अन्य

रानीपोखरीको रुप

२०७२ सालको भूकम्पमा धेरै सांस्कृतिक सम्पदाहरूमा क्षति पुगे । सोही भूकम्पमा रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर पनि भत्कियो । भूकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरूको जीर्णोद्वार, पुनर्निर्माणको जिम्मेवारी बोकेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातत्व विभागको सहयोगमा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट यसै रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको शिलान्यास गराई सांस्कृतिक सम्पदाहरूको जीर्णोद्वार एवं पुनर्निर्माण कार्यको शुभारम्भ गरेको पनि दुई वर्षभन्दा बढी भइसक्यो । तर, पनि रानीपोखरीको उक्त स्मारकको पुनर्निर्माण र त्यहाँ गर्नुपर्ने अन्य सुधार कार्यहरू भने अझै सुरु हुन सकिरहेका छैनन्।

रानीपोखरीका सम्पदा र पोखरीकै स्वरूपबारे पुरातव विभाग, काठमाडौं महानगरपालिका र सम्पदामा चासो राख्ने स्थानीय व्यक्तिहरूबीच केही समयदेखि नै कचकच र मनोमालिन्य सुरु भएको पनि हामीहरूले विभिन्न संचार माध्यमबाट थाहा पायौं । यसै सिलसिलामा गत भदौ १७ गते आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केही वास्तुकलाविद्, पुरातत्वविद्, इतिहासकार र सम्पदामा चासो राख्ने व्यक्तिहरूलाई सम्मिलित गराई रानीपोखरीको स्वरूप अब कस्तो हुनुप¥यो भन्ने विषयमा बृहत छलफलको आयोजना गरेको थियो । उक्त छलफल कार्यक्रममा काठमाडौं महानगरपालिकाले गठन गरेको रानीपोखरी जीर्णोद्वार सम्बन्धी अध्ययन टोलीको प्रतिवेदन पनि उक्त अध्ययन टोलीबाट छोटकरीमा प्रस्तुत गरेको थियो।

उक्त अध्ययन प्रतिवेदनको प्रारम्भमा नै रानीपोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरूप र निर्माण सामग्री प्रयोग गरी पुनःनिर्माण गर्ने सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न पुरातात्व विभागका एक पूर्वमहानिर्देशकको संयोजकत्वमा ११ सदस्यीय विशेषज्ञ समिति गठन गरेको रहेछ । उक्त समितिमा केही राजनीतिक व्यक्तिहरूलाई पनि सल्लाहकार भनी राखेको रहेछ। (हेर्नुस् रानीपोखरी जीर्णोद्वार सम्बन्धी अध्ययन प्रतिवेदन, माघ २०७४)

पोखरीको विस्तृत इतिहासलाई यहाँ नकोट्याउ । इतिहास साक्षी छ, यो पोखरी राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवतिन्द्र मल्लको अल्पायुमा मृत्युपछि उनको सम्झनामा नेपाल सम्वत् ७८९ (वि.सं. १७२५)मा निर्माण गरेका थिए । पोखरीको मध्यभागमा प्रताप मल्लले निर्माण गरेको बालगोपालेश्वर मन्दिरको स्वरूप सायद ग्रन्थकूट शैलीको थियो होला । किनभने ग्रन्थकूट शैली जसलाई शिखर शैली पनि भनिन्छ । उक्त शैलीमा उनले उपत्यकाभित्र धेरै स्मारकहरू वनाएका थिए । वास्तवमा हामीसँग यो मन्दिरको निर्माण यसै शैलीमा भएको थियो भनी किटानका साथ भन्न केही पनि ठोस प्रमाणहरू छैन।

‘उक्त जीर्णोद्वार प्रतिवेदनमा प्रताप मल्लले निर्माण गरेको बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फ प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पुष्टि गर्छ,’ भनी लेखिएको छ ।
(हेर्नुस् प्रतिवेदन पेज २)

