अन्य

चितवनकी ‘चुल्हो दिदी’

सुधारिएको चुल्हो बनाउँदै रत्नकुमारी लम्साल ‘चुल्हो दिदी’। तस्विर : सरिता/नागरिक

चितवन, निलकण्ठ नगरपालिका वडा नं १२ घर भएका रत्नकुमारी लम्साल ‘चुल्हो दिदी’का नामले परिचित छिन्। गाउँका प्रत्येक घर घरमा सुधारिएको चुल्हो बनाएर चुल्हो दिदीको नाम पाएकी लम्साल जिल्लाबाहिर समेत जाने गरेकी छन् । घरघरमा सुधारिएको चुल्हो बनेपछि धुवाँ र प्रदूषण कम भएको देखेर गाउँवासीले मात्र होइन उनलाई चिन्ने हरेकले खुसी हुँदै ‘चुल्हो दिदी’ भनेर बोलाउने गर्छन्।

बिहान सबेरै उठेर हातमा इँटा बनाउने साँचो, चुपी, टेप, र अन्य चुलो बनाउन आवश्यक औजार हातमा बोकेर कहिले आफनो गाउँ त कहिले छिमेकी गाउँ हिँड्नु उनको दैनिकी हो । कतै समूह बैठक र मानिसको जमघट हुने स्थान पाउने बित्तिकै चुलोको फाइदा र महत्वबारे जानकारी दिने गर्छिन् । त्यसैले उनलाई सबैले चुल्हो दिदी भनेर बोलाउने गर्छन् ।  परिवारकी माइली छोरीको रूपमा जन्मेकी रत्नकुमारीले पढ्न पाएनन्।

रत्नकुमारी ४६ वर्ष लागिन् । सुरुसुरुमा उनका सासु, ससुरा र श्रीमानले चुल्हो बनाउन बाहिरीतिर जान दिँदैनथे । जब उनले तालिम लिइन्, चुल्हो बनाउन सिकिन् । तब चुल्हो बनाउन टाढा–टाढा जानुपर्ने भएका कारण घरबाट अनुमति नहुँदा सिकेको सीप त्यतिकै रह्यो । पछि बिस्तारै वरपर, छरछिमेकमा बनाउन थालेपछि श्रीमान तथा घरपरिवार, छरछिमेकीहरूले पनि साथ दिन थाले । अहिले चुल्हो बनाउन जिल्लाको उत्तरी क्षेत्रको लापा, सेर्तुङदेखि दक्षिणी भेगको तसर्पू, नौबिसे, बेनीघाटलगायत ठाउँहरूमा पुगिसकेकी छन् भने नुवाकोट, गोरखा, लमजुङलगायत जिल्लाहरूमा पनि पुग्ने गर्छिन्।

पुरानो प्रविधिको चुल्होमा धेरै धुवाँ हुने र फोहर बढ्ने भएका कारण गाउँघरमा अहिले सुधारिएको चुल्हो प्रयोग गर्न थालेका छन् । दाउरा बचत हुने, खाना छिटो पाक्ने, स्वास्थ्यमा असर नपर्ने, घर फोहोर नहुने, समय बचत हुने, खाना चिसो नहुने आदि कारणले यस्तो चुल्होप्रति महिलाहरूको आकर्षण बढेको रत्नकुमारी बताउँछिन्।

‘यो चुल्हो बनाउन सुरुमा तालिम लिएकी थिएँ,’ रत्नकुमारीले भनिन्, ‘अहिले चुल्हो बनाउन जिल्लाका विभिन्न ठाउँमा र बाहिरी जिल्लाहरूमा पनि जाने गरेकी छु।’

परिवारको आयस्रोत जुटाउने क्रममा २०६० सालमा रत्नकुमारीले स्थानीय साझेदार ग्रामीण आपसी विकासले प्रदान गरेको ८ दिने सुधारिएको चुलो जडान तथा मर्मत सम्भारसम्बन्धी तालिम लिएकी थिइन् । तालिमपश्चात चुलो बनाउने पेशालाई मूल आयस्रोतको रूपमा अँगाल्दै आइरहेकी छन्। गाउँका दिदीबहिनी चुल्हो चौका र घाँस दाउरामा मात्र सीमित भएका बेला उनी गाउँगाउँ डुलेर चुल्हो बनाउने गर्छिन्।

