चार वर्ष भइसक्यो विराटनगरकी मधु भट्टराईसँग अभिनेता राजेश हमालले लगनगाँठो कसेको । राजेशको जिन्दगीमा मिठास घोल्न मधु निरन्तर सक्रिय छिन् । दुवैको विचारधारा फरक–फरक छ तापनि सम्बन्ध चलेकै छ । सम्बन्धलाई बलियो बनाउने कडी एउटै हो– समझदारी । जेठ महिनाको तेस्रो साता काठमाडौं, लाजिम्पाटस्थित शंकर होटलको बगैँचामा नागरिक परिवारसँग राजेश–मधु आफ्नो सम्बन्धबारे निकै रोमान्टिक रुपमा प्रस्तुत भए । मेकअपका क्रममा मधु राजेशलाई सुझाउँथिन्, ‘दाह्री जुँगा पालिस्यो न हजुर !’ राजेश मुसुक्क हाँस्दै जवाफ फर्काउँथे, ‘भर्खर त जवान हुँदैछु । यति कलिलो उमेरमा कसरी आउँछ हौ, दाह्री जुँगा ?’
वैवाहिक जिन्दगी कस्तो चलिरहेको छ त ?
मधुः ठीक छ, राम्रो छ ।
राजेशः राम्रो चलिरा’छ । ह्याप्पी बनाउने प्रयास भइरहेको छ ।
दुवै जनाको हुर्काइ अलग–अलग परिवेशमा भयो । यसले वैवाहिक जीवनमा केही असर गर्ने रहेछ ?
मेरो गोरुको बाह्रै टक्का ग-यो भने हुँदैन । समझदारी मुख्य कुरा हो । सम्बन्धमा एकअर्काको कदर गर्नुप-यो। एकअर्काको विचार र रुचिको सम्मान गर्नुप-यो । घरकी मुर्गी दाल बराबर भयो भने त समस्या भइहाल्छ नि।
मधुः हजूरलाई केही असर परेको छ कि ? मलाईभन्दा धेरै उहाँलाई परेको हुनसक्छ । (मधुले प्रश्न राजेशतिर सोझ्याइन् ।)
राजेशः दुवै जनाबीच समझदारी भयो भने खासै असर पर्दैन । श्रीमान्–श्रीमती उस्ताउस्तै हुनुपर्छ भन्ने त छैन । कसैलाई असर पार्छ, कसैलाई पार्दैन । जस्तो दुध अलग्गै हो, कफी अलग्गै हो तर दुधलाई कफीमा हाल्यो भने राम्रै हुन्छ । त्यो किसिमको अलग हो, हाम्रो सम्बन्ध । तर कसैको दुधमा कोकाकोला मिसाउँदा नमिल्न सक्छ । हाम्रो अलग दुध र कफीजस्तै हो ।
कुनै बेला तपाईं (राजेश)लाई एकदमै धेरै सोधिने प्रश्न थियो, ‘बिहे कहिले गर्ने ? त्यो प्रश्नले त पूर्णविराम पायो तर अर्को उब्जिसकेको छ, ‘बाबा कहिले बन्ने ?’
राजेशः म जवान छु, मधु जवान छ र खेती पनि आफ्नै हो क्यारे ! के को हतार !
मधुजीलाई आमा बन्न हतार भएको छैन ?
हामीले यसबारे अहिले सोचेकै छैन ।
समय घर्किसक्यो भन्ने लाग्दैन ?
राजेश: लाग्दैन त्यस्तो त ।
भनेपछि जिन्दगी अहिले रोमान्समै बितिरा’को छ ?
राजेशः हो, कुरा मिल्ने भनेकै यही हो । (लामो हाँसोसहित ।)
तपाईंको जीवनमा संयुक्त परिवार (जोइन्ट फेमिली)को अनुभव कहिल्यै भयो ? कत्तिको मिस गर्नुहुन्छ ?
