अन्य

मानव बेचविखनविरुद्धकी अभियन्ता

काठमाडौंको चुच्चेपाटीस्थित शक्ति समूहमा सीप सिक्न र कामले पुगेका महिला तथा युवतीहरूले भरिभराउ थियो। भ-याङमा अधवैंसे तीन महिलाहरू निरस भएर बसिरहेका थिए। 

एक युवती सोधपुछ केन्द्रमा बहिनी खोजी दिनुप-यो भनेर अनुरोध गरिरहेकी थिइन्। दोस्रो तल्लामा एक कोठाबाट आवाज आयो, ‘उहाँहरूसँग बहिनीको फोटो र विस्तृत जानकारी लिएर तत्काल भारतमा रहेको एजेन्टलाई खबर पठाइहाल।’ 

आवाज पछ्याउँदै भवनको दोस्रो तलामा महिलाको एक समूह आइपुग्यो। उक्त समूहको नेतृत्व गरिरहेकी थिइन– हालै अमेरिकी विदेश मन्त्रालयको ‘टाफिकिङ इन पर्सन हिरो’ अवार्डबाट सम्मानित सुनिता दनुवार। 

हालै अमेरिकी विदेश मन्त्रालयले सुनिता दनुवारलाई सन् २०१८ को ‘टाफिकिङ इन पर्सन हिरो’ अवार्डको सम्मान दिएको थियो। अमेरिकी विदेशमन्त्री माइकल आर.पोम्पेओ र अमेरिकी राष्ट्रपतिकी सल्लाहकार इभांका ट्रम्पले उनलाई सम्मान गरेका थिए। 

‘हरेक सम्मानले पीडितहरूको लागि काम गर्न र प्रभावकारी शैलीमा मानव बेचबिखनविरुद्ध लाग्न प्रेरित गरिरहेको हुन्छ। यस सम्मानलाई मैले चुनौतीको रूपमा लिने गरेको छु। मैले बेचबिखनमा परेका धेरै नानीहरूका लागि काम गर्नुपर्नेछ भनेर स्मरण गराइरहेको हुन्छ। मैले गहुँगो भारी ल्याएर थुपारिदिएकोजस्तो महसुस गरेको छु। जसले गर्दा मलाई थप मेहेनत गर्न प्रोत्साहित गरोस्।’ मानव बेचविखनविरुद्धको अभियानमा योगदान पु-याएको भन्दै उनी सम्मानित भएकी हुन्। उनले यसअघि एसियाको प्रतिष्ठित रामोन म्यागासेसे पुरस्कारसमेत पाइसकेकी छन्।  

उनले शक्ति समूह नामक संस्थाकी सह संस्थापक तथा कार्यकारी निर्देशकसमेत हुन्। यो संस्थाले मानव बेचबिखनसम्बन्धी जनचेतना अभिवृद्धि गर्छ। 

त्यसो त शक्ति समूहमा आवद्ध भएर मानव बेचबिखनविरुद्ध लाग्ने महिला र युवतीहरूको संख्या ६ सय ४५ पुगिसकेको छ। जसमध्ये एक सय ६८ जनासँग नेपालको मतदाता प्रमाणपत्र समेत रहेको छ। शक्ति समूहमा उद्दार गरिएर पुग्ने सबैजना सदस्य भने हुँदैनन्। मानव बेचबिखनविरुद्धको अभियानमा खुलेर लागिपर्नेहरूलाई मात्र शक्ति समूहले सदस्यता दिने गरेको छ। त्यसबाहेकका पीडितहरूको गोपनियता सार्वजनिक गरिन्न। महिला, युवती र बालिकाहरूको लागि विभिन्न सीपमूलक कार्यक्रमदेखि पढाईको व्यवस्था समेत गर्न सुनिता लागिपरेकी छिन्। ‘विश्वभर अधिकांश महिला, युवती र बालिकाहरू मानव बेचबिखनमा पर्ने गरेका छन्। विश्वव्यापी बन्दै गएको यस खतराविरुद्ध दिगोरूपमा जान सक्नुपर्छ। मानव बेचबिखन रोकथामका लागि नेपालले सक्रिय भएर काम गरिरहेको छ। त्यस्तै कानुन कार्यान्वयन तथा पीडित संरक्षणमा पनि सुधारहरू भएको छन्।’ सन् २००० मा नेपालले संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने गृहकार्य गरिएको छ। पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्वभरका एक सय ७३ देशले अनुमोदन गरिसकेका छन्।

