अन्य

‘जोगाउने नाममा कला संस्कृतिको मौलिकता मेटायौं’

एस कुमार, गायक

हामीले मौलिक कला संस्कृतिलाई ध्यान दिएनौं । हाम्रो सहरको खास चिनारी के हो भनेर हेक्का राखेनौं । विकास निर्माणका काम गर्दा पनि दुरदृष्टि राखेनौं । खाली आफ्नो स्वार्थ पुर्तिको पछि दौडियौं । यसले हामीलाई घाटा पुर्याउँछ । नेपाल घुम्न आउने विदेशीले गएगुज्रेको सहर भन्छन्।

तपाईको बिचारमा सहर के हो ?
सहर आकर्षित र व्यवस्थित ठाउँ हो । सहरमा गाउँ र गाउँभन्दा बेग्लै भिन्न भेटिन्छ । हामीले झिलिमिली र अग्ला–अग्ला भवन हेरेर सहर राम्रो नराम्रो भन्ने छुट्याउँछौं तर, सहरको विषेशता त्यति मात्रै होइन । सहर कला–संस्कृतिले भरिएको ठाउँ हो । देशको मुख्य वास्तुकला झल्काउने ठाउँ हो । जनघनत्व बढी भएपनि सेवा–सुविधा चुस्त पारिएको हुन्छ ।
घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
नेपालभित्र मनपर्ने सहर काठमाडौं र पोखरा हो । पोखरा प्राकृतिक छ । अन्य सहरमा प्रकृतिले दिएको पक्षहरु मासिएपनि पोखरामा मासिएको छैन ।

सकेसम्म बचाउने प्रयास गरिएको छ । काठमाडौंको कुरा गर्दा, हामीले काठमाडौंलाई कंक्रिटको सहर बनायौं । पूरानो कला संस्कृति भत्कायौं । जोगाउने नाममा हिजो मौलिकता मेटायौं । यो पक्षलाई हेर्दा काठमाडौं बिगिएको छ।

यहाँको मनपर्ने पक्ष ?
यहाँको मौसम सदावहार छ । काठमाडौंमा जस्तो मौसम देशका कुनै सहरमा पनि पाइन्न । तर, यहाँको मौसिक कला–संस्कृति दिनानुदिन मासिँदै गएको छ । यो नराम्रो पक्ष हो।

विदेशी मुलुकका कुन–कुन सहर घुम्नुभएको छ ?
लगभग नेपाली पुगेका सबैजसो सहर पुगेको छु । युरोपका सबैजसो देशका सहर । हङकङ, अमेरिका लगायत, अष्टे«लियो, साउदी, कतार, दुबै लगायत धेरै देश पुगेको छु । आधुनिकता र विज्ञानकोे चमत्कारलाई हेर्दा विदेशी देश हामी भन्दा धेरै अगाडि छन् । सहर विशिष्ट प्रकारका छन् । हरेक देशका आफ्नै प्रकारको विषेशता छन् । मरुभूमीको देश भनेर चिनिएका मुलुकहरु अहिले हरियाली भएका छन् । हामीकँहा प्रकृतिले निशुल्क दिएको वरदान पनि प्रयोग गर्न जानिएन ।

विदेशका सहर र हाम्रा सहरबीच भिन्न के रहेछ ?
 नेपालका सबै ठाउँहरुमा अदित्य सौन्दर्यता छ । प्रकृतिले दिएको कुरा हामी सबैभन्दा अग्र स्थानमा छौं । यहाँका सहरैपिच्छे फरक विषेशता छन् । हिमाल, पहाड र तराईका ठाउँहरुमा फरकपन भेटिन्छ । यहाँका सहरमा अनुपम कला र संस्कृति लुकेका छन् । संसारमा कहीँ नभएको मौलिकता लुकेको छ । तर, नीति नियम र कानुनको परिपालना एकदमै कमजोर भयो । सरकारले भएको कानुनलाई पनि लागु गर्न सकेन।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौंमा सबैथोक छ । आफूले चाहेको कुरा सजिलै पाउन सकिन्छ । सुविधायुक्त विद्यालय, अस्पताल, सरकारी सेवा लगायत पक्ष हेर्दा पनि काठमाडौं राम्रो छ । अर्कातर्फ हेर्ने हो भने काठमाडौं जति सुविधायुक्त छ त्यति नै धरासायी पनि बन्दै गएको छ । सबैतिर कंक्रिटले भरिएको छ । सहरी इलाका पूरै अव्यवस्थित छ । मापदण्ड विपरीतका भवन, खाल्डाखुल्डी सडक, मानिसको चापले काठमाडौंलाई धरासायी बनाएको छ । यसलाई ध्यान नदिने हो भने काठमाडौं गएगुज्रेको सहर बन्न बेर छैन।