राजेशः मलाई त्यस्तो खासै भएन । हुन त हामी परिवारमा जम्मा सात जना थियौं । बुबा, आमा, दुई दिदी, एक बहिनी र एउटा भाइ । बुबाआमाले बिहे गरेको ६ वर्षमा ५ जना सन्तान जन्माउनुभएको थियो । टेक्निकल्ली त यो सम्भव छैन तर दुई जना दिदी जुम्ल्याहा हुनुहुन्थ्यो । यो हिसाबले परिवार त ठूलै हो तैपनि संयुक्त परिवारकै अनुभव त्यति भएन । जहाँसम्म मिस गर्ने कुरा छ, आमाबुबा भइदिएको भए हुन्थ्यो भन्ने चाहिँ लाग्छ । उहाँहरु हुँदा दिदीभाइमा सँगै खाने, सँगै बस्ने माहोल हुन्थ्यो, जुन मिस हुन्छ । बरु मधुजीलाई ‘मिस’ हुँदो हो !
मधुः पहिला सुरुसुरुमा मिस हुन्थ्यो, अहिले खासै हुँदैन । अहिले त यही शान्ति नै मनपर्छ । शान्त वातावरणमै रमाउने बानी परिसक्यो ।
राजेशः अब त धेरै हल्ला भयो भने पनि डिस्टर्ब होलाजस्तो भइसक्यो हामीलाई ! (हाँस्दै)
सेलिब्रिटीको परिवारलाई बाहिरबाट हेर्दा कसरी हेरिन्छ र यथार्थ के हुन्छ ?
राजेशः यथार्थमा अन्य परिवारजस्तै हुन्छ । आ–आफ्नो घर गृहस्थी हुन्छ । एकआपसमा सल्लाह हुन्छ । घरको व्यवस्थापनको कुरा आउँछ । हाम्रो बालबच्चा छैन, त्यसको झन्झट भने लिनुपरेको छैन । सबै सेलिब्रिटीको उस्तै उस्तै परिवार त हुन्छ । हाम्रो घरगृहस्थीको कुरा गर्दा सल्लाहमा चलिरहेको हुन्छ । खानपिन घुमघाम आफ्नै शैलीको हुन्छ । माहोल पनि राम्रै छ । होइन र मधु ? (मधुले मुन्टो हल्लाउँदै सहमति जनाइन्) ।
मधुः मान्छेलाई नजिकबाट चिनेपछि सबैको लाइफ एउटै हुन्छ । केही फरक हुन्न । क्यामेराअघि मात्र सेलिब्रिटी अर्कै हुने हो । मुभी हेरेर यसको लाइफ यस्तो होला भनेर अनुमान लाउनु गलत होला । जो भए’नि सबैको जिउने तरिका त एउटै हो नि !
तपाईंहरु दुई जना एक भएपछि दुवैको जीवनशैलीमा आएको परिवर्तन के रहेछ ?
राजेशः म त पहिला एक्लो हुँदा आफ्नै ढंगले जिउँथे । अहिले पनि खासै ठूलो परिवर्तन छैन । दुई जना भइसकेपछि भने केही केही कुरामा सम्झौता हुनुपर्ने रहेछ । पहिला एक्लो निर्णयमा जिन्दगी चल्थ्यो भने अहिले केही कुरामा दुवैको सल्लाह हुने रहेछ । तोकेरै भन्नुपर्दा पहिला म एक्लैएक्लै कुरा गर्थें, एक्लैएक्लै रमाउँथेँ...।
(राजेश बोलिनसक्दै मधु बोलिन् ।)
मधुः अहिले पनि त त्यस्तै हुनुहुन्छ । (हाँस्दै)
राजेशः अहिले पनि कहिलेकाहीँ गर्छु तर पहिलाजत्तिको गर्दिनँ । कहिलेकहिले ऊ र मसँगै घुम्छौँ, कहिलेकहिले एक्लै घुम्न पनि रुचाउँछु ।
मधुः मेरा कुरा गर्दा, उहाँको रुल्स र डिसिप्लिनलाई म फलो गरिरहेकी हुन्छु । मेरो लाइफस्टाइललाई पछाडि छाडेर उहाँको लाइफस्टाइल अपनाउने प्रयत्न गरिरा’छु ।
(त्यसपछि राजेशले मधुलाई जिज्ञासा राखे)
राजेशः चाहेर कि नचाहँदा–नचाहँदै ?
