अन्य

मिल्टन्स कटेजमा गणतन्त्रवादी कवि

‘मिल्टन्स कटेज’ले धेरै पहिलेदेखि आमन्त्रण गरिरहेको थियो । अफिस र घरको भागदौडले बरालिन मिलिरहेको थिएन । समयले बारम्बार पछाडि धकेलिरह्यो ।

यस वर्ष बेलायतको चिसो हिउँदले भर्खरै बिदा लिएर गएपछि तनमा उदायो खुसीको घाम । वसन्ती हावाले साउती मार्यो । र, आमन्त्रण गर्यो स्वर्गीय सौन्दर्य हेर्न । आहा ! कस्तो होला त्यो ठाउँ ? जहाँ बसेर कवि मिल्टनले लेखेका थिए ‘पाराडाइज लस्ट ।’ स्वर्गको कल्पना गर्न अभिप्रेरित गर्ने कविको निवासमा के होला ? वरपरका वातावरणमा कस्तो जादू होला ? मेरो मनमा अनेकन् जिज्ञाशा उठ्न थाले ।कवि निवासमा नपुगी उनको कल्पनाको पाराडाइज कसरी अनुमान गर्न सकिन्थ्यो र ? कविको पाराडाइज खोज्न म र विजय सापकोटा तयार भयौं ।

वास्तवमा कवि, साहित्यिकारका निवास र जन्मघर मेरा लागि साहित्यिक तीर्थस्थलसरह हुन् । त्यहाँ पुगेर चक्कर लगाउँदाको आनन्द, प्राप्त हुनेज्ञान, प्रेरणा र तिनलाई नजिकबाट चिन्न पाउने सुअवसरले कहिले मेरो मन त कहिले तनलाई दौडिरहन्छ । जसरी दौडिरहन्छन् गाडीको पाङ्ग्राहरू ।क्याम्ब्रिज विश्वविद्यालयबाट एमए उत्तीर्ण कवि जोन मिल्टन (सन् १६०८–१६७४) लन्डनमा एक सम्पन्न परिवारमा जन्मेका थिए । उनका पिताले उनलाई चर्चमा जागिर खुवाएर पादरी बनाउन चाहान्थे । तर, उनलाई साहित्य र राजनीतिमा रुचि भएकोले उक्त पेशा अँगालेनन् ।

सत्रौं शताब्दीमा इग्ल्याण्डमा भएका गृह युद्धको समयमा उनी राजतन्त्र विरोधी मोर्चामा अग्रपङ्तिमा रहेर गणतन्त्रको समर्थनमा बुलन्द आवाज उठाए । राजा चाल्र्स प्रथमको हत्यापछि ओलिवर क्रमवेलको गणतान्त्रिक शासन कालमा विदेशी भाषाको सेक्रेटरी बने । पछिसम्म राजनीतिक तथा नागरिक स्वतन्त्रताका लागि सक्रियताका साथ लागिरहे । त्यस्ता महान व्यक्तिको जीवनका विभिन्न आयामहरू मानसपटलमा क्रमशः आउन थाले।

कवि मिल्टन उतिबेला लन्डनमा महामारीको रूपमा फैलिएको प्लेग रोगबाट बच्न प्रकृतिको सुन्दर काख ‘चाल्फन्ट सेन्ट जायल्स’मा सपरिवार सरण लिन आएका थिए । त्यो महामारी रोगले प्रकृतिको अभेद्य पर्खाल नाघेर गाउँसम्म पुग्न नसकेकोले उनी त्यहाँ गएका थिए । वास्तवमा प्रकृति हाम्रो जीवन हो, सुरक्षा कवच हो र सबै भन्दा ठूला भगवान हुन् । मेरो मनले हर क्षण प्रकृतिलाई श्रद्धापूर्वक नमन गर्ने गर्छ।

बेलायतको सानो सहर वाटफोर्ड पछाडि छोडियो । बाटामा देखिएका प्राकृतिक सुन्दरतालाई आँखाले स्पर्श गर्न थाले । दुई लेनको बाटोका किनारामा रोपिएका बडेमानका रुखहरू आफ्ना नांगा तिघ्रा देखाएर उभिएका थिए । तिनका झ्याम्म परेका हाँगाहरू एक आपसमा आलिगंनमा मस्त देखिन्थे । तिनका पातहरू एक आपसमा कानेखुसी गरिरहे जस्तो लाग्यो । वास्तवमै रुखहरू एक आपसमा संवाद गर्छन् । र, आवश्यकता अनुसार पौष्टिक तत्वहरू जराको माध्यमले एक आपसमा आदान–प्रदान गर्छन् भन्ने कुरा हालै वैज्ञानिकहरूले पत्ता लगाएका छन् । ग्रिक मिथोलोजी अनुसार केही रुखहरूले संवाद मात्र होइन, भविष्यवाणी समेत गर्थे।

