अन्य

दाग

जोन्ना स्लान

म भन्दा पन्ध्र वर्षले जेठो डाक्टरले मेरो अनुहार बिस्तारै चलायो र ओल्टाइपल्टाई हे-यो । ऊ प्लास्टिक सर्जन थियो । हेर्दामा आकर्षक यी डाक्टरका आँखा यति तिखा थिए कि उनीसँग हत्तपत्त आँखा जुधाउन निकै गाह्रो पथ्र्यो । र, उनीसँग आँखा जुधाउनेहरु प्रभावित नभइरहन सक्तैनथिए ।

“हम्म्, उसो भए तपाईं मोडल हुनुहुन्छ, होइन त ?” उसले भन्यो ।

डाक्टरले मलाई खिल्ली उडाइरहेको त थिएन ? यो कस्तो खाले व्यङ्ग्य थियो ? मैले डाक्टरको अनुहारमा उपहासको रेखा खोजेँ तर उसले मलाई खिल्ली उडाइरहेको थिएन । के मेरो अनुहार यति धोका दिने किसिमको छ कि अरुले यसमा मोडलको चिनो देखून् ! मलाई थाहा थियो, म राम्री छैन । एक किसिमले कुरुप ! मेरी आमाले पनि प्रायः भन्ने गर्नुहुन्थ्यो, “तँ दिदीजस्तै राम्री भइदिएकी भए !”

यो चिनोका कारण मेरो सफा अनुहारमा एउटा दाग बसेको थियो । म चार कक्षामा पढ्दा छिमेकी केटोले मलाई एउटा ढुङ्गाले हानेको थियो । त्यो ढुङ्गा मेरो आँखाछेउमा लाग्यो र भल्भली रगत आयो । मेरा अभिभावकहरुले मलाई अस् पताल लैजानुभयो र त्यहाँ डाक्टरले केही टाँचा लगाइदिए । ढुङ्गा हानेर लागेको घाउ त निको भयो तर त्यतिबेलाको घटना दागका रुपमा ज्यूँदो रहिरह्यो । र, यो दुर्घटनाको अर्को प्रभाव पनि प¥यो । मेरो आँखाको ज्योति कमजोर हुनथाल्यो र मैले मोटो चश्मा लगाउनुपर्ने बाध्यता पनि भयो । यसका कारण पनि मेरो सौन्दर्यमा अर्को झट्का लाग्यो ।

थाहा छैन म किन राम्री हुन चाहन्थेँ तर मलाई यो कुराले त्यतिबेलै निकै पीडा दियो । मेरा बाबाले भन्नुभयो– “सुन् छोरी, मेरा लागि त तँ जहिले पनि सुन्दर नै छेस्, अरुका लागि जत्तिकै नराम्री किन नहोस् ।” शायद हाम्रो समाज नै राम्री हुनुलाई नै महत्व दिँदो हो । नत्र मलाई त्यो उमेरमा किन नराम्री भएकोमा पीडा भयो होला त ! बाबाको सान्त्वनाले मलाई घरमा त सन्तोष दिन्थ्यो तर घरबाहिर म भित्रभित्रै कुँडिन्थेँ ।

हाम्रो वरपर अलि राम्री छोरीले सौन्दर्य प्रतियोगितामा भाग लिनुपर्छ र  जित्नुपर्छ भन्ने भावना व्याप्त थियो । मेरा साथीहरुले भविष्यमा सौन्दर्य प्रतियोगितामा भाग लिने र शायद जित्नसक्ने खुबी आफूसित छ भनेको सुन्दा मलाई दिक्क लाग्थ्यो । त्यसैले म प्रायः ऐना हेर्दिन थिएँ । ऐना मेरालागि हुँदै होइन भन्ने ठान्थेँ ।

