अन्य

पाठशालाको छोटो आत्मकथा

उसको मस्तिष्कमा सत्र वर्ष अघि नै मैले प्रवेश पाएको थिएँ जब ऊ कमलपित्तले ग्रस्त थियो । दरबारभित्रको रहस्यमय हत्याकाण्ड पछि दरबार बाहिरको द्वन्द अझ चर्किन थालेको थियो । उसको मस्तिष्कमा भने एउटा आख्यानले आकार लिन संघर्ष गर्न थालेको थियो । ६ महिनाको अत्यासलाग्दो लामो बेड रेस्टमा ऊ सोचिबस्थ्यो, एउटा कृतिको लेखन आवश्यक छ जो न बाल साहित्य होस् न वयस्कले पढ्ने खालको । एसएलसी वरिपरिका विद्यार्थीले पढ्ने एउटा नयाँ किसिमको उपन्यासको खाँचो उसले टड्कारो देख्न थालेको थियो । तर जिजिविषाका लागि गर्नै पर्ने उसको शिक्षण कर्मले गर्दा म उसको मस्तिष्कको एउटा कुनामा मात्र चुपचाप बसिरहें।

एउटा कलुषित दिन उसको पहिलो विद्यार्थी समूहको एकजना किशोरको निधनले ऊ नराम्ररी स्तब्ध भयो । सुवास हँसिलो र साथीहरूका माझ प्रिय थियो र सेन्स अफ ह्युमरले ओतप्रोत थियो । सुषुप्त बसिरहेको म सुवास गुरुङको मृत्युले सक्रिय हुन गएँ । र पहिलो पटक कागजमा लेखिन थालें र नाम पनि पाएँ, ‘फलामे ढोका’ । लगभग बाह्र हजार शब्द लेखिरहेका बेला एउटा समारोहमा निबन्धकार रोशन शेरचनसँग बडो उत्साहसँग उसले मेरो बारे सुनायो । तर त्यस्तै त्यस्तै कथा उसको अग्रजले पनि सुनाए पछि किन किन म पुनः उसको मस्तिष्कको कुनै बेनाम कुनामा थन्किन पुगें । अहिले ऊ के भन्छ भने, तपाइँ उपन्यास जस्तो कुनै ठूलो क्यानभाषमा काम गर्दै हुनुहुन्छ भने त्यसले एउटा निश्चित आकार नलिउन्जेल कसैलाई नभन्नू।

झण्डै बाह्र वर्ष म फ्रोजन भ्रुण जस्तो भएर बसिरहें उसकै गिदीभित्र । यसैबीच निजी विद्यालयहरूको जागिरले केही पार नलाएपछि ऊ कतार हान्नियो । बाह्र–बाह्र घण्टाको कामले लखतरान हुँदा पनि उसको मष्तिस्कमा म कहिलेकाहिँ सल्बलाउने गर्थें खास गरेर जब उसको फिलीपिनो सहकर्मी गफ हाँक्थ्यो र भन्थ्यो, ‘रिएली ब्रो आएम नट जोकिङ‘ ।
सन २०१२ मा पृथ्वीमा ठूलो प्रलय आउँछ भन्ने नोस्ट्रडामसीय भविष्यवाणी उसको जीवनमा भने सत्य सावित होलै जस्तो भयो । कतारबाट फर्केर आएको बाह्र महिनामा उसका मृगौलाहरूले काम गर्न छाडेको कठोर र पीडादायी यथार्थसँग उसको उठबस भयो । मृत्युसँगको त्यो असामयिक जम्काभेटले उसले आफैलाई चिन्यो।

पाठशालाहरूमा केटाकेटीहरू तथ्य घोकिरहेका हुँदैनन् बरु किन र कसरीमा घोत्लिरहेका हुन्छन् । जहाँ शिक्षकहरू रोजिरोटीका लागि हैन मात्र गुरू हुन आएका हुन्छन् । तिनले सुरिक्षत भविष्यका लागि कुनै थप काम गरिरहेका छैनन् । उसको कल्पनामा शिक्षक मात्र हैन सबै श्रमजिवीको एउटै इज्जत छ, कुनै डाक्टर होस् वा कुनै द्वारपाल, कुनै कुल्ली होस् वा कुनै कलमजिवी ।