अलेक्जेण्डर द ग्रेटले संवाद गर्ने रुखलाई भेट्न जाने गरेको उल्लेख छ । संसारका पहिलो यात्री मार्कोपोलोले यात्राको क्रममा भारतमा बोल्ने रुखलाई देखेको कुरा बताएका थिए । साच्चै रुखहरूले एक आपसमा संवाद गर्छन् त ? गर्छन् भने कुन भाषामा संवाद गर्दा हुन् ? रुखका संवादको अडियो कुनै दिन वैज्ञानिकहरूले सार्वजनिक गरे भने आश्चर्य नमाने हुन्छ । तर, मैलेचाहिँ रुखसँग संवाद गर्ने कविहरूबाहेक अरु कोही देखेको छैन ।दुई किनारका झ्याम्म परेका रुखका हाँगा र पातहरू जोडिएर बनेको हरियाली सुरुङ मार्गको विचित्रको दृष्य हेर्दै गाडी चलाउँदै जाँदा यस्तै नानाभाँतीका कुराहरू मनमा उठिरहे ।

बेलाबेलामा देखा पर्ने त्यही जंगली सुरुङ मार्गमा गाडी दौडाउँदाको अनौंठो अनुभूतिले रोमाञ्चित हुनपुग्छु । यात्राका क्रममा सडक किनाराका मात्र होइन, परसम्म देखिने हरियाली र बेलाबेलामा देखिने बेलायती गाउँको सुन्दरताले लठ्ठ पार्याे । प्रकृतिलाई नबिथोली बनाइएका स–साना घर, बाटा र अन्य भौतिक संरचना देख्दा बेलायती गाउँलेहरू वातावरणप्रति सचेत र सच्चा प्रकृतिप्रेमी लागे ।‘दाइ यताको वातावरण त पाराडाइज जस्तै रहेछ ।’ सहरको कोलाहालबाट दिक्क भएका विजय यात्रामा देखिएको प्राकृतिक सुन्दरतामा मुग्ध हुँदै भने।

‘मिल्टनले पाराडाइज लस्ट लेखेको गाउँ पाराडाइजभन्दा कम हुने कुरै भएन ।’ मैले थपे ।शान्त र सफा गाउँ अनि बेलाबेलामा देखिने खेतका विशाल फाँटले हामीलाई आफूतिर खिँचिरहे । आधा घण्टाको यात्रामा नेपाल र बेलायतबारे साहित्यिक गफगाफ चलिरह्यो ।मिल्टन्स कटेजको कार पार्कमा कार राखेर बाहिर निस्कँदा पारिलो घाम लागिरहेको थियो । अचम्म, अघिल्लो दिन हाम्रो पसिना काढ्ने घाम लापत्ता थियो । बेलायतको बहुरूपी मौसमको कुरा गर्दै हामी मिल्टन्स कटेजभित्र प्रवेश गर्यौं।

मिल्टन्स कटेजभित्र हजुरबुबा उमेरका स्वयंसेवकले स्वागत गर्दै उनले हाम्रो बारेमा सोधी खोजी गरे । हामी नेपाली लेखक हौं भनेकै आधारमै उनले मिल्टन्स कटेज म्युजियमकी प्रमुखसँग भेट गराए । मभन्दा डबल ज्यानकी केलीले हार्दिकता देखाइन् । हामीलाई म्युजियम घुमाउन उनी तयार भएको देखेर प्रफुल्लित भएँ । धन्यवाद दिँदै विजयजी र म उनको पछि लाग्यौं ।

करिव १८ महिना भाडामा बसेको घर ‘मिल्टन्स कटेज’लाई म्युजियमको रूपमा संचालन गरेर कविलाई सम्मान मात्र गरिएको छैन, उनका बारेमा अध्ययन अनुसन्धान गर्न चाहानेहरूका लागि स्रोत केन्द्रको रूपमा स्थापित गरिएको छ । बेलायतमा कवि साहित्यकारहरूलाई अर्चना गरेको देखेर इष्र्या लाग्छ । उनीहरूले जीवित छउन्जेल सुविधा र सम्मान त पाउँछन् नै मरेपछि पनि सम्मान पाइरहेकै हुन्छन् ।

