पर्यटकीय दृष्टिले प्रदेश नं ७ अब्बल देखिन्छ । त्यहाँका डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कैलाली र कञ्चनपुरमा एक से एक पर्यटकीय सम्पदा छन् जहाँ धार्मिक र साहसिक पर्यटन फस्टाउन सक्छ । अब सरोकारवालाहरूले पूर्वाधार विकास र मार्केटिङमा जोड दिनु पर्छ ।
अहिले पर्यटन विकास समाज (टिडिएस) धनगढी त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सक्रिय छ । वास्तवमा उद्यमी गोपी हमालको अगुवाइमा कैलाली उद्योग वाणिज्य संघले ०६३ सालदेखि ‘सुन्दर सुदूर–पश्चिम’ अभियान चलाएपछि त्यहाँको पर्यटकीय सम्भावना उजागर भएको हो ।
सुदूरका ९ जिल्लाका सबै धार्मिक, प्राकृतिक, ऐतिहासिक र धार्मिक सम्पदा घुम्न महिनाैं लाग्न सक्छ । त्यसैले भाँती पु-याएर पर्यटन विकास गर्न सके प्रदेश नं ७ समृद्ध बनाउन सकिन्छ ।
...
खप्तड
त्यही पवित्र भूमिमा खप्तड बाबाले ५० वर्ष साधना गरेका थिए । अतुलनीय जैविक फूलबारी खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किमिमा फैलिएको छ । सरकारले बाजुरा, डोटी, बझाङ र अछामको भुगोल समेटेर ०४३ असारमा निकुञ्ज बनाएको हो ।
खप्तड १,२६२ देखि ३,२७६ मिटरसम्म उचाइमा छ । त्यहाँ २२ वटा पाटन (चौर) छन् । जंगल पनि छ जहाँ वनस्पति, जडिबुटी, चराचुरुङी, जंगली जीवजन्तु अध्ययन गर्न सकिन्छ ।
घुमन्तेहरूका लागि खप्तडमा त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्र लिंग र घोडा दाउनेलगायतका सम्पदा छन् ।
त्रिवेणीधाममा गंगा दसहराका बेला जेठ–असारमा मेला लाग्छ । त्यहाँको गंगा, जमुना र सरस्वती नदीको संगममा नुहाए पाप पखालिने जनविश्वास छ । दसहरामा डेउडाको रन्कोले खप्तड रातभर जागै बस्छ ।
त्यहाँका डाँडाबाट अपि शैपाल हिमालको दर्शन गर्न मिल्छ ।
खप्तडमा तीन रात बिताउनु पर्छ । काठमाडौंबाट निस्कने यात्रीले दस दिन छुट्याएमा खप्तड मात्रै होइन, बाटोका शैलेश्वरी, उग्रतारालगायत सम्पदा पनि घुम्न भ्याउँछन् ।
वर्षैभरि घुम्न सकिन्छ खप्तड । जेठ–असारमा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँस हुन्छ ।
निकुञ्जले बीचपानी र निकुञ्ज मुख्यालयमा गेस्ट हाउस चलाएको छ । पहिल्यै खबर गरेर जाँदा सजिलो हुन्छ । यात्रीले ड्राई फुड र स्लिपिङ ब्याग बोक्नु बेस ।
कसरी पुग्ने
काठमाडौं–धनगढी ६५० किमि, बसमा १४ घण्टा । काठमाडौं–धनगढी हवाई यात्रा १ घण्टा १० मिनेट । धनगढी–सिलगढी २०० किमि, बसमा ८ घण्टा । सिलगढीबाट झिग्रानासम्म रिजर्भ गाडीमा गएर चार घण्टा हिँडेर पहिलो बास निकुञ्जको बीचपानीमा । दोस्रो बास निकुञ्ज मुख्यालयमा ।
...