मधुः चाहने/नचाहने भन्दा पनि यो आफैँ हुने कुरा रहेछ ! थाहा नहुँदा–नहुँदै चेन्ज हुने रहेछ !
राजेशः जस्तो, पहिला मेरो खानपिनमा आफ्नै शैली थियो, उहाँको आफ्नै । उहाँलाई पिरो, मम आदि कुराहरु मनपथ्र्यो तर म खाँदिनँ थिएँ । अहिले उहाँले पनि त्यत्ति मन पराउनुहुन्न ।
मधुः हो । उहाँ स्वस्थकर खाना खानुहुन्छ । म पहिला त्यति ध्यान दिन्नथिएँ । अहिले दिन थालेकी छु ।
तपाईंहरुबीच टिपिकल श्रीमान्–श्रीमतीको व्यवहार कत्तिको हुन्छ ?
राजेशः अँहँ, त्यस्तो हुँदैन ।
मधुः हो, कहिलेकाहीँ त बिहे भएको जस्तो पनि लाग्दैन मलाई त !
राजेशः हामी केही पनि टिपिकल तरिकाले गर्दैनौँ । सबै आ–आफ्नो तरिकाले गर्छौं । मैले अहिलेसम्म मधुलाई धेरै कम ‘मेरी श्रीमती’ भनेर चिनाएको छु । तीन वर्ष भइसक्यो तर अहिलेसम्म मलाई उसलाई श्रीमती भन्ने बानी नै परिरा’छैन।
मधुः चार वर्ष हो (हाँस्दै)।
राजेशः अँ, चार वर्ष भइसक्यो हगि ? यही शंकर होटलमा बिहे गरेको हो । अहिले पनि मैले नयाँ मान्छेसँग उसलाई परिचय गराउँदा ‘मेरी श्रीमती’ भन्दिनँ बरु ‘उहाँ मैले बिहे गरेको मान्छे हो’ भन्छु (हाँस्दै) । हामीबीच टिपिकल किसिमको झैँझगडा पनि हुँदैन, टिपिकल किसिमको रोमान्स पनि हुँदैन । (दुवै जना जोडले हाँसे)
दर्शकले राजेश हमाललाई पर्दामा नदेखेको धेरै भयो । कमब्याक कहिले गर्ने हो त ?
फिल्ममा लागेको २७ वर्षपछि मैले फिल्म खेल्न कम गरेको हो । ‘बागमती’ र ‘शकुन्तला’ गरेपछि रोकेको हुँ । रोक्नुको कारण भने ‘बागमती’ र ‘शकुन्तला’बाट सोचेजस्तो सन्तुष्ट नमिलेरै हो । ती दुवै नयाँ शैलीमा बनाइएका फिल्म थिए तर नयाँ शैलीमा बनाएको भन्दैमा सबै राम्रा नहुने रहेछन् । मलाई विषय राम्रो लागेर गरेको थिएँ । ‘बागमती’ पनि पूरा केरलाको टिम, केरलाकै निर्देशक, खर्च पनि राम्रै गर्ने भन्ने थियो तर अन्तिम परिणाम भने सोचेभन्दा फरक भयो । फिल्म नै अधुरो भयो । त्यस्तै ‘शकुन्तला’मार्फत् पहिलोपल्ट स्वास्नी मान्छेको अवतार गरेँ । नयाँ भूमिकाको सधैँ कलाकार लोभी हुन्छ तर यसको पनि पुरा फिल्म स्तरीय भइदिएन । त्यसपछि म अलि निराश भएको हुँ र सतर्कता अपनाइरहेको छु । ‘शकुन्तला’पछि मलाई १२–१५ वटा फिल्म अफर आए तर कतै टिम, कतै स्क्रिप्ट चित्त बुझेन । अब त आफ्नो समय सुहाउँदो भूमिका आयो भने मात्र फिल्म खेल्छु । विगतका भन्दा फरक तरिकाले फिल्म गर्ने मन छ । उमेरमा गरेको कुरा अब इतिहास भइसक्यो । फिल्म गर्नका लागि मात्र त अब गर्दिनँ ।
अब तपाईंलाई मसालेदारभन्दा पनि गम्भीर किसिमका फिल्म गर्ने मन हुन थाल्यो कि क्या हो ?
