रारा दहलाई हेरेपछि मेरो मनमा फ्याट्ट निस्क्यो– ‘पृथ्वीकी रानी !’
तपाईंलाई लाग्ला– पृथ्वीकी रानी भनेको के होला ? यस्तो पनि कहीँ हुन्छ ? पृथ्वी आफैँमा सुन्दर छ अनि यस पृथ्वीकी रानी पनि हुनसक्छे र ?
राजा महेन्द्रले रारालाई अप्सरासँग तुलना गरी कविता कोर्न हुन्छ भने मेरो मनमा उठेको कुरा व्यक्त गर्न किन नहुने ?
हो, मलाई रारा पुग्दा यस्तो लाग्यो– यो पक्कै पनि पृथ्वीकी रानीको बासथलो हुनुपर्छ । पृथ्वी आफैँमा अप्सरा हुन् भने पक्कै ती अप्सराकी रानी यो रारा दह र यस वरिपरिको भूमि हुनुपर्छ ।
मलाई यस्तो किन लाग्यो, आफैँलाई थाहा छैन तर जब हामी नेपालगञ्जबाट ताल्चा एयरपोर्ट हुँदै करिब पाँच घण्टा हिँड्दै मनले नअघाएसम्म देखिएका दृश्यलाई क्यामेरामा कैद गर्दै यहाँ आइपुग्यौँ– यहाँको वातावरणबाट मुग्ध नहुने कोही थिएन ।
रारा क्षेत्र घुमेर फर्किएको पनि एक महिनाभन्दा बढी भइसकेको छ तर यत्तिका दिनपछि पनि सम्झँदै मन हरहर र शितल हुन्छ ।
रारा ताल हाम्रो देशकै सबैभन्दा ठूलो ताल हो । यो ताल जङ्गललै जङ्गलको बीचमा छ । यसको गहिराई १६७ मि., लम्बाई करिब ५.१ कि.मि. र ३ कि.मि. चौडाई छ । हरियो सल्लैसल्लाको बीचमा यो ताल रहेको छ । माथि छेउछाउ जताबाट हेरे पनि यसको सुन्दरता कतै–कुनै कमी देखिदैन । यस ताल वरिपरि परिक्रमा गर्न करिब ४ देखि ५ घण्टा लाग्छ । ताल वरिपरि पैदल नै यात्रा गरे पनि हुने, घोडाबाट पनि यसको परिक्रमा गर्दा हुने व्यवस्था मिलाइएको छ । यो तालको पानी एकदमै सफा र कञ्चन छ । त्यहाँ अहिलेसम्म कसैले पनि लुगा धुने, नुहाउने, फोहोर गर्ने गरेको देखिएन र साथै त्यस्तो गर्न निषेध पनि रहेछ ।
रारा तालनजिकै दुई वटा होटलहरु डाँफे र भिलेज हेरिटेज छन् । यी दुवै होटलमा कम्तिमा एक रातको रु १००० बाट सुरु हुन्छ । हेरिटेजमा त अट्याच बाथरुमको दुई वटा रुम छन् । रारामा दुई रात बस्दा हामी हाइकिङ, साइक्लिङ, हर्सराइडिङ गर्दै मुर्मा गाउँ साथै टावर पनि घुम्न सक्छौं । मुर्मा टावर ३६३० मिटर अग्लो छ भने यसबाट हामीले ३६० डिग्री राराको भ्यू अवलोकन गर्न सक्छौँ । यसरी रारा घुम्दा समय बितेको पत्तै हुँदैन ।
हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँका जनता मिलनसार छन्, धैर्यवान्, सोझा र साधारण छन् । जसका कारण हाम्रो देशमा पर्यटक आएपछि फ¨कन मान्दैनन् वा खुसी भएर जान्छन् वा फेरि आउने वाचा गर्छन् । अलिकति राज्यले यहाँको पर्यटन उकास्ने व्यवस्था मिलाइदियो भने निकै नै सुधार आउने थियो ।
यस्तो हुन सकेको खण्डमा स्थानीय तहले यही रारा देखाएर पूरै क्षेत्रको कायापलट गर्न सक्छ भन्ने मलाई महसुस भयो ।