जीवनमा उल्लेखनीय वा सम्झन लायक केही नगरी मेटिएर÷हराएर जान ऊ किमार्थ तयार थिएन । मान्छे एकछिनमा मर्छ, नाम दुइछिनमा र किर्ति तीनछिनमा । पृथ्वी र सम्पूर्ण ब्रम्हाण्ड पनि सधैं सधैंका लागि रहन्नन् भन्ने राम्ररी बुझेर पनि उसलाई अरु केही समय बाँच्न मन लाग्यो । देश विदेशमा रहेका उसका गाउँले सिक्लेसीहरूले स्वस्फुर्त आर्थिक सहयोग गरे । त्यो काम उसका साथीहरू र भूतपूर्व विद्यार्थीबाट पनि अभूतपूर्व प्रकारले भयो । पोखरामा हुने विभिन्न कवि गोष्ठि र संरक्षण कविता आन्दोलनमा हिँडेर पनि उसले अग्रज र साथीहरूबाट प्रशस्त माया पाएको रहेछ भन्ने उसको उद्वारमा कवि लेखकहरूले गरेको नैतिक र आर्थिक सहयोगले पनि स्पष्ट हुन्छ।

ऊ सम्झि रहन्छ, कसरी निस्प्रभ सजीले अस्ट्रेलियामा फण्ड जम्मा ग¥यो, बहराइनमा कवि चन्द्र गुरुङ राम्ररी निदाउन सकेन र भूपिन कसरी अमेरिकामा रमाउन सकेन । ऊ बिर्सन सक्दैन, कसरी चितवनमा सरिता तिवारीहरू सकेको गर्नुपर्छ भन्दै तातिएका थिए । सरस्वती प्रतीक्षाले जम्मा गरेर राखेको सम्पूर्ण पोखरेली कवि-लेखकहरूको सहयोगको भारी र स्वास्थ्य लाभको कामना बोक्दै कसरी साहित्यकार सरुभक्त उसलाई भेट्न शिक्षण अस्पताल, महाराजगञ्जमा आइपुगेका थिए, सम्झेर ऊ अभैm भावविभोर भैदिन्छ । यिनै कारण थिए, मृत्युले उसलाई निर्ममतापूवक गिजोलिरहेका बेला पनि उसको मस्तिष्कमा कहिलेकाहीँ म आफ्नो उपस्थितिको आभाष चाहिँ दिइरहेकै हुन्थें र प्रत्यारोपण पछि भने मैले उसलाई सताइ नै रहें।

सन २०१३ को सूर्योदयमा उसलाई मैले सूर्यका अगाडि उभ्याएँ र भन्न लगाएँ, ‘यो वर्ष फलामे ढोका लेख्छु ।’ तर त्यो वर्ष उसले जमानमै किनेर राखेका वार एण्ड पीस, अन्ना करेनिना, माधवी जस्ता पुस्तक पढेर बिताइदियो । भन्थ्यो, ‘त्यस्ता महान् कृतिहरू लेखिएर पनि नपढ्ने हो भने केको लेखक भइटोपल्नु ।’त्यो वर्षको सूर्यास्तलाई उसले लाज मान्दै हेरिरह्यो र अर्को विहान त्यही प्रतिज्ञा दोहोर्यायो । तर ऊ कहिले बाजारोभ, कहिले पाभेल, कहिले रासकोन्लिकोभसँग गफिएर बसिरह्यो । मर्सोल्ट, हम्बर्ट हम्बर्ट, होल्डन काउलफिल्ड, ग्रेगोर साम्सा, एट्टिकस फिन्च, जोसेफ के, कर्नल ओरलियानो बुइन्डा, सलीम सिनइ, बिग ब्रदर, सकम्बरी, प्रशान्त आदिको मानसिक सँगतमा फेरि भाँडिन थाल्यो । अहिले एउटा अनुभव बाँडी टोपल्ने हैसियत बनाएको छ उसले । ऊ भन्छ, ‘उपन्यास लेख्न बस्ने हो भने केही समय महान् कृतिहरूबाट टाढै बस।’

सन २०१५ को पहिलो दिन उसले बिहानको सूर्यलाई हेरेन र कुनै वाचा पनि गरेन । कम गम्भीर र हल्का फुल्का किताब पढ्न थाल्यो । त्यसपछि भने मैले उसको मस्तिष्कमा आन्दोलन जस्तै गरेँ । उसले एउटा लामो कापी किन्यो र लेख्न थाल्यो । केही पेज लेखेर जब उसले टाइप गर्न लगायो, उसको अक्षर टाइपिस्टले बुझेन । ऊ स्वयंलाई पनि आफ्नै अक्षर बुझ्न गाह्रो भयो । इम्युनोसप्रिसेन्टको साइड इफेक्टहरू मध्ये हात काम्ने पनि एउटा होला, त्यसैले उसको अक्षर डाक्टरको जस्तै हुन्छ । अनि उसले आफ्नो थोरै ब्याकअप ब्याटरी भएको ल्यापटपमा कनीकुथी लेख्न थाल्यो । केही दिनमै नेपाली टाइपिङले काम चलाउ गति लियो । लम्बेतान लोडशेडिङका बेलामा भने उसको लेखनले निकास पाउने थिएन र ऊ तनावग्रस्त भएर बस्थ्यो ।