यही त हो नि राज्यले कवि साहित्यकारलाई दिने सबै भन्दा ठूलो पुरस्कार र सम्मान !  संयुक्त अधिराज्य बेलायतको सानो राज्य इग्ल्यान्डमा बोलिने अंग्रेजी भाषाले संसारभर फैलिएर सबैभन्दा धेरै साहित्य लेखिने र बोलिने भाषाको रूपमा त्यसै स्थापित भएको होइन । लेखकलाई दिइने सम्मान, प्रेरणा, आर्थिक सुविधालगायत विविध सहयोगले गर्दा लेखकमा पैदा हुने उत्साहले भाषा साहित्यमा समर्पित गराउँछ । त्यस्ता कार्यका लागि राज्यले प्रसस्त लगानी गर्छ ।

उता आफ्नो देशमा भाषा तथा साहित्यप्रति राज्यको उदासिनता र लेखक साहित्यकारलाई राज्यले गर्ने उपेक्षा सम्झँदा मन कटक्क दुख्छ ।मिल्टन्स कटेजभित्र हजुरबुबा उमेरका स्वयंसेवकले स्वागत गर्दै उनले हाम्रो बारेमा सोधी खोजी गरे । हामी नेपाली लेखक हौं भनेकै आधारमै उनले मिल्टन्स कटेज म्युजियमकी प्रमुखसँग भेट गराए । मभन्दा डबल ज्यानकी केलीले हार्दिकता देखाइन् । हामीलाई म्युजियम घुमाउन उनी तयार भएको देखेर प्रफुल्लित भएँ । धन्यवाद दिँदै विजयजी र म उनको पछि लाग्यौं।

कवि मिल्टन बसेको करिव चार सय वर्ष पुरानो दुई तले भवनको भुइँ तलाको बैठक कोठामा प्रवेश गर्दैगर्दा केलीले भनिन्– ‘कविको सम्झनालाई जीवित राख्ने उद्येश्यले ‘मिल्टन्स कटेज’ बचाउन सार्वजनिक रूपमा सहयोगको आह्वान गरियो । पहिलो दाताको रूपमा महारानी भिक्टोरियाले २० पाउण्ड दिएर यस पुनित कार्यका लागि हौसला प्रदान गरिन् ।’ उनको कुराले म अचम्भित भएँ । तर, केही भनिन् ।

मनमा कुरा चल्न थाल्यो, बेलायत जस्तो धनी देशकी महारानीले त्यति थोरै रकम के दान गरेकी होलिन् ? अर्को मनले भन्छ, जे भए नि कविको सम्झनालाई अमर राख्ने कार्यको सुरुवात त गरिन् नि । उनले त्यो रकम नदिएको भए मिल्टन्स कटेज अस्तित्वमा रहने थियो कि थिएन ? महारानीले पनि चन्दा दिइन भनेपछि स्वस्फूर्त रूपमा पैसा ओइरिन थाल्यो होला । यस्तै तर्कना गर्दै गर्दा मेरो मन नेपाल पुगिहाल्यो । नेपालका प्रधानमन्त्री, राष्ट्रपति आदिले सरकारी खाताबाट होइन, आफ्नै खल्तीबाट चन्दा दिएर यस्तै कार्यको सुरुवात गरेका थिए भन्ने कुरा पढ्न र सुन्न मन लागिरहेको छ।

कवि मिल्टनको बैठक कोठाभित्र प्रदर्शनीमा राखिएका महत्वपूर्ण तथा दुर्लभ सामग्रीहरूको अवलोकन गर्न थाल्यौं । एउटा कुनामा इग्ल्याण्डका राजा चाल्र्स द्वितीयले मिल्टनलाई पक्रेर थुन्न आदेश दिएको पत्र फ्रेमिङ गरेर राखिएको थियो । त्यसलाई खुब नियालेर हेरेँ । लेखक तथा साहित्यकारका फरक विचार र असहमतिका स्वरहरू सुन्न नचाहाने सत्ताको क्रुर छायाँ उक्त पत्रमा सल्बलाइरहेकोे देखेँ ।

