अन्य

सकारात्मक ऊर्जाको स्रोत

महेश्वर आचार्यभृकुटीमण्डपमा जेठ अन्तिम साता पुस्तक मेला चलिरहेको थियो । पुस्तकप्रेमीहरू आ–आफ्नै धुनमा पुस्तक खोजिरहेका थिए । तीमध्ये एक युवा थिए, शंकर उपाध्याय । उनको पुस्तक सूचीमा पहिलो नम्बरमा थियो– खप्तड स्वामीको ‘विचार विज्ञान’ ।

त्यो पनि एक, दुई होइन, पाँच प्रति ।त्यत्रो किन ? ‘यो पुस्तक उपयोगी भएकाले अरुलाई उपहार दिन खोजेको हुँ,’ उनले प्रष्टीकरण दिए, ‘म प्रायः जिज्ञासु र उत्साही मान्छेलाई यही पुस्तक उपहार दिने गर्छु।’

शंकर मात्र होइन, मेलामा अन्य धेरैले ‘विचार विज्ञान’ खोजेका थिए । पुस्तकमा विचारको उत्पत्ति, शक्ति, शरीर तथा स्वास्थ्यमाथि यसको प्रभाव, यसद्वारा हुने सर्वकार्य सिद्धिलगायत विषयमा सरल भाषामा अध्यात्म र विज्ञानको सारलाई प्रस्तुत गरिएको छ ।‘मैले सकारात्मक सोचबारे स्टेभन कोबे, नोरम्यान भिन्सेन्ट पिल्ले, डेभिड स्वार्टज, रिचार्ड पाल्मर, शिव खेडा लगायतका पुस्तक पढें ।

तर, हाम्रा लागि ती सबैभन्दा विचार विज्ञान सबै दृष्टिले उत्कृष्ट लाग्यो,’ शंकरले भने, ‘म कुनैबेला डिप्रेसनले ग्रसित थिएँ, त्यो बेला मलाई विचार विज्ञानले जीवन परिवर्तनमा ठूलो सघाउ पुर्याएको थियो ।’खप्तड स्वामीसँग परिचित पौरस्त्य चिन्तक डा. गोविन्द टण्डन विचार विज्ञान नेपाली भाषामा लेखिएको विचार कस्तो हुनुपर्छ भन्ने प्रश्नको उत्तर दिने उत्कृष्ट पुस्तक भएको बताउँछन् ।

‘मान्छे शरीरले बन्ने होइन, विचारले बन्ने हो । त्यो विचार कस्तो हुनुपर्छ ? विचारलाई असल बनाउन के गर्नुपर्छ ? भन्ने कुरा पुस्तकमा उल्लेख छ,’ डा. टण्डन भन्छन्, ‘म आफैं पनि सो पुस्तकबाट अत्यन्तै प्रभावित भएको हुँ । वास्तवमा सो पुस्तक उच्च शिक्षाका शिक्षार्थी तथा शिक्षकहरूले पढ्नैपर्ने पुस्तक हो ।’हामी सबै सकारात्मक सोच र व्यवहारको रट लगाइरहन्छौं । तर, सकारात्मक सोचको जरा कहाँ छ र सकारात्मक व्यवहारको उदय कसरी गर्ने भन्ने जानेका-बुझेका हुँदैनौं । यो पुस्तकले त्यस विषयमा साह्रै नै सरल र प्रभावकारी ढंगले पाठकलाई बुझाउने डा. टण्डन बताउँछन्।

मान्छे शरीरले बन्ने होइन, विचारले बन्ने हो । विचार कस्तो हुनुपर्छ र विचारलाई असल बनाउन मनलाई असल विचारको उर्वर भूमि बनाउन के गर्नुपर्छ भन्ने सामान्य जनले पनि बुझ्ने गरी खप्तड बाबाले ‘विचार विज्ञान’मा प्रस्तुत गरेका छन्।

‘अचेल आधुनिकताका नाममा हामी विकृतिको भासमा फसिरहेका छौं । आधुनिकताकै उपजका रूपमा अहिले अधिकांश व्यक्ति मानसिक असन्तुनलले ग्रसित छन् । हेर्दा सामान्य लागे पनि वैचारिक रूपले असमान्य छन् । त्यस्तो अवस्थामा विचार विज्ञान जस्तो पुस्तकको महत्व अझै बढ्दै गएको छ,’ डा. टण्डन भन्छन् ।शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला विचार विज्ञानले पाठकहरूलाई चिन्तन गर्ने शैली सिकाउने बताउँछन् । यो पुस्तक शिक्षक, शिक्षार्थी सबैलाई उपयोगी हुने उनको तर्क छ । उनका अनुसार विचार विज्ञानले प्रकृतिसँग साक्षात्कार गर्न, ब्रह्मको अवलोकन गर्न तथा सहसम्बन्ध विकास गर्न सिकाउँछ।

