अन्य

‘आधुनिकताको नाममा सहरको मौलिकता मेटियो’

भीमार्जुन अाचार्य, संविधानविद्

तपार्इकाे विचारमा सहर भनेकाे के हाे ?

मेरो विचारमा सहर मान्छेको जिन्दगी हो । सहरमा विविधता हुन्छ । कला–संस्कृति र परम्परा जिवित हुन्छ । सहरमा धनी वर्ग, मध्यम बर्ग र न्युन बर्गका मानिसहरु हुन्छन्।

ती सबै बर्गको लागि राज्यको सुविधा समानजनक हुन्छ । यस अर्थमा पनि सहरमा सिंगो जिन्दगी अटेको हुन्छ । जनघनत्व बढी भएको ठाउँमा हरेक सेवा सुविधा सहज हुन्छन् । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायत मानिसको दैनिकीसँग जोडिएका हरेक खालका सेवा सुविधा हुन्छन्।

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मलाई नेपालमा पोखरा, इलाम, पाल्पा, काठमाडौं र म जन्मेको दाङ मनपर्छ ।

यी मध्ये कुनै एक सहर रोज्नुपर्दा ?
नेपालका सहरमध्ये पोखरा नै व्यवस्थित छ । पोखराको वातावरण बस्न लायक छ । प्रकृतिले नै सबैतिर सुन्दरता छरेको छ । यद्यपी काठमाडौं पनि कुनै चिजको कमी भएको ठाउँ होइन । यहाँ झन् देशको इतिहास बोकेका कला कौसल देखि नेपालको चिनारी भेटिने ठाउँहरु छन् । मात्रै पछिल्लो समय अव्यवस्थित भयो । सबैतिर भिड बढ्यो । साना कमजोरीले सबै पक्ष हुँदाहुँदै पनि केही नभएको जस्तै देखिएको छ, काठमाडौं।

रेक देशका प्रमुख सहरमा त्यहाँका कला संस्कृति, इतिहास र हिजोको पुस्ताले सिर्जेका परम्परा जिवित हुन्छन्, हाम्रोमा सहरीकरणको नाममा संस्कृति र परम्पराको जरो जखेलिँदै छ, यो पक्ष राम्रो हो ?
यो विलकुल नराम्रो पक्ष हो । यसले हामीलाई नै घात गर्छ । कला संस्कृति भनेको त हाम्रो आफ्नोपन हो । संस्कृति परम्परा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने पक्ष हो ।

किनभने हामी बाहिरी मूलुकसँग फरक हुनुको कारण पनि यहाँको संस्कृति हो । आधुनिकता, ठूल्ठूला सडक, भवन हाम्रो पहिचान होइन । विश्वमा हामीभन्दा धेरै धनि विकसित मुलुकको कुरा गर्दा यसमा धेरै ठूला फड्को मारिसकेका छन् । हाम्रो विशेषता र पहिचान भनेकै कला, कौशल, साहित्य, संगीत, संस्कृति, सम्पदा हो । यसलाई मास्यौं भने हाम्रो मौलिक अस्तित्व रहन्न । नेपालका कुनै पनि सहरका कुरा गर्दा यही हो । नेपालका हरेक सहरको विषेशता फरक छ । यहाँको विषेशता अदित्य र अरु मूलुकको भन्दा फरक छ । यहाँको संस्कृति अरु कुनै दुनियाँसँग मिल्दैन।

यहाँको धर्म–संस्कृतिलाई बुझ्ने गम्भीरता र क्षमता नभएको हो ?
त्यो पनि एउटा गम्भीर पक्ष नै हो । तर, आधुनिक बन्ने नाममा हामी हाम्रो मौलिकता नै मेट्नेतर्फ गइरहेका छौं । यसले कदाबी हामीलाई फाइदा गर्दैनन् ।

यदी यहाँको मौलिकतालाई जोगाउन सकेनौं भने भाबी सन्ततीले हामीलाई सराप्ने छन् । सहरका पहिचार मेटेर हामी धनि र सम्पन्न मूलुक बन्न सक्दैनौं । हाम्रो प्राचिन सभ्यता भएको मूलुक हो । नेपालको बारेमा रिग बेदमा पनि उल्लेख भएको छ । यति विशाल विषेशता भएको मूलुकलाई हामीले चिन्न खौज्दैनौं भने हामी पछि पर्छौं । राज्यको तत्परता नदेख्दा दुःख लाग्छ मन खिन्न हुन्छ।

सहर विकासबारे समन्वय र सोचको अभाव हो ?
मुख्य कुरा सरकारी निकायबीच समन्वय छैन । शिक्षामा हामीले हाम्रो सहर र सम्पदाको बारेमा पढाउँदैनौं । बच्चादेखि पछिसम्मको जिन्दगीमा उसले औपचारिक रुपमा जान्न सक्दैन ।

परिवार र समाजमा हुने गफ पनि बेग्लै खालका हुन्छन् । हाम्रोमा राजनीतिक कुराहरु गर्न बढी मन पराउँछौं । तर, सहर, संस्कृति र परम्पराको बारेमा कहीँ चर्चा गर्दैनौं । परिवारमा पनि यी कुरा हुँदैनन् । अर्को कुरा, जिम्मेवारी दिँदा पनि हामीले विज्ञता हेर्दैनौं । जुन क्षेत्रमा विज्ञता हासिल गरेको हो उसलाई त्यो विज्ञता दिदैनौं । पढाई र अनुभव एकातिर जिम्मेवारी अर्कातिर हुन्छ । यस्तै–यस्तै प्रवृतीले देश बिग्रिएको छ । सहर बनाउने नाममा झन् बढी कुरुप बनाउने काम भइरहेको छ । सबै चिज भएर पनि सहि व्यवस्थापन भएको छैन । काठमडौं महानगरकै कुरा गर्दा त्यहाँ पनि काम गर्ने व्यक्तिहरु सहि छैनन्।

तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
मैले बिदेशका सहरमा घुम्ने र त्यहाँको भौगोलिक र साँस्कृतिक पक्षलाई बुझ्ने अवसर पाएको छु । हाम्रो मुलुकमा सानो कुरामा अन्य मूलुकसँग प्रतिस्पर्धा गर्न सक्छ । अरु देशको विशालता सँग गर्दैन ।

त्यो पक्षबाट हेर्दा कम्तीमा हामीले चार÷पाँच वटा पक्षलाई केन्द्रमा राखेर काम गरेको भएपनी सहरमा यतिधेरै समस्या आउने थिएनन् । सहरको सार्वजनिक यातायात चुस्त हुनुपर्छ । सडक, पार्किङ, सार्वजनिक शौचालय, पार्कहरु व्यवस्थित हुनुपर्छ । केही समय अघि म जापान गएको थिएँ । त्यहाँको सेवा–सुविधा देख्दा निकै प्रभावित भएँ । आधुनिक र स्मार्ट सिटी कहिलै पनि सुत्नु हुँदैन । संसारमा महानगरपालिका कहिल्यै सुत्नु हुँदैन । तर, हाम्रो यस्तो छैन।

कुन–कुन देशका सहर घुम्नुभएको छ ?
जापान इन्डोनेसिया, सिंगापुर, श्रीलंका, लाओस्, नेदरल्याण्ड, बेल्जियम, अमेरिका लगायत देश घुमेको छु।

कस्ता थिए त्यहाँका सहर ?
युरोप सारै कलात्कम छ । त्यहाँका ठाउँहरु छुट्टै पहिचान बोकेका छन् । अमेरिकी मुलुकका सहर पनि फरक छन् । त्यहाँका सहर युनिक छन् । विशिष्टताको हिसाब र मानिसको सुरक्षाको हिसाबले सिंगापुर नै मलाई निकै सुरक्षित लाग्यो । त्यहाँका मानिस नम्र छन् । जापनीजहरु पनि निकै मिजासिला छन्।

काठमाडौंको मनपर्ने पक्ष केहो ?
काठमाडौंको नपर्ने पक्ष प्राकृतिक सौन्दर्यता, प्राचिनता र कला संस्कृति नै हो । यतिधेरै सम्पदाले भरिएको सहर संसारमै छैन । यहाँको हावापानी पनि सदावहार छ।

यहाँको मन नपर्ने पक्ष ?
धुवाँधुलो, ट्राफिक जाम, खाल्डाखुल्डी सडक, अव्यवस्थित पार्किङ, लगायत पक्ष मन पर्दैन ।

काठमाडौंमा कहिले पाइला टेक्नुभयो ?
२०४६ सालमा काठमाडौं आएको थिएँ पहिलोपल्ट । त्यसपछि डिप्लोमा पढ्नको लागि यहाँ आएँ । त्यतिबेलादेखि निरन्तर अहिलेसम्म काठमाडौंमै छु।

मन भएर पनि पुग्न नपाएको सहर ?
युरोपको रोम सहर घुम्न मन छ । नेपालका ८÷१० वटा जिल्ला घुम्न बाँकी छन् । ती मध्ये सबैभन्दा बढी पुग्न मन लागेको ठाउँ मुस्ताङ हो।

पछिल्लो समय घुमेको सहर ?
टोकियो र भियतनाम पुगेको थिएँ।

सहरको मनपर्ने खानेकुरा ?
उमेर अनुसार मनपर्ने रहेछ खानेकुरा । पहिले–पहिले मम खाइन्थ्यो । अहिले दाल भात नै बढी खाइन्छ ।

सहरमा घुम्न कता जानुहुन्छ ?
म सिर्जना, संगीतमा रमाउने मान्छे हुँ । त्यसको लागि शान्त ठाउँ खोज्छु । तर सहरमा यसको सक्त अभाव छ । सहर नजिकै बस्नलायक पार्क वा बगैचा छैन । कहिलेकाहीँ पुस्तकालयहरुमा जान्छु । त्यतिले मलाई पुग्दैन । म प्रकृति प्रेम गर्छु । डाडाँकाडाँ पनि जान्छु फुसर्दको बेला।

अहिलेको सहरीकरणलाई हेर्दा सहरको भविष्य कस्तो देख्नुहुन्छ ?
यो भयाभह हुने देखिन्छ । यसलाई हामीले सामान्य रुपमा लिएर मात्रै हुन्न । होहल्ला र सहरको जिम्मा लिएका अघिकारी र वासिन्दाले पनि केही गरेनन् । यदी अहिलेको स्थितलाई सुधार नगर्ने हो भने हाम्रो भविष्य पनि बिग्रन्छ । हामीले सहरलाई कति दियौं र सहरले हामीलाई कति दियो भन्ने कुराको ख्याल गर्न जरुरी छ।

उपत्यका बाहिरमा अन्य सहर कस्तो लाग्छ ?
हिमाल, पहाड र तराई सबैतिरका जिल्ला निकै सुन्दर छन् । यहाँको मौमस र हावापानी संसारका अन्य मूलुकहरुमा पाइन्न । हामीलाई प्रकृतिले नै बेग्लै बनाएको छ । पोखरा पनि नेपालको सुन्दर ठाउँ हो । पोखरालाई नेपाली मात्रै नभएर विदेशीले पनि मन पराउँछन् । यो सहरमा छुट्टै दृश्य र मनोरञ्जन लिन पाइन्छ ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १४ श्रावण २०७५ ०३:१७ सोमबार

आधुनिकताको नाममा सहरको मौलिकता मेटियो