जब एकान्तमा कसैलाई केही नभनि भूमिगत शैलीमा ऊ मलाई ल्यापटपको स्क्रिनमा उतारिरहेको हुन्थ्यो, उसको अनुहारमा एक खालको सन्तुष्टिले चियाउन आउथ्यो ।ऊ बहुलाउन थालेको जस्तो थियो, लेख्दालेख्दै कहिले हाँसिरहन्थ्यो र कहिले चाहिँ आँखाभरि आँसु पारेर टोलाइरहन्थ्यो । त्यो किनभने उसले कल्पनै नगरेका कुरा पनि लेखिन्थे । त्यही बीचमा भुइँचालो गयो । जनधनको क्षतिले ऊ पनि बिचलित भयो । जीवनको क्षणभंगुरताप्रति उसमा पनि केही भावना उर्लिए र निस्सारताको आगोले उसलाई पोल्न थाल्यो । म फेरि कतै हराएँ । तर उसको मस्तिष्कमा गहिरो गरी बसिरहेको म बाहिर निस्कन छटपटिन थालेँ।

उसलाई पात्रहरूको नाम छान्न निकै सकस भएको थियो । स्कुले कथा हुने हुँदा धेरै नामहरू हुने नै भए । कतिपय पाठकलाई धेरै नामहरूले असजिलो बनाएको गुनासो छ । पात्रका नामहरू उसले आफ्नै स्कुले साथीहरूबाट लियो, कुनै सग्लै, कुनै संयुक्त ।  तर केहीको सामान्य बाहेक उसका साथीका चरित्र मेल खान्न । यसो गर्दा कसैलाई ठेस पुग्न गएमा माफी पनि माग्न चाहन्छ । ऊ आफ्ना साथीप्रति माया र सम्मान प्रकट गर्न चाहन्छ।

उसले साथी भूपिन र दाइ निबन्धकार रोशन शेरचनलाई मेरो पहिलो ड्राफ्ट पठायो । सायद भूपिनलाई म मन प¥यो र उसलाई कोमल सुझाव सुझायो । रोशनले आपैmं फोन गरेर लगभग एक पिरियड लामो समयको धेरै भाग मेरो आलोचना ग¥यो । त्यसले ऊ हतप्रभ प्रायः भयो । अन्तमा केही मीठा कुरा सुनेपछि उसको शरीरले बल्ल शीतल हावाको स्पर्श पायो । दुईजनाको सल्लाह मान्दै उपन्यासमा फ्ल्यासब्याकको प्रयोग भयो । ‘फलामे ढोका’ नाम परिवर्तन हुने भयो र अन्य केही ससाना तर महत्त्वपूर्ण परिवर्तन भए । अहिले उसलाई लाग्छ, रोशन शेरचनको सुझाव संजीवनी खोप थियो जसले मलाई शिशु अवस्थामै मर्नबाट जोगायो।

भूपिनका माध्यमबाट पहिलो कुराकानीमै बुकहिल पब्लिकेसनले मलाई सिँगारेर बजारमा पठाउने जिम्मा लियो । उसले मेरो दोश्रो नाम दियो, ‘नीलो नोटबुक’ । तर नाममा अश्लीलता झल्किने भय प्रकाशक भुपेन्द्र खड्कालाई भयो । हाफोर्डका हाउडेहरू, हा हा हा डब्बु, आदि मेरा बैकल्पिक नाम थिए । अन्ततः मेरो न्वारान भयो, ‘पाठशाला’ । मेरो शरीरको सिँगारपटार उमेश काफ्लेले गरिरहँदा काउकुति लागेको हो र अनुहारको विशेष मेकअपमा सुवर्ण हुमागाइँले हँगामा जस्तै गरेको मलाई लाग्छ । भित्री जस्तो भए पनि मेरो बाहिरी रुपको धेरैतिर प्रशंसा हुँदा ऊ मख्ख हुन्छ जुन काममा उसको ठूलो भूमिका थिएन । उसको परिकल्पनामा त एउटा टाटेपाटे भित्तामा एउटा फोहर कालोपाटी थियो, जहाँ चकले लेखिएको थियो– पाठशाला । र, त्यसको तल भित्तामै एउटा लौरो अडेसिरहेको थियो बस्।