२२ वर्षअघि बेहोस पारिएर भारतको मुम्बईमा बेचिएकी सुनिता, आफैले त्यहाँको कोठीमा पाँच महिना बिताउनुपरेको थियो । त्यो पाँच महिनालाई स्मरण गर्दा उनी छटपटाउने र विरक्तिने गरेकी छन् । ‘त्यो पाँच महिनामा म ज्युँदो लाश भएको थिए । यो मेरो पुनर्जीवन हो।’ यति भनिरहँदा उनका आँखा रसाएका थिए । शरीर गलेका थिए र अनुहारभर आक्रोश स्पष्ट रूपमा झल्किन्थ्यो। 

दैलेख, जन्मिएकी उनी परिवारसँग भारतको जम्मु काश्मिरमा बसाई सरेको थियो । कमजोर आर्थिक अवस्था भएको उनको बुबा र आमाको काँधमा १० जना छोराछोरीको लालनपालनको जिम्मेवारी थियो । विभिन्न रोग र कुपोषणका कारण ६ जना छोराछोरीको मृत्यु भइसकेको थियो। 

चार जना छोराछोरीसहितको परिवार भारतको जम्मु काश्मिरमा आलु खेती गर्न लागिपरेको थियो। पाँच वर्षको उमेरमा नेपाल छाडेकी उनले १४ वर्ष हाराहारी हुँदा गिटी कुट्ने मजदूरी गर्न थालिन् । गिटी लिन आएका ट्रयाक्टर चालक र सहचालकले मिठाईमा बेहोश हुने औषधि मिसाइ दिएको उनलाई खान दिएका थिए । होश खुल्दा आफैलाई उनले ठम्याउन मुस्किल परेको थियो । युवतीहरूको बाक्लो चहलपहल र चिच्याहट, अनुहारमा भद्दा मेकअप र बाहिरी संसार नदेखिने अँध्यारोले उनी अन्योलतामा परेकी थिइन् । आफूलाई कोठीमा धन्दा गर्न ल्याइएको सुनेपछि उनी झसंग भएकी थिइन् । जब कोठीकी घरवालीले ‘आमा’ शब्द उच्चारण गरेकी थिइन्, उनलाई सम्हालिन गाह्रो भएको थियो । रिसले चूर भएको उनको व्यवहार थेग्न नसकेर घरवालीले हतार हतार ढोकाभित्र छिराए र ताल्चा लगाइदिएकी थिइन् । ‘खाना र पानी नदिएर मलाई शारीरिक र मानसिक रूपमा यातना दिएरहेको थियो । त्यहाँको म्यानेजरदेखि चिया लिएर आउनेसम्म सबै नेपाली केटाहरू थिए । एक महिनासम्म प्रतिरोध गरेर धन्दा गर्नबाट जोगिएको थिए । त्यसपछि अर्को कोठीमा सारियो । पाँच जना डरलाग्दा पुरुषहरूले मलाई सामूहिक बलात्कार गरेका थिए।’

कोठीका भारतीय सेना र प्रहरी, विदेशी र व्यापारीहरू नियमित ग्राहक थिए । भारत, नेपाल र बंगलादेशका नौ वर्षकी बालिकादेखि ४५ वर्षसम्मका महिलाहरूलाई शरीर बेच्न बाध्य पारिने स्मरण गरिन् । आमाले मुम्बईको कोठीमा बालिकाहरू बेचिएको कथामा सुनिने गरेको कुरा उनलाई अहिलेसम्म स्मरण छ । १४ वर्षको कलिलो उमेरमा बेचिएकी उनी आमाले सुनाएको कथाभन्दा पनि नर्कको संज्ञा दिन्छन्, यी कोठीहरूलाई । उनी बेचिएको वर्ष भारतको महाराष्ट्र सरकारले १८ वर्षभन्दा कम उमेरका बालिकाहरूलाई कोठीहरुबाट उद्धार गर्ने निर्णय गरेपछि उनले त्यो नरक जीवनबाट मुक्ति पाएकी थिइन्। 

महाराष्ट्र सरकारले उनीसहित करिव पाँच सय युवतीहरूलाई विभिन्न कोठीबाट उद्दार गरेको थियो । जसमध्ये एक सय २८ नेपाली युवतीहरु एड्स रोग सर्न सक्ने भनेर तत्कालीन नेपाल सरकारले नेपाली होइनन्, भनेपछि उद्दार गरिएको सात महिनापछि विभिन्न एनजीओको सहयोगमा नेपाल ल्याइएको थियो । पहिलो पटक काठमाडौं आएकी उनको यात्रा भने निकै चुनौतीपूर्ण थियो । एउटै कोठीमा रहेका १२ जनामध्ये सात जनालाई एचआइभी पोजेटिभ देखिएको थियो । आफ्नोजस्तो समस्या अरूले भोक्नु नपरोस भनेर उनीहरूले शक्ति समूह स्थापना गर्ने निर्णय गरेका थिए । अहिले नेपाली महिला, युवती र बालिकाहरूलाई कोठीसम्म पुग्नबाट रोक्ने र कोठीमा पुगेकाहरूको उद्दार र पुनस्र्थापना गर्ने अभियानको नेतृत्वकर्ताको रूपमा सक्रिय छिन्। 