रत्नकुमारीले हालसम्म १३ हजारभन्दा बढि चुलो जडान गरिसकेकी छन् । चुल्हो बनाउने र मर्मत गर्ने काम गरेर रत्नकुमारीले राम्रो आम्दानी गरेकी छन् । ठाउँ र अवस्था हेरी १५० देखि ७०० रूपैयाँसम्म ज्याला लिने गरेको र यसबाट हाल सम्म सात लाखभन्दा बढि कमाइसकेको बताउँछिन्।

चुल्हो बनाएको आम्दानीबाट छोराछोरीको पढाई औषधि उपचार खर्चको रुपमा प्रयोग गर्दै आइरहेकी उनले बताइन् ।
सुधारिएको चुल्होमा खाना पकाउँदा दाउरा कम लाग्ने, खाना चाँडै पाक्ने र धुवाँ कम आउने हुँदा महिलाहरू यसतर्फ आकर्षित बनेका हुन् । ‘गाउँका सबैले सुधारिएको चुल्हो बनाउन थालेका छन्,’ लम्सालले भनिन्, ‘यसले महिलाहरूको स्वास्थ्य र सरसफाइमा राम्रो गरेको छ भने, खानेकुरा स्वादिष्ट समेत हुने गर्छ ।’ सुधारिएको चुल्होमा ६० प्रतिशत दाउरा कम हुुनुका साथै यसले गृहिणीलाई सजिलो बनाएको छ । सुधारिएको चुल्हो पाएपछि महिलाहरु पनि महिला मख्ख पर्ने गरेका छन्।  

गाउँघरमा अहिले पनि दाउराबाटै परम्परागत चुल्होमा खाना पकाइने गरिएको छ । ‘नेपालका धेरै ग्रामीण बस्तीमा धुँवाको मुस्लोको प्रवाह नगरी बिहान बेलुकी भान्छामा घन्टौं काम गर्ने महिला धेरै छन्,’ लम्सालले भनिन्, ‘तीमध्ये कतिपय धुँवाले स्वास्थ्यमा पु¥याउने क्षतिबारे बेखबर छन्, कोही भने धुँवाको मुस्लोले स्वास्थ्यमा असर पार्छ भन्ने जान्दाजान्दै पनि प्रविधिको अभावमा जोखिममा काम गर्न बाध्य छन् ।’ जसले गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा पनि सुधारिएको चुल्हो बनाउनतर्फ जोड दिएको उनले बताइन्।

रत्नकुमारीले धेरै ठाउँमा गएर चुल्हो बनाउने तालिम समेत दिएकी छन् । उनीहरू अहिले सुधारिएको चुल्हो बनाउने तालिममा ज्ञान–सीप सिक्न सक्रिय भएका छन् । परम्परागत चुल्होमा खाना पकाउँदा निकै सास्ती बेहोर्दै आएका महिलाहरू सुधारिएको चुल्होमा खाना पकाउँदा सजिलो हुने बताउँछिन् । आफूले सिकेको सीप र जानेको काम गर्न लाज नमान्ने रत्नकुमारी सुधारिएको चुल्होले महिलाहरूको समय र स्वास्थ्यमा राम्रो भएको बताउँछिन् । ‘धुलोधुवाँ बढि नहुने हुदाँ चुल्होको आकर्षण महिलाहरूमा परेको छ,’ लम्सालले भनिन्, ‘सुधारिएको चुलो जडान गरेपछि भान्छाको काम गर्न निकै सजिलो भएको गाउँका दिदी बहिनीहरुले अनुभव सुनाउने गर्छन्।’