प्रकाशकलाई बुझाएको बाह्र महिना भइसक्दा पनि म बाहिर नआउँदा ऊ निराश भैसकेको थियो । विस ०७४ साउन २९ गते दिल्ली काठमाडौं उडानबाट अवतरित हुँदै सिधै भुपेन्द्र खड्का बागबजारस्थित होटल हार्दिकमा मलाई लिएर आउँदा उसको मुटुको धड्कन बढिरहेको थियो । आफ्नो नवजात शिशुलाई जस्तो उसले मलाई हेरिरह्यो, मुसारिरह्यो र ओल्टाइपल्टाइ गरिरह्यो । ऊ भावुक भयो, आँखा रसाए । ऊ खुशी थियो र उदास पनि ।

भोलि बेलुकी ठमेलको थकाली भान्सा घरमा रोशन शेरचन, भूपिन, भुपेन्द्र खड्का, लक्ष्मण श्रेष्ठहरूका बीचमा मेरो अनौपाचारिक लोकार्पण भयो र उसले साथीहरूसँग भावुक सेलेब्रेसन गर्यो । यस्तो किन पनि गरियो भन्दा तराइमा आएको बाढीले जनधनको क्षति भैरहेको थियो र मुलुक शोकमग्न थियो ।त्यसपछि उसले मलाई वास्ता गरेन । पुस्तक प्रकाशित भैसकेपछि लेखकको मृत्यु हुन्छ र पुस्तक चाहिँ पाठकको हुन्छ भने जस्तो भयो । उसको स्वास्थ्य र नितान्त निजी कारणहरूले गर्दा मेरो न विमोचन भयो न कुनै टिकाटिप्पणीको कार्यक्रम नै ।

पुस्तक पसलहरूमा म लाममा उभिरहें, पाठकहरूले मलाई ढुक्क भएर लिन सकेनन् किनकि मेरो कुनै हल्ला भएको थिएन । कुनै पपुलर पत्रिकामा कुनै समर्थ समीक्षकले मेरो उल्लेख गरेको थिएन । सायद आम पाठकहरूबीच म कुनै बालसाहित्य हुँ भन्ने भ्रम थियो । कुनै मसला प्रधान सिनेमाको विज्ञापन जस्तो पुस्तकको हुनुहुँदैन, पुस्तक राम्रो छ भने बिस्तारै त्यसको मौखिक विज्ञापन हुन्छ भन्ने मान्यता राख्छ ऊ । हो, बीचमा लब्धप्रतिष्ठित केही ब्यक्तिका कृति आएपछि म अँध्यारो रसातलमा पुगेजस्तै भएँ । ऊ फेसबुक र ट्वीटरतिर झारा टार्ने किसिमले मेरो प्रमोसन गर्न निस्कियो । बुक स्टलहरूबाट पाठकसम्मको मेरो यात्रा बन्द चाहिँ भैहालेको थिएन, मन्द थियो।

म त किशोरहरूकै आवाज हुँ, खासमा शहरीहरूको त्यो पनि निजी विद्यालयका । त्यसैले दूरदराजको कुनै विद्यार्थीले मभित्र आपूmलाई पाउने छैनन् जस्तो लाग्छ र निजी विद्यालयसँग कुनै सम्बन्ध नभएकाले पनि मलाई नरुचाउन सक्छन् । म कुनै प्रेमकथा हैन, न धेरैले अड्कल गरेजस्तो उसको आत्मकथात्मक उपन्यास नै हुँ । ऊ त गाउँको धुलौटे स्कुलबाट आएको थियो । उसले निजी विद्यालयमा आफ्नो जीवनको सबैभन्दा उर्वर र उर्जाशील समय व्यतित ग¥यो । पहिलो जनआन्दोलनले मात्र उसमा राजनैतिक चेतनाको फिलिंगो भरिदिएको हो । त्यसैले पनि उसको पहिलो सृजना मेरो ‘टाइम एन स्पेस‘ आन्दोलनदेखि आन्दोलनसम्म र हार्फोर्ड स्कुलमा भयो । उसले ‘कमिक जान्र’मा मलाई जन्मायो र एउटा राजनैतिक ‘एलोगरी’का रुपमा पनि मलाई बुझियोस् भन्ने उसको मनोकांक्षा छ।