पाराडाइज लस्ट प्रकाशित भइसकेपछि इग्ल्याण्डका पुनः राजतन्त्र स्थापना भयो । त्यसको विरोधमा गणतन्त्रवादी कवि मिल्टनले लेखेरै विरोध जनाए । फलस्वरूप उनी पक्राउ परे । र, उनलाई टावर अफ लन्डनमा थुनियो । पाठकहरूमाझ लोकप्रिय उनका कृतिहरू सार्वजनिकरूपमा जलाइए । अलिपछि गृह युद्धको समयमा संलग्नहरूलाई आम माफी दिने क्रममा मिल्टनले पनि माफी पाए । त्यसपछि उनले राजनीतिक जीवन त्यागेर पूर्णरूपमा साहित्यमा समर्पित भए।

‘यो उनको किचन रुम हो,’ दोस्रो कोठामा पाइला राख्दै गर्दा केलीले भनिन् । किचनको अस्तित्व बचाई राखेको उतिबेलाको बूढो चुल्हो उदास मुद्रामा थियो । अवलोकनको क्रममा चारैतिर दौडिरहेका मेरा आँखा सोकेसमा राखिएका पुस्तकमा गएर ठोकिए । त्यहाँ मिल्टनका महत्वपूर्ण कृतिका प्रथम संस्करणहरू थिए । ती दुर्लभ कृतिहरू ध्यान दिएर हेर्दै जाँदा ‘द डक्टरिन एण्ड डिसिप्लिन अफ डिभोर्स’ नामक पुस्तक पनि देखेँ । वास्तवमा कवि मिल्टनले उक्त पुस्तक लेख्नुको कारण रोचक छ । विवाहको एक महिनापछि माइत गएकी उनकी श्रीमती फर्केर आउन चाहिनन् । त्यो पीडाले उनी रन्थनिए ।

उति बेलाको कट्टर धार्मिक समाज पारपाचुके विरोधी थियो । आफूजस्ता पीडितका भावना समेटेर आदर्श समाज निर्माण र सुखी जीवन जिउन सहज होस् र पारपाचुकेको नियम कानुन बनाउन सरकारलाई पनि सहयोग पुगोस् भनेर पुस्तक लेखे । त्यस पुस्तकले उतिबेला खुब चर्चा बटुलेको थियो । पुस्तकको करामत हो कि संयोग ? तीन वर्षपछि उनकी श्रीमती माइतबाट फर्केर आइन् । र, चार बच्चाकी आमा बनिन् । नेपाली उखान ‘लोग्ने स्वास्नीको झगडा, परालको आगो’ बेलायतमा पनि ठ्याक्कै मिलेछ !
किचनबाट हामी उनको अध्ययन कक्षमा प्रवेश गर्यों ।

देब्रेपट्टिको भित्तामा कवि मिल्टनको बाल्यकालको जीवन्त पोट्रट निकैबेर हेरिरहेँ । सोही कक्षमा बसेर मिल्टनले पाराडाइज लस्ट महाकाव्यको रचना गरेको कुरा केलीले बताइन् । हुन त उनले पाराडाइज लस्ट आफ्नै हातले लेखेका होइनन् । त्यस बेला उनी पूर्णरूपमा दृष्टिविहिन भइसकेका थिए । तर, उनी मस्तिष्कमा सिंगै पाराडाइज बोकेर बाँचिरहेका थिए । उनी काव्यका पंक्ति भन्दै जान्थे, त्यसलाई कपीमा अरुले टिप्दै जान्थे । विशाल महाकाव्य बोलेरै लिपिबद्ध गराए । यस कार्यमा उनका साथी, छोरी र सहयोगीहरूले ठूलो सहयोग गरेका थिए । सोही महाकाव्यको अर्को शृंखलाको रूपमा लिइने ‘पाराडाइज रिगेन्ड’को प्लट सोही कक्षमा तयार गरेका रहेछन् । संसारभर अहिलेसम्म प्रभाव पार्न सफल महाकाव्य लेखेको कोठामा उभिएर कवि र उनको लेखन कर्मलाई नजिकबाट नियाल्न थालेँ।

