पचास वर्षअगाडि घरनजिकै बसेर कुमालेको चक्र चलाउँदै गर्दा उनी १३ वर्षजतिका थिए । विदेशबाट आएका फोटोग्राफरले उनको तस्बिर खिचे । यही तस्बिर अघिल्लो साता नियाल्दै गर्दा उनी ६३ वर्षका थिए । पाँच दशकभन्दा बढी भइसकेको छ उनले चक्र चलाउन थालेको । उनको चक्र अझै रोकिएको छैन । समय फेरियो, केदारको न त काम फेरिएको छ न कामप्रतिको उनको लगाव नै सकिएको छ।
‘चक्र त जीवनसँगै चलिरहन्छ,’ भक्तपुरको भोलान्चस्थित घरमा माटाका भाँडा बनाउँदै गरेका केदारले भने । भक्तपुरको पोर्टरस्क्वायरमा घर भएका उनले बाल्यकालदेखि नै सुरु गरेको यो काम निरन्तर चलिरहेको बताए । पर्यटकले मन पराउने भक्तपुरको कुमाले चोकमा उनले माटाका भाडा बनाएका तस्बिर थुप्रैले खिचे । त्यति बेला उनले तस्बिर हेर्न पाएनन् । क्यामराको उज्यालो र हातमा केही चानचुन पैसा भने पाए । ‘पहिले विदेशीले तस्बिर खिचेर केही पैसा दिन्थे,’ उनले भने, ‘तर, अहिले चाहिँ तस्बिरमात्र हेर्न पाउँदा धेरै खुसी लागेको छ ।’ यो तस्बिर अमेरिकी नागरिक बिल न्युम्यानले १९६४ तिर खिचेको राउन्ड इम्याजिन नामक वेभसाइटमा उल्लेख छ।
माटाका भाँडा बनाउने केदारको चक्र अझै रोकिएको छैन। ५० वर्ष पुरानो आफ्नो बाल्यकालको तस्बिर देखेपछि अघिल्लो साता उनी निकै रमाए । ‘अरूका लागि यो हिलो माटो हो,’ उनले भने, ‘मेरो त यो दैनिकी नै हो, यसैबाट मेरो घरगुजारा चलेको छ।’
आफ्नो बाल्यकालको तस्बिर नियाल्न पाएपछि उनी निकै खुसी भए । उनीमात्र होइन, उनको टोलका सबैजना खुसी भएका थिए । ‘टोलका सबैजना यो तस्बिर देखेपछि रमाए,’ केदारका कान्छा छोरा केशवले भने, ‘त्यो बेला चक्र चलाएर सानो उमेरमा काम गर्ने टोलमा बुबामात्र हुनुहुन्थ्यो ।’ पर्यटक हिँड्ने बाटोमै उनले काम गर्ने भएकाले अन्यको तुलनामा उनको तस्बिर बढी खिचिएको उनले सुनाए । सानो उमेरमा केदार विद्यालय पनि गएका थिए । तर, पढ्न मन नलागेका कारण काम गर्न थालेको उनले बताए । ‘भक्तपुरको नवदुर्गा हलमा ८० पैसा प्लेट मम पाइन्थ्यो,’ उनले हाँस्दै भने, ‘त्यही ममको लोभमा गुच्चा खेल्दा पढाइ छुटेको हो।’
पढाइ छुटेपछि आफ्नो पुख्र्यौली पेसामा हात हालेको उनले सुनाए । ‘सानो उमेरमा त बुबालाई काममा सघाउँथे,’ उनले भने, ‘अलिकति जान्ने भएपछि आफैं चक्र चलाएर सामान बनाउन थालेँ ।’ उति बेला माटाका भाडा बनाउन देशका विभिन्न भागमा समेत पुगेको उनी बताउँछन् । उतै माटाका भाडा बनाएर बेचेर आउने चलन रहेको उनले सुनाए । पछिल्लो समय माटो पाइन छाडिएको उनको भनाइ छ । ‘सुरुमा वरपर नै माटो पाइन्थ्यो, खर्पनमा राखेर ओर्साथ्यौं,’ उनले भने, ‘पछि टाढाटाढा जानुपर्ने भएको छ ।’ माटो नपाउँदा पेसा नै संकटमा पर्लाजस्तो भएको उनले बताए।
लामो समय माटोसँग खेल्दा माटोकै माया लाग्ने गरेको उनले बताए । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म माटैका काम रहने उनी बताउँछन् । उनका काममा परिवारका अन्य सदस्यले पनि सघाउँछन् । तर, मुख्य काम उनी आफैं गर्छन् । माटाका भाँडा बनाउने केदारको चक्र अझै रोकिएको छैन । ५० वर्ष पुरानो आफ्नो बाल्यकालको तस्बिर देखेपछि अघिल्लो साता उनी निकै रमाए । ‘अरूका लागि यो हिलो माटो हो,’ उनले भने, ‘मेरो त यो दैनिकी नै हो, यसैबाट मेरो घरगुजारा चलेको छ ।’ पहिलेपहिले समयमा उनले पुरानो चक्र चलाउँथे जुन लट्ठीको साहाराले चलाइन्थ्यो । पछिल्लो समयमा विद्युतीय चक्र चलाउन थालियो । तर, लोडसेडिङले समस्या पार्दा अझै पनि पुरानो चक्र चलाउनु परेको उनले सुनाए।
