अन्य

जदौ!

मृत्यु सबैभन्दा अप्रिय तर अवश्यम्भावी पाटो हो जीवनको । हो, सबैको जीवनको अन्त्य दुःखद नै हुन्छ । त्यसमा पनि आफूले आदर्श ठानेका, असल मानेका पात्रलाई असमयमै गुमाउनु पर्दाको पीडा कस्तो होला ? त्यस्तै स्तब्धताका साथ आयो साउन २५ को साँझ, दाहाल यज्ञनिधिको निधनको खबर बोकेर।

नयाँ पुस्तालाई असाध्य माया गर्ने, सधैँ सुकर्मका लागि प्रेरणा र हौसला भरिदिने । भाट प्रवृत्तिका खरो विरोधी । अन्याय, अत्याचार र बेथिति कहिल्यै नरुचाउने । निडर, निर्भीक र स्पष्ट वक्ता । शिर नझुकाई बाँचेका, स्वाभिमानी । एक अब्बल वाङ्मयसेवी, राष्ट्रवादी स्रष्टा...। यसरी नै कति धेरै राम्रा कुरा दिमागमा आउँछन् दाहाल यज्ञनिधि दाइलाई सम्झिँदा । उहाँ त मजस्ता पछिल्ला पुस्ताका धेरै युवाका श्रद्धेय ‘दाहाल दाइ’ अनि सम्झनाबाट हराउन नसक्ने एक प्रेरक बिम्ब हुनुहुन्छ।

‘जदौ स्रोता, खुल्यो साहित्य संसारको दैलो !’ भन्दै रेडियो नेपालबाट बिहानबिहान घन्किने त्यति बेलाको त्यही आवाजले मलाई पहिलो चोटि साहित्यको रसबोध गराएको थियो, अनुराग बढाएको थियो । ‘कोर्स बुक’बाहेक अन्य पठन सामग्री नपुग्ने गाउँमा स्कुले जीवन बिताउँदै गर्दा ‘साहित्य संसार’ कार्यक्रम नछुटाई सुन्थेँ म । बाल्यकालमै मानस बिम्ब बनिसक्नुभएका प्रिय प्रस्तोतालाई क्याम्पस पढ्न काठमाडौँ आएकै वर्ष भेट्न पाउनु मेरा लागि सुखद संयोग थियो । उहाँबाट पटकपटक कविता वाचनको अवसरसमेत पाउनु एउटा ‘टिनेजर’ केटाका निम्ति कम्ती खुसीको कुरा थिएन । म खुबै हौसिएँ, रौसिएँ त्यतिबेला।

‘कोर्स बुक’बाहेक अन्य पठन सामग्री नपुग्ने गाउँमा स्कुले जीवन बिताउँदै गर्दा ‘साहित्य संसार’ कार्यक्रम नछुटाई सुन्थेँ म। त्यसले मभित्र सृजना गर्ने हुटहुटी जगाइदिन्थ्यो । गाउँबस्तीमा बोलिने झर्रा नेपाली शब्द टपक्क टिपेर भुइँमान्छेको बोली र व्यथालाई सर्लक्क चित्रण गर्ने दाहाल यज्ञनिधिको मौलिक शैली सबैलाई मनपथ्र्यो।

मेरो  लेखनको आरम्भिक यात्रा र अभ्यासका क्रममा उहाँबाट पाएका प्रेरणा, हौसला र मार्गदर्शन अविस्मरणीय छन् । रेडियो नेपालको आँगनमा भएको हाम्रो भेट त्यहीँ मात्र सीमित रहेन । बेलाबेला घरमा बोलाउने र कार्यक्रमतिर सँगै जानेसम्मको ममत्व उहाँबाट पाउँदै गएँ । नेपाली लेखक संघ र गणेशमानसिंह अध्ययन प्रतिष्ठानले २०५४ सालमा झापामा आयोजना गरेको बृहत् लेखक सम्मेलनमा उहाँले झापासम्म पनि सँगै लैजानुहुँदा साहित्यसम्बन्धी धेरै कुरा सिक्ने–बुझ्ने मौका पाएँ, औपचारिक–अनौपचारिक दुवै तबरले।

रुचिपूर्ण विषय छनोट र श्रुतिमधुर लबजका कारण उहाँका गफ सुनेर म कहिल्यै अघाउदिन थिएँ । उहाँ साच्चै प्रेरणाको प्रतीक भएर मजस्ता धेरैका सम्झनामा सधैँ रहनुहुने छ।

