अन्य

‘किसानलाई नगदे बालीमा प्रोत्साहन गरिरहेका छौं’

राम मानन्धर, गोकर्णेश्वर नगरपालिका वडा नं १
तपाई जनप्रतिनिधी भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
शिवपुरी राष्ट्रिय निकुञ्जभित्र वडाका दुई वटा वस्ती रहेका छन् । जनप्रतिनिधी भएर आएसँगै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेका दुई वटा वस्तीमा यातायात सेवा प्रारम्भ गरेको छु।

यस अघि ति क्षेत्रमा यातायात चल्दैन्थ्यो । जसको कारणले सर्वसाधारणले निकै सास्ती खेप्दै आइराखेका थिए ।गत भदौंमा एक करोड १६ लाखको बजेटमा सिन्धुपाल्चोकको मुलखर्क र नुवाकोटको सीमाना ओख्रेलीसम्म कच्ची सडकलाई ग्राभेल गरेर सवारी सञ्चालनमा ल्याएको छु । निकुञ्जसँग समन्वय गरेर देउरालीको ओरालोमा पर्खाल लगाएर व्यवस्थित गरेका छौं।

तपाईको वडामा अवैध रुपमा गाजाँखेति हुदैं आइरहेको छ, रोक्न कस्ता योजना अघि सार्नुभएको छ ?
 वडामा रहेको विकट एरिया मुलखर्क र ओख्रेलीमा लामो समयदेखि गाँजाखेति हुदैं आइरहेको छ । उक्त स्थान विकट एरिया भएकाले पनि अवैध गाँजाखेति मौलाउन पाएको हो । विगत केही वर्षदेखि प्रशासनले गाँजाखेतिलाई निरुत्साहित गर्ने प्रयत्न गरिरहेको छ । तर,अझैसम्म गाँजा निम्तिान्न पार्न सकेका छैनौं ।

वर्षेनी गाँजा आफैं उम्रिने समस्या कायमै छ । एक महिना अघि  डेढ सयभन्दा धेरै संख्यामा रहेका प्रहरीले गाँजाखेति नष्ट गरेका थिए । वडा कार्यालयले गाँजाखेति हुने स्थानमा जनतालाई अन्य अन्नबाली तथा नगदे बाली लगाउन प्रोत्साहन गरिरहेको छ ।

गाँजाले मानवस्वास्थ्यमा असर पार्ने भएकाले ति स्थानका ६० कृषकलाई अन्य खेति गर्नको लागि वडा कार्यालयले ६० वटा टनेल उपलब्ध गराएको छ । त्यसको साथसाथै वडा कार्यालयले व्यवसायिक तरकारी तथा अन्य नगदे बालीलाई प्रोत्साहन गर्ने नीति अबलम्वन गरिरहेको छ।

 तपाईको वडामा खानेपानीको चरम हाहाकार छ, कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?
वडामा माग अनुसारको खानेपानीको आपूर्ति गर्न सकेका छैनौं । जसको कारणले वडामा खानेपानीको हाहाकार छ । वडा कार्यालयबाट नै मेलम्चीको पाइप गएको छ ।

तर, वडाबासीको लागि खानेपानीको पाइप वितरण गर्न सकेका छैनौं । जुन निकै दुख लाग्दो पक्ष हो । अग्लो भूभागमा भएकाले नै वडामा खानेपानीको समस्या भएको हो ।त्यसैले खानेपानी व्यवस्थापनको लागि स्यालमतिखोला चयन गरेका छौं । मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरेर केही समयभित्रै खानेपानीको प्रबन्धमा जुट्नेछौं।

तपाईंको वडामा अधिकांश सडक कच्ची छन्, कहिलेसम्म कालोपत्रे गर्नुहुन्छ ?
वडाका अधिकांश सडक कच्ची छन् । जोरपाटीदेखि सुन्दरीजलसम्मको सडक हिलाम्मे भएर अस्तव्यस्त भइरहेको छ । नयाँपाटीदेखि सुन्दरीजलसम्मको सडकमा केही खाल्डाखुल्डी रहेका छन् ।  हिँउदमा धुलाम्मे र  वर्षात्मा हिलाम्मे सडकबाट सर्वसाधारण पीडित भइरहेका छन् ।

कच्ची सडकलाई कालोपत्रे गर्न वडा कार्यालयसँग पर्याप्त बजेट छैन, त्यसैले वडा कार्यालयले नगरपालिका र सहरी विकास योजनाअन्तर्गत सडक कालोपत्रे गराउने योजना अघि सारेका छौँ । त्यसका लागि पहलकदमी भइरहेको छ । सम्भवतः अबको तीन वर्षभित्रै वडाका सम्पूर्ण चार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छु । नगरपालिकाको करिव ४० प्रतिशतभन्दा धेरै भूभाग एक नम्बर वडामा पर्छ ।त्यसैले चारवर्षे कार्यकालभित्र वडाका सम्पूर्ण सडक कालोपत्रे गर्न मुस्किल देखिन्छ।

