मुलकले १० वर्षे जनयुद्द झेल्दै शान्ति प्रक्रिया पार गरेपछि नयाँ संविधान पनि पायो । आज सिंहदरबारको अधिकार गाउँ–गाउँमा अभ्यास भइरहेको छ । सशस्त्र द्वन्द्व बिसाएको पनि १२ वर्ष नाघिसक्यो।
०६८ सालदेखि पर्यटन गन्तव्य खोज्दै र तिनको प्रवद्र्धन गर्ने सिलसिलामा म पटकपटक रोल्पा–रुकुमका कुनाकन्दरा पुगेको छु । कहिले पत्रकारसँग, कहिले लेखकसँग त कहिले अध्येतासँग डुलें । डुल्न अझै धेरै ठाउँ बाँकी छन्।
त्यहाँका सुन्दर गाउँ बस्ती, मिलनसार गाउँले र स्थानीय संस्कृति र जीवनशैली वर्णन गरी साध्य छैन । पहिलो पटक ०६८ सालमा पुग्दा रुकुम सदरमुकामसम्म कच्ची सडक थियो, अहिले खलंगासम्म सडक पिच भइसक्यो । गाउँ–गाउँमा कच्ची सडक पुगिसकेको छ । मध्य पहाडी लोकमार्ग बुर्तिबाङदेखि, लुकुम, काँक्री, रुकुमकोट हुँदै खलंगा जोडिएको छ । यसको स्तरोन्नति तीव्ररूपमा अघि बढेको छ ।
छिट्टै पिच हुने आशा गरौं । साविकको सडकभन्दा यो मार्ग काठमाडौंबाट १३० किमि छोटो छ ।लोकमार्गले यस क्षेत्रको जनजीवन फेरिनेछ र आर्थिक विकासमा टेवा पुर्याउने छ।केही दिनअघि भूमे पर्व सुरु हुनुपहिले म फेरि रुकुम पूर्वको भूमे गाउँपालिका पुगें । हाम्रो टोलीमा नाथमका प्रमुख प्रशिक्षक मनराज खत्रीसहित होमस्टे तालिमका प्रशिक्षकहरू, यात्रा पत्रकार आर के अदिप्त गिरी र म थियौं ।
रुकुम (पूर्व)को भूमे गाउँपालिकामा भूमे पर्वमा झुमेका गाउँलेहरुले प्रकृतिको पूजा गरे । र, शान्तिमार्गबाटै आर्थिक क्रान्ति गर्ने सञ्देश बाँड्दै नाचगान गरे।
दुई दिने जीप यात्रामा बुटवल, दाङ तुलसीपुर, सल्यानबाट रूकुम पश्चिमको शीतलपाटी हुँदै घोरखानी पुग्दा पहिरोले हाम्रो जीप अड्कियो, राति अबेर रूकुमकोट बास बसेर तेस्रो दिन भूमे गाउँपालिकाको महतगाउँको तालिमस्थल पुग्यौं । गाउँपालिकाले नाथमको सहयोगमा ७ दिने होमस्टे तालिम गरायो । तालिम सकिनासाथ भूमे पर्व सुरु भयो । हामी (गिरि, बीरन पुन र म)लाई पर्व मनाउने अवसर मिल्यो । थप केही दिन हामी त्यतै भुल्यौं।
भूमे पर्व
भूमे पर्व १८ मगरात क्षेत्र विशेष गरी रोल्पा–रूकुमको मगर बाहुल्य क्षेत्रमा सबैभन्दा ठूलो उत्सवका रूपमा मनाइन्छ । मगरहरू प्रकृति–पूजक भएकाले भूमिलाइ पूजा गर्ने चलन छ ।
भेडा, कुखुरा र सुंगुरको बलि चढाएर बल पूजा गरिन्छ । यो पर्व बर्खा सुरु हुनलगत्तै असार पहिलो साता मनाइन्छ ।भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाका अनुसार किसानहरूले अन्न बाली थन्क्याएपछि र आगामी वर्ष राम्रो फसल लागोस्, सबै निरोगी होउन्, समाजमा शान्ति र सद्भाव छाओस् एवं प्राकृतिक प्रकोपबाट बचियोस् भन्ने कामनाकासाथ भूमिको पूजा गरिन्छ।
