अन्य

उल्झन जिन्दगी

लक्ष्मी घिमिरे

डढेलोले खान्छ वन, क्यैले खान्छ मन ?
गुम्स्याउँदै हिँड्न हुन्न, गाँठी कुरा भन ।
घरघरमा आगो सल्काई पाउनु यहाँ के छ ?
अजम्बरी छैन चोला, जोगाऔँ आफ्नोपन ।।

रिस राग वैरभाव साँच्नु आखिर किन ?
सबै–सबै बन्धुवान्धव सबै आफ्ना जन
मुहारमा खुल्ने सदा मुस्कानको धन
सृष्टि जगत् खुल्छ हाँस्दा आँखा नानी बन ।।

रापताप उल्झनहरु भन्नु नै त जीवन
खाली हात आउनु जानु कल्ले लान्छ धन ?
अट्टालीमा बसी बसी संसार एउटै देख्नेहरू
सक्छौ पूर खाडल जति सही गन्ती गन ।।

यता तान्छन् उता तान्छन् लर्को तानातानको
प्रेम सद्भाव बढाआँै यहाँ नलगाऔँ खटन
मेघ ढाक्छ आसमानलाई कसले रोक्ने यहाँ ?
वर्चस्व नै आफ्नो ठान्ने हटाऔँ सब चलन ।।

पाहुनासरी नै हुन् सब बगैँचाका फूल
नटुक्रियोस् क्यैले मन नदुखोस् है तन
खुले आकाश धर्ती फेरि हराभरा बन्छ
सत्मार्गको खोजी गरौँ त्यागाैं सब जलन ।।  

प्रकाशित: ३० भाद्र २०७५ ०४:५७ शनिबार

कविता