अन्य

परिवर्तनको रूप!

राजधानीको कमलादीस्थित रातो घर, अग्रभागमा लेखिएको छ– नेपाल प्रज्ञाप्रतिष्ठान । कुनै बखत त्यहीँ लेखिएको थियो– नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान । तर, राजाको सत्तासँगको लडाइँमा राजकीय भन्ने शब्दलाई राजा–शब्दसँग जोडी, त्यो शब्दमाथि नै ‘साहित्यिक लडाकूहरू’ले आपत्ति जनाएर राजकीय–शब्द हटाए । जबकि प्रज्ञाप्रतिष्ठानद्वारा नै प्रकाशित शब्दकोष पल्टाएर हेर्ने हो भने त्यहाँ ‘राजकीय’ शब्दको अर्थ केवल राजासँग मात्रै सम्बन्धित देखिन्न, राज्यसँग पनि देखिन्छ । अझ स्पष्टसँग अर्को अर्थ पनि खुलाइएको छ– राजकीय भनेको सरकारी पक्षको वा सत्ताधारी पक्षको । यस अर्थमा, तत्कालीन समयमा राजकीय–शब्दमाथि विमति जनाउनु भनेको केवल राजसत्ताप्रति आक्रोश पोख्नु मात्रै थियो भन्ने बुझिन्छ।

राजकीय भनेको वास्तवमा राज्यको गरिमा हो।

स्मरणीय रहोस्, गणतान्त्रिक मुलुकको नागरिक हुनुको सदुपयोग (दुरुपयोग कि ?) बडो मज्जाले गर्दै तत्कालीन शाही नेपाल वायुसेवा निगमको ‘शाही’ शब्द हटाउने ठाडो आदेश दिएका थिए सम्बन्धित मन्त्री महोदयले । भर्खर, आफ्नो बायोग्राफी लेखिरहेका डा. मणीन्द्ररञ्जन बराल प्रसङ्वशः यो विषयलाई उप्काउँछन्– अन्तर्राष्ट्रिय रूपमै ब्राण्ड भइसकेको रोयल नेपाल एयरलाइन्स कर्पोरेसन– आर.एन.ए.सी.को नाम एउटा व्यक्तिको लहडमा परिवर्तन गर्न त्यति सहज थिएन । तर, मन्त्री महोदयलाई त्यो शब्द जसरी पनि हटाउनु थियो । त्यसै कारण त्यो समस्या समाधानका लागि त्यही संस्थाका एक चतुर प्रशासकले एउटा जुक्ति निकाले । उनले मन्त्रीलाई सल्लाह दिए– ‘मन्त्रीज्यू, यो शब्दलाई हटाउन आवश्यक छैन । बरु, यही शब्दको अर्को अर्थ लगाउन सकिन्छ।’

मन्त्रीज्यूले प्रशासकको भनाइको तात्पर्य पहिल्याउन सकेनन् । त्यसैले प्रशासक स्वयम्ले खुलस्त पारे– ‘आर.एन.ए.सी.को पहिलो शब्द आर.लाई ‘रोयल’ (शाही) नभनेर ‘रिपब्लिक’ भन्न सक्छौँ।

यसरी त्यहाँ उठ्न सक्ने अनावश्यकीय विवाद साम्य भयो।
०००

त्यतिखेर रोयल वा राजाका अक्षर–अक्षरका विरुद्ध एक किसिमको अभियान नै चल्यो । ‘राजमार्ग’जस्ता शब्दलाई ‘लोकमार्ग’ नामाकरण गरियो । यसो गरियो भन्नुको मतलब यस्तो कार्यमाथि विमति जनाउन खोजिएको पक्कै होइन । प्रश्न के मात्रै हो भने त्यसो गरिनुको औचित्य के हो ? नाम परिवर्तन गरेर त्यसबाट हामीले के उपलब्धि प्राप्त ग-यौँ वा गर्न सक्छौँ ? खास गरेर, परिवर्तन गर्नुको नाममा हामीले धेरै विसङ्गतिहरू भित्र्यायौँ । कतिसम्म भने नवनिर्माणका लागि पुराना सबै भत्काउनुपर्छसम्म पनि भन्यौँ । एक चर्चित लेखकज्यूले त एउटा दैनिकमा ठोकेरै लेखिदिनुभयो– ‘अब त हामीले नयाँ नेपालको प्रवेशविन्दुमा पाइला राखिसकेका छौँ । नयाँसडकको बाटोको बीचमा त्यो निरङ्कुश जुद्धशमशेरको सालिक अझैँ किन राखिराखेको ? जरैसमेत उखेलेर फाल्नुपर्छ।’

हुँदा–हुँदा, प्रज्ञाप्रतिष्ठानमा स्थापित राजा महेन्द्रको सालिक पनि गिँडियो । जबकि उनैको कारणबाट आजको प्रज्ञाप्रतिष्ठानमा ‘प्राज्ञ’को बिल्ला भिरेर रमरमिता गर्न पाइरहेका छन् तथाकथित परिवर्तनकारीहरूले र त्यहीँनिर फेरि पनि ठूला परिमाणमा धेरै सङ्ख्याका पाखण्डीहरू प्राज्ञको कुर्सीमाथि अर्जुनदृष्टि लगाएर पङ्क्तिबद्ध छन् । क्या विडम्बना ! सुविधा भोग्न पाए हामीलाई अलकत्रा पनि सही ! अन्यथा सबै गलत।

– राणा मन नपर्ने, राणाशाासन मन नपर्ने तर राणाहरूले बनाइदिएका जुन भव्य दरबार–महलहरू छन्– सिंहदरबार, बबरमहल, केशरमहल, बहादुरभवन, बाघदरबार; त्यहाँभित्र स्थापित लचकदार कुर्सी मनपर्ने।

– राजा मन नपर्ने, राजाका शाखा–सन्तान नै मन नपर्ने, तिनका सालिकसमेत पनि मन नपर्ने, तर तिनै राजाको फोटो छापिएका कागजी नोट भने असाध्यै प्रिय लाग्ने।

गजबकै छ हामी मानिस, त्यसमाथि पनि नेपालीहरूको चोला!