‘चक्र त जीवनसँगै चलिरहन्छ,’ भक्तपुरको भोलान्चस्थित घरमा माटाका भाँडा बनाउँदै गरेका केदारले भने। ‘पहिले विदेशीले तस्बिर खिचेर केही पैसा दिन्थे,’ उनले भने, ‘तर, अहिले चाहिँ तस्बिरमात्र हेर्न पाउँदा धेरै खुसी लागेको छ।’ यो तस्बिर अमेरिकी नागरिक बिल न्युम्यानले १९६४ तिर खिचेको राउन्ड इम्याजिन नामक वेभसाइटमा उल्लेख छ।
उति बेला झिगटीको छाना भएको भक्तपुर अहिले पक्की सहर बनेको छ । यहाँको जीवनशैली फेरिएको छ । जात्राका कपडा र जात्रालुको रहर फेरिएको छ । तर, उनी पुरानै समय रहरलाग्दो रहेको सुनाउँछन् । ‘समय फेरिएको छ तर पुरानोजतिकोे भरपर्दो नयाँ अझै छैन,’ उनले भने, ‘नयाँ र पुरानो दुवैको सहयोगले काम अगाडि बढेको छ ।’ पहिला–पहिला माटोको घैटा बढी बिक्ने गरेको उनले सुनाए । काठ क्षेत्रमा तामाङ समुदायले रक्सीको प्रयोग गर्न यस्ता भाडा बढी लैजाने उनको अनुभव छ । त्यस्तै काठ क्षेत्रमा माटाका अटल, गाग्री बिक्ने उनी बताउँछन् । तर, अहिले तिनको बिक्री नभएको उनी सुनाउँछन् । अहिले माटोको खुत्रुके धेरै बिक्छ । ‘बजारमा जे माग बढ्छ, हामी त्यही बनाउँछौं,’ उनले भने, ‘माटो हो जे भन्यो त्यही बनाउन सकिन्छ।’
माटोको कमाइबाट जेनतेन गुजारा चले पनि समयअनुसारको आवश्यकता पूरा गर्न भने समस्या परेको उनले बताए । ‘माटालाई जस्तो आकार छोराहरूलाई दिन सकिएन,’ उनले भने, ‘अब नातिहरूको इच्छा भने पूरा गर्नेछु ।’
१६ वर्षको उमेरमा विवाह गरेका केदारका पत्नी चण्डेश्वरी र दुई छोरा छन् । जेठो छोरा कृष्ण बुवालाई काममा सघाउँछन् भने कान्छा केशव नोकरी गर्ने गरेको उनले बताए।
कसरी खोजियो तस्बिरका पात्रलाई?
केही समयअगाडि इन्टरनेटमा नेपालका पुराना तस्बिर खोज्ने क्रममा भक्तपुरका यी किशोरले चक्रमा माटाको भाँडो बनाउँदै गरेको तस्बिर भेटियो । यो तस्बिर अमेरिकन नागरिक बिल न्युम्यानले १९६४ खिचेको राउन्ड इम्याजिन नामक वेभसाइटमा उल्लेख छ।
हामीले यो पात्रलाई पछ्याउने सोच बनायौं । भक्तपुर दरबार क्षेत्रबाट हामी तस्बिरमा देखिएका पात्रको खोजीमा निस्कियौं । हामीले यहाँका चोकगल्लीमा बसेका वृद्धवृद्धादेखि सर्वसाधारणलाई यो तस्बिर देखायौं । धेरैले तस्बिरमा भएका व्यक्तिबारे कुनै जानकारी नभएको बताए । कपितयले चिनेजस्तो गरी सोचे । कतिपय पुरानो तस्बीर देखेरै रमाए।
यही क्रममा हामी माटाका भाडा बनाउने प्रसिद्ध पोर्टर स्क्वायरमा पुग्यौं । त्यहाँ भने धेरैले यो तस्बिर चिनेजस्तो गरे। उनीहरू तस्बिर नियाल्दै केही व्यक्तिका नामबारे लख काट्न थाले । धेरैले केदार प्रजापतिको नाम भने।
तर, केदारले यो बस्ती छाडिसकेका रहेछन्। सूर्यविनायक क्षेत्रमा रहेको उनको घरको खोजीमा निस्कियौं। राम मन्दिर हुँदै पुल तरेपछि हामीले उनको घर देख्यौं। त्यहाँ हामीले सोध्यौं । उनको घर त्यही रहेछ।
हाम्रो मनमा उति बेला चक्र चलाउँदै गरेका मानिस कस्तो होला भन्ने उत्सुकता थियो। उनी के गर्दे होलान् भन्ने थियो । जब हामी उनको घरमा छि-यौं, उनी त त्यसैगरी चक्रमा भाँडा बनाउँदै थिए जसरी उनी पाँच दशकअगाडि बनाउँथे ।
तस्बिर देखेपछि उनी रमाए । तस्बिर खिच्नेलाई धन्यवाद दिए।
प्रकाशित: ९ भाद्र २०७५ ०१:३७ शनिबार