अन्य

ओडिआइ जितको चर्चा

नेपालले गत शुक्रबार नेदरल्याण्ड्समा भएको एक दिवसीय क्रिकेटको दोस्रो खेलमा घरेलु टोली विरुद्ध ५० ओभरको क्रिकेट खेल्यो।

नेपाल एक दिवसीय खेलमा योग्य भएपछि खेलेको शुक्रबारको दोस्रो खेलमा नेपालले सनसनीपूर्ण नतीजा निकाल्यो । ५० ओभरको खेलमा अन्तिम ओभरको अन्तिम बलमा अन्तिम विकेट लिदैं नेपालले एक रनले नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेल जित्यो । पहिलो खेलमा भने नेपाललाई नेदरल्याण्ड्सले हराएको थियो ।
नेपाली समयअनुसार रातको करीव एघार बजेसम्म चलेको शुक्रबारको खेलको नेपाली दर्शकहरुले टेलिभिजनमा प्रत्यक्ष रुपमा हेरेका थिए भने कतिले वेवसाइट र सामाजिक सञ्जालमा लाइभ स्कोर र कमेन्ट्री हेरिरहेका थिए । खेल जति समाप्तिको नजिक पुग्दै थियो, नेपाली दर्शकहरुको मुटु त्यति नै ढुकढुक भइरहेको थियो । यो व्यग्रतालाई सामाजिक सञ्जालमा पनि स्पष्टै देख्न सकिन्थ्यो।

सुजन रेग्मीले खेल जारी रहँदा ट्वीट गरे, ‘खेलाइ खेलाइ, हाम्रो मुटुको धड्कन बडाइ, ढुक्चुक ढुक्चुक अवस्थामा लास्ट बलमा जित्न सक्छ ।’त्यस्तै, आइ गफाडि ट्वीटर ह्याण्डल रहेका एक प्रयोगकर्ताले पनि खेल जारी हुँदा यस्तो ट्वीट गरे, ‘नेपालले अव जित्नका लागि सिंगल जोगाउनु पर्यो । बाउन्ड्री त दिनै भएन । २ रन कुद्ने मौका दिनु भएन र ३ रन त झन् छिरिक्कै । विकेट लिए झन काइदा।’

देवसिंह बोहोराले नेपालको बलिङको प्रशंसा गर्दै खेलकै क्रममा ट्वीट गरे, ‘क्रिकेट खेलमा ब्याटिङ नगरेर बलिङ मात्रै गर्ने सिस्टम भएको भए हाम्रा खेलाडीहरुले उहिले नै विश्वकप उचालिसक्थे होला ।’खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितेपछि त्यो रोमाञ्चक क्षणको बारेमा पनि सामाजिक सञ्जालभर चर्चा भइरह्यो । सचिन सापकोटाले नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई मेन्सन गर्दै ट्वीट गरे, ‘हे भगवान । मेरो हात अझैं काँपिरहको छ । अन्तिम बलमा विजय । राम्रो बलिङ पारस ।’नेपालको विजयपछि विके पुलामीले ट्वीट गरे, ‘नेपाली क्रिकेट र क्रिकेट फ्यानका लागि कस्तो राम्रो क्षण । पहिलो ओडिआई विजय १ रनले । नेपालको कस्तो मुटु छुने विजय । यो दिनका लागि पारस र सोमपाललाई धन्यवाद ।’

खेलको अन्तिम क्षण हृदयघात नै गराउने खालको भन्दै धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कमजोर मुटु भएका दर्शकका लागि यो खेल उपयुक्त नभएको टिप्पणी पनि गरे । अंगदीप न्यौपानेले ट्वीट गरे, ‘धन्न नेपालमा धारा तेल पाउँछ र मुटु दह्रो छ । नभए त कहाँ सकिन्छ र नेपालको क्रिकेट हेर्न?’

त्यस्तै, प्रमिला चापागाईंले ट्वीट गरिन्, ‘म भन्दिन केही । त्यो समयमा मलाई हृदयघात भएको भए के नेपाली क्रिकेट जिम्मेवार हुन्थ्यो? कस्तो ऐतिहासिक क्षण । खुसी खुसी ।’मुटुको धड्कन बढाउने नेपाली क्रिकेट खेलाडीको खेलको बारेमा हुमनाथ पौडेलले ट्वीट गरे, ‘अस्पताल खोल्न नदिने भन्छन् । नेपालका क्रिकेट खेलाडी यस्तो खेल्दै गए भने गोविन्द केसी आफै अस्पताल खोलौं भनेर फेरि अनसन बस्नेछन् ।’

रोमाञ्चक खेलका अलावा शुक्रबार भएको क्रिकेटका बारेमा लवराज देवकोटाले एउटा ट्वीट गरेका छन् । ‘डच कमेन्टेटरहरुले हाम्रो मोमो, हामीले नेपालमा क्रिकेटलाई कति मन पराउँछौं र उनीहरु नेपालमा क्रिकेट खेल्न चाहन्छन् भन्ने विषयमा चर्चा गरेको सुन्नु पक्कै पनि केही विशेष कुरा हो । नेपाललाई गर्विलो बनाएकोमा धन्यवाद ।’
यसबाहेक नेपाल र नेदरल्याण्ड्सबीच भएको शुक्रबारका रोमाञ्चक खेल, नेपालको जितलगायतका विषयमा सामाजिक सञ्जालमा हजारौं ट्वीट र स्टाटस पोस्ट गरिएका छन् ।

प्रकाशित: २१ श्रावण २०७५ ०२:२९ सोमबार

ओडिआइ जितको चर्चा