अन्य

‘आहा! घुम्दै पढ्न क्या मज्जा’

हरियो कम्ब्याट बर्दी लगाएका एकजना सुरक्षा गार्डलाई केही विद्यार्थीले घेरेका थिए । विद्यार्थीहरूले हातमा सेतो कापी र कलम बोकेका थिए। विद्यार्थीको हातमा भएको सेतो कागजको एउटा पानामा केही प्रश्नहरू लेखिएका थिए । ती प्रश्न हेर्दै पालैपालो सुरक्षा गार्डलाई प्रश्न सोध्न विद्यार्थी व्यस्त देखिन्थे । सुरक्षा गार्ड विद्यार्थीका उत्तर दिन व्यस्त थिए  । गएको मंगलबार भक्तपुर दरबार क्षेत्रमा देखिएको दृश्य हो यो।

हेरिटेज बज्राचार्य एभरेष्ट इङलिस स्कुलमा कक्षा दुईमा अध्यनरत विद्यार्थी हुन् । उनी कपीमा लेखिएका प्रश्नको उत्तर लेख्दै थिए । स्कुलबाट फिल्ड भिजिटमा आएका उनी निकै दंग देखिन्थे । वरिपरिका मन्दिर, नजिकैको पुरानो बजार, दरबार स्क्वायरमा  झुन्डाइएको ठुलो घन्ट देखेर निकै खुसी थिए उनी।

कक्षा दुईको सामाजिक शिक्षा अन्तर्गतका पाठ पढाउन विद्यार्थीलाई एभरेक्ष्ट स्कुलले विद्यार्थीलाई फिल्ड भिजिट ल्याएको थियो । विद्यार्थीलाई कक्षा कोठामा मात्र सीमित नराखी प्रयोगात्मक शिक्षा दिने चलन बिस्तारै बढेको देख्न सकिन्छ । ‘विद्यार्थीले पढेको भन्दा देखेर सिकेको कुरा लामो समयसम्म दिमागमा बस्ने र सजिलै बुझ्ने हुनाले फिल्ड ट्रिपमा ल्याउने गर्छौँ ।’ शिक्षिका सुजिता लिम्बुले भनिन्।

दरबार क्षेत्रमै रहेको एक मन्दिर हेरेर कपिमा उतार्न व्यस्त थिइन्, सुमिका सापकोटा। उनी पनि एभरेष्ट इङलिस स्कुल कक्षा दुईकी छात्रा हुन् । सुमिकालाई फिल्डमा आएर लेख्न, पढ्न र चित्र बनाउन निकै मन पर्छ । पुराना घर, विभिन्न चित्रले भरिएका मन्दिर, काठले बनेका घर, काठका सामान, ढुङ्गाको मूर्ति देख्दा निकै रमाइलो लागेको अनुभव उनले सुनाइन्

स्कुलबाट साथीहरू मिलेर फिल्ड भिजिटमा आउन पाउँदा कक्षा दुईका विद्यार्थीहरू निकै उत्साही देखिन्थे । विद्यार्थीलाई ससाना समूहमा विभाजन गरी विभिन्न प्रश्नका उत्तर लेख्न दिइएको थियो । एकआपसमा सोधपुछ गर्दै, रमाउँदै खेल्दै प्रश्नको उत्तर लेखेको देख्न सकिन्थ्यो।

हेरिटेज बज्राचार्य घोरिएर कपीमा लेखिएका प्रश्नको उत्तर लेख्दै थिए । कक्षा दुईका विद्यार्थी उनी भन्छन्, ‘यहाँ आएर लेख्न पाउदा धेरै कुरा सिक्न र देख्न पाइन्छ । मलाई त धेरै खुसी लाग्छ ।’ हेरिटेजलाई भक्तपुरमा रहेको ठुलो घन्ट, मन्दिर र मन्दिरमा कोरिएका चित्र निकै मन परेकोे बताए । दरबार परिसरमा देखिएका मानिससँग कुरा गर्दै प्रश्नको उत्तर लेखेको उनले बताए।