साह्रै अचम्म के छ भने त्यस मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको संघार (मैले बुझेसम्म नेवारीमा यसलाई क्वालुखा र अंग्रेजीमा ‘थ्रेसहोल्ड’ भनिन्छ) ले के यो मन्दिरको वास्तुकलात्मक बनोटको विस्तृत नापतौल अनुसारको जानकारी दिन सक्ला ? त्यो सायद असम्भव त नभनौं । तर, त्यसको कुनै सम्भावना नै छैन । यदि केही व्यक्तिहरूले जवर्जस्ती आफ्नै ढिपीमा यी चारवटा ढुंगाको संघारको भरमा यो मन्दिरको ढाँचा तयार ग¥यो भने त्यो पुरापुर काल्पनिक र मौलिक वास्तुकलासँग मिल्दोजुल्दो कदापि हुनै सक्दैन । फेरि उक्त अध्ययन प्रतिवेदनको पेज १० मा ‘चारै तर्फका ढोकाका ठेलो समेत प्राप्त भएको हुँदा सोको आधारमा मन्दिरको विस्तृत विवरण तयार गरी कार्यारम्भ गर्ने...’ भनि लेखिएको छ । त्यो ढोकाको ठेलो भनेको के हो ? त्यो र संघारमा के फरक छ?

उक्त प्रतिवेदनमा अध्ययन टोलीले ‘उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचवाट पनि प्रस्ट हुन्छ । उक्त चित्र ई.सं. १८४५ फेब्रुअरीमा तत्कालीन पर्सिया देशका राजकुमार वाल्र्डमार नेपालमा घुम्न आउँदा उनका साथ आएका कलाकारले बनाएको चित्र हो ।’ भनि उक्त स्केचको तस्बिर पनि प्रतिवेदनको पेज ३ मा छापिएको छ ।  (हेर्नुस् अध्ययन प्रतिवेदन पेज २ र ३)

अब यो स्केचको सत्य तथ्य र इतिहास खोतलेर हेर्दा यो चित्र राजकुमार वाल्र्डमारले सन् १८४५ फेव्रुअरी १ देखि २७ तारिखसम्म नेपालको भ्रमण गरेको थियो । त्यसको ठिक ९ वर्षपछि सन् १८५३ मा मात्र यो चित्र प्रकाशित भएको हो । यो चित्र जुन पेन्सिलले बनाइएको छ, त्यसको साथै अन्य १५ दृश्य चित्रहरू र एउटा नक्साको समेत पेन्सिल स्केच राजकुमारको फोटोसहित कैलाशको भोलम ७, नम्वर १, सन् १९७९ को अंकमा छापिएको छ।

धेरै वर्षदेखि नेपाली वास्तुकलामा सोधखोज गरेर दर्जनौं ग्रन्थहरू प्रकाशित गरी नेपाली वास्तुकला खासगरी काठमाडौं उपत्यकाको वास्तुकलालाई संसारभर प्रसिद्धि दिलाउने प्रसिद्ध जर्मन वास्तुकलाविद् डा. निल्स गुस्चो जसले यी सबै पेन्सिल स्केचहरूको मूल प्रति वर्लिन संग्रहालयमा हेरेका थिए । उनले करीव दुई दशक लगाई नेपाली वास्तुकला विषय शोधखोज गरी सन् २०११ मा प्रकाशित गरेको ‘आर्किटेक्चर अफ नेवार्स : अ हिस्ट्र अफ बिल्डिङ टाइपोलोजिज एन्ड डिटेल्स इन नेपाल’ को ठेली ३ भाग ५ देखि ७ मा ‘द शाह पिरियड’ (१७६९/१९५०) मा लेख्नु भएको छ, ‘यी स्केचहरू न कुनै स्केल (मापन, मान परिमाण) अनुसारको छ, न त यिनीहरूको कुनै विस्तृत विवरण नै छ । यिनीहरू सन् १८५३ मा वर्लिनमा लिथोग्राफिक प्रक्रियाद्वारा मुद्रण गरिएका हुन् । यी स्केचहरू कुनै पनि हालतमा राजकुमार आफैले बनाएको हुँदै होइनन्, राजकुमारका साथ यदि कोही कलाकार पनि नेपाल आएको थियो भने उनको नाम पनि कतै उल्लेख छैन । गुस्चोको भनाई अनुसार यी स्केचहरू कुनै वास्तु कलात्मक विवरण भने होइन । तर, ‘रिमाइन्डरर्स अफ अ बेटर पास्ट’ अर्थात् अतितको मिठो सम्झना हो ।

