अन्य

इन्टरनेसनल युथ डे

अगस्त १२ अर्थात् आइतबार संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको अगस्त १२ का दिन मनाइने यो दिवस यो वर्ष ‘युवाहरूका लागि सुरक्षित स्थान’ भन्ने नाराका साथ मनाइयो।

युवाहरू सँगसँगै भेट्न सक्ने, उनीहरूको रुचि र आवश्यकता अनुसारका विविध क्रियाकलापहरूमा सामेल हुन सक्ने, निर्णय प्रक्रियामा सहभागी हुन सक्ने र आफूहरूलाई स्वतन्त्र रूपले अभिव्यक्त गर्न सक्ने सुरक्षित स्थानको आवश्यकतालाई जोड दिँदै यो वर्षको नारा तय गरिएको हो । यस्ता स्थानहरूले युवाहरूको आत्मसम्मान र सुरक्षालाई सुनिश्चित गर्न सक्नेमा अभियन्ताहरू जोड दिन्छन् । यही सन्दर्भमा आइतबार सामाजिक सञ्जाल ट्विटरमा इन्टरनेसनल युथ डे ट्रेन्डिङ भयो । नेपाल मात्र नभई संसारभरका युवाहरू र संघसंस्थाहरूले पनि यो दिवसको सन्दर्भमा ट्विट गरे ।
युरोपियन युनियनको अन्तर्राष्ट्रिय सहायता र विकासका लागि कमिसनर नेभेन मिमिकाले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिँदै ट्विट गरे, ‘अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना । युवाहरू हाम्रो भविष्यका वास्तुविद् र इन्जिन हुन् । हामीलाई उनीहरूको आवाज र सीप चाहिन्छ।’

नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले पनि युवा दिवसको सन्दर्भमा ट्विट गरेका छन् । ‘मानवतालाई दमन गर्ने प्रणालीलाई चुनौती र परिवर्तन गर्ने युवाको शक्तिलाई इतिहासले नै प्रमाणित गरिसकेको छ । उनीहरूको साहस, कृपा र विवेकसँगै निराशावाद र सहनशीलताको संस्कारविरुद्ध लड्न चाहने इच्छाले बालबालिकामाथि भइरहेका हिंसाको अन्त गर्नेछ,’ सत्यार्थीको ट्विट छ।

कोहिनुर ट्विटर नाम भएका एक प्रयोगकर्ताले युवा दिवसको सन्दर्भमा नेपालको विकास गर्नुपर्नेमा जोड दिएका छन् । ‘दुई मुठी चामल बिहान बेलुकी खाएर, हप्ताको एक दिन गुन्द्रुक र दुई हप्तामा मासु खाएर भए पनि नेपाल आमालाई कसम खाएर देशको विकास गर्नु छ,’ ती प्रयोगकर्ताको ट्विट छ।

मनोज घर्ती मगरले पनि युवा दिवसको शुभकामना दिँदै ट्विट गरेका छन्, ‘देशको युवा शक्ति अब क्षमताअनुसारको रोजगारसहित समृद्ध नेपाल निर्माण गर्ने काममा परिचालन गरी देश विकास होस् अब । अन्तर्राष्ट्रिय युवा दिवस २०७५ को शुभकामना।’

हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदा वैदेशिक रोजगारीका लागि खाडी मुलुक र मलेसिया पुग्ने गरेका नेपाली युवाहरूको बारेमा पनि चर्चा हुने गर्छ । लोचन पल नाम गरेका ट्विट प्रयोगकर्ताले व्यंग्यात्मक शैलीमा ट्विट गरेका छन्, ‘यु–बा दिवस रे । उता युवा जति युके, युएसए, युएइतिर समृद्ध नेपाल बनाउँदै । यता गाउँमा बा युवा दिवस मनाउँदै ।’
मुकुन्द रिमालले पनि यस्तै खालको ट्विट गर्दै युवा दिवसको सन्दर्भमा प्रश्न गर्छन्, ‘आज अन्तर्राष्ट्रिय युवा दिवस । हामी युवाहरू कहिलेसम्म खाडीमा पसिना पुछिरहने ? यसको उत्तर समृद्ध नेपाल, सुखी नेपाली भन्नेहरूसँग होला।’

यसबाहेक युवा दिवसको सन्दर्भमा गरिएका अन्य ट्विटहरूमा दिवस मनाउन आयोजना गरिएका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी समेटिएको छ । त्यस्तै, युवाहरूको शक्ति, उनीहरूका चुनौती र अवसरका बारेमा पनि सर्वसाधारणदेखि विभिन्न जिम्मेवार पदमा रहेका मानिसहरूले पनि आफ्नो विचारहरू ट्विट गरेका छन्।

प्रकाशित: २८ श्रावण २०७५ ०६:२३ सोमबार

#अन्तर्राष्ट्रिय युवा दिवस #संयुक्त राष्ट्र संघ