घरका भित्ताभरि इतिहास, संस्कृति र नेवारी परम्परा झल्काउने सुन्दर चित्र झुन्डिएका छन् । एउटा कोठा किताबैकिताबले भरिएको छ । कोठाको एकछेउमा संस्कृति, इतिहास र भूगोलबारे लेखिएका पुस्तकको चाङ छ, अर्कोतिर नेपाली शब्दकोश, धर्म, गीता र सम्मानपत्र । त्यहीँ कोठाको कुनामा एउटा पलङ पनि छ । त्यो ठाउँ उनको शयन, लेखन, अध्ययन र सिर्जना गर्ने थलो हो । पलङको एकछेउमा बसेर नेपाली संस्कृतिलाई कपीमा उतारिहरेका हुन्छन्, संस्कृतिविद् हरिराम जोशी।
गत मंगलबार ललितपुर मानभवनस्थित उनकै निवासमा गफ गरिरहँदा घरि बाल्यकालमा फर्कन्थे, घरि युवावस्थामा। तिनै सम्झनाका चित्र उनको मुहारमा झल्किन्थे । कुराकानीका क्रममा घरि मुसुक्क हाँस्थे, घरि भावुक बन्थे उनी । ‘म बुढोले के गर्न सक्छु र ? अब तपार्इंहरूको पालो हो,’ उनले सुनाए, ‘आफ्नो अनुभवलाई उतारेको हुँ।’
यति भनेपछि उनले केहीबेर आफ्नो बाल्यकालतिर लगे । दराजमुनि रहेको अलि पुराना गातो च्यातिन आँटेको कपी निकाले । त्यो उनले स्कुल पढ्दा भरेको ‘अटो’ थियो । यसमा उनले बाल्यकालको प्रेम र अनुभूति उतारेका छन् । त्यही अटोको पाना पल्टाएर एक हरफ कविता सुनाइहाले।
म पागल, तिमी पागल, पागल यहाँ को छैन?
जता हे-यो भोका नाङ्गाहरूको ताँती छ।
उनीहरूको करूणा रोदन छ,
चित्कार छ।
यो कविता उनले करिब ४० वर्षअघि लेखेका थिए । त्यसबेला काठमाडौंका सडकमा हिँड्ने दुःखीगरिबको चित्र कवितामा उतारेका थिए उनी । फाट्टफुट्ट कविता लेख्ने हरिराम जोशीको नाम नेपाली संस्कृति र इतिहास खोजीका क्षेत्रमा भने स्थापित मानिन्छ । उनी संस्कृति अध्ययन अनुसन्धानका क्षेत्रमा अग्रपंक्तिमा पर्छन् । त्यसैले पनि उनी संस्कृति र इतिहास विषयका खोजकर्ता पनि मानिन्छन् । कुराका क्रममा लाग्छ, उनी एउटा जिउँदो इतिहास हुन् । उनीभित्र रहेको नेपाली इतिहास र संस्कृति खोतल्न सामान्य गफले पुग्दैन । उनको ८० वर्षदेखिको त्यो ज्ञानलाई ग्रहण गर्न हिजोआज उनको घरमा धेरै मानिस पुग्ने गरेका छन् । हरेकले उनीसँग भेट्दा फरकफरक विषयमा ज्ञान लिएर फर्कन्छन् । त्यसो त उनको कोठा संस्कृति, पुरातŒव, इतिहास विषय अध्ययन अध्यापन गर्नेका लागि बृहत् पुस्तकालय पनि हुनसक्छ । ‘नयाँ पुस्ताका व्यक्तिहरू इतिहास र संस्कृति खोज्नका लागि मकहाँ आउनुहुन्छ,’ उनले सुनाए, ‘आफूले अध्ययन गरेका विषय र ज्ञान उहाँहरूसँग बाँड्छु, यसले मलाई निकै सन्तुष्ट दिने गर्छ।’
जोशीको परिचय यतिले मात्रै पुग्दैन, उनले गरेका काम धेरै छ– इतिहासकार, संस्कृतिविद्, मुद्रा विशेषज्ञ, पुरात्वविद्, अन्वेषकलगायत । १९९२ सालमा जन्मेका हरिराम सानैदेखि नयाँनयाँ विषयमा खोजीनीति गर्न रुचाउँथे। विभिन्न विधाका २८ भन्दा बढी पुस्तक लेखिसकेका र २८ वर्ष निजामती सेवामा बिताएका उनले किताबखाना, केशर पुस्तकालय, पुरातत्व विभाग, सामान्य प्रशासन, परराष्ट्र, सञ्चार, अञ्चलाधीश कार्यालय, आर्मी हेडक्वार्टर हुँदै रक्षा मन्त्रालयमा समेत काम गरे । ०५० सालमा अवकास पाएपछि उनी उपनिषद्, वेद, मनुस्मृति, त्रिपिटक, पुराण, वैदिक कोश र पौराणिक आख्यानबारे अध्ययन गर्दै आइरहेका छन्।
उनले लेखेका अभिनव संस्कृति विश्वकोष, नेपालका चाडपर्व र हिन्दु देवीदेवता, उत्तर प्राचीनकालीन मुद्रा, नेपालको प्राचीन अभिलेख, हाम्रो संस्कृतिलगायत २५ भन्दा बढी ग्रन्थ प्रकाशित भइसकेका छन् । गत वर्षमात्र उनको ‘अभिनव संस्कृति विश्वकोष’ सार्वजनिक भएको थियो । जोशी अहिले अर्को कृति ‘अभिनव वेद वेदाङ्ग एवम् इतिहास पुराणाधीकोष’ प्रकाशित गर्ने तयारीमा छन् । केही महिनामै यो पुस्तक बजारमा आउनेछ।