जब टीभीमा सौन्दर्य प्रतियोगिताको लाइभ दिँदै हुन्थ्यो, मेरो परिवारका सबै सदस्य टिभीमा चुम्बकझँै टाँसिएका हुन्थे । यता म भने एक्लै आफ्नो कोठामा धुम्धुम्ती बसिरहेकी हुन्थेँ । मेरा आँखामा अविरल आँशु वर्षिरहेका हुन्थे । मलाई घरिघरि  कस्तो लाग्थ्यो भने, म अछुत जातकी हुँ । मलाई सौन्दर्य प्रतियोगितामा भाग लिन दिइँदैन । यो मेरालागि ठूलो पीडाको कुरा थियो । अलि बुझ्ने हुन थालेपछि सौन्दर्य प्रतियोगितामा भाग लिनेबारे मैले सोच्न छाडिदिएँ । त्यो प्रतियोगितामा भाग लिन पाउँदिनँ भने कम्तिमा राम्रो व्यक्तित्व बनाउँछु भन्ने मलाई लाग्यो । कैयौँ वर्षको मिहिनेतले मैले व्यक्तित्व विकासमा प्रभाव पार्ने पहिरनदेखि लिएर कपाल, चश्मा र आफूअनुकूलको सौन्दर्यप्रशाधन पनि परिवर्तन गरेँ । र, त्योभन्दा ठूलो कुरा चाहिँ मैले म एउटी महिलाका रुपमा स्वाभानी नारी बनेँ । यसबीच मेरो बिहे पनि भयो र  श्रीमान्को हौसलाका कारण मेर ो अनुहार मा दाग छ भन्ने कुरा पनि बिर्सिएँ ।
त्यै पनि कहिलेकाहीँ ऐनामा हेर्दा मेरो अनुहारको दागले च्वास्स घोच्थ्यो । त्यही भएर त्यो घोचाईलाई कम गर्न म प्लास्कटिक सर्जरीका लागि अस्पताल आएकी थिएँ र डाक्टरले मलाई सोधिरहेको थियो– के म मोडल हुँ त ?
“अहँ, म मोडल बिल्कुलै होइन”, मैले उसलाई जवाफ दिएँ– “तपाईंले किन त्यसरी सोध्नुभएको ?”

प्लास्टिक सर्जनले दुई हात गोजीभित्र हाल्दै भन्यो– “उसो भए तपाईं यो दागमा यति धेरै चिन्तित किन हुनुहुन्छ ? यदि यो दागले तपाईंको व्यवसायिक जीवनमा कुनै असर गरेको छैन, तपाईंको पारिवारिक जीवनमा पनि असर गरेको छैन भने तपाईं यहाँ किन प्लास्टिक सर्जरी गर्न आउनु भएको ?”

तर उसलाई मेरो पीडा के थाहा ? मेरो यही दागका कार ण म नराम्री भएकी थिएँ । मेरो आँखाको ज्योति गुमेका कार ण मोटो चश्मा लगाउनु पथ्र्यो र त्यसका कारण केटाहरु मेरो छेउमा पर्न भनेपछि टाढैबाट भाग्थे । कक्षामा कुनै नृत्य प्रतियोगिता हुँदा मसँग नाच्न कोही राजी हुँदैनथ्यो । शायद यही दागका कारण हुनुपर्छ, पटक–पटक मैले चाहेजस्तो डेटिङ गर्न पाइनँ । केटाहरु मसँग घुम्न जान मान्दैनथे । मेरा श्रीमान्ले देब्रे औँलामा लगाइदिएको औंठी माथि अनुहार सम्म ल्याएँ र मैले औँठीमा आफ्नो प्रतिविम्व देखेँ । त्यो प्रतिविम्वमा दाग स्पष्ट देखिरहेको थियो । म वास्तवमै त्यो दागका कारण नराम्री देखिएकी थिएँ । यी सबै कुरा सम्झेर मेरो आँखामा आँशु आयो ।