यही पर्वको अवसरमा यसपाली भूमे गाउँपालिकाले स्थानीय लोकसंस्कृति संरक्षण र प्रवद्र्धन गर्न सांस्कृतिक नाच प्रतियोगिता समेत गरेको थियो । पराम्परागत भेषभूषामा (गुन्यु चोली, धरो, पछ्यौरी, गादो, गहनामा सजिएका महिला तथा चोली, छड्के, पटुका, टोपी आदिमा सजिएका पुरुष) धुमधामसँग भूमे नाचे।सहनाई, टेम्कुलालगायत बाजाको तालमा महिला र पुरुषले छुट्टाछुट्टै लाइनको घेरा बनाएर लयपूर्वक नाचे । नाचका ताल २२ थरि भएता पनि अचेल १२ चाल मात्र नाचिने गरेको एक कलाकारले सुनाए । पर्वको तयारी करिब डेढ महिना अघिदेखि सुरु हुन्छ । भूमे सुरु हुनु एक दिनअघि गाउँलेहरू लेकमा फूल टिप्न जान्छन् तोरो हाल्ने भाकामा गीत गाउँदै नाचगान गर्दै गाउँ झर्छन्।
भेडा, कुखुरा र सुँगुरको बलि चढाएर बल पूजा गरिन्छ । त्यसपछि भूमे नाच सुरु हुन्छ । सांस्कृतिक अभियन्ता मदन रोका मगरका अनुसार यो पर्व विशेषतः रूकुम पूर्वका महत, सीमा, धर्मशाला, काँक्री, लुकुम, क्याङसी, काडा, चुनबाङ, तकसेरा, कोल, नाखा, राङसी, जाङ गाउँहरू र रोल्पाका थबाङ, जेलबाङ, उवा आदि ठाउँहरूमा मनाइन्छ ।परम्परादेखि नै गाउँलेहरूले संरक्षण गर्दै आएका यस्ता पर्वलाई अझै जीवन्त बनाउनु आवश्यक छ । त्यसका लागि गाउँलेलाई प्रोत्साहन गरिने प्रतिनिधि सभा सदस्य कमला रोकाले बताएकी छिन् ।
सांस्कृतिक प्रतियोगिता
गाउँमा पहिलोपटक आयोजना गरिएको प्रथम खुला लोकसांस्कृतिक नृत्य प्रतियोगितालाई भूमे गाउँपालिकाले प्रायोजन गरेको थियो । त्यसमा गाउँपालिकाका महत, धरामपानी, चुनबाङ, क्याङसी, लुकुम, काँक्री, खाबाङ बगर नाच समूहसहित छिमेकी रोल्पा जिल्लाका थबाङ नाच समूहसहित २४ टोली सहभागी थिए । उक्त प्रतियोगितामा भूमे नाच, ढोंगे नचारु नाच, पैसेरु नाच, मयुर नाच र फाँक नाच पस्किएको थियो।
भूमे नाचतर्फ थवाङ भूमे नाच समूह प्रथम भई नगद राशी ७५ सय रूपैयाँ पायो भने दोस्रो हुने धर्मशाला भूमे नाच समूहले पाँच हजार रुपैयाँ । त्यसैगरी महत भूमे नाच समूहले तेस्रो स्थानसहित २५ सय रूपैयाँ पायो । काँक्री भूमे नाच समूह, लुकुम भूमे नाच समूह, आमा समूह, खावाङ भूमे नाच समूह, चनवाङ भूमे नाच समूहले सान्त्वना र सहभागी भएस्वरूप १३ सय ३३ र ६ हजार ६ सय ६६ रूपैयाँ पाए।
पैसेरु नाचतर्फ चुनवाङ पैसेरु समूह, महत चुनवाङ पौसेरु समूह, खावाङ चुनवाङ पौसेरु समूह क्रमशः पहिलो, दोस्रो, र तेस्रो स्थान हासिल गरी क्रमशः चार हजार, तीन हजार र दुई हजार रूपैयाँ पाए । सान्त्वनास्वरूप महत चुनवाङ पौसेरु समूह र स्याला नाच समूहले क्रमशः १३ सय र ३ हजार ३ सय ३३ रूपैयाँ पाए।
त्यसरी नै क्याङसी (क) फांक नाच समूह, लुकुम फांक नाच समूह र क्याङसी (ख) फांक नाच समूहले फांक नाचमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्दै क्रमशः चार, तीन र दुई हजार रूपैयाँ पाए ।गाउँपालिकाको आर्थिक सहयोगमा साइनिङ नेपाल र संघीय विकास केन्द्रले महत गाउँमा असार २ देखि ४ गतेसम्म प्रतियोगिता गरेका थिए । यस्ता प्रतियोगिताले लोक संस्कृति संरक्षणमा टेवा पुग्छ।
शान्तिको सन्देश
दश वर्षे जनयुद्दमा रोल्पा–रुकुमका जनता जनयुद्धमा होमिए र धेरैले ज्यान पनि गुमाए । सशस्त्र द्वन्द्वका घाउहरू बिर्सिदै गाउँहरु तंग्रिदै छन् । यहाँका बस्ती, टोल, खोलानाला, भीर पखेरामा युद्दका अबशेष छन् ।