म सबैको प्यारो हुन आएको हैन, सम्भव पनि छैन । प्रत्यक्ष भेटेर वा सामाजिक सञ्जालतिर जब कसैले मेरो मौलिकता र शैलीको बयान गर्छ ऊ आनन्दित हुन्छ । आलोचनामा पनि तटस्थ रहन सिक्दैछ । चितवनको अक्षर समूहले उसलाई प्रेमपूर्वक बोलायो ।

उदय अधिकारी जस्ता बौद्धिक व्यक्तिले किताब पढेर समीक्षात्मक टिप्पणी गर्दा ऊ प्रतिरक्षामा झर्यो । ऊ पहिलोपटक जनमानसमा गएको थियो र उसलाई मेरो माया पनि औधि लागेको थियो त्यसैले सायद त्यसो हुन गयो । अहिले उसलाई लागिरहन्छ उबाट गल्ती भयो ।निकै ख्याति कमाएको एउटा निजी स्कुलले उसलाई बोलाएर कार्यक्रम राख्यो र सम्मान पनि गर्यो तर मेरो कारण प्राचार्य र सँस्थापकबिच मनोमालिन्य पैदा भएको उसले कार्यक्रममै अनुभव गर्यो । अहिले ती विद्धान प्रिन्सिपल स्वतन्त्र किसिमले अर्कै क्षेत्रमा काम गरिरहेको उसलाई थाहा छ।

पछिल्लो समय जब मदन पुरस्कारको प्रारम्भिक छनोटमा म पनि परें, बल्ल मात्र उसको सिरानीको छेउमा धुलो ओढेर पल्टिरहेको ‘लेखकको प्रति’ मलाई उसले टक्टक्यायो । अर्को संस्करण निकाल्ने अवस्था आउन सक्ने कुरा मेरो प्रकाशकले बताएपछि झण्डै बाह्र महिनापछि उसले मलाई पहिलो चोटि पढ्यो । आफ्नो स्कुल जान लागेको बच्चाको लुगा मिलाए जस्तो, खजमजिएको कपाल कोरिदिएको जस्तो र नाकबाट सिँगानको खोस्टा झिकिदिएजस्तो उसले मलाई सिनित्त पार्यो । मुद्रा राक्षसहरू केलाउँदै गर्दा कति समयपछि फेरि उसले मलाई अँगाल्यो, मायाले हे¥यो र उदास भयो।

पोखराको बाटो जब एक्लै बेचैन हिँडिरहन्छ अक्सर ऊ डब्बुले जस्तै मसँग सुन्दर कल्पना गरिबस्छ । हार्फोर्डका कथाहरू लेख्न कोही फेरि फेरि अभिशप्त नहोस् भन्छ । उसको कल्पनामा पाठशालाहरू छन्, जहाँ बच्चाका झोला गहु्रँगा छैनन्, तिनका जुत्ताको तलुवा खिइएर खुट्टा अलि बाङ्गिएका छैनन्, तिनले शुल्कका कारण परीक्षाका बेला प्राचार्यको ढोका अगाडि उभिरहनु परेको छैन । सातामा एकदिन चाहिँ झोला नबोकी बच्चाहरू पाठशाला जान्छन् जहाँ तिनले बाँसुरी र सारँगी बजाइरहेका हुन्छन्, विभिन्न खेल खेलिरहेका हुन्छन्, नाँचिरहेका हुन्छन् र हाँसिरहेका हुन्छन् । जहाँ केटाकेटीहरू कोही रुख मुन्तिर कविता लेखिरहेका हुन्छन् त कोही क्यानभासमा रङ्ग पोतिरहेका ।

ती पाठशालाहरूमा केटाकेटीहरू तथ्य घोकिरहेका हुँदैनन् बरु किन र कसरीमा घोत्लिरहेका हुन्छन् । जहाँ शिक्षकहरू रोजिरोटीका लागि हैन मात्र गुरू हुन आएका हुन्छन् । तिनले सुरिक्षत भविष्यका लागि कुनै थप काम गरिरहेका छैनन् । उसको कल्पनामा शिक्षक मात्र हैन सबै श्रमजिवीको एउटै इज्जत छ, कुनै डाक्टर होस् वा कुनै द्वारपाल, कुनै कुल्ली होस् वा कुनै कलमजिवी ।उसको जीवनको यात्रा टुङ्गिएपछि मेरो यात्रा के हुन्छ थाहा छैन । तर उसलाई विश्वास छ, धेरै किताबहरू भैं भविष्यमा म पनि एउटा सानो झ्याल बन्नेछु जहाँबाट पाठकले नेपाली समाज र समयको एउटा सानो दृष्टि पाउनेछन् ।
 

प्रकाशित: १९ श्रावण २०७५ ०१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App