अन्य

स्थानीयले बनाए हराभरा पार्क

चित्र न. १ महाँकाल चोकमा रहेको ज्ञात–अज्ञात सहीद स्मृति उद्यान पार्क। तस्बिर : श्याम राई

बौद्ध–महाँकाल चोकमा रहेको छ, ‘ज्ञात–अज्ञात सहिद पार्क’ । पार्क नेपालका ज्ञात–अज्ञात सहिदको नाममा खुलेको हो । पार्क सुन्दर र आकर्षक छ । सडक ओहोरदोहोर गर्नेहरू पार्कमा केही समय टहलिने गर्छन् । पार्क सञ्चालनमा आएसँगै त्यहाँ मानिसको चहलपहल बढ्दो छ । पार्क आराम तथा भलाकुसारी गर्ने स्थान भएको महाँकालका अनन्त ढुंगानाले बताए । उनका अनुसार पार्कमा साथीभाइसँग आउनेहरू बढी छन्।

‘यहाँ निकै हराभरा छ, ठाउँ–ठाउँमा मेचहरू राखिएका छन्, यहाँ आउनेहरू सहजै बसेर कुराकानी तथा अन्य व्यक्तिगत काम गर्न सक्छौं,’ उनले भने । उनले सुन्दर पार्कमा आउँदा दुःख –पीडा भुलिने बताए।

पार्कको सौन्दर्यले मग्नमुग्ध भएको पार्कमै भेटिएकी ममता मगरले बताइन् । उनले भनिन्, ‘यो पार्क अत्यन्तै सुन्दर र शान्त छ । पार्कमा स्वच्छ हावा, वातावरण भएकोले आकर्षित भएकी छु।’

स्थानीयको चाहनाअनुसार यो क्षेत्रलाई पार्क बनाइएको अध्यक्ष बिम्ब पौडेलले बताए । उनका अनुसार ०६२/६३ सालमा यहाँको खाली जग्गामा केही स्थानीय अगुवाहरू बाहिरी पर्खाल निर्माण गरेका थिए । यसको निर्माण अधुरै थियो।

त्यसपछि कहिले यो जग्गामा वडा कार्यालय बनाउने कुरा चल्यो त कहिले दमकल राख्ने।  

भूकम्प गएपछि यो जग्गा खाली राख्नुपर्ने आवाज उठ्यो । त्यसपछि स्थानीयकै चाहना अनुसार पार्क बनाएका हौं । पार्क बनाउन स्थानीय नै सक्रिय बने । अहिले पार्कको केही भागमा हराभरा पार्ने काम पनि भइरहेको छ।

त्यसअघि पार्क बनाउन स्थानीयले विभिन्न सरकारी निकाय धाए पनि कसैले चासो नदिएको उनले बताए।

‘पार्कहरू सरकारले बनाउनुपर्छ भन्ने छैन, स्थानीय पनि बनाउन सक्छन्,’ पार्कका अध्यक्ष बिम्ब पौडेलले भने । पार्कभित्रको पोलमा ज्ञात–अज्ञात सहिदको स्तम्भ राख्ने तयारी पनि गरिएको छ।

अध्यक्ष पौडेलका अनुसार पार्क निर्माणका लागि स्थानीयहरूबाट करिब ६ लाख रूपैयाँ संकलन भएको थियो । बौद्धनाथ क्षेत्र विकास समितिले १५ लाख रूपैयाँ सहयोग गरेको थियो । सेतो गुम्बाले पार्कमा टायल र ब्लाक छोपेको थियो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले वृक्षरोपण गरेको थियो । पार्क निर्माणमा करिब २१ लाख खर्च भएको पौडैलले बताए । बिहान ६ देखि ९ बजे र बेलुका ४ देखि ७ः३० बजेसम्म स्थानीयलाई पार्क खुला राखिएको छ।

करिब २ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा कपुर, धुपी, पोखरी, वर पीपल, बुद्धचित्त, आँप, रुद्राक्ष, बेलहरू बिरुवा रोपिएको छ । पार्क बनाउन स्थानीय नै जाग्नुपर्ने पौडेल बताउँछन्।

काठमाडौं महानगरपालिका भित्र १७ वटा पार्कहरू रहेको काठमाडौं महानगरपालिकाका वातावरण व्यावस्थापन विभागीय प्रमुख हरिबहादुर कुवँरले बताए । उनका अनुसार सडकको दायाँबायाँ (आइल्यान्ड) मा २५ वटा पार्कहरू छन् । ‘पार्क निर्माण र संरक्षणमा स्थानीयको दायित्व रहन्छ,’ उनले भने।

प्रकाशित: २९ भाद्र २०७५ ०५:२४ शुक्रबार

ज्ञात–अज्ञात_सहिद_पार्क