अन्य

गणौनको कथा

बसन्तराज पाध्याय

हिमाली जिल्ला बझाङको छान्ना कला, संस्कृति र लोक परम्पराका दृष्टिले समृद्ध छ । कुनैबेला जम्मा ६ सय जनसंख्या भएको उक्त ठाउँलाई छ सय छान्ना भनेर चिनिन्थ्यो, पछि ६ वटा गाविस रहेको ठाउँले ‘छान्ना’ पहिचान पायो । संघीय संरचना अनुसार खप्तड राष्ट्रिय निकुञ्जको अधिकांश बफरजोन क्षेत्र छान्नाले समेटेको हुँदा त्यो ठाउँलाई खप्तड छान्ना गाउँपालिका नामाकरण गरिएको छ।

प्रदेश नं. ७ को लोकसंस्कृतिको उच्च गरीमा बोकेको ‘डेउडा’ गीत, खेल वा ठाडी भाकाको उर्बर भूमि मानिन्छ छान्ना । मेला, पर्व, छैट र रत्याडीको सन्दर्भ त छँदैछ । यसका अतिरिक्त बर्षामासमा गोडमेल गर्ने मैदान होस वा गोठाला जाँदा वनपाखामा गुञ्जने ठाडी भाका मध्येको एक प्रधान ठाउँ हो ‘गणौन’।

छान्नाका उपल्लो भाग वा खप्तडको फेद मानिने भलाना, लोखडा र गणौन हुन् । गणौनको ६ वटै ऋतुमा समान महत्व छ । गणौन कोदो, मकै, आलुजस्ता अन्नबालीको उब्जनी हुने स्थान हो जहाँ मूलत छान्ना–छोटाखेत बासीका अन्नबाली लगाउने र मेलापात गर्ने हिउँद–बर्षाका अधिकांश दिन बित्ने गर्छन् । चैत्र–वैशाखमा गुञ्जने चराचुरुंगीका सुरिला आवाजसँगै बज्ने वस्तुभाउका गलामा झुण्ड्याएइका घण्टी अनि गोठाला जानेले गाउने डेउडा गीतले वनपाखा गुञ्जयमान हुन्छ भने वातावरण पनि प्रफुल्ल महसूस हुन्छ।

झरीका दिनमा गणौन गडगडाहट हुने गरी गुञ्जिने महिलाका डेउडाले अनगिन्ती भाव ओकल्छन् । कारुणिक रोग, भोक र शोकका अनगिन्ती कथा एउटै मात्र डेउडा गीतले पनि सहजरूपले व्यक्त गर्ने सार्मथ्य राख्छ ।

पुस्तौनी दुःखका अविरल भारीले थिचिएका गोठाले जिन्दगीको साझा ठाडी डेउडा गाउँछन् । लेकतिर मौसमी पालुवा बेसीको भन्दा ढिलो पलाउने गर्छ । जो प्रकृतिको नियमै हो । डेउडासंगै चैतमा बाइस चेत गर्नु पर्छ भन्ने जनविश्वास छ । यो ठाउँमा चैतमा हरेक कामको जग बसाले मात्र पछि खान लाउन पुग्ने वाध्यता छ । यसैगरी चैतमा बार्षिक परीक्षा दिई विद्यालय बन्द हुने हुँदा बालबालिकाको बालापन पनि गोठालो गई बित्छन् भने अन्य परिवारका पाका सदस्यका दिन तै चैत्र कोदो, चैत्र धान, मार्स्या (बेथे) आलु रोपेर होस वा बर्षाभरीलाई दाउरा जम्मा पार्न दाउरी कटाई गरी वित्छन् दिनहरु।

बसन्तपछि झरीका दिनहरु सुरु हुन्छन् जेठदेखि भदौ मसान्तसम्म नै गणौनको गहिराइ सगरमाथा भन्दा भव्य हुन्छ । असारको रोपाईं सकेर विशेषतः महिला वर्गलाई गोडमेलको  व्यस्तता उदासिन झरीका दिनमा भोजपत्र राखी निगालोको चोयाले बनाएको पाल्तो वा मुग्नु ओडेर गणौन गडगडाहट हुने गरी गुञ्जिने महिलाका ठाडी भाका डेउडाले अनगिन्ती भाव ओकल्छन् । कारुणिक रोग, भोक र शोकका अनगिन्ती कथाहरु एउटै मात्र डेउडा गीतले पनि सहजरूपले व्यक्त गर्ने सार्मथ्य राख्छ।