गाउँबस्तीमा बोलिने झर्रा नेपाली शब्द टपक्क टिपेर भुइँमान्छेको बोली र व्यथालाई सर्लक्क चित्रण गर्ने उहाँको मौलिक शैली मलाई निकै मनपथ्र्यो । हेपिएका वर्गले प्रयोग गर्ने ‘जदौ’ शब्दलाई नेपाली भाषाको मूल प्रवाहमा स्थापित गराउने कार्यको श्रेय उहाँलाई नै दिइन्छ । मेलो पस्ने, मैझारो गर्ने, बिट मार्ने जस्ता श्रमजीवी वर्गमा सीमित शब्दलाई पनि उहाँले नै व्यापक बनाउनुभएको हो । आफ्ना कथ्य र लेख्य दुवै अभिव्यक्तिका माध्यमबाट नेपाली लोक जनजीवनको भाषालाई मानकीकरण गर्न उहाँ आजीवन प्रयत्नरत रहनुभयो।

पूर्वी नेपालको खोटाङमा २०१० सालमा जन्मनुभएका दाहाल सानै छँदा पितृशोक भोग्नुपरेका कारण बाल्यकालमा धेरै दुःख र हैरानी भोग्नुपरेको बताउनुहुन्थ्यो । निकै ठूलो संघर्ष झेल्दै उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आइपुग्नुभएका उहाँ विद्यार्थी कालदेखि नै साहित्य लेखन यात्रामा उत्साहका साथ जोडिनुभयो । साहित्य सिर्जनाका अतिरिक्त ०३४ तिरै उहाँले रेडियो नेपालमा कार्यक्रम सञ्चालन सुरू गरिसक्नुभएको थियो । सर्वाधिक लोकप्रिय सञ्चालकका रूपमा नेपाली साहित्यलाई जनस्तरसम्म व्यापक बनाई गाउँगाउ ँबस्तीबस्तीसम्म भाव र भाषा प्रसारित गर्न उहाँको प्रशंसनीय भूमिका रह्यो । मृगौला रोगबाट पीडित भई ०५७ मा मृगौला प्रत्यारोपण गर्ने अवस्था नआउन्जेल उहाँले रेडियो नेपालमा साहित्य संसार कार्यक्रम सञ्चालन गरिरहनुभयो।

स्वास्थ्य समस्यासँग जुध्दाजुद्धै पनि पछिल्लो केही समय एचबिसी  एफएम र रेडियो अन्नपूर्ण नेपालमा समेत साहित्यिक कार्यक्रम सञ्चालन गर्न भ्याउनुभयो । उहाँ सधैँ गतिशील र सिर्जनशील जीवन बाँच्न चाहनुहुन्थ्यो।

रेडियो नेपालमा कार्यरत रहँदा उहाँ प्राय हिँडेर नै घर जाने–आउने  गर्नुहुन्थ्यो । उहाँसँगै पैदल मीठामीठा गफ र हास्य रस समेत सुन्न पाइने हुँदा बाटो कटेको पत्तो नै हुँदैन थियो । निकै नै रसिलो, हँसिलो र उज्योलो व्यक्तित्व थियो उहाँको । हरिभक्त कटुवाल, भूपि शेरचन, लेखनाथ पौड्यालजस्ता प्रसिद्ध कविका कवितांश समेत बेलाबेला मिसाउँदै र विभिन्न दृष्टान्त प्रस्तुत गर्दै कुरा गर्ने उहाँको शैली सुरुचिपूर्ण हुन्थ्यो।

मौखिक अभिव्यक्तिकला अब्बल भएकै कारण उहाँको स्वास्थ्य अवस्थामा प्रतिकूलता नआउन्जेल काठमाडौँमा हुने कतिपय महत्वपूर्ण कार्यक्रममा सम्भव हुँदासम्म उहाँलाई नै उद्घोषण गर्न लगाइन्थ्यो । उहाँले सञ्चालन गर्नुभएका सबै कार्यक्रम रोचक हुने गर्थे । नेपाली भाषामा रहेको उहाँको पकड, ठेट नेपाली शब्द चयनमा जोड, प्रवाहमय वक्तृत्व क्षमता जस्ता पक्ष नै उहाँको मौखिक अभिव्यक्तिलाई तिक्खर बनाउने विशेषता थिए । आफ्नो समयका सर्वाधिक लोकप्रिय कार्यक्रम सञ्चालकको छवि बनाउन उहाँ सफल हुनुभएको थियो।

उहाँद्वारा प्रसारित साहित्यिक कार्यक्रम सुनेर नै साहित्यिक क्षेत्रमा आकर्षित भएर कलम चलाउँदै गरेका कयौँ प्रतिभा अझै भेट्न सकिन्छ ठाउँठाउँमा।