(हेर्नुस् निल्स गुस्चो, ठेली ३, पेज ११, २५ र ७००) धेरै सम्भव छ र वास्तवमा हुन पनि सक्छ, यी स्केचहरू राजकुमारको टोलीका कुनै कलाकारले पहिले अपरिस्कृत स्केच कोरेर जर्मण फर्केपछि यसमा काल्पनिक दृश्यहरू समेत राखी तयार गरेका थिए । किनभने रानीपोखरीको उत्तर पश्चिमतिरका घरहरू, उत्तरतिरको सानो डाँडा र पोखरीको दिलमा पुरुष बसी कुराकानी गरिरहेको दृश्य सबै काल्पनिक नै हुन् । त्यसरी नै यी सबै १५ वटै स्केचहरूमा धेरै काल्पनिक कुराहरू मिसिएका छन्।

हुन पनि यी स्केचहरू राजकुमारको भ्रमणका बेला सोही ठाउँमा बसी बनाएकाचाहिँ होइनन् । कलाकारले स्केचहरू सम्झनाको भरमा आफ्नो देशमा फर्केपछि बनाएका हुन् । कल्पना र वास्तविकताको मिश्रण भएका यी स्केचहरूलाई कुनै पनि हालतमा कसैले पनि एउटा ठोस र बलियो प्रमाण मान्न मिल्दैन । तसर्थ रानीपोखरीको बालगोपालेश्वर मन्दिरको स्वरूपको सवैभन्दा राम्रो विकल्प चाहिं सन् १९२० तिर चन्द्र शमशेरको समयमा खिचिएको ‘इमेजेज अफ र सेन्चुरी : चेन्जिङ टाउनस्केप अफ काठमाडौं भ्याली’, जिआइजेड, काठमाडौं, १९९५ को पृष्ठ ५४ मा प्रकाशित जंगवहादुरको समयमा निर्माण गरिएको बालगोपोलेश्वर मन्दिरको स्वरुपलाई नै पुनर्जिवन दिनु राम्रो हुन्छ । यही फोटो सन् १८१९ मा नै प्रसिद्ध फोटोग्राफर दीर्घमा चित्रकारले पनि खिचेका थिए । (हेर्नुस् चेन्जिङ फेसेस अफ नेपाल : द ग्लोरी अफ एसियाज पास्ट’, युनेस्को १९९७, पृष्ठ ५४)।

सारंशमा अध्ययन टोलीले यसरी जर्वजस्ती कुनै वैज्ञानिक आधार नभएको अवस्थामा यो मन्दिरलाई प्रताप मल्लकालीन ग्रन्थकूटको शैलीमा नै पुनःनिर्माण गर्नु पर्छ भन्ने तर्कलाई कुनै पनि हालतमा कसैले पनि तर्क संगत मान्न सक्दैन र यो तर्क संगत पनि छैन । अन्तमा पोखरीको पुरानो ढाँचाको सिमान पर्खाल सोही अनुसार निर्माण गर्नु पर्छ । मन्दिरको जग वलियो हुने गरी प्रस्तरको वनाउनु पर्छ किनभने यो भाग पानी भित्र वस्ने हुँनाले यो वलियो हुनु जरुरी छ । मन्दिरमा आवत जावत गर्ने पुल पनि वलियो हुने गरी सवलिकरण गर्नु पर्छ । मन्दिरको प्रागणको चारै कुनामा अवस्थित स–साना मन्दिरहरु र अभिलेखहरुलाई पनि यथास्थानमा राख्नु पर्छ । पोखरीको चारैतिर ढुङ्गाका पेटीहरु वनाउनु पर्छ । मन्दिरको चारैतिरको वगैंचालाई पुनर्जिवन दिनु पर्छ । त्यहाँ भित्र कुनै पनि प्रकारको नयाँ संरचनाहरु र अन्य सौन्दर्यवर्धक गर्न कृतिम वनौटको निर्माण गर्नु हुदैन।

प्रकाशित: ३० भाद्र २०७५ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App