‘शिक्षक शिक्षार्थीले जे जति सिक्ने हो त्यो सबै यही प्रकृतिमै छ । विचार विज्ञानले प्रकृतिसँग साक्षात्कार गर्न सिकाउँछ । प्रकृतिमा भएको कुरालाई अवलोकन नगरी त सिक्ने, जान्ने भइएन । विचार विज्ञानले अवलोकनतर्फ अग्रसर गराउँछ । अनि देखेका जानेका कुरालाई ए यस्तो रहेछ भनेर मात्र पनि भएन । त्यसमाथिको चिन्तनपछि सहसम्बन्ध विकास गरी सकारात्मक ऊर्जा दिलाउँछ । सकारात्मक ऊर्जाले दिने भनेको आखिर सकारात्मक प्रतिफल नै त हो,’ कोइराला भन्छन् । गलत विचार हावी हुँदा नै शिक्षा क्षेत्रले अपेक्षित विकास गर्न नसकेको बताउँदै उनी विचार विज्ञानले सकारात्मक र सिर्जनशील चिन्तनतर्फ अग्रसर गराउने बताउँछन्।

मदन पुरस्कार पुस्तकालयमा भएको तथ्यांकअनुसार विचार विज्ञान २०३४ सालमा सूचना विभागले प्रकाशन गरेको देखिन्छ । यो पुस्तक सुरुमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पनि छापेको थियो । बाबाको देहवसान भएपछि गठन भएको खप्तड आश्रम प्रकाशन समितिले बूढानीलकण्ठ स्थित आश्रमको सञ्चालन तथा बाबाद्वारा लिखित पुस्तक प्रकाशनको कामलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशन समितका अध्यक्ष प्रा. शिवगोपाल रिसाल खप्तड बाबाका अन्य प्रकाशनमध्ये सबैभन्दा बढी बिक्री हुने पुस्तक विचार विज्ञान नै भएको बताउँछन् । समितिले हालसम्म विचार विज्ञान ५३ हजार प्रति प्रकाशन गरिसकेको छ । बाबाका विचार विज्ञानबाहेक चार खण्डको धर्म–विज्ञान, धर्म–विज्ञान सार संक्षेप, योग विज्ञान, म र मेरो कर्तव्य, नारी धर्म र पुरुष धर्मलगायतका पुस्तक प्रकाशित छन्।

विचार विज्ञानको अंगे्रजी संस्करण ‘साइन्स अफ थट’ पनि प्रकाशित छ । २०६० सालदेखि प्रकाशन हुन थालेको ‘साइन्स अफ थट’लाई तीर्थराज तुलाधरले अंग्रेजीमा अनुवाद गरेका हुन् । त्यस्तै, ‘इसेन्स अफ वेदान्त’ पनि अंग्रेजीमा प्रकाशित खप्तड स्वामीको अर्को चर्चित ग्रन्थ हो । अहिले विचार विज्ञानको छैठौं संस्करण छपाइ भइरहेको छ ।
त्रिविवि रसायन शास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख तथा ‘अध्यात्मिक र भौतिक चिन्तन’ पुस्तकका लेखक प्रा. डा. छविलाल गजुरेल अध्यात्मिक र भौतिक जगत दुवैले सत्यको खोज गर्ने बताउँछन् । दुवैको उद्देश्य एउटै हो । तर, बाटो फरक छ।

‘प्रत्येक शिक्षा मन्त्री र सरकारले जीवनोपयोगी शिक्षाको कुरा गर्छन् । तर, के चाहीँ जीवनोपयोगी हुने हो सोबारे अनभिज्ञ छन्,’ उनी भन्छन्, ‘यो स्पष्ट विचार नहुनुको उदाहरण हो । तसर्थ, पहिला विचार स्पष्ट हुनुपर्छ विचार स्पष्ट हुनुलाई विचार के हो ? विचारमा निर्माण कसरी हुन्छ ? सिर्जनात्मक विचार कसरी बनाउने ? लगायत काममा विचार विज्ञान महतवपूर्ण आधारसरह छ।’

प्रकाशित: १२ श्रावण २०७५ ०२:३२ शनिबार

ऊर्जाको स्रोत