मसालेदार वा गम्भीर भनेर म फिल्मलाई विभाजन गर्न चाहन्नँ । बस्, मलाई पपुलर फिल्म गर्नुप-यो । दर्शकले हेरून्, सबैले रुचाऊन् । म त इन्टरटेनर पनि हो नि ! गम्भीर विषयमा दुई–चार जनाले रुचाउने खालका फिल्म मात्रै गर्नुपर्छ भन्ने पनि लाग्दैन । आम दर्शकले रुचाउने फिल्म खेल्न चाहन्छु तर नयाँ शैलीमा ।
मधुजीले फिल्ममा फर्काउन फोर्स गर्नुभएको छैन ?
मधुः उहाँलाई अफर त धेरै आइरहेको छ तर सोचेजस्तो अफर नआएरै गरिरहनुभएको छैन । राम्रो स्क्रिप्ट आउँदा गरिसिन्छ होला ।
राजेशः तर अर्को कुरा, उहाँको र मेरो त्यति पर्सनल कामको कुरा हुँदैन । मेरो कामका विषयमा उहाँसँग त्यति छलफल हुँदैन ।
मधुः हो, उहाँ सोध्नु पनि हुन्न, म सोध्दिनँ पनि । त्यही भएर मलाई केही थाहा पनि हुँदैन ।
राजेशः त्यस कारण हामी टिपिकल जोडी होइन भनेको ।
त्यसोभए अहिले फिल्मको सेट कत्तिको मिस गरिरहनुभएको छ त ?
राजेशः अभिनय गरौं भन्ने चाहिँ अहिले पनि हुन्छ तर जीवनको प्रक्रिया हुँदोरहेछ, त्यसैले त्यत्ति फर्केर पनि हेर्दिनँ म । एउटा अवधिसम्म गरिहालियो । सायद मैले एउटा व्यक्तिको प्रोफेसनल लाइफभन्दा त बढी नै काम गरेँ । अरु पेसामा भएको भए सायद पेन्सन नै पाकिसक्थ्यो तर अभिनयका हिसाबले भने गरौँ भन्ने अहिले पनि हुन्छ ।
आफूभित्र भएको अभिनय क्षमता पूर्ण रुपमा दर्शकमाझ देखाइयो भन्ने लाग्छ ?
लाग्दैन । मैले अझै अभिनय गर्न बाँकी नै छ, गर्न चाहन्छु पनि ।
कोही महानायक, कोही शंकर, कोही राजेश दाइ भनेर बोलाउँछन् । तपाई उहाँलाई के भनेर सम्बोधन गर्नुहुन्छ, मधुजी ?
राजेशः मलाई त सम्बोधन गरेर बोला’कै याद छैन (हाँस्दै) ।
मधुः केही नि भन्दिनँ ।
प्रेमिकाबाट श्रीमती हुँदासम्म हामीबीच एउटै प्रेम छ । त्यसमाथि म आफ्नो जीवनलाई टिपिकल टाइपले कहिल्यै हेर्दिनँ । हामी आफ्नै शैलीमा रमाएका जोडी हौं जसको आफ्नै जिउने शैली छ, अनुशासन छ, व्यवहार छ, एक किसिमको अध्यात्म पनि छ । मुख्य कुरा त के हो भने असहमतिमा पनि हाम्रो सहमति छ ।
टाढाबाट बोलाउँदा कसरी बोलाउने नि ?