कथाहरू प्रशस्त सुन्न सकिन्छ । यहाँ युद्धका अवशेषका साथै शान्ति स्मारक, बुद्ध मूर्तिलगायत छन् । तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ देखि नेपालमा जनयुद्ध थालनी गरेको थियो । १० वर्षसम्म चल्यो जनयुद्ध । त्यतिबेला रोल्पा, रुकुमले धेरै क्रान्तिकारी वीरहरू जन्मायो । त्यसैले रोल्पा–रुकुमलाई क्रान्तिकारीहरूको उद्गमस्थल पनि मानिन्छ।
रुकुम (पूर्वका) धेरै सर्वसाधारण पनि जनयुद्धमा होमिएका थिए । युद्धमा कयौंले सहादत प्राप्त गरे भने कतिपय अंगभंग भए । त्यसैले रुकुम (पूर्व)को माटो जनयुद्धले सिंचित छ । त्यहाँ युद्धका दुःखद् घटनासँग जोडिएका थुप्रै ठाउँ छन् ।मुलुकमा राजतन्त्र ढलेर गणतन्त्र स्थापित भइसकेपछि जनयुद्धको उद्गमथलो मानिएको भूगोलमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘गुरिल्ला पदमार्ग’ एक्सप्लोर गरिएको छ । रुकुम, रोल्पा, म्याग्दी र बाग्लुङलाई जोडेर बनाइएको मध्य पहाडी क्षेत्रको गुरिल्ला पदमार्ग विदेशीमाझ स्थापित भइसकेको छ।
यो पदमार्गमा दुईदेखि तीन सातासम्म पदयात्रा गर्न सकिन्छ । पहिचान गरिएको पहिलो रुट काठमाडौंबाट खलंगा हुँदै स्यार्पुताल, पोखरा, छिपखोला, सिस्ने, चारगाउँ, हुकाम, मैकोट, पेल्मा, ठांकुर, फागुने धुरी, ढोरपाटन, जलजला हुँदै बेनीबजार जोडिन्छ ।त्यसैगरी अर्को रुटमा काठमाडौंबाट रोल्पाको जेलबाङ, जलजला, थबाङ, मारिङ, लुकुम, तकसेरा, ढोरपाटन हुँदै बेनी बजार जोडिन्छ । अन्य रुटमा काठमाडौंबाट थबाङ पुगेर लुकुम, काँक्री, चुनबाङ, जेलबाङ, दलसिंगे सेरोफेरोको पदयात्रा।
यो पदमार्गमा माओवादी जनयुद्धका कथा, व्यथा त सुनिन्छ नै । साथमा प्रकृति र संस्कृतिको मिठो संगम पनि भेटिन्छ । मगर समुदायको बाहुल्य क्षेत्र भएकाले यात्रामा मगर जातिको जीवनशैली र संस्कृतिको सुवास पाइन्छ ।
पदमार्गमा हिँड्दा गुरिल्लाहरूले बनाएको बाटो, पुल, स्मारक, चौतारा, उनीहरू ओहारदोहोर गरेका गोरेटा र बास बसेका घरहरूसँग साक्षात्कार गर्न सकिन्छ । त्यतिमात्रै होइन, हिजोका छापामारहरुसँग भलाकुसारी गर्न पनि पाइन्छ।
हिजोका तिता मिठा घटनाहरू बिर्सिदै खुसीसाथ भूमे पर्व मनाउन भूमे गाउँपालिका–६ का अध्यक्ष देवबहादुर रोकाले सम्पूर्ण सहभागीलाई आग्रह गर्दा सबैका आँखा रसाएका थिए । कार्यक्रममा सबैजना हर्षोल्लासका साथ नाचे । बालबालिका, युवा र पाका सबैको आँखामा उत्साहको फूल फूलेको थियो त्यतिबेला ।महतगाँउ पनि सहिदहरूको गाउँ हो । त्यहाँका ५८ जनाले ज्यान गुमाएका थिए । शान्तिको बाटोमा देशले आर्थिक क्रान्ति गर्न सकिने सन्देश बाँड्दै गाउँलेहरूले भूमे पर्व मनाए ।हामीले भूमे गाउँपालिकामा दुई साता बितायौं । फर्केको पनि केही दिन भइसक्यो । कानमा अझै भूमेका भाकाहरू गुञ्जिँदैछन्, गुञ्जिरहनेछन् ।
प्रकाशित: ५ श्रावण २०७५ ०१:५९ शनिबार