस्ती पुनर्निर्माणको विकल्प नै हाउस पुलिङ रहेको अनुमान महानगरको छ।

यस्तो हुन्छ ‘हाउस पुलिङ’
जानकारका अनुसार, खास बस्ती वा क्षेत्रलाई चार किल्ला मानेर त्यहाँका घर भत्काई सुुविधासम्पन्न बस्ती निर्माण गर्ने प्रक्रिया ‘हाउस पुलिङ’ हो । जसमा बाटो फराकिलो बनाउने, सबै सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै बहुतले सामूहिक भवन निर्माण गर्ने गरिन्छ । यसरी निर्मित भवनमा घरधनीलाई तला वा फ्ल्याट दिइन्छ।

‘हाउस पुलिङ’ टुक्रयायाएर स–साना बनेका घडेरी तथा जोखिमयुक्त भवन भएका स्थानमा उपयुक्त हुने कार्यक्रम हो । स–साना घडेरीलाई मिलाएर एउटै अपार्टमेन्ट बनाउने चलन घना बस्तीमा अपनाउने गरिन्छ । यस्तो भवनलाई बहुउद्देश्यीय रूपमा समेत प्रयोग गर्न सकिन्छ । पुराना कलाकौशल, सम्पदा र मौलिकतालाई बचाएर ‘हाउस पुलिङ’ गर्दा पर्यटक प्रवद्र्धनमा समेत सहयोग पुग्छ।

प्रकाशित: १ आश्विन २०७५ ०१:५८ सोमबार

काठमाडौं_महानगरपालिका हाउस_पुलिङ