मधुः कहिल्यै टाढा भइसिन्न, त्यसरी सम्बोधन गरेर बोलाउनु परेकै छैन (हाँस्दै) ।
राजेशः हो, यो एकदमै साँचो कुरा हो । उसले मात्रै होइन, मैले पनि उसलाई सम्बोधन गर्ने शब्द छैन । यसकारण पनि हामी टिपिकल होइन (जोडले हाँस्दै) ।
बिहेपछि मात्र थाहा भएको एकअर्काको प्रशंसनीय बानी के हो ?
मधुः उहाँ काम भनेपछि पूरै फोकस्ड हुने । दिनरात नभनी गर्नुहुन्छ । बिहेपछि महसुस गरेको प्रशंसनीय बानी यही होला सायद (हाँस्दै) ।
राजेशः मलाई त बिहेअघि पनि त त्यस्तो खासै केही त थाहा थिएन नि ! मधुः उहाँ यति बिजी हुनुहुन्थ्यो कि सायद सोच्ने टाइम पनि थिएन होला मेरो बारेमा (राजेशतिर हेर्दै मधु बोलिन्) ।
राजेशः तर चरित्रबारे त थाहा पाएरै बिहे गरेको हो । तैपनि बिहेपछि त्यस्तो एकदमै सरप्राइज्ड हुनेखालको बानी त मैले थाहा पाएको छैन ।
दुई जनाको यो सम्बन्धलाई लिएर तपाईं पूर्ण सन्तुष्ट हुनुहुन्छ ?
मधुः म त छु, हजुर ? (राजेशलाई सोधिन्)
राजेशः अँ, सन्तुष्ट छौँ । दुवैजना स्वस्थ छौँ । दुवैजनाले लाइफको मज्जा लिएका छौँ । त्योभन्दा बढी के चाहियो ?
दुवै जना सँगै हुँदा एकदमै खुसी महसुस गरेको क्षण याद छ ?
मधुः म त उहाँसँग देशबाहिर घुम्न जाँदा एकदमै खुसी हुन्छु । उहाँको माइन्ड पनि फ्रि हुन्छ, त्यसैले रमाइलो हुन्छ ।
राजेशः मेरो पनि त्यही नै हो । घुम्न रुचाउने मान्छे हो । पहिलोपल्ट अमेरिका घुम्न जाँदा त्यो सिंगो टुर रमाइलो भा’को थियो ।
दुवैजना फरक पृष्ठभूमिबाट आउनुभयो । त्यसैले दुवैको रुचिको स्तर (डिजायर्स लेभल) पनि फरक–फरक होला । यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
राजेशः धेरै कुरा त मिलिराकै छ । सन्तान जन्माउने कुरामा पनि विचार मिलेकै छ । ट्राभल गर्ने कुरा गर्दा उसलाई पनि मनपर्छ, मलाई पनि मनपर्छ ।
मधुः ट्राभलको कुरा गर्दा चाहिँ उहाँ एक्लै घुम्न रुचाइसिन्छ र म उहाँको रुचिलाई बुझ्छु । किनभने कलाकार मान्छे, कहिलेकाहीँ एक्लै सोच्ने, बुझ्ने चाहना हुनसक्छ । त्यही होला फरक रुचि भनेको ।
राजेशः हो, हामीबीच त्यो समझदारी छ । धेरै रुचि त अहिले मिल्दै–मिल्दै आइसक्यो ।
दुवैबीच सबैभन्दा बढी संवाद कस्तोे विषयमा हुन्छ ? भविष्यलाई लिएर कत्तिको छलफल हुन्छ ?
राजेशः लाइफकै कुरा बढी हुन्छ । लाइफलाई इन्जोय गरौं भन्नेमा छौँ । लाइफको सीमितताप्रति हामी एकदमै सचेत छौं । जीवन परिवर्तनशील भन्नेमा हामी परिवर्तनशील छौं ।
मधुः उहाँले भनेकै कुरा हो । हामीबीच बढी लाइफकै बारेमा कुरा हुन्छ ।
वैवाहिक जीवनमा दैनिकजसो आउने सामान्य समस्यालाई कसरी समाधान गर्नुहुन्छ ?