०५४ सालसम्म नेपालभर एउटै मात्र रेडियो प्रसारणमा थियो, रेडियो नेपाल । त्यसमा पनि ‘साहित्य संसार’ कार्यक्रम धेरै लोकप्रिय थियो । लोक जनजीवनका भोगाइ, संस्कार, स्वर र शैलीलाई महत्व दिँदै रेडियोमा कार्यक्रम सञ्चालन गर्ने दाहालका स्रोता गाउँघरका बूढापाका, श्रमिक, मजदुर, किसान सबै हुन्थे । बोलीमा मिठास, भाषिक लयात्मकता र झर्रोपना, उहाँको कार्यक्रम धेरैले सुन्न छुटाउँदैनथे।

उहाँमा विद्रोही चेत प्रशस्त थियो । माओवादीले सशस्त्र विद्रोह सुरु गर्नुभन्दा अघिदेखि नै उहाँ गणतन्त्रका पक्षमा वकालत गर्नुहुन्थ्यो । तर, उहाँ कहिल्यै कम्युनिष्ट विचारधारातर्फ भने ढल्किनु भएन । बीपी कोइरालाई नै सधैँ आदर्श नायक मान्ने उहाँ राजतन्त्र रहुन्जेल पूर्ण प्रजातन्त्र र स्वतन्त्रता सम्भव नहुने तर्क गर्नुहुन्थ्यो । अन्ततोगत्वा उहाँका सोच र चिन्तन सार्थक बन्यो, मुलुकमा गणतन्त्र स्थापना भएर नै छाड्यो।

दासता र रैतीबाट मानिसलाई नागरिक बनाउनुपर्छ भन्ने मान्यता थियो उहाँको । लोकतान्त्रिक निष्ठाका कारण उहाँलाई धेरै पटक अप्ठ्यारो नपरेको होइन । तर, पनि सधैँ अविचलित रहनुभयो । पञ्चायती व्यवस्थाका अप्ठ्यारा दिनहरूमा समेत बहुदल पक्षधरका आवाजलाई कुनै न कुनै रूपमा कार्यक्रममा समेट्ने गर्नुहुन्थ्यो ।  तत्कालीन शासक वर्ग र प्रशासनलाई पटकपटक स्पष्टीकरण दिँदादिँदा हैरान हुनुपरेको स्मरण उहाँले सुनाउनुभएको थियो।

उहाँको लेखकीय व्यक्तित्वको ओज, स्तरीयता र स्थान छ । उहाँका गीत, कविता, लेख र निबन्ध विभिन्न पत्रपत्रिकाहरूका प्रशस्तै प्रकाशित छन् । आफूले देखेभोगेका यथार्थका विभिन्न पाटालाई उहाँले हृदयस्पर्शी तरिकाले लेखरचनामा प्रस्तुत गर्नुभएको छ । कुनै ढोँग, आडम्बर र खोक्रा आदर्शको लेपन पाइँदैनन्, उहाँका लेखनमा । पछिल्लो समय अन्य विधाका तुलनामा उहाँका निबन्धहरू पत्रपत्रिकाहरूमा अलि बढी प्रकाशित भए जस्तो लाग्छ । आफू जन्मेहुर्केको ग्रामीण परिवेश, त्यहाँका जीवनभोगाइ, चालचलन, संस्कृतिको चित्रणका साथै आफ्ना संघर्षका कथा, समकालीन बेथिति र परिदृश्यहरूको बहुल चित्रण उहाँका निबन्धहरूमा प्रस्तुत भएका पाइन्छन् । निबन्धमा जस्तै उहाँका गीत र कवितामा पनि यथार्थपरकता, विद्रोही चेत, प्रकृतिचित्रण र जीवनवादी भाव अटाएका छन्।

मधुपर्क मासिकमा प्रकाशित उहाँको ‘काइँली कमिनी’ शीर्षकको कविता एक समय निकै चर्चित बनेको थियो । म पनि यो कविता पढेर प्रभावित बनेको थिएँ । दलित भनेर हेपिएका वर्गप्रति भएको शोषणको एउटा रूपलाई उहाँले यस कवितामा शक्तिशाली तबरले उजागर गर्नुभएको छ । अछुत भनेर हेप्ने तर त्यही अछुत भनिएका गरिबका राम्रीराम्री छोरीबुहारीलाई लुकिछिपी यौनशोषण गर्ने समाजका टाठाबाठा र ठालुहरूलाई उहाँले यस कवितामा पात्र बनाएर चोटिलो प्रहार गर्नुभएको छ।

