अन्य

पञ्जाब, मुम्बई हुँदै मुख्यमन्त्री

तस्बिर : लाेकश अधिकारी

डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीका त्रिलोचन भट्ट १६ वर्षको उमेरमा २०४२ सालमा रोजगारी खोज्दै भारत छिरे । स्कुल पढ्ने उमेरमा बुबाको मृत्युपछि जागिर खोज्न भन्दै भारत छिरेका भट्ट उतै राजनीतिमा लागे । प्रवासमा रोजगारीसँगै राजनीतिक गतिविधिमा संलग्न उनी अहिले भने प्रदेश नम्बर ७ को मुख्यमन्त्री बनेका छन् ।

आफूले भारतमा छँदा ८ घण्टा ‘ड्युटी’ दिइसकेपछि बचेको समय राजनीतिमा दिने गरेको सम्झँदै उनले भने, ‘नेपालीहरु भारतमा गएर दुःख कष्ट व्यहोर्थे, उनीहरुका पीडालाई मल्हमपट्टि लगाउन पनि हामीहरु राजनीतिमा सक्रिय भयौँ ।’ उनले भारतमा छँदा नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्रको भ्रातृ संगठन अखिल भारत एकता समाजमा रहेर काम गर्न थाले । आफूहरुले भारतमा रहेका नेपाली कामदारलाई तलब नपाउने समस्या समाधान गर्न पनि पहल गरेको सम्झँदै उनले भने, ‘२०५२ सालमा युद्धको तयारी भयो त्यसमा पनि सहभागी बनेँ ।’ सन् १९५० को सन्धिअनुसार नेपालीहरुले काम गरेबापतको पारिश्रमिक नपाउने भएपछि पार्टीको निर्णयअनुसार नै आफूहरुले सामूहिक छलफल चलाउने र श्रमिकका समस्या समाधान गर्न पहल गर्ने गरेको उनले स्मरण गरे । उनले भारतमा रहँदा रोजगारीकै सिलसिलामा पञ्जाब, मुम्बई, गुजरात तथा विभिन्न सहरमा काम गरे । उनले २०५७ सालदेखि जागिर छोडेर पूरै समय तत्कालीन माओवादी पार्टीलाई दिन थाले । पार्टीले उनलाई स्वदेशको राजनीति नभएर भारतमै रहेर राजनीति गर्ने जिम्मेवारी दियो । उनी पुनः भारत फर्किए । 

नेपालीहरुले भारतमा पाउने प्रायः जागिर भनेकै चौकीदारी, मजदुरी, बारी बगैंचाको काम, घरेलु कामदार नै हुनुपर्ने बताउँदै उनले भने, ‘अब हामीले नेपालमै रोजगारीको सम्भावना खोज्नुपर्छ । नेपालीहरुलाई भारतमा चौकीदारी गर्न पठाउने हैन, यही पसिना बगाउन प्रोत्साहन गर्नुपर्छ ।’ प्राकृतिक स्रोत साधनको पहिचान गरेर अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, ‘प्रदेश नम्बर ७ लाई कृषि पर्यटन र पानीको सदुपयोग गरेर हामी स्वदेशमै रोजगारीको सम्भावना खोज्न सक्छौँ ।’ 

उनले सुदूरपश्चिम जल, जमिन र जंगलको धनी प्रदेश भएको बताउँदै यहीँबाट पनि ७ नम्बर प्रदेशले कोल्टे फेर्ने निश्चित भएको बताए । उनले भने, ‘हामीसँग पर्याप्त प्राकृतिक स्रोत साधन छन्, त्यसलाई नै सदुपयोग गर्न सके पनि हाम्रो प्रदेश समृद्ध बन्छ ।’ उनले अब कृषि क्रान्ति जरुरी रहेको बताए । कृषियोग्य जमिनलाई सदुपयोग गर्दै आधुनिक कृषि प्रणाली अपनाउनुपर्ने बताए । आफूहरुले पनि प्रदेश ७ लाई कृषि क्षेत्रमा मजबुत बनाउन लागिपरेको उनले बताए । राजनीति गर्दै र सिक्दै जाने कुरा भएको बताउँदै उनले भने, ‘हामी प्रदेश संरचनाको पहिलो अभ्यासको चरणमा छौँ, हरेक कुरा सिकिरहेका छौँ ।’ ‘हिमाल, पहाड र तराईको सुन्दर परिवेश, भाषा, संस्कृति, जलस्रोत र जडिबुटीको धनी प्रदेश’ नारासहित आफूले काम गरिरहेको उनी बताउँछन् । 