भूकम्पपीडितले राहत नपाएको गुनासो गरिरहको छन् नि ?
वडाका अधिकांश भूकम्पपीडितले राहत रकम पाएका छैनन् । भूकम्पबाट पाँच सय  धरधुरी प्रभावित छन् । लगभग चार सय लाभग्राहीले पहिलो किस्ता वापतको राहत रकम पाइसके ।

दोस्रो  किस्तावापतको रकम पाउनेको संख्या एक सय ५० रहेको छ । तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीको संख्या न्यून रहेको छ । वडामा करिव २ सय घर बनिसके ।तर, अझै तीन सयभन्दा धेरै भूकम्पपीडित टहरामा नै बसोबास गर्दै आइरहेका छन् । केही भूकम्पपीडितसँग लालपुर्जा नहुँदा राहत उपलब्ध गराउन समस्या भएको छ । त्यसैले वडा कार्यालयले भूकम्पपीडितका लागि समन्वयकारी भूमिका खेलिरहेको छ।

तपाईंको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही व्यक्तिले सार्वजनिक जग्गा मिचेका छन् । वडामा करिव २० देखि ३० रोपनी  सार्वजनिक जग्गा मिचिएको सुन्नमा आएको छ । नगरपरिषदबाट सार्वजनिक जग्गा संरक्षणको लागि समिति बनाइसकेका छौं । वडा कार्यालयले अतिक्रमण तथा मिचिएका सार्वजनिक जग्गाको तथ्यांक तयार पारेर फिर्ता ल्याउनेछौँ।

 नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषदबाट  चालु आर्थिक वर्षमा वडा कार्यालयका लागि चार करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

बिनियोजित बजेट मध्ये अधिकांश भौतिक पूर्वाधार निर्माण, खानेपानी, महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि विशेष प्राथमिकतामा राखेर खर्च गर्यौं ।

आगामी आर्थिक वर्षको लागि पनि दुई ५० लाख करोड रुपैयाँ बजेट बिनियोजन भएको छ ।  नगरपरिषद्को बैंठकबाट आगामी आवको लागि बजेट घटेको छ । जनताको चाहाना र आकांक्षा बर्षेनी चुलिदैं गइरहेको छ ।तर, गत आवको तुलनामा अहिले धेरै बजेट घटेकाले जनताले अपेक्षा गरेअनुसारको काम गर्न समस्था देखिने सम्भावना बढेको छ ।

तपाईको वडा राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ, कस्तो फाइदा उठाउनुभएको छ ?
 वडा नं १ शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । वडा राष्ट्रिय निकुञ्जमा जोडिएर वडाबासीलाई फाइदाभन्दा धेरै घाटा भइरहेको छ ।

निकुञ्ज क्षेत्रमा सवारीसाधन एकपटक प्रवेश गर्दा पाँच सय रुपैयाँ र एक जना मनिस प्रवेश गर्दा ५७ रुपैयाँ तिनुपर्ने बाध्यता रहेको छ । जसको कारणले स्थानीय जनता आउजाउमा निकै सास्ती भोगिरहेका छन् । त्यस्तै गरी निकुञ्ज क्षेत्रमा रहेका वस्तीमा सडक विस्तारमा समेत निकै चुनौती रहेका छन्।

वडामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन कस्ता योजना अघि सार्नुभएको छ ?
 वडा कार्यालयले सुन्दरीजलको बसपार्कदेखि उत्तरतर्फ रहेको सुन्दरीमाई जाने डेढ किलोमिटर क्षेत्रमा सिढिँ बनाउने काम धमाधम गरिरहेको छ ।

सुन्दरीमाई मन्दिर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रविन्दु बनाउन लागिरहेका छौं । वडा कार्यालयले डेढ किलोमिटर क्षेत्रमा सिढिँ बनाउनको लागि ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । हालसम्म तीन सय मिटरभन्दा धेरै सिँढी बनाइसक्यौं।

 कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
पाँच वर्षभित्र व्यवस्थित र समृद्ध वडा बनाउने लक्ष्य लिएर काम गरिरहेको छु । वडालाई सफा सुग्घर र हराभरा बनाउने लक्ष्य छ ।

आगामी चारवर्षभित्र वडामा खानेपानीको प्रर्याप्त आपूर्ति गर्ने योजना बनाइरहेको छु ।त्यसको लागि मेलम्ची खानेपानी आयोजनासँग समन्वय भइरहेको छ । आगामी आर्थिक वर्षदेखि खानेपानी व्यवस्थित गर्नेतर्फ जुट्नेछौं ।  वडा कार्यालयले २० रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक मैदानलाई खेलमैदान बनाउने योजना बनाएको छु ।त्यसको लागि २० लाख बजेट बिनियोजन भइसकेको छ ।त्यसको अलवा अन्य विकास निर्माणको पूर्वाधारमा सुधार गर्नेछौं । 

प्रस्तुतिः हिमाल लम्साल

प्रकाशित: ७ श्रावण २०७५ ०२:४८ सोमबार

किसानलाई नगदे बालीमा प्रोत्साहन गरिरहेका छौं