अन्य

आइ एम विथ डा. केसी

चिकित्सा शिक्षामा सुधारको माग राख्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी अनसन बसेको तीन साता नाघिसकेको छ । जुम्ला सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो १५ औं अनसन सुरु गरेका केसीलाई सरकारले गत बिहीबार जुम्लाबाट हेलिकप्टरमा राजधानी काठमाडौं ल्यायो।

राजधानी ल्याएपछि महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा अनसन जारी गरेका केसीको समर्थनमा हजारौं मानिसहरू सडकमा उत्रिए । शनिबार राजधानीमा डा. केसीको समर्थनमा निस्केको जुलुसमा राजनीतिक दलहरूका नेता मात्र नभई विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको पनि सहभागिता थियो । डा. केसीको मागको समर्थनमा आइतबारदेखि काठमाडौंमा सामूहिक रिले अनसन पनि सुरु भएको छ।

यी सबै घटनाहरू भइरहँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू यसबाट टाढा हुने कुरै भएन । डा. केसीको मागको समर्थन र सरकारको निरंकुश शैलीको विरोधमा आइ एम विथ डाक्टर केसी ह्यास ट्याग प्रयोग गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हजारौंको संख्यामा ट्विट गरिसकेका छन् । यो ह्यास ट्याग स्थानीय ट्विटर ट्रेन्डको रूपमा पनि पटक–पटक आइसकेको छ।

संसद्मा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ताको माग गर्दै ब्याक अफ मेडिकल बिल ह्यास ट्याग पनि उत्तिकै चलेको छ । यी दुई वटा ह्यास ट्याग पछिल्लो साता नेपाली ट्विटर प्रयोगकर्तामाझ चर्चित भइरहेका छन् ।
शनिबार डा. केसीको समर्थनमा निस्किएको जुलुसमा सहभागी हुँदै गर्दा अभिनेत्री मनिषा कोइरालाले ट्विट गरिन्, ‘माथेमा आयोगको प्रतिवेदनलाई सम्बन्धित पक्षहरूले सम्मान गर्नुपर्छ । यो नै अहिलेको गतिरोधको समाधान हो ।’ कोइरालाको ट्विटमा आएका जवाफहरूमा कसैले उनको विचारको समर्थन जनाएका छन् भने कसैले विमति जनाएका छन्।

आइ एम विथ डाक्टर केसी, सेभ डाक्टर केसी र ब्याक अफ मेडिकल विल ह्यास ट्याग प्रयोग गरेर अहिले ट्विटरमा हजाराैं ट्विटहरू चलिरहेका छन् । डा. केसीको अनसनको औचित्यलाई बुझाउने गरी आएका ट्वीटहरू यस्ता छन्, ‘तपाईंको बुबालाई हृदयघात भयो ।

डाक्टरले भन्ने गर्छ – स्ट्रेप्टोकाइनेस इन्जेक्सन लिएर आऊ १४ हजार रूपैयाँको । इन्जेक्सनको वास्तविक मूल्य एक हजारदेखि एक हजार एक सयको बीचमा छ । तर, त्यसमा एमआरपी १४ हजार रूपैयाँको छ । तपाईं के गर्नुहुन्छ ?’‘तपाईंको बच्चालाई इन्फेक्सन भएको छ । डाक्टरले जुन एन्टिबायोटिक लेखे, त्यो आठ सय ७० रूपैयाँको एक पत्ता हो । त्यही साल्ट कुनै अर्को कम्पनीको दुई सय ५० रूपैयाँको हो र जेनेरिक ७५ रूपैयाँको । तपाईं के गर्नुहुन्छ ?’

‘डायलासिसपछि एउटा इन्जेक्सन लाग्छ । एमआरपी सायद दुई हजार नौ सय रूपैयाँ छ । होलसेल मार्केट त के पूरै नेपाल तपाईं खोज्नुहुन्छ । तर, कहिँ पनि भेटिँदैन किन ?  किनकि कम्पनीले डाक्टरलाई मात्र सप्लाइ दिन्छ । इन्जेक्सनको वास्तविक मूल्य आठ सय रूपैयाँ छ।’

अनसनरत डा. केसीको मागलाई समर्थन गर्दै सामाजिक सञ्जालमा ट्विट गर्नेहरू कतिपयले आफूले उनको मागको बारेमा अध्ययन गरेर समर्थन सुरु गरेको बताएका छन् । क्षितिज पोखरेलले ट्विट गरेका छन्– ‘डा. केसीको मागको बारेमा केही अध्ययन गरेको छु र ती वास्तवमै मान्य छन् । हामीले माफियालाई हाम्रो स्वास्थ्य प्रणालीको नियन्त्रण गर्न दिन सक्दैंनौं । प्रधानमन्त्री ओलीले यो अवस्थालाई होसियारीपूर्वक सम्हाल्नुपर्छ । यो उनीहरूको अन्तको सुरुवात पनि हुन सक्छ।’

डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने भनेपछि सामाजिक सञ्जालमा त्यसबारे पनि निकै चर्चा भयो । यसै सन्दर्भमा सरोज भण्डारीले प्रश्न गरे, ‘जुम्लामा राम्रो उपचार हुन नसक्ने भन्दै हेलिकप्टरबाट केसीलाई सरकारले जवर्जस्ती काठमाडौं ल्यायो । समस्या त सरकारलाई पनि थाहा रहेछ त दुर्गममा स्वास्थ्य सेवा गतिलो छैन भन्ने । तर, माग पूरा गर्न किन तयार छैन ?’

डा. केसीको मागको समर्थन र सरकारको निरंकुश शैलीको विरोधमा आइ एम विथ डाक्टर केसी ह्यास ट्याग प्रयोग गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हजारौंको संख्यामा ट्विट गरिसकेका छन् । यो ह्यास ट्याग स्थानीय ट्विटर ट्रेन्डको रूपमा पनि पटक–पटक आइसकेको छ ।

डा. केसीको अनसनको सन्दर्भ चुलिरहँदा ‘मार्सीधनी’ भनेर चिनिएका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं र कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा एमबिबिएस पढ्ने नेपाली छात्राहरूबारे दिएको अभिव्यक्तिले पनि सामाजिक सञ्जाल तताएको छ । नेपाली छात्राहरूको अस्मितामाथि प्रश्न उठ्ने अभिव्यक्ति दिएका प्रसाईंलाई कारवाही गर्न र तामाङलाई बर्खास्त गर्न पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले माग गरिरहेका छन् ।

दुर्गा प्रसाईले एक भिडियोमा भनेका छन्, ‘बंग्लादेश मेडिकल पढ्न गएका छात्रा किन ९÷९ वर्ष लगाएर नेपाल फर्कन्छिन्, त्यहाँका प्रोफेसरहरूले करणी गरेर राखेका हुन्छन् ।’ उनको यस वाक्यले बंग्लादेशमा मेडिकल पढ्न जाने छात्राहरूको चरित्र हत्या भएको भनेर प्रसाईलाई कारवाहीको माग गरिरहेका ट्विट समेत सामाजिक सञ्जालभरि छरिएका छन् । प्रसाईलाई कारावाहीको माग भइरहेको बेला कानुनमन्त्री तामाङको ‘सर्टिफिकेट लिन नेपाली चेलीले आफूलाई बेच्नै पर्छ’ भन्ने अभिव्यक्तिले सामाजिक सञ्जालमा हेलो सरकारलाई मेन्सन र ट्याट गर्दै विभिन्न प्रश्न गर्न गरिएको छ ।

प्रकाशित: ७ श्रावण २०७५ ०२:२८ सोमबार

आइ एम विथ डा. केसी