अन्य

साउनमा हरियो ‘कल्चर’

साउन सुरु भएसँगै महिला तथा युवती हात हरिया चुरा र मेहन्दीले सजिएका छन्। हिन्दू महिलाले साउनको सोमबार व्रत बस्छन्।

किवंदन्ती अनुसार परापूर्वकालमा हिमालयकी पुत्री पार्वतीले साउनभर निराहर रही व्रत बसेकाले शिवलाई पतिका रूपमा पाएको मान्यता छ। यसकै सम्झनामा महिलाहरूले साउनको सोमबार पानीसमेत नखाई व्रत बसी शिवको पूजाआराधना गर्छन्।

यो महिनामा कतिपय झरीमा रुझ्दै हिँडेको देख्न सकिन्छ।

साउनमा हरियो चुरा र मेहन्दी लगाउने गरेको धादिङबेसीकी चिनामाया श्रेष्ठ बताउँछिन् । यद्यपि उनलाई यसको महत्व भने थाहा छैन । ‘विवाहितले पतिको आयू लामो होस् भनेर मेहन्दी र हरियो चुरा लगाउने गरेका छन्,’ उनले भनिन्, ‘अविवाहितले आफूले मन पराएको पुरुष पतिका रूपमा पाउने अभिलाषाले चुरा लगाउने गरेका छन् ।’ साउनमा हरियो लगाउने ‘कल्चर’ नै बनिसकेको महिलाहरू बताउँछन्।

सोमबारको व्रत बस्दा महिलाहरूमा आपसी सद्भाव पनि बढ्ने गरेको छ । सोमबारको व्रत भावनाका अतिरिक्त रचनात्मक पनि बनेको छ।

साउनमा शिवजीको पूजा गर्नुको अर्थ र महत्वको विषयमा विशेष रूपमा कतै त्यस्तो व्याख्या गरिएको छैन । धर्मले जहिले पनि मानिसलाई पवित्र बन्नका लागि प्रेरणा दिइरहेको हुन्छ । प्राकृतिक रूपले नै साउन महिना जलमय हुने हुँदा जताततै रमणीय दृश्य देख्न पाइन्छ।

पछिल्लो समय साउन हरियो फेसनको महिना पनि बन्दै गएको छ । आयातित मानिएको यो भारतीय संस्कृतिमा मेहन्दी र हरियो चुरीलाई प्रेम र सुहागको प्रतीक मानिन्छ।

साउन लागेदेखि नै बजारमा धेरै मात्रामा हरियो चुराको माग बढिरहेको छ । पसल तथा मन्दिरहरूमा भीडभाड बढिरहेको छ।   

साउनमा शिवजीको पूजा–आराधना गर्दा व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास छ । साउनमा बढी वर्षा हुने भएकाले रोगको संक्रमण हुने गरेको मान्यता छ । साउने संक्रान्तिमा लुतो फाल्न नुवाइधुवाइ गर्ने मान्यता छ । यो समयमा रोगहरू लाग्ने बढी सम्भावना भएकाले मासु, लसुनलगायत खानेकुरा खान नहुने मान्यता छ।

प्रकाशित: ५ श्रावण २०७५ ०३:२३ शनिबार

साउनमा कल्चर