राजेशः त्यस्तो समस्या छँदै छैनन् ।
मधुः ठूलो परिवार भएको भए सायद केही समस्या आउँथ्यो होला । त्यसैले अन्य परिवारको जस्तो समस्या छैनन् ।
एकअर्कालाई कत्तिको दिनुहुन्छ ?
राजेशः समय दिनैपर्छ भनेर त दिँइदैन । समय छ भने हामी सँगै बिताउँछौँ । म व्यस्त छु भने ‘एकदमै धेरै व्यस्त भएँ अब उसलाई समय निकाल्नुप-यो’ भनेर समय छुट्याउनेबारे सोच्दिनँ ।
एकअर्कालाई दिने समयप्रति सन्तुष्ट हुनुहुन्छ त ?
मधुः म त फ्री छु, उहाँ बिजी भइसिन्छ । काम हुँदा काम गरिसिन्छ, फ्रि हुँदा सँगै बिताइन्छ ।
बिहे भएपछि प्रेम प्रतिको बुझाई अर्थात् परिभाषामा केही बदलाव आएको छ ?
मधुः पहिला हजुर (राजेश) भनिसियो न हजुरको विचार ।
पहिला हजुरले नै भन्ने हो कि ? नत्र उहाँकै कुरामा हजुरले सहमति जनाइहाल्नुहुन्छ !
मधुः मेरो त सहमति नै सहमति (हाँस्दै) । जहाँसम्म प्रेमको कुरा छ, पहिलो जस्तो थियो त्यस्तो नै छ अहिलेसम्म । श्रीमती भएपछि फरक व्यवहार भएको छैन ।
हजुर (मधु)को बुझाइमा प्रेम भनेको के हो त ?
मेरो लागि त लभ भनेकै उहाँ (राजेश) हो ।
राजेशजीको हकमा बिहेपछि प्रेमको परिभाषा बद्लियो कि बद्लिएन ?
पहिलो र अहिलेमा कुनै परिवर्तन छैन । मेरो घर आइसकेपछि पनि ऊ कसैको बुहारी, कसैको के भनेर आएको छैन । प्रेमिकाबाट श्रीमती हुँदासम्म हामीबीच एउटै प्रेम छ । त्यसमाथि म आफ्नो जीवनलाई टिपिकल टाइपले कहिल्यै हेर्दिनँ । हामी आफ्नै शैलीमा रमाएका जोडी हौं जसको आफ्नै जिउने शैली छ, अनुशासन छ, व्यवहार छ, एक किसिमको अध्यात्म पनि छ । मुख्य कुरा त के हो भने असहमतिमा पनि हाम्रो सहमति छ ।
त्यसो भए भन्दिनुस् न त सम्बन्धलाई स्वस्थ, खुसी र बलियो बनाउने खास सूत्र के रहेछ ?
राजेशः श्रीमान्ले श्रीमती मेरैअनुसार चल्नुपर्छ अर्थात् श्रीमतीले श्रीमान् मेरै अनुसार चल्नुपर्छ भन्ने जिद्दिपना भयो भने सम्बन्ध स्वस्थ हुन सक्दैन । तर स्वतःस्फूर्त रुपमा एउटाले गरेको काम अर्कोलाई मनप-यो र त्यसै अनुसार ढालिन चाह्यो भने त्यो राम्रो हुन्छ । मेरो गोरुको बाह्रै टक्का ग-यो भने हुँदैन । समझदारी मुख्य कुरा हो । एकअर्काको कदर गर्नुप-यो । एकअर्काको विचार र रुचिको सम्मान गर्नुप-यो । घरकी मुर्गी दाल बराबर भयो भने त समस्या भइहाल्छ ।
मधुः स्वतन्त्र छोडिदिनुपर्छ दुवैलाई । स्वतन्त्र पनि यति स्वतन्त्र कि दुवैजनालाई आफ्नो दायरा थाहा होस् । त्यो उहाँलाई थाहा छ र उहाँ स्वतन्त्र हुनुहुन्छ, मेरो पनि त्यही हो ।
राजेशः लौ यो त एकदमै नयाँ खालको जवाफ आयो, मैले पनि नसोचेको (हाँस्दै) ।
तपाईंहरुको यो जोडीबाट अरुले सिक्नुपर्ने महत्वपुर्ण कुरा के होला ?