मुख्यमन्त्री भट्टले कुराकानीकै क्रममा आफूले भूमिगत अवस्थामा निकै दुःख र संघर्ष गरेको बताए । उनले भने, ‘प्रवासमा रहँदा कहिल्यै भोकै त कहिल्यै जागिर दाउमा लगाएरै राजनीतिमा होमिन्थ्यौँ ।’ भारतमा गएका युवाहरुका लागि पनि आफूहरुले बोल्नुपर्ने भएकाले पार्टीले प्रवासमै आफूलाई खटाएको बताउँदै उनी भन्छन्, ‘काम गर्दै राजनीति गर्ने कुरामा र काम छोडेर राजनीति गर्ने कुरामा आकाशपातालकै फरक हुँदो रहेछ ।’ पछि आफूले काम गरेर राजनीति गर्नु समस्या हुन थालेपछि जागिर छोडेरै नेपाल फर्केको बताउँदै उनले भने, ‘स्वदेश फर्केपछि पनि संघर्ष धेरै गरेँ ।’ द्वन्द्वकालमा भूमिगत भई पानी, हिउँ, घाम, भोक प्यासमै हिँड्नुपर्ने अवस्था सामान्य रहेको बताउँदै उनी भन्छन्, ‘दुःख छ भन्ने थाहा हुँदाहुँदै पनि म राजनीतिमै होमिएको हुँ ।’ स्वदेश फर्कँदा पनि घरपरिवारबाट सधैँ टाढा रहेको उनी बताउँछन् । ‘प्रवास रहँदा त घर परिवारबाट टाढै थिएँ, तर स्वदेश फर्कँदा पनि घरपरिवारबाट टाढै बसेँ,’ उनले भने, ‘भूमिगत रहँदा घरपरिवारबाट टाढै बस्नुपर्ने बाध्यता थियो ।’ हरेक समयमा घरपरिवारको सहयोग र समर्थनकै कारण राजनीति पनि सार्थक बनेको बताउँदै उनी भन्छन्, ‘न दाजुभाइले मेरो राजनीतिक करियरमा हस्तक्षेप गरे, न त आमा र पत्नीले नै ।’ परिवारको राम्रो सहयोगकै कारण राजनीतिक करियर माथि उठेको उनी सम्झन्छन् । 

हिजो र अहिलेको त्रिलोचनमा कुनै फरक नआएको बताउँदै उनी भन्छन्, ‘हिजो कामको जिम्मेवारी कम थियो, तर आज भने कामको जिम्मेवारी बढेको छ ।’ उनी भन्छन्, ‘त्यही कामको जिम्मेवारी बढेकाले पनि हुनसक्छ, परिवारका सदस्यले सँगै खाना खाने, बस्ने र घुम्न जाने अपेक्षासमेत  छोडिसकेका छन् ।’ 