दरबार क्षेत्रमै रहेको एक मन्दिर हेरेर कपिमा उतार्न व्यस्त थिइन्, सुमिका सापकोटा । उनी पनि एभरेष्ट इङलिस स्कुल कक्षा दुईकी छात्रा हुन् । सुमिकालाई फिल्डमा आएर लेख्न, पढ्न र चित्र बनाउन निकै मन पर्छ । पुराना घर, विभिन्न चित्रले भरिएका मन्दिर, काठले बनेका घर, काठका सामान, ढुङ्गाको मूर्ति देख्दा निकै रमाइलो लागेको अनुभव उनले सुनाइन् । उनी भन्छिन्, ‘दरबार स्क्वायरमा देखेकोमध्ये आफूलाई जे मनपर्यो त्यसैको चित्र बनाउन पाउँदा खुसी लागेको छ ।’ बाहिर आएर लेख्न पढ्न पाउदा खुसी हुने उनी भन्छिन्, ‘साथीहरूसँग मिलेर पढ्न रमाइलो लाग्छ । यसरी पढ्न पाउँदा एकले अर्कालाई सिकाउन पाइन्छ । मलाई त, आहा ! घुम्दै पढ्न क्या मज्जा लाग्छ।’

फिल्ड भिजिटको लागि विद्यार्थीलाई प्रत्येक वर्ष ल्याउने गरेको एभरेष्ट इङलिस स्कुलकी शिक्षिका सुजिता लिम्बु बताउँछिन् । उनी भन्छिन्, ‘विद्यार्थीलाई कक्षामा पढाएको कुरालाई प्रत्यक्ष देखाउन सकियो भने देखेर बुझ्न र सिक्न सजिलै सक्छन् । कक्षामा भनेको भन्दा यो प्रभावकारी सिकाइ हुन्छ ।’ घोकन्ते विद्याभन्दा प्रयोगात्मक विद्याको लागि विद्यार्थीलाई सधै प्रेरित गर्ने उनी बताउँछिन्।

सामाजिक शिक्षामा ऐतिहासिक सम्पदाको विषयमा जानकारी दिन प्रत्येक कक्षाका विद्यार्थीलाई फिल्ड भिजिटमा ल्याउँदा निकै सावधानी अपनाउनुपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘साना बच्चालाई सम्हाल्नु ठूलो जिम्मेवारीको काम हो तर हामीले सबै समूहमा शिक्षक र सिस्टरलाई खटाएका छौँ ।’ विद्यार्थीलाई कुनै असुविधा र अप्ठ्यारो नहोस् भनी टिचर, सिस्टर खटाइएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘विद्यार्थीको चासो र जिज्ञासा पनि बढ्ने, स्थानीय ऐतिहासिक कुराबारे पनि जानकारी हुने भएकोले हामी हरेक वर्ष फिल्ड भिजिट गराउँछौँ ।’

विद्यार्थीका लागि फिल्ड भिजिट निकै महत्वपुर्ण रहेको लिम्बु बताउँछिन् । स्कुलबाट तयार पारेर ल्याइएको प्रश्न पत्रमा विद्यार्थीले लेखेको उत्तरदेखि सबै क्रियाकलापको पुस्तिका तयार पारिने उनी बताउँछिन् । उनी भन्छिन्, ‘विद्यार्थी आफैंले तयार गरेको उक्त फिल्ड भिजिट बुकलाई देखेर विद्यार्थी र अभिभावक दुवै खुसी हुन्छन्।’

 ‘दरबार स्क्वायरको बारेमा लेख लेख्दै गरेकी बेबो गोमाञ्जुलाई नयाँ ठाँउमा घुमेर पढ्न मन पराउँछिन् । उनी भन्छिन्, ‘दरबार स्क्वायरको बारेमा धेरै कुरा थाहा पाएँ ।’ दरबार स्क्वायरमा रहेको ठूलो घन्ट बेबोलाई निकै मनपर्यो । उनले ठूलो घन्टको आकृति कापीमा पनि बनाइन् । हातमा सेतो कापी लिएकी उनी भक्तपुर दरबार क्षेत्रमा घुम्दै पढ्न पाउँदा निकै खुसी थिइन्।

‘गोल्डेन गेट कस्ले बनाएको हो ? गोल्डेन गेट भुपतीन्द्र मल्ल राजाले बनाएको हो ।’ प्रश्नको उत्तर लेख्दै थिए, कक्षा दुईमा नै अध्यनरत अर्का छात्र सुशांक पराजुली । शान्त स्वभावका सुंशाक साथीहरूसँग स्कुलभन्दा बाहिर आएर पढ्न पाउदा नयाँ कुरा सिकेको बताए ।  फिल्ड भिजिट गरेर पढ्दा कक्षामा भन्दा धेरै नयाँ कुरा सिकिने उनी बताउँछन् । उनी भन्छन्, ‘मलाई भक्तपुर दरबार स्क्वायरको गोल्डेन गेट निकै मन पर्यो ।’ सुशांकले ५५ झ्याले दरबारको चित्र कापीमा उतारेका थिए।

प्रकाशित: २३ असार २०७५ ०३:२१ शनिबार

आहा घुम्दै पढ्न क्या मज्जा