मधुः म त भर्खरै आफ्नो सम्बन्धको बारेमा सोच्दैछु । मैले त अहिलेसम्म सम्बन्धका बारेमा बुझिसकेको छैन, कसरी सिकाउने कुरा गरौं ! (हाँस्दै)
राजेशः वैवाहिक जीवनको आफ्नै दायित्व हुन्छन्, जसबाट कसैले पनि पन्छिन मिल्दैन । हामीबाट सिक्ने भनेको जोडीलाई कसरी सुमधुर बनाउने भन्ने नै हो । एकअर्कालाई कसरी बुझ्ने भन्ने नै हो । लोग्ने स्वास्नी भनेको उस्ताउस्तै हुनुपर्छ भन्ने हुँदैन तर अलग अलग हुँदाहुँदै पनि त्यहाँ समझदारी भने हुनुपर्छ ।
सेलिब्रिटीकी पत्नी हुँदाका घाटा र फाइदा के हुने रहेछन्, मधुजी ?
राजेशः उसले अरुको वाइफ भएर हेरेके छैन, कसरी थाहा होला ! (जोडले हाँस्दै) ।
मधुः उहाँलाई माया गर्ने फ्यानले मलाई पनि माया गर्नुहुन्छ । सायद फाइदा त्यही नै होला । घाटा त केही पनि छैन ।
अहिले राजेशजीको दैनिकी कसरी बितिरहेको छ त ?
भेटघाट, भ्रमण र कार्यक्रमहरुमै हो । नयाँ स्क्रिप्ट हात परेको छ । त्यसमै छलफल पनि भइरहेको छ । त्यस्तै हो ।
अन्त्यमा, तीन दसकको फिल्मी यात्रालाई आफैँले समीक्षा गर्नुप-यो भने कसरी गर्नुहुन्छ ?
एक हिसाबले यो मेरो लागि अप्रत्याशित यात्रा हो । जतिबेला म फिल्म क्षेत्रमा प्रवेश गरेँ, त्यतिबेला एउटा व्यक्ति तीस वर्षसम्म यसरी फिल्म क्षेत्रमा रहन सक्छ भन्ने मैले सोचेकै थिइनँ । हेर्दै जाऊँ, कहाँसम्म पुगिन्छ भनेर हिँडेको मान्छे हो म । मैले यो अवधिमा सरप्राइज इलिमेन्ट्सहरु धेरै पाएँ । फिल्म क्षेत्रमा जे जे गरियो, त्यो सबै फस्ट टाइम नै भयो । फलानो उपाधि पायो भन्ने पनि फस्ट टाइम नै भयो । फलानो सुपरस्टार भन्ने पनि फस्ट टाइम नै भयो । साँच्ची भन्नुपर्दा यो तीन दसक मेरो लागि यो एउटा अद्भुत यात्रा हो । मलाई दर्शकले जुन आत्मियता र भाइचारा देखाउनुहुन्छ नि, खासगरी त्यो मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो । अर्को कुरा, मेरो पर्सनल करिअर र चलचित्र क्षेत्र समानन्तर हिसाबले अघि बढ्दै गयो । जसोजसो मेरो करिअर गयो, चलचित्र क्षेत्र पनि विस्तार हुँदै गयो । यो पनि मेरा लागि लागि सुखद् पक्ष भयो ।
प्रकाशित: १६ असार २०७५ ११:०४ शनिबार