पाराडाइज लस्टमा मिल्टन पहिलेको आफ्नो अडान र विचारभन्दा फरक रूपमा देखिएका छन् । ध्वंस, विनाश, सजायलगायत चीजहरू ईश्वरको न्यायको रूपमा प्रस्तुत गरेका छन् । र, त्यसलाई जायज ठह¥याएका छन् । वास्तवमा मिल्टनकी दोस्रो पत्नीको निधनपश्चात उनी अत्यन्त दुःखी भएका थिए । इग्ल्याण्डमा गणतन्त्रको स्थापना गर्ने ओलिवर क्रमवेलको पनि निधन भइसकेको थियो । दृष्टिविहीन हुँदा मानिसहरूले उनीप्रति गर्ने घृणा र उपहासबाट गुज्रिरहेका थिए ।

त्यसैको प्रतिबिम्ब उक्त महाकाव्यमा देखिएको कुरा इतिहासकारहरू बताउँछन् । बाइवलको कथावस्तुमा आधारित भए पनि त्यस महाकाव्यमा तत्कालीन राजनीतिको उत्कर्षदेखि पतनसम्मको छायाँ देख्न सकिन्छ । त्यस महाकाव्यमा एकसाथ काव्य, नाटक, धर्म, दर्शन, व्यंग्य, राजनीति सबैको समिश्रण पाइन्छ । पाराडाइज लस्टको वास्तविक समाप्ती अर्को कृति पराडाइज रिगेण्डमा भएको छ ।  ‘पाराडाइज लस्ट’ संसारका ५७ भाषामा अनुवाद भइसकेको छ । तीमध्ये विदेशी भाषामा अनुवाद भएका केही पुस्तक त्यहाँ छ ।’ भित्ता छेउमा रहेको सोकेस देखाउँदै केलीले भनिन्।

 ‘पाराडाइज लस्ट सायद नेपालीमा अनुवाद भएको छैन होला । यदि कसैले अनुवाद गरेछन् भने एकप्रति अवश्य उपहारस्वरूप ल्याउनेछु ।’ मेरा कुरा सुनेर उनी अत्यन्त खुसी भइन । तर, कसले पो गर्ला त्यो भीमकाय कृतिको अनुवाद । नेपाली साहित्यका उत्कृष्ट कृतिहरू अंगे्रजीमा अनुवाद नभएर दशगजा नाघ्न सकेका छैनन् । अनुवाद नहुनाकै कारण नेपाली साहित्य र साहित्यकारहरूको अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय छैन । नेपाली साहित्य नेपालमै खुम्चिनुको पीडा सम्झँदा मन खिन्न भयो।

‘उ त्यो पत्र हेर्नोस् । मिल्टनकी श्रीमतीले पाराडाइज लस्टको प्रथम संस्करणको रोयल्टी बुझेको पत्र ।’ केलीले भित्तामा फ्रेम गरेर राखिएको एउटा पत्र देखाउँदै भनिन् । ‘रोयल्टीको रकम कति थियो होला ?’ नसोधेको भए नि हुन्थ्यो होला, हतारिएर सोधी ालेँ ।‘पाँच पाउण्ड ।’ केलीको उत्तरले म अलमल्ल परेँ।

आज भन्दा तीन सय ५० वर्षअघि उक्त रकम आजको समयमा कति हुँदो हो अनुमान गर्न सकिनँ । तर, खुसीको कुरा, बेलायतमा उतिबेलै रोयल्टी पाउने चलन चलेको रहेछ । जे भए पनि त्यसबेला कविले आफ्नै खर्चमा पुस्तक निकालेर सित्तैमा बाँड्नु परेनछ । सबैभन्दा बढी प्रकाशित हुने तर बिल्कुलै बिक्री नहुने नेपाली कविता कृतिहरू सम्झन्छु । र, तीन सय ५० वर्षअघिका बेलायती पाठक र अहिलेका नेपाली पाठकको तुलना गर्छु ।
हाम्रा पाठक कमजोर कि कवि ? अलमल्लमा परेको छु।

वास्तवमा मिल्टनको उत्कृष्ट लेखनमा भ्रमण र भेटघाटले पनि सहयोग पुर्याएको थियो । त्यस बेला युरोपमा उनको राम्रै प्रभाव थियो । मिल्टन ३० वर्षको हुँदा लन्डनबाट पेरिस हुँदै इटाली गएका थिए । त्यसबेलाको अत्यन्त कट्टरवादी समाज र शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र पारपाचुके गर्न पाउनुपर्ने व्यवस्थाबारे लेखक, साहित्यकार, राजनीतिकर्मी र विद्धानहरूका अगाडि बोलेर जनमत तयार पार्ने काम गरे ।