उनीसँग एउटा क्षेत्रको मात्रै ज्ञान छैन । उनी आफूलाई हरेक क्षेत्रमा चिनाउने प्रयत्न गरेका छन् । कथाकार, कवि र गीतकारका रूपमा पनि उनी परिचित नै मानिन्छन् । जोशीका हिन्दु प्रतिमा लक्षण, ‘कामना’ (कविता संग्रह), प्राक्कालमा नवयौवना बहिनीलाई चिठी (खण्डकाव्य) बुद्धयुग, उपनिषद् ज्योति, दासप्रथाजस्ता नेपाली समाजको तत्कालीन यथार्थ झल्काउने अन्य थुप्रै कृति प्रकाशित गरेका छन् । ‘आफूसँग जे छ समाजलाई पनि त्यही दिने हो,’ जोशीले सुनाए, ‘मैले संस्कृति, इतिहास र समाजलाई चिनेको थिएँ, तिनै पक्षलाई अध्ययन गरेर आफ्ना पुस्तकहरूमा समेटको छु।’
जोशीले विसं २०३८ देखि जोशी रिचर्स इन्स्टिच्युट खोली त्रैमासिक पत्रिका ‘रोलम्बा’ पनि प्रकाशनमा ल्याएका थिए । उक्त पत्रिकामा इतिहास र संस्कृति खोजको विषयलाई उठाइन्थ्यो । पत्रिकाले उठाएका हरेक विषय अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित हुन्थे । नेपाली कलासंस्कृतिका बारेका छापिएका लेखहरू विदेशमा पनि पुग्थे । त्यसले यहाँको पर्यटन क्षेत्रलाई केही योगदान पनि पु-याएको थियो । अहिले यो पत्रिका बन्द भएको छ । आफ्नो बुढ्यौलीपना र केही अस्वस्थताका कारण यसलाई निरन्तरता दिन नसकेको जोशीको गुनासो छ । तर, पत्रिका बन्द भए पनि उनी थाकेका छैनन् । बरु दिनभरि खाटमा बसेर उनी संस्कृति खोजीमा लाग्छन् । यो काममा खासै आम्दानी हुँदैन । अहिले कलासंस्कृतिका लेखिएका पुस्तकले पनि बजारमा त्यति पालो पाउँदैनन् । त्यसैले पनि यस्ता इतिहास कोर्ने पात्रहरू अहिले पर्दापछाडि छन् । उमेरले बुढ्यौलीको संकेत गरे पनि उनी आराम गर्न चाहन्नन् । ‘म सानैदेखि कलासंस्कृति र मौलिकतामा रमाउने मान्छे हुँ, मैले काम गर्दैगर्दा आएका अवसरलाई समाज र संस्कृतिसँग जोडेको छु,’ जोशीले भने, ‘यसले मलाई भन्दा पनि समाजलाई केही दिओस् भन्ने मेरो हेत्तु हो ।’ उनी बाचुञ्जेल जानेको काम धेरथोर गरिरहन मन लागिरहने बताउँछन् । ‘सपना धेरै छैन, थाहा छैन सम्भव छ कि छैन तर स्वाथ्यले साथ दिएसम्म अक्षर कोरेरै बिताउँछु,’ उनले थपे । हालसम्म जुन क्षेत्रमा योगदान दिँदै आएका थिए त्यही क्षेत्रमै बाँकी समय समर्पित गर्ने उनको लक्ष्य हो।
नेपालको संस्कृति र इतिहासलाई फरक धारबाट नियाल्ने व्यक्ति पनि हुन् उनी । उनले उपत्यकाका परम्परा र संस्कृतिलाई भोगेका मात्रै छैनन्, तिनको अध्ययन अनुसन्धान पनि गरेका छन् । त्यसैले त अन्य संस्कृतिविद् र अनुसन्धानकर्ताले भन्दा फरक मत राख्न सक्छन् । भूकम्पयता विवादमा आएको रानीपोखरीको विषयमा उनले नितान्त भिन्न विचार दिँदै आएका छन्।
केही समयअघि ‘रानीपोखरी’बारेको उनको लेख फरक चर्चाको विषय बनेको पनि थियो । उक्त लेखमा रानीपोखरी प्रताप मल्लले बनाएका होइनन् भन्ने गहकिलो तर्क उनले दिएका थिए । ‘अध्ययन अनुसन्धान गरेर लेखेका मेरा केही लेखहरू विवादमा आएका छन्,’ उनले सुनाए, ‘किनकी अहिले गहिरो अध्ययन गर्ने व्यक्तिको कमी छ, अरूले लेखेका विषयमा खण्डन गर्नेहरू बढी छन् तर नेपाली समाज, इतिहास र संस्कृतिबारेमा अध्ययन गर्नेको कमी हुँदै गएको छ ।’ अरूको खण्डन र विमतिप्रति उनमा कुनै तिक्तता भने छैन । आफूले ढुक्कले अध्ययन गरेर लेखेका विषयमा यस्ताखाले टीकाटिप्पणी आउनुलाई उनी स्वाभाविक ठान्छन्।
प्रकाशित: ८ भाद्र २०७५ ०५:५३ शुक्रबार