पारिवारिक अवस्था 

२६ वर्षको उमेरमा २०५२ सालमा दिपायल सिलगढी नगरपालिका कुमालीकोटकी दुर्कादेवी भट्टसँग वैवाहिक जीवनमा गाँसिन पुगे । विवाहपछि उनी  पुनः पत्नीलाई गाउँमै छोडेर परदेश गए । उनले परदेशिनुको कारण द्वन्द्वकालमा भूमिगत रहनु र पार्टीले पनि प्रवासमै जिम्मेवारी दिनु भएको बताउँछन् । भारतमा रहेरै राजनीतिसँगै रोजगारी गरेको सम्झँदै उनी भन्छन्, ‘हामी सानोतिनो सबै काम गथ्र्याँै ।’ चार दाजुभाइ र एक दिदीका धनी मुख्यमन्त्री भट्ट भने साँहिला हुन् । राजनीतिमा सक्रिय रहे पनि घर परिवारबाट सधैँ सहयोग पाइएको बताउँदै भट्ट भन्छन्,‘पारिवारिक सहयोगकै कारण आज राजनीतिमा म यहाँसम्म आइपुगेको हुँ ।’ विवाह गर्नेबित्तिकै पत्नीलाई गाउँमै छोडेर आफू परदेशिएको घटना स्मरण गर्दै उनले भने, ‘श्रीमतीले गाउँमै अरुको खेत अँधिया गरेर छोराछोरी पालिन्, मैले प्रवासमा राजनीति गरेँ ।’ परिवारमा सधैँ समझदारी भएर घर व्यवहार चलाउन सकिने बताउँदै उनले भने, ‘जसले परिवारको नेतृत्व कुशल तरिकाले निर्वाह गर्न सक्छ, उसले राजनीतिक रुपमा पनि कुशल नेतृत्व लिन सक्छ ।’  परिवार चलाउनु पनि राजनीतिक रुपमा एक सक्षम नेतृत्वकर्ता रहेको उनी बताउँछन् । 

पति प्रवासमा रहँदा आफूले दुःख सजिलो गरेरै परिवार, छोराछोरी हुर्काएको विगत सम्झँदै भट्ट पत्नी दुर्काले भनिन्, ‘अरूको जमिन अँधिया लिएर खेतीपाती गरेकी हुँ, त्यहीँबाट उब्जिएको अन्नपातले छोराछोरी हुर्काएँ, पढाएँ ।’ पति मुख्यमन्त्री हुँदा पनि उनको खानपान जीवनशैली फेरिएको छैन । साधारण परिवारमा जन्मेहुर्केकी दुर्काले भनिन्, ‘जस्तो जीवनशैली पहिले थियो, अहिले पनि त्यसै छ । परिवर्तन भएको छैन ।’ 

गरिबीका कारण राम्रोसँग पढ्न नपाएका भट्ट साधारण लेखपढ हुन् । अनौपचारिक शिक्षा भने आफूले भरपुर लिएको दाबी गर्छन् । प्रवासमा रहँदै गर्दा राजनीतिमा लागेको सम्झँदै उनले भने, ‘राजनीतिमा लाग्दा पनि घरपरिवारबाट सहयोग नै पाइयो, अन्ततः परिवारको सहयोगकै कारण आजको अवस्थासम्म आइपुगेको हुँ ।’ 

आफूले अधिकांश सुदूरपश्चिमेली युवाको संघर्ष देखेको र आफैँ भोगेको बताउँदै उनले भने, ‘जो भारतमा कठोर परिश्रम गरेर घर चलाउँछन्, उनीहरुको पीडा मैले पनि बुझेको छु,’ उनले भने, ‘तिनै युवाको प्रतिनिधिका रुपमा आज म यो ठाउँमा उभिएको छु । जहाँ हुन्छु, गर्वका साथ प्रस्तुत हुँदै तिनै उत्पीडित, उपेक्षित जनता र बेरोजगार युवाका पक्षमा र उनीहरुको मुक्तिका लागि काम गर्छु ।’ 

डोटी प्रदेश सभा (ख) निर्वाचन क्षेत्रबाट निर्वाचित भएर प्रदेश सभामा पुगेका उनी तत्कालीन नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य थिए । डोटी जिल्ला इन्चार्जको भूमिका निर्वाह गरिरहेका भट्ट  नेकपा माओवादी केन्द्रबाट ७ नम्बर प्रदेश सभामा सहभागी १४ जना सांसदहरुमध्ये सबैभन्दा ‘सिनियर’ नेता हुन् । 

