अन्य

‘चन्द्रागिरि : मेरो पर्यटन नगरी’

मनराजा खत्री, महासचिव, चन्द्रागिरि पर्यटन विकास समाज

केवलकार बनेपछि चन्द्रागिरि डाँडामा पर्यटकीय चहलपहल बढेको छ । काठमाडौंको समग्र चन्द्रागिरि नगरपालिका क्षेत्रमा पर्यटनको संभावना कस्तो छ?
चन्द्रागिरि नगरपालिका धार्मिक, आध्यात्मिक र प्राकृतिक सम्पदाले भरिपूर्ण छ । धार्मिक रुपमा भालेश्वर, मच्छेगाउँ, मातातीर्थ, इन्द्रदह, चन्दन भारतेश्वर, नरनारायण मन्दिर, बिष्णुदेवी मन्दिर लगायत तीर्थस्थल हुन् । त्यस्तै सुन्दर डाँडापाखा भएकाले हाइकिङ, बाइकिङ र साइक्लिङका लागि समेत हाम्रो क्षेत्र उत्तम मानिन्छ।

अन्य पर्यटकीय सम्पदा के के हुन्?
इन्द्रदह माथि कालुपाँडेको समाधिस्थल छ । डाँडाबाट काठमाडौंको सुन्दर दृश्य देखिन्छ । त्यहाँ भ्यू टावर बन्दैछ । स्वीजरल्याण्ड पार्क पिकनिक स्पट हो । संगैको पातले वन क्षेत्र पनि विकेण्ड गन्तव्य बनेको छ । मसिने पनि मनमोहक छ, त्यहाँबाट धादिङ, मकवानपुर र काठमाडौंको दृश्य देखिन्छ । काठमाडौं भ्यालीको सौन्दर्य हेर्न चखेल भञ्ज्याङ छ।

हाम्रो नगरपालिका क्षेत्रको आम्दानीको प्रमुख श्रोत पर्यटन बाहेक अर्को हुन सक्दैन भन्ने बुझेर पर्यटकीय नगर बनाउन हामी संगठित भएका हौं ।

सांस्कृतिक हिसाबले पनि हामी धनी छौं । सातगाउँले जात्रा, किसिपिडि जात्रा, बलम्बु जात्रा, थानकोट जात्रा लगायत थुपै्रै जात्रा यहाँका आकर्षण हुन्।  

आध्यात्मिक पर्यटनको अबस्था के छ?
योग, ध्यान र तन्त्र अध्ययनका लागि चन्द्रागिरिमा पर्यटक आउँछन् । मातातीर्थमा अरविन्द योग आश्रम छ, नैकापमा झाँक्री ज्ञान केन्द्र छ । त्यस्तै मच्छेगाउँमा पनि योगा केन्द्र छन् जहाँ स्वदेशी तथा विदेशी मुग्ध हुन्छन् । हामी चन्द्रागिरिलाई आध्यात्मिक नगरका रुपमा समेत प्रवद्र्धन गर्न चाहन्छौं। 

पर्यटकीय संभावना प्रशस्तै भएता पनि सबैतिर होटल÷रेष्टुँरा लगायत पूर्वाधार बनिसकेको देखिँदैन?
केही ठाउँमा पर्यटकीय सुविधाका होटल, रेष्टुँरा र रिसोर्ट छन् । तर, कतिपय ठाउँमा खुल्न बाँकी छ । हामी स्थानीयलाई त्यस्ता पूर्वाधार विकासमा हौस्याउँदैछौं । साथै खुलिसकेका ठाउँमा आवश्यक तालिम दिलाउनेछौं भने नयाँ होटल, रेष्टुँरा र होमस्टे सञ्चालन गर्नेहरुका लागि पनि तालिम सञ्चालन गर्दैछौं।

तपाइँहरुले भदौ २३ गते ‘राइड टु चन्द्रागिरि’ साइक्लिङ आयोजना गर्नु भयो । यसको सञ्देश के हो?  
हामीले आयोजना गरेको २१ किमि साइक्लिङमा २५० जना भन्दा बढी साइकले सहभागी भए । हाम्रो क्षेत्र साइक्लिङ पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो भन्ने सञ्देश यसले दिएको छ । साथै चन्द्रागिरि क्षेत्रमा धेरै पर्यटकीय सम्पदा छन् भन्ने चिनाउन पनि हामी सफल भयौंल । हामी बर्सेनी यो इभेन्टलाई निरन्तरता दिनेछौं।

चन्द्रागिरि पर्यटन विकास समाजको अबधारणा कसरी आयो?
हाम्रो नगरपालिका क्षेत्रको आम्दानीको श्रोत पर्यटन बाहेक अर्को हुन सक्दैन भन्ने बुझेर पर्यटन विकासमा हातेमालो गर्दै नगरलाई समृद्ध बनाउन हामीले ०७४ सालमा समाज गठन गरेका हौं । हाम्रो नारा नै ‘चन्द्रागिरिः मेरो पर्यटन नगरी’ राखेका छौं । साथै हामी ‘क्लिन एण्ड ग्रिन चन्द्रागिरि’ अभियान चलाउँदैछौं।  

दीगो पर्यटन विकासका लागि तपाइँहरुको योजना के छ?
हाम्रो नगरपालिका क्षेत्रमै पर्यटन विश्वविद्यालय खोल्न हामी लबिङ गरिरहेका छौं । हामी नगरपालिकासँग मिलेर पर्यटन गुरूयोजना बनाउँछौं । तत्कालका लागि चन्द्रागिरि क्षेत्रलाई चिनाउन यस नगरपालिकाका पर्यटकीय सम्पदाहरुको युट्युव भिडियो, ब्रोसर, गाइड बुक, पोष्टर, बुकलेट लगायत सामान उत्पादन गर्नेछौं । र, दीगो पर्यटन विकासका लागि सरोकारवालासँग मिलेर रणनीति बनाउँछौं।

प्रकाशित: ३० भाद्र २०७५ ०६:३९ शनिबार

केवलकार मनराजा_खत्री