कोठीबाट उद्दार गरिएका महिलाहरू मिलेर २०५७ सालमा स्थापना भएको शक्ति समूहले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेको छ। 

नृप दनुवारसँग २०५४ सालमा विवाह गरेकी उनले मुम्बईका कोठीमा बिताएका काला दिनहरू समेटेर गत वर्ष ‘आँसुको शक्ति’ नामक पुस्तक सार्वजनिक गरेकी थिइन् । नेपाली नागरिकता बनाउन उनले चार वर्ष अनावश्यक दुःख भोग्नुपरेको थियो । श्रीमानको नामबाट नागरिकता लिन काठमाडौं धाउँदा एकपटकमा पाँच हजार खर्च हुन्थ्यो । असहाय भएर उनले जिल्ला विकास समितिका सभापतिलाई नेपाली नागरिक होइन भने लेखेर पत्र पाऊ नभए कानुन बमोजिम नागरिकता दिलाउनुभएपछि तत्काल नागरिकता बनेको थियो। 

नेपाली महिलाको सशक्तीकरणमा सक्रिय उनले देशभर बेचिएका महिला र युवतीहरुको आर्थिक संमृद्धिका लागि विभिन्न समूह बनाएर सीपमूलक काम सञ्चालन गरिरहेकी छन्। 

शक्ति समूहले बेचविखनमा परेका महिला, युवती र बालिकाहरुको उद्धार र संरक्षणको काम गरिरहेको छ।

त्यसो त वैदेशिक रोजगारीको नाममा हुने महिला बेचबिखनले डरलाग्दो स्वरूप लिइसकेको छ । अन्तर्राष्ट्रिय श्रमिक संगठनको अनुसार हरेक वर्ष नेपालबाट मात्र १२ हजारदेखि १५ हजार बालिकाहरू मानव बेचबिखनमा पर्ने गरेका छन् । त्यसमध्ये ७ हजार बालिकाहरू भारतमा बिक्री हुने युनिसेफले जनाएको छ । करिव दुई लाख नेपाली महिला र युवतीहरू भारतको मुम्बई र दिल्लीको कोठीहरूमा बन्धक बनाएर यौन धन्दामा लाग्न बाध्य बनाइएका छन् । त्यस्तै नेपाल–भारत सीमाको सुरक्षाका लागि खटिएका भारतीय अर्धसैनिक बलले सन् २०१७ मा सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१३ को तुलनामा पाँच सय प्रतिशतले मानव बेचबिखनमा वृद्धि भएको छ। 

शक्ति समूहले आफ्नो मातहतमा रहेका बेचविखनमा परेका जीवितहरूलाई पुनर्वास गर्न चार केन्द्र स्थापना गरेर व्यावसायिक प्रशिक्षण प्रदान गरिरहेको छ। 

ग्लोबल एलायन्स अगेन्ट ट्राफिक इन वमनका अनुसार शक्ति समूहले नेपाल सरकारसँग सहकार्य गरेर बेचबिखनमा परेका महिला, युवती र बालिकाहरुलाई क्षतिपूर्ति प्रदान गर्ने काम गरिरहेको छ । राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांकको अनुसार सन् २०१२ देखि २०१३ मा २९ हजार नेपाली महिला र युवतीहरू बेचबिखनमा परेका थिए। युनिसेफको अनुसार काठमाडौंमा मात्र १३ हजार युवती र बालिकाहरू राती मनोरञ्जन क्षेत्रमा काम गरिरहेका छन्। यस तथ्यांकमा आठदेखि १५ वर्षका बालिकाहरू धेरै छन्। 

‘आम मानिसहरु मानव बेचविखनविरुद्ध एकजुट भएर बोल्न थालेका छन्। बालिकालाई आफ्नो छोरीको रूपमा हेर्न सकियो भनेपनि बेचविखनविरुद्ध आवाज बुलन्द हुनसक्थ्यो,’ उनी भन्दै थिइन्, ‘झण्डै २२ वर्षको मेहेनतपछि मानव बेचविखनविरुद्ध मानिसहरु लागे पनि बेचविखन निर्मूल हुनसकेको छैन।’

प्रकाशित: १२ श्रावण २०७५ ०२:४४ शनिबार

मानव बेचविखनविरुद्धकी अभियन्ता