इटालीमा पुगेर प्रसिद्ध खगोलशास्त्री ग्यालिलियोलाई भेटे । भनिन्छ– ग्यालिलियोसँगको त्यो भेटले उनलाई पाराडाइज लस्ट लेख्नका लागि पाराडाइज अर्थात् स्वर्गको कल्पना गर्न मद्दत पुर्यायो । बहुभाषी मिल्टन अंग्रेजी, इटालियन, ल्याटिन र ग्रीक भाषामा कविता लेख्थे । फ्रेन्च, स्पेनिस र जर्मन भाषामा गद्य लेख्थे । अंग्रेजीमा लेखिएका कविताका शब्दबाट संगीत उत्पन्न गराउने विलक्षण लेखन थियो । उनी त्यति धेरै भाषामा पारंगत रहेको थाहा पाउँदा छक्क पर्छु।

म्युजियमभित्रका कुनाकाप्चा सबै चहारिसकेका थियौं । तीन कोठामा प्रदर्शनीमा राखिएका दुर्लभ पुस्तक, पेन्टिङ, महत्वपूर्ण कागजपत्रलगायत सामग्री हेरिसकेपछि कवि मिल्टनबारे थाहा नभएका महत्वपूर्ण जानकारी पाएर सन्तुष्ट भएँ । उनको राजनीतिक, साहित्यिक र पारिवारिक जीवनका उतारचढावको ग्राफलाई त्यहीँबाट नियालेँ । कविलाई नजिकबाट चिन्न पाएकोमा मन प्रफुल्ल भयो।

हामी म्युजियमबाट बाहिरन लागेका थियौं । म्युजियम पछाडि रहेको बगैंचा पनि अवश्य हेर्नु होला भनेर केलीले भनिन् । उनलाई धन्यवाद दिएर बगैंचामा पुग्यौं । भर्खरै वसन्त ऋतुको आगमन भएकोले बगैंचामा रंगीचंगी फूलहरू फुलिरहेका थिए । प्रतियोगितात्मक प्रदर्शनी चले जस्तो फूलहरू आ–आफ्ना सौन्दर्य र सुवास छरिरहेका थिए । मैले कहिलै नदेखेका र नाम नसुनेका फूलहरूलाई घुमीघुमी हेरेँ । स्पर्श गरेँ । सुँघे । जति हेरे पनि धित नमर्ने फूलका सौन्दर्यमा आँखा तृप्त भएनन् । क्यामरामा तिनका दर्जनौं चित्रहरू कैद गरेँ।

सोच्छु, ती फूलहरू भाग्यामानी कि कवि मिल्टन ? वास्तवमा बगैंचामा फुलेका ती फूलहरू र त्यहाँका अन्य बोटविरुवाका वर्णन पाराडाइज लस्टमा छ । तिनको सुवासले महाकाव्य मगमगाएको छ । फूललाई आफ्नो आँखाले देख्न नसक्ने कवि मिल्टनले फूलका सुवासका आधारमा बगैंचाको सुन्दर वर्णन गरेका हुन् वा कविको तेस्रो चक्षुले फूल देखेर आफ्नो काव्यमा वर्णन गरेका हुन् ? अथवा पहिले नै आफ्नै आँखाले देखेका फूलका सुन्दरताको व्याख्या गरेका हुन् ? बगैंचामा चक्कर लगाउन्जेल यस्तै कुराहरू मनमा खेल्न थाले।

मिल्टन कटेजभित्र र बाहिर प्रशस्त समय लगाएर धित मरुञ्जेल हेरिसकेपछि त्यहाँबाट निस्कियौं । कार पार्किङतर्फ जाँदै गर्दा मिल्टन्स कटेजको अगाडि ‘मिल्टन्स इन्डियन रेस्टुरेण्ट’ लेखेको साइनबोर्ड देखेर छक्क परेँ । त्यत्रा प्रसिद्ध राजनीतिज्ञ, प्रखर गणतन्त्रवादी नेता तथा संसार प्रसिद्ध कवि मिल्टनको नाममा रेस्टुरेण्ट संचालन गर्ने र संचालन गर्न अनुमति दिनेलाई यदि कवि मिल्टन बाँचेको भए के भन्थे होलान् ? घर फर्कदा बाटाभरि मनमा विभिन्न तर्कहरू चलिरहे ।
 

 

प्रकाशित: ३० असार २०७५ ०२:०७ शनिबार

मिल्टन्स कटेजमा गणतन्त्रवादी कवि