अन्य

तीजमा तिलहरी

तीज हिन्दू महिलाहरूको मुख्य पर्व मानिन्छ । तीज मनाउने चलन ठाउँ अनुसार फरक–फरक रहेको पाइन्छ।

पछिल्लो समय तीजमा नयाँ डिजाइनका गहना लगाउने फेसन गर्ने प्रचलन बढ्दो छ । गरगहनाको पर्यायझैं बनेको छ, तीज।

तीज नजिकिँदै गर्दा थरिथरिका गहना बजारमा आएको व्यापारी बताउँछन् । यसबेला विभिन्न डिजाइनका औंठी, सानो, छड्के तथा माइली तिलहरी, नौगेडी, रानीहार, फ्लोरल नेक्लेस, शिरफूल, बिन्दीया तथा बालाको माग निकै बढेको व्यापारी रामसिंह गुप्ता बताउँछन् । उनी न्युरोडस्थित आरबी ज्वेलर्सका सञ्चालक समेत हुन् । अचेल उनलाई गरगहना बेच्न भ्याइनभ्याई छ।

जतिसुकै महँगो भए पनि सहरका महिलाहरू तीजका बेला नयाँ डिजाइनका सुनका गहना बनाउन आउने गरेको उनी बताउँछन् । उनीहरू सुनको मूल्यभन्दा डिजाइनमा बढी चासो दिने भएकाले सुनको बिक्री नघट्ने उनको भनाइ छ ।

‘तीजको सिजन चलेकाले ग्राहकको अलि बढी भीड लाग्ने गरेको छ,’ उनी भन्छन्।

तीजका बेला महिलाले गहनालाई महत्व दिएको पाइन्छ।

जतिसुकै महँगो भए पनि सहरका महिलाहरू तीजका बेला नयाँ डिजाइनका सुनका गहना बनाउन आउने गरेको उनी बताउँछन् । उनीहरू सुनको मूल्यभन्दा डिजाइनमा बढी चासो दिने भएकाले सुनको बिक्री नघट्ने उनको भनाइ छ।

उनी पुराना समयमा चलेको फेसनलाई परिमार्जन गरेर बजारमा ल्याउने गरेको बताउँछन् । उनी भन्छन्, ‘पोहोर जन्तरले निकै मार्केट लिएको थियो भने यस वर्ष तिलहरीले बजारलाई कब्जा गरेको पाइन्छ।’

उनका अनुसार सानो, माइली, नौ गेडी र छड्के तिलहरी निकै प्रचलनमा छ । तिलहरीमा लगाइने पोते पनि विभिन्न रङमा उपलब्ध रहेको उनी बताउँछन् । रातो, हरियो, पहेलो र मिक्स रङका पोतेको माग गरेको उनको भनाइ छ।

हिन्दू शास्त्र अनुसार तिलहरी विवाहका लागि पवित्र मानिन्छ । पछिल्लो समय यसप्रतिको मोह बढेको पाइन्छ।

पाटनकी लक्ष्मी श्रेष्ठ गृहिणी हुन् । उनी यसपालीको तीजमा माइली तिलहरी बनाउने योजनामा छिन् । ‘पोहोरको तीजमा जन्तर बनाएर लगाएकी थिएँ, यसपाला भने रातो पोतेको माइली तिलहरी लगाउन मन छ,’ उनले भनिन् । बजारमा थरिथरि गहनाका डिजाइन आएको भए पनि महँगीले गर्दा लगाउन नसकिने उनी बताउँछिन्।

‘वर्षैपिच्छे गहनाको नयाँ डिजाइन आउँछ । तर, आएका जति लगाउन कहाँ सकिन्छ र,’ उनले हास्दै भनिन् । आमाहरूको पालामा तिलहरीको चलन चलेको उनी सम्झिन्छिन् । उनी भन्छिन्, ‘पहिला तिलहरी लगाउन खास रुचि लाग्दैनथ्यो । अहिले भने रहर लाग्छ।’

न्युरोडस्थित खजाना ज्वेलर्सका सञ्चालक हुन्, राजु गुरुङ । उनी हरेक वर्ष नयाँ डिजाइनका गहना बजारमा ल्याउने गरेका छन् । यस वर्षको तीजमा पनि विभिन्न डिजाइनका गहना बजारमा ल्याएको उनी बताउँछन् । उनको अनुभवमा सहरीया महिलाले गहनामा आएको फेसनलाई फलो गर्छन्।

‘पछिल्लो समय महिलाहरू बजारमा कस्तो खालको गहना चलेको छ भन्नेबारे जानकारी राख्न थालेका छन्,’ उनले भने।

यो तीजनमा तिलहरी र रानीहार चल्तीमा रहेको उनी बताउँछन्।

अरु समयभन्दा तीजमा फरक देखिनका लागि महिलाहरू नयाँ डिजाइनका गहना किन्ने गरेको उनको बुझाइ छ । गहनाले सौन्दर्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् । ‘झपक्क गहना लगाएको महिलाको अनुहारको चमकै फरक देख्न सकिन्छ,’ उनी भन्छन्, ‘गहना लगाएपछि सुन्दर देखिने भएर नै यसप्रति मोह बढेको हो।’

बर्सेनि गहनाको डिजाइन परिवर्तन भइरहने उनी बताउँछन् । ‘पछिल्लो समय मानिस निकै फेसनेबल भएका छन् । सहरीया जीवनशैलीमा त हरेक कुरामा फेसन जोडिन्छ,’ उनले भने।

न्युरोडकी रेनु माथेमा यसपालिको तीजमा छड्के तथा नौगेडी तिलहरी र हातमा सुनको बालामा सजिने योजना रहेको बताउँछिन्।

‘मलाई धेरै गहना लगाउन मन लाग्दैन, तीजमा भने लगाउँछु,’ उनले भनिन्।  

घरको काममा व्यस्त हुने रेनुले भने यो वर्ष कुनै गहना नबनाउने बताउँछिन् । उनी यसपालि पुरानै गहना लगाउने योजनामा छिन् । उनी भन्छिन्, ‘छड्के तथा नौगेडी तिलहरी चार वर्षअघि नै बनाएकी थिएँ, यसपाली चलेको भएकाले यही लगाउने मनसाय छ।’

प्रकाशित: १८ भाद्र २०७५ ०६:३७ सोमबार

तीज तिलहरी