२०६४ सालको पहिलो संविधान सभा सदस्य निर्वाचनमा डोटी क्षेत्र नम्बर–१ बाट पराजित भएका भट्ट २०७० सालमा क्षेत्र नम्बर–२ बाट पराजित भएका थिए । दुवै निर्वाचनमा उनी तेस्रो भएका थिए । 

भट्टको राजनीतिक यात्रा

कलिलो उमेरमा भारत पसेका भट्ट जेठ, २०४७ मा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्य भएका थिए । ‘तत्कालीन सामन्ती राज्य व्यवस्थाविरुद्ध विद्रोह गर्ने’ उद्देश्यले आफू सो संगठनमा सदस्य भएको उनी बताउँछन् । ‘नेपालको शासन व्यवस्था भोग्नु परेको पीडाबाट उन्मुक्तिका लागि म त्यसमा सदस्य भएको थिएँ,’ उनले भने, ‘हामीले जस्तो समस्या अरू नेपाली युवाहरुले भोग्नु नपरोस् भनेरै प्रवासमै रहेर संघर्षमा लागेको हुँ ।’ त्यसपछि २०४८ असार ३ गते सोही संगठनको मुम्बई एरिया कोषाध्यक्षमा चुनिए । त्यस्तै २०४९ जेठ २५ गते नेकपा (एकता केन्द्र) पार्टी सदस्यता लिए । त्यसपछि उनी तत्कालीन नेकपा (माओवादी) मा सहभागी भए । सोही क्रममा माओवादीले सशस्त्र संघर्षको तयारी थालिरहँदा २०५१÷०५२ मा आन्तरिक रुपले युद्धको तयारीका लागि भारतमै आर्थिक संकलन र व्यवस्थापनको जिम्मेवारी सम्हालेको उनी सुनाउँछन् । 

२ वैशाख २०५१ मा उनी नेकपा (माओवादी) को इलाका सदस्य बनेका थिए । २०५४ वैशाखमा अखिल भारत नेपाली एकता समाज नवौँ मुम्बई नगर कमिटीको कोषाध्यक्ष हुँदै २०५७ मा महाराष्ट्रकै कोषाध्यक्ष बने । २०५५ मा युवा संघ जिल्ला सदस्य चुनिएको उनी बताउँछन् । त्यस बीचमा केही वर्ष उनी कलाकार भएर सांस्कृतिक कार्यक्रममार्फत भारतमै माओवादी संघर्षका पक्षमा उत्प्रेरणा जगाउने काममा समेत लागेका थिए । 

२०५७ असार ५ गते नेकपा (माओवादी) को जिल्ला सदस्य भएपछि भारतको जागिर छाडेर पूर्णकालीन युद्धमा होमिएका थिए । त्यसपछि २०५८ सालमा नेपालमा संकटकाल लागेपछि भारत सरकारले एकता समाजलाई प्रतिबन्ध लगाउँदा गठित नेपाली जनअधिकार सुरक्षा समितिको राज्य संयोजकको भूमिका निर्वाह गरेको उनी बताउँछन् । 

यस्तै २०५९ मा पार्टी क्षेत्रीयब्युरो सदस्य, २०६० मुम्बई जिल्ला पार्टी सेक्रेटरीको जिम्मेवारी सम्हालेका उनले २०६१ मंसिरमा प्रवासबाट नेपाल फर्केर २०६२ मा डोटीमा जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका थिए । २०६३ मा डोटी जिल्ला सह–इन्चार्ज बनेका उनी  २०७३ सालमा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य र २०७४ देखि नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य भए ।

प्रकाशित: १९ श्रावण २०७५ १२:५५ शनिबार

पञ्जाब मुम्बई हुँदै मुख्यमन्त्री नागरिक परिवार