०००
राजा–राणाका व्यवस्थाका विरोधीहरूको नजरमा तिनीहरूको शासन स्वभावतः तानाशाही हुन्छ, निरङ्कुश हुन्छ। यस अर्थमा तिनका सालिकहरू स्वयम् तानाशाही–निरङकुशताका प्रतीक हुन् र तिनको जरैसमेत समूल नष्ट गरिनुपर्छ भन्ने धारणालाई गलत मान्न सकिन्न । तर यहाँँ प्रश्न यही मात्रै हो कि मूक सालिकहरूसँग तानाशाही वा निरङ्कुशताको के नाता ? के, सालिकको भिन्न अस्तित्त्व हुन्न ? त्यसको आकारको, त्यसको आयतनको वा त्यसको स्वरूपप्रति मान्छेको कुनै दृष्टिकोण हुँदैन ? कलाका पारखीहरूको मत छ– सालिक भनेको प्रतिमूर्ति हो । कसैको मूर्ति बनाउनु ऊप्रतिको सम्मान हो । र, त्यो सम्मानलाई जीवित राखिराख्नका लागि, वर्तमानले र भविष्यले समेत त्यो सम्मानलाई यथावत् राख्नका लागि मूर्तिलाई कुने स्थानमा स्थापित गरिन्छ । यसका अतिरिक्त मूर्ति पा सालिक भनेको कलाकारको कलाकृति हो । त्यो कलाको आफ्नो महत्व हुन्छ । स्पष्ट भन्ने हो भने त्यो कलाले देशको सांस्कृतिक महत्व बोकेको हुन्छ । आज लोकतन्त्र वा गणतन्त्रको नाममा राजा वा राणाका सालिकलाई तोड्नु–फोड्नु, उखेल्नुलाई सामान्य मान्न सकिएला तर विरोध ओकल्नुको नाममा देशको त्यस्ता सांस्कृतिक सम्पदालाई नष्ट गर्नुलाई कदापि उचित मान्न सकिन्न।

कहीँ–कतै, राजा–महाराजका सालिक उखेलिएपछि र उखेलिएको स्थानलाई कुनै शहीदको नाम दिइएअनुरूप नयाँ सालिक स्थापना गरेर ‘केही’ परिवर्तन गरिएको अनुभूति दिलाउने सोच राखिएको पनि देखियो । तर, ‘पुरानो’ हटाएर ‘नयाँ’ स्थापित गर्नु नै परिवर्तनको परिभाषा हो र?

बुद्धिजीविहरूको अभिमत छ– राजतन्त्र वा राणशासनका मालिकहरू राष्ट्रका कलङ्क थिए भनेर आज या भोलिका पुस्तालाई चिनारी दिलाउनकै लागि भए पनि त्यस्ता सालिकहरू रहन जरुरी छ । नराम्रो रहे न राम्रोको अर्थ खुल्छ । सबै राम्रा नै राम्रा हुने हो भने ती राम्राहरूको आफ्नो अस्तित्व के ? रामायणमा रावण भन्ने पात्र भइदिएकाले नै राम भन्ने पात्रको अस्तित्व भएको हो । ओशोले कुनै प्रवचनमा भनेका थिए– रामायणमा रावण नभइदिएका भए राम आजको युगसम्म पनि आफ्नी अर्धाङ्गिनी सीतालाई खोज्न त्यही जङ्गलमै भट्किरहेका हुन्थे । सीतालाई रावणले हरण गरेका भएर नै त उनी सच्चा राम बने।
०००

पुरानो नभत्काई नयाँ निर्माण गर्न सकिन्न र त्यसरी गरिएको निर्माण नै परिवर्तनको संवाहक हो भनिनु सर्वथा गलत छ । यदि गलत नमानिने हो भने जता जे गरे पनि कसको के लाग्छ ? परिवर्तन गर्नुको नाममा प्राचीन रानीपोखरीमा क्रिकेट मैदान वा पर्यटकका लागि महानगर प्रमुखीय काल्पनिक रिसोर्ट बनाए पनि भयो । घण्टाघरको थोत्रो घडी परिवर्तन गरेर अत्याधुनिक घडी फेरिदिए भयो । अथवा भक्तपुरको न्यातपोल मन्दिरमा एकतल्ला अर्को छाना थपेर परिवर्तन गरिदिए भयो । पचपन्ने झ्याले दरबारमा दुई–चारवटा झ्याल थपेर परिवर्तन गरिदिए भयो।

हुन त के पो सम्भव छैन र!

चन्द्र–सूर्य अङ्कित झण्डा त समावेशी छैन भनेर त्यो परिवर्तन गर्नुपर्छ भनेर आन्दोलन चलाइएको नेपालमा सब थोक सम्भव छ।

हेर्दै जाऊँ!

परिवर्तनका आकाङ्क्षीहरूले ‘नेपाल’कै नाम परिवर्तन गरौँ भनेर अभियान थाले भने पनि के आश्चर्य मान्नुपर्ने हुन्छ र! !
०००

प्रकाशित: १६ भाद्र २०७५ ०५:४९ शनिबार

नेपाल_प्रज्ञाप्रतिष्ठान