ग्रामीण क्षेत्रका महिलाहरूलाई धुवाँले असर पु¥याएको भन्दै सुधारिएको चुल्हो अनिवार्य बनाउने लक्ष्यअनुरूप अहिले जिल्लाभर सुधारिएको चुल्हो निर्माणमा सहयोग गरिरहेको ग्रामीण आपसी विकास धादिङका कार्यकारी संयोजक शेरबहादुर भण्डारीले बताए । सुधारिएको चुल्होले प्रत्यक्ष रुपमा गृहणीको स्वास्थ्यमा सुधार आएको भणडारीको भनाई छ । चुल्हो निर्माणपछि महिलामा खासगरि श्वास प्रश्वास र आँखासम्बन्धी विभिन्न समस्या र रोगमा कमी आएको छ । यसका साथै, आगलागीका घटनामा समेत उल्लेख्य कमी आएको छ । सुधारिएको चुल्हो निर्माण अभियानलाई प्रभावकारी बनाउन र चुल्हो प्रवद्र्धकलाई तालिमजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ।

भूकम्पअघि जिल्लामा ३२ हजारभन्दा बढी सुधारिएको चुल्हो निर्माण गरिएको थियो । भूकम्पले घरसँगै चुल्हो पनि भत्किएपछि जिल्लालाई धुवामुक्त बनाउने अभियान प्रभावित बनेको भण्डारीले बताए । ‘भूकम्पपछि बनेका चुल्हो पुरियो’, भण्डारीले भने, ‘नयाँ बनेका घरहरुमा पनि सरकारले शौचालय र सोलारप्लान्टसँगै सुधारिएको चुल्हो अनिवार्य गर्न सकिएको भए धुवामुक्त अभियानले सार्थकता पाउने थियो ।’ एकमुखे, दुईमुखे, रकेट, बहुउद्देश्यीय लगायत विभिन्न प्रजातिका चुल्हो बनाउँदै आइरहेको उनले बताए । वातावरणिय दृष्टिकोणले पनि आवश्यक भएकाले सरकारले पनि यसतर्फ चासो दिनुपर्नेमा जोड दिन्छन्।

जिल्लाका ग्रामीण क्षेत्रमा बनाइएका सुधारिएको चुल्होमा कम दाउरामा खाना पाक्ने, धुवाँ नहुने र सजिलो हुने भएकाले अहिले भान्सामा पुरुषले पनि सघाउने गरेको महिलाहरूको भनाइ छ । पुरानो चुल्होमा दाउराको  खपत बढी हुने, धुवाँ बढी हुने र भान्सा कोठा सफा नहुँदा पुरुषको सहभागिता नहुने गरेकोमा सुधारिएको चुल्हो निर्माणपछि पुरुषले खाना पकाउने कार्यमा सहयोग गर्ने गरेको नीलकण्ठ नगरपालिकाकी देवकुमारी श्रेष्ठले बताइन् । ‘धुवाँले अधिकांश महिलामा दम, खोकी, आँखा चिलाउने समस्या थियो’, श्रेष्ठले भनिन्, ‘सुधारिएको चुल्हो प्रयोग गर्नेले अहिले यस्ता समस्या हुन छाडेको छ ।’ उनका अनुसार परम्परागत चुल्हो भन्दा कम धुवाँ आउनु र दाउराको खपत पनि कम हुँदा महिलाको समय तथा खर्च समेत बचत भएको छ।

पहिले माटोको चुलो प्रयोग गर्दा वर्षाको समयमा घरभित्र चुहिने पानीले दिनहुँ चुलो पग्लिने समस्या थियो । एक÷दुई दिन झरी परेको बेला त उनलाई कसरी खाना पकाउने भन्ने चिन्ताले सताउँथ्यो । परम्परागत रुपमा ढुङगा वा फलामे ओदानमा आगो बाल्दा भन्दा सुधारिएको रकेट चुलोमा दाउराको खपत आधा घटेकाले दिनदिनै दाउरा खोज्न जङगल जानुपर्ने बाध्यताबाट पनि मुक्ति पाएको श्रेष्ठले बताइन्।

प्रकाशित: ३० भाद्र २०७५ ०४:२७ शनिबार

चितवन सुधारिएको_चुल्हो