विदेशका सहर कसरी चलेका रहेछन् ?
त्यहाँको विकासक्रम, काम गर्ने शैली र नीति नियम धेरै राम्रो छ । विदेशका सहरमा नीति नियम र कानुन कडा पारिएको छ । सहरमा कसैले पनि मनपरी गर्न पाउँदैन् । सहरी इलाकामा हरेक सुविधा हुन्छन् । हामीले मौलिक कला संस्कृतिलाई ध्यान दिएनौं । हाम्रो सहरको खास चिनारी के हो भनेर हेक्का राखेनौं । विकास निर्माणका काम गर्दा पनि दुरदृष्टि राखेनौं । खाली आफ्नो स्वार्थ पुर्तिको पछि दौडियौं । यसले हामीलाई घाटा पुृर्याउँछ।

हाम्रा सहर यस्तै बन्न सक्दैनन् ?
सोच र योजना हुने हो भने बन्न सक्छन् । विदेशी मुलुका सहर विकास गर्दा हजार बर्ष अघिको समयलाई हेरिन्छ । हाम्रा नेता र सहर विकास गर्ने जिम्मा पाएका निकायको त्यो सामथ्र्य भएन।

सहर कला संस्कृति र परम्पराको मिश्रित ठाउँ हो, सहरमा यसको छनक भेटिनुपर्छ, तर, हामीकहाँ संस्कृति र परम्पराको जरो उखेलिँदै छ नि ?पनि लोप हुने क्रममा छन्, किन यस्तो भएको होला ?
कर्मचारी, प्रहरी र नेताहरु अधिकांश एजेन्ट भएर काम गरेका छन् । कसैले पनि निस्वार्थ भएर सहर विकासमा लागेको देखिन्न । सबै स्वार्थ पुर्तिको लागि दौडिरहेका छन् । संस्कृति र मौलिकतामा हामी संसारकै धनी भनेर दावा गर्छौं तर हामीसँग भएका कल्चर झल्काउने गरी संरक्षण गर्न सकेका छैनौं । राज्यले यसतर्फ ध्यान दिएको छैन । बहुमूल्य सम्पतीको बेवास्ता गरेका छ सरकारले । यसतर्फ बेलैमा ध्यान नदिए हाम्रो अस्तित्व संकटमा पर्न थाल्ने छ । हामी चारैतिरबाट मिचिने छौं।

सहरवासीको बानी कस्तो लाग्छ ?
नागरिकले पनि आफ्नो दायित्व बुझेका छैनन । हामी अनुशासन हिन छौं । अरुको देशका गयौं भने त्यहाँको नीति नियम राम्ररी पालना गर्छौं तर आफ्नोलाई हेप्छौं।

विदेशका सहर र हाम्रा देशका सहरबीच भिन्नता के देख्नुभयो ? 

हाम्रा सहरको तुलनामा विदेशका सहर धेरै व्यवस्थित छन् । पूर्वाधार निर्माणले विदेशका सहर झकिझकाउ छन् । हामीकहाँ प्रकृति र मौलिक विषेशताहरु फरक छन्।

तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
म काठैकाठले बनेको सहर परिकल्पना गर्छु । हिजो काष्ठमण्डप जसरी एउटै रुखको काठले बनेको थियो, अरु सहर पनि त्यस्तै विषशताले भरिएको हुनुपर्छ ।

सफा, फराकिला सडक, खानेपानी, विजुली लगायत सुबिधा सहज भएको सहरको परिकल्पना गर्छु । सहरमा अस्पताल, स्कूल÷कलेज व्यवस्थित हौंन । यातायातको सहज पहुँच सबैतिर पुगोस् । सरकारी प्रशासन जिम्मेवार र मर्यादित होस् । यति भयो भने सहर व्यवस्थित हुन्छ।

नपर्ने पक्ष केहो ?
ढल, बिजुलीका तार पनि अव्यवस्थित छन् । सहरको विकासका सरकारी निकायबीच समन्वय भएको छैन । यसले सहरलाई कुरुप बनाएको छ।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
पछिल्लो समय सुटिङको क्रममा मुस्ताङ पुगेर आएको थिएँ ।
प्रस्तुतिः शिवहरि घिमिरे

 

प्रकाशित: २१ श्रावण २०७५ ०२:१९ सोमबार

जोगाउने नाममा कला संस्कृतिको मौलिकता मेटायौं