अग्रज स्रष्टा दाहाल नेपालका केही पुरस्कार गुठी र तिनका पुरस्कार वितरण गर्ने ढर्राप्रति खुलेर नै असहमति प्रकट गर्ने गर्नुहुन्थ्यो । उहाँले कहिल्यै कुनै पुरस्कारका लागि लोभलालच देखाउनुभएन । कतिपय पुरस्कार गुठीले योग्य स्रष्टालाई प्रोत्साहित गर्नुको साटो चाकडी, चाप्लुसी र बेथिति बढाउने गरेको टिप्पणी गर्नुहुन्थ्यो । नेपाली साहित्यका क्षेत्रमा विद्यमान सबैखाले विसंगतीको उहाँले बाँचुन्जेल आलोचना गरिरहनुभयो । जीवनको उत्तरार्धतिर जनस्तरबाट सम्मानित र अभिनन्दित हुनुबाहेक उहाँको योगदानअनुसार उहाँलाई बाँचुन्जेल कुनै प्रमुख पुरस्कार कतैबाट प्रदान गरिएको पनि थाहा पाइएन।

विविध विधाका सिर्जनसामग्री प्रशस्तै हुँदाहुँदै पनि आफ्नो जीवनकालमा पुस्तकाकार रूपमा प्रकाशन गर्नेतिर उहाँ लालायित बन्नुभएन । त्यस्ता सामग्री छाप्न योग्य भए आफ्नो मृत्युपछि मात्र प्रकाशनमा आउँदा राम्रो हुने कुरा उहाँले गर्नुभएको थियो । स्तरीय र उपयोगी लागे कसैले खोजेर पछि नै प्रकाशन गर्लान् नि भन्ने उत्तर दिएर पन्छिने उहाँ आफ्ना पुस्तक प्रकाशनका लागि जिन्दगीभर कुनै प्रकाशकको ढोका ढकढक्याउन पुग्नुभएन । पछिल्लो समय मात्र उहाँका एक जना प्रशंसकले केही पत्रपत्रिकाबाट संकलन गरिदिएर जम्मा एउटै पुस्तक ‘जदौका निबन्ध’ साझा प्रकाशनबाट प्रकाशित भएको छ । पत्रपत्रिकामा फुटकर रूपमा भने उहाँका प्रशस्तै रचना  प्रकाशित छन् । उहाँका लेखरचना समेटेर पुस्तकाकार रूपमा प्रकाशन गर्नेतिर अब प्रकाशन संस्थाहरूले चासो देखाए राम्रो हुन्थ्यो । यसो गर्दा मृत्युपछि आफ्ना पुस्तक छापियुन भन्ने उहाँको चाहना पूरा हुने थियो।

कुरीति, कुसंस्कार र अन्ध परम्परा विरुद्ध बोल्ने र लेख्ने मात्र गर्नुभएन उहाँले, जीवनमा लागु गर्न चाहनुभयो । उहाँले आफ्नो मृत्युपछि आफ्नो शवमा फूलमाला र अबिर प्रयोग नगर्न र खाने अन्न बर्बाद नगर्न भन्नुभए अनुसार नै गरियो । उहाँको इच्छा अनुसार नै कुनै कर्मकाण्डी तामझामबेगर उहाँका परिवारले त्रिवि शिक्षण अस्पताललाई उहाँको पार्थिव शरीर दान गरे।

मस्तिष्काघात उहाँको निधनको कारण बन्यो । लामो समय मृगौलाको जटिल समस्याले थलिनुपरेको उहाँले पटकपटक मृत्युलाई नजिकैबाट चियाउनुभयो, धेरै अप्ठ्यारा अवस्थाहरू झेल्नुभयो तर पनि आफ्ना मूल्यमान्यता र आदर्शप्रति सधैँ अडिग भएर रहनुभयो । आफ्नो स्वाभिमानलाई कतैबाट धमिलिन नदिने राष्ट्रवादी स्रष्टाको छवि स्थापित गर्नसक्नु उहाँको जीवनको सफलता हो । लाग्छ, जीवन जिउने कला र बाँच्नुको क्षणभङगुरता उहाँले राम्रोसँग बुझ्नुभएको थियो।

उहाँले सामन्ती ढर्रा, अन्धविश्वास, भेदभाव, छुवाछुत सबैबाट मुक्तिका लागि साहित्यमा कलम चलाउनुभयो । उहाँ जति दिन बाँच्नुभयो बाच्नका लागि बाँच्नु भएन, जीवनमय जीवन बाँच्नुभयो । यो नै उहाँलाई सम्झिन काफी छ।

प्रकाशित: २ भाद्र २०७५ ०३:५४ शनिबार

जदौ राष्ट्रवादी_स्रष्टा दाहाल_यज्ञनिधि