डाक्टरले नजिकैको कुर्सी तान्यो र म छेउ बस्यो । उसको घुँडाले मेरो घुँडालाई लगभग छुन खोजिरहेको थियो । उसको स्वर  मसिनो र नरम भयो, उसले हलुका मुस्कानमा भन्यो– “उसो भए म यहाँबाट तपाईंलाई कस्तो देख्छु भनुँ है त ! मैले यहाँबाट के देखिरहेको छु भने मेरो अघिल्तिर एउटी सुन्दर  महिला छे । यो महिला पूर्ण छैन तर  सुन्दर छे । पूर्ण हुनबाट एउटा दागले रोकेको छ र त्यो दाग चाहिँ ठ्याक्कै उसको निधारमा छ । जुनसुकै मान्छेको ध्यान पनि त्यहीँ जाने भएकाले झट्ट हेर्दा यो महिला त्यति सुन्दर देखिन्न । प्रख्यात अभिनेत्री एलिजाबेथ टेलरको निधारमा तिम्रोजस्तै दाग थिए, सानासाना । तर उनी यति प्रख्यात भइन् कि मान्छेले उनको अभिनय हेरे, निधार हेरेनन् । मोडल लरेन हटनको दाँत कति नराम्रा थिए, दाँतमा छिद्रैछिद्रा ।” यति भनेपछि डाक्टर  जुरुक्क उठ्यो र भित्ताको ऐना उठायो । ऐनालाई मतिर फर्कायो, मैले मेरो अनुहार  हेरिरहेकी थिएँ । उसले भन्यो– “मलाई थाहा छ, जुन महिलाको शरीरमा दाग हुन्छ, त्यो दागले महिलामा रहेको कमजोरीलाई देखाइरहेको हुन्छ । तर मेरो निजी धारणा तिमी जान्न चाहन्छ्यौ ? तिम्रो निधारमा भएको यो दागले तिम्रो अपूर्णता बताइरहेको छ र मलाई यो अपूर्णता मन पर्छ । किन थाहा छ ? यो अपूर्णताले तिमी मान्छे हौ भन्ने जनाइरहेको हुन्छ । अनि, हरेक मान्छेमा केही न केही कमजोरी त भइहाल्छ नि ! को पो पूर्ण छ र ? बरु यस्तो चिनो नभएकाहरु चाहिँ मान्छे होइनन् कि भनेर मलाई उनीहरुसँग सङ्गत गर्न डर  लाग्छ । मलाई तिमी मन प-यो किनभने तिमी मान्छे हौ ।”

त्यसपछि डाक्टर  जुरुक्क उठ्यो, ऐना फिर्ता लियो र  त्यही ठाउँमा झुण्ड्यायो जहाँबाट यो निकालिएको थियो । ऐना राख्दाराख्दै उसले भन्यो– “म तिम्रो यो दागलाई सर्जरी गर्दिनँ । तिमी जस्ती छ्यौ, त्यस्तै रहू, त्यस्तै बन । तिम्रो अनुहारको कसैले गिल्ला गर्छ भने त्यो व्यक्तिको मूर्खता हो, उसको कमजोरी हो । मान्छे चिन्न नसक्ने कमजोरी । अब यदि कसैले मान्छे भएर मान्छे नै चिन्न सक्तैन भने चाहिँ हामी पनि के गर्न सक्छौँ र  ?” ऊ पुनः त्यही कुर्सीमा उसै गरी बस् यो र  भन्यो– “सुन्दरता महिलाभित्रको मनमा हुन्छ, अनुहारमा हुँदैन । मलाई विश्वास गर ।”

त्यसपछि डाक्टर  जुरुक्क उठ्यो र  हिँड्यो । म आफू बसेको ठाउँबाट उठेँ र  डाक्टरले झुण्ड्याएको ऐनाछेउ गएर  एक पटक हेरेँ । डाक्टरले सही कुरा गरेको थियो । यत्तिका समयका बीचमा एउटी नराम्री केटी आत्मविश्वासले पूर्ण महिला बनिसकेकी थिई । यो आत्मविश्वास कति बढेको थियो भने, पछि म त्यही डाक्टरको अफिसमा सल्लाहकार नियुक्त भएकी थिएँ र त्यहाँ आउने अनेकौँ बिरामीहरुलाई सल्लाह दिन थालेकी थिएँ । अनि, जसलाई मैले सन्तुष्ट बनाउन सकेकी थिएँ, उनीहरु चाहे पुरुष हुन् या महिला बिस्तारै नजिक आएर मेराे हातमा हल्कासँग छुँदै भन्थे– “तिमी कति सुन्दर छ्यौ, कति सुन्दर तरिकाले तिमीले हामीलाई समस्याबाट निकाल्छ्यौ !” धेरै जनाले भनिसकेपछि मलाई थाहा भयो, साँच्चै म सुन्दर  छु । 

जब म नै परिवर्तन भएँ, एउटी कुरुप केटीबाट सुन्दर  महिलामा, त्यसपछि त मेरा अरु पनि परिवर्तन हुन थाले । ममा आएको यस्तो अद्भूत परिवर्तन देखेर  उनीहरुमासमेत प्रभाव प-यो । त्यो दिन डाक्टरले मेरो अनुहारमा भएको दाग हटाएका थिएनन्, मेरो मुटुमा गहिरिएर बसेको दाग हटाएका थिए ।

प्रकाशित: ३२ असार २०७५ ०६:२३ सोमबार

दाग नागरिक परिवार