अन्य

सोसल मिडियामा मार्सी चामल

पछिल्लो दुई सातादेखि प्राध्यापक डा. गोविन्द केसी जुम्लामा अनसनरत छन् । मेडिकल शिक्षाको सुधारका लागि विभिन्न माग राख्दै १५ औं पटक अनसनरत डा. केसीको स्वास्थ्य अवस्था झन झन नाजुक हुँदै गइरहेको छ।

उनका पक्षधर विभिन्न समूहहरुले उनको माग पुरा गर्दै जीवन रक्षाका लागि दवाव दिदैं प्रदर्शन गरिरहेका छन् ।

यसपटक अनौठो संयोग परेको छ । डा. केसीको पक्षमा रहेकाहरुले मार्सी चामलको विम्व प्रयोग गरेका छन् भने उनी मार्सी धान फल्ने कर्णाली क्षेत्रको जुम्लामा अनसन बसिरहेका छन् । केही समयअघि मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईको घरमा प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चरेसको थालमा मार्सी चामलको भात खाइरहेको फोटोबाट मार्सी चामलको चर्चा चुलिएको छ ।

दुर्गा प्रसाईंले खुवाएको मार्सी चामलको भातको ऋण चुकाउन पनि ओली सरकारले मेडिकल शिक्षा विधेयकमा संशोधन ल्याएर व्यवसायी पोस्न लागिपरेको डा. केसीका समर्थकहरुको आरोप छ ।पछिल्लो दुई सातामा मार्सी चामलको परिभाषा नै फेरिएको छ । अहिले मार्सी चामल नीतिगत भ्रष्टाचारको पर्यायवाची समेत बनेको छ । धनाढ्य र सम्भ्रान्त वर्ग भनेर बुझाउनका लागि पनि मार्सी चामलको विम्व प्रयोग हुन थालेको छ।

‘कान खोली सुन ओली र प्रचण्ड, तिम्रो मार्सी भोजले समाजबाद आउँदैन’ भन्दै डा. केसीका समर्थकहरुले नारा र प्लेकार्ड बोक्दै प्रदर्शन गरेका थिए भने सदनमा पनि सांसदहरुले समेत मार्सी चामलको चर्चा निकै गरेका थिए । त्यस्तै मार्सी चामलको बारेमा नयाँ गाउँखाने कथा नै बनेको छ ।

‘नखाउन्जेल खाउँखाउँ लाग्ने, खाएपछि गुण तिर्ने हतारो, के हो?’ यस्तो गाउँखाने कथा पनि डा. केसीको समर्थनमा भइरहेका प्रदर्शनमा देख्न पाइएको छ । पछिल्लो दुई सातामा सडक र संसद मात्र होइन, सामाजिक सञ्जाल पनि मार्सी चामलमय बनेको छ । मार्सी चामलको सन्दर्भमा हजारौं फेसबुक पोस्ट र ट्वीटहरु टाइमलाइनमा देख्न सकिन्छ ।सागर बुढाथोकीले मार्सी चामलको यति धेरै चर्चासँगै रमाइलो ट्वीट गरेका छन्, ‘कस्सम! कसैले तेरो अन्तिम इच्छा के हो भनेर सोधे भने मार्सी चामलको भात भन्छु । यस्तो व्यापक चर्चा भएको चीज खाइएन भने त जीन्दगी खेर गइगो नि।’

त्यस्तै, बसन्त घिमिरेले पनि मार्सी चामलको चर्चा भएसँगै रमाइलो ट्वीट गरेका छन्, ‘अव त बिहेको लागि केटी माग्न जाँदा पनि खानदान बुझ्न पनि मार्सी चामलको भात खाएको छ की छैन् भनेर सोध्लान् भन्ने डर भो । हैन कहाँ पाइन्छ त्यो चामल? बिहे नै नहोला भन्ने पीर भो ।’देवसिंह बोहोराले भने मार्सी चामलको चर्चा भएर नै आफूले पहिलोपल्ट मार्सी चामलबारे थाहा पाएको भन्दै ट्वीट गरेका छन्, ‘जीन्दगीमा पहिलो चोटी थाहा भयो – चामल मार्सी अनि थाल चरेसको नि हुँदो रैछ।’

मार्सी चामलको चर्चा बढेसँगै यसको व्यापार पनि बढ्नेतर्फ इंगित गर्दै मिन राईले ट्वीट गरेका छन्, ‘कुनै दिन बजारमा मार्सी चामल यहाँ पाइन्छ लेखेको पसल छ्याप्छ्याप्ती हुन बेर छैन ।’ यस्ता आशयका ट्वीटहरु पनि टाइमलाइनमा निकै पढ्न पाइन्छ ।सुदर्शन आचार्यले आफ्नो आक्रोस यसरी ट्वीट गरेका छन्, ‘मान चैं मार्सी चामलको भात चाहिने, मार्सी फलाउने नागरिक र तिनका छोराछोरीको शिक्षा र स्वास्थ्यलाई उपेक्षा गर्न मिल्छ?’

सरला गौतमले कर्णालीका किसानले दुख गरी फलाउने मार्सी धानको अपमान माफियाहरुले गरेको भन्दै ट्वीट गरेकी छिन्, ‘जुम्लाका किसानको शान मार्सी चामल माफियाले खाएर गरिदिए अपमान! मार्सी चामल ‘लब्जु’!’
केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मेडिकल माफिया, अहिले पारित गर्न लागिएको संशोधित मेडिकल शिक्षा विधेयक, नेपालका कम्युनिष्ट र मार्सी चामललाई जोडेर आफ्नो विचार राखेका छन् ।

अरुण उप्रेतीले ट्वीट गरेका छन्, ‘स्वास्थ्यको व्यापार अब नगरौं भन्दा रुने कम्युनिष्ट चैं नेपालका मात्र होलान् है । स्वास्थ्य शिक्षा व्यापार भए डाक्टर व्यापारी सरह काम गर्छन् । अनि रुनेमा पहिलो त्यही मार्सी कम्युनिष्ट ।’अग्नि कश्यपको ट्वीट छ, ‘के आज दिनभरी श्रम बेचेर कमाएको पैसाले मेरो परिवारलाई मार्सी चामलको भात खुवाउन सक्छु त, त्यो पनि चरेसको थालमा? एक कम्युनिष्ट मजदूर प्रश्न गर्दैथ्यो ।’

सामाजिक सञ्जालमा डा. केसीको विपक्षमा अभियान चलाइरहेकाहरुलाई लक्षित गर्दै विपेन्द्र कार्कीले ट्वीट गरेका छन्, ‘मार्सी चामलको भात नेताले खाए, पखाला चाहिँ कार्यकर्ता नाउँका खेतालाहरुलाई लागिरहेको छ र फेसबुक÷ट्वीटर नै गन्हाउने गरी तिनै नेताको नांगो दलाली गर्दैछन् ।’

 

प्रकाशित: ३२ असार २०७५ ०२:०६ सोमबार

सोसल मिडियामा मार्सी चामल