परदेशी पति, भोको पेट, नागो शरीर र कष्टपूर्ण जीवन बोकेका डेउडा गीतले अभाव र प्रभावको कठोर संकेत गर्दछ । डेउडा गीतमा पहिलो लाइनले गौण अर्थ दिने र दोश्रो लाइनले प्रधान अर्थ र महत्व राख्ने हुँदा यो गीतमा पनि त्यही मुताविक नै अर्थ प्रष्टिन्छ।

असोजदेखि मंसिरसम्म बेसीमा बढी काम हुने हुँदा गणौन प्रायजसो सुनसान जस्तै हुन्छ । वनपाखामा पतझर सुरु हुन्छ । त्यो समय त्यो ठाउँमा एक्लोपन अनुभूति हुन्छ । जब बेसीमा छान्ना–छोटाखेतीको काम सकिन्छ अनि छान्ना छोटाखेतबासी बिस्तारै गणौन उक्लन्छन् । हिउँदको पारिलो घाम बस्तुभाउका लागि उत्तम चरिचरन भूमि डालीघाँस र दाउरा गर्न सहज।

मंसिरको खलाखेतको जाडोदेखि मध्य हिउँदको वनबेतको जाडो गणौनमै बित्छन् । जाडो मौसममा मनोरम हिउँ पनि पर्छ । सिकारीहरू सिकार पनि खेल्छन थार, मृग, बँदेल लगायतको । दाउरा घाँस लगायत सबै चिजबस्तु सहज उपलब्धता हुने हुँदा विपन्न जीवनको सम्पन्न ठाउँ मानिन्छ गणौन । तव त कहीँ जानु पणौन (पर्दैन) भनि डेउडा गीत नै प्रचलित छ, यो ठाउँका लागि । खेती किसानीको हिउँदमा खासै काम हुँदैन । यो ठाउँमा विवाह, छैट लगायत शुभ कार्य भएका बेला रातमा हुने रंगरौश र रमिताको छुट्टै रौनकता हुन्छ । गरिबी र बेरोजगारीका कारण असारमा फर्किने गरी अधिकांश पुरुष हातमुखको जुगारा गर्न भारत लाग्छन् । हिउँदका रात लामा हुने हुँदा जाडोले सकसपूर्ण हुन्छ यहाँको जिन्दगी।

फागुनमा बसन्ती बहार शुभारम्भ हुन्छ । मुना पलाउँछ, मृग, माउरी भमराले स्थान लिन थाल्छन् र डाँडाकाँडा हरियो च्यादर ओड्न थाल्छन् । पालुवाले बयेली खेल्ने लेकका सुसेलीहरूसंगै गणौनको गर्वबाट गुञ्जिने ठाडी डेउडाको अपार गरीमा छ । सबै ऋतु चक्रहरूमा गणौनको समान महत्व छ । तर वर्षामा प्राय महिलाको मात्र उपस्थितिले गणौनमा एक किसिमको सन्नाटाको राज हुन्छ । आलु, मकै, कोदो, मार्स्याको गोडमेल आ–आफ्नै सुरिला लाखौ अर्थ बोकेका डेउडाको गुन्जायमानले गणौनको अतुलनीय महत्व झल्किन्छ।

आजकल यो भूमिमा विगतमा जस्तो खेतीपाती गरिदैँन । सहरकै सेतो चामलको भात खाने रहरले बरु ज्याला मजदुरी गर्छन छान्ना छोटाखेत बासीहरू । उसो त आजभोलि गणौनको गड्यानमा गुन्जिने गज्जबका डेउडा गीत भन्दा धेरैका खल्तीखल्तीबाट गोठालो जाँदा होस वा गोडमेल मेलापाखा जाँदा होस आधुनिक लोकदोहरी वा हिन्दी चलचित्रका गीत सुनिन थालेको छन्।

यो शैली र प्रविधीको आगमनले गणौनजस्ता उर्जाशील भूमि विस्तारै बाँझो बन्दै छन् भने असली सुरिला भाका सहित पाउने डेउडाको स्वाद पनि हराउँदै गएको छ । प्रविधी र आधुनिकताको नाममा कार्यक्षेत्रमा पाइने हाम्रो मौलिकता वा स्थानीय लोकसंस्कृतिमा दिनानुदिन कमीका संकेत देखिदैँ आएका छन् । यो ठाउँ लोकपरम्परा र संस्कृतिप्रेमीको साझा विषयवस्तु बन्नु पर्छ।

प्रकाशित: २३ भाद्र २०७५ ०५:४४ शनिबार

बझाङ गणौनको_कथा