टीकापुर
टीकापुर नगरपालिका मातहतको पार्क ८४ हेक्टरमा फैलिएको छ । त्यहाँ थरीथरीका फूल र बोटबिरुवा छन् । साथमा महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका, रत्न र ऐश्वर्य बगैंचा पनि ।
राजा महेन्द्र र रानी रत्नको चाहनाबमोजिम टीकापुरको विकास भएको हो । टीकापुर व्यवस्थित सहर मानिन्छ ।
वर्ष दिनपछि ०२८ सालमा टीकापुर विकास समिति गठन भयो । सरकारले टीकापुर क्षेत्रका ३,१३३ बिघा जग्गा समितिलाई दियो । त्यहीँ वन फाँडेर पार्क बनाइयो । अनि विभिन्न जातजातिको बस्ती बसालियो ।
टीकापुर पार्कमा मंसिरदेखि जेठसम्म पिकनिक खानेको घुइँचो लाग्छ । त्यसो त बजारमा राम्रा–राम्रा होटल खुलेका छन् । मुलुकभित्र विभिन्न ठाउँमा सिद्धार्थ होटल र कटेजका नाउँमा शाखा विस्तार गरिरहेको सिद्धार्थ ग्रुपको उडान पनि टीकापुरबाटै भएको हो ।
किसानको बगैंचा नै रिसोर्ट बन्न सक्छ भन्ने गतिलो उदाहरण पस्केका छन् हमालले । केराका परिकार चाख्ने गन्तव्यका रूपमा समेत टीकापुर चिनिँदैछ ।
कसरी पुग्ने
काठमाडौं–टीकापुर ६९० किमि । काठमाडौंबाट टीकापुरसम्म बस चल्छन् । पूर्व–पश्चिम राजमार्गको लम्कीबाट १८ किमिमा टीकापुर । अर्को विकल्प ः काठमाडौं–धनगढी हवाई यात्रा १ घण्टा १० मिनेट । धनगढी–टीकापुर ९० किमि बसमा ।
...
अपि पदयात्रा
अपि वेस क्याम्प मनमोहक छ । त्यहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबईलगायतका हिउँचुली लहरै उभिएका छन् । सूर्योदय र सूर्यास्त हुँदा सुनौला देखिने ती हिमाल हेरिरहुँझैं लाग्छ ।
अपि र नम्पा चुलीको फेदबाट बग्छ चमेलिया नदी । अपि पदयात्रा गर्न चमेलिया जलविद्युत परियोजनाको बाँध बिटलेबाट नदी किनारैकिनार उकालो चढ्नुपर्छ । सिती गाउँसम्म सामान्य खाना र बास पाइन्छ ।
त्यस क्षेत्रमा एउटा उखान छ— नङमाथि मासु छैन, सितीमाथि गाउँ छैन । माथि तीन दिनको बाटोमा क्याम्पिङ गर्नुपर्छ ।
असार–साउनमा बेस क्याम्पतिर यार्सागुम्बा टिप्नेको मेला लाग्छ । पर्यटक भने निकै कम मात्रै त्यहाँ पुग्छन् । यात्रा गर्दा तल सिती गाउँबाट गाइड लैजाँदा राम्रो हुन्छ । ठाउँठाउँमा जंगलको बाटो हिँड्नुपर्छ ।
सरकारले दार्चुलाका २१ गाविसको १,९०३ वर्ग किमि समेटेर ०६७ असार २८ मा अपि नम्पा संरक्षण क्षेत्र बनाएको हो । पदमार्गका ठाउँ–ठाउँमा संकेत चिह्न जरुरी देखिन्छ ।
सितीबाट माथि दोमुल छ । चमेलिया र रोखाबु नदीको दोभानमा देवी पूजा गरेर मात्रै माथि चढ्नुपर्ने नियम छ । यात्रा शुभ होस् भनेर त्यहाँ रूखको फेदमा धूपबत्ती बालिन्छ ।
यात्रामा सबैभन्दा गाह्रो उकालो मकरीगाडको हो । मकरीगाडदेखि पाटु पुग्ने उकालोले थकाउँछ ।
पदमार्गतिर हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु, नाउर आदिसँग जम्काभेट हुन सक्छ । चराको चिरबिर त हरपल सुनिन्छ ।
पदयात्रीले वेस क्याम्प पुगेर गएकै बाटो फर्कनुपर्ने बाध्यता छ । माथि बेस क्याम्पबाट शैपाल हिमालको फेदीमा निस्कने गरी पदमार्ग एक्सप्लोर गर्न सके राम्रो हुन्छ ।
कसरी पुग्ने
काठमाडौंबाट धनगढीसम्म हवाई या मोटर यात्रा । धनगढीबाट डोटी, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा । बिटलेबाट ७ दिन पदयात्रामा अपि बेस क्याम्प ।
...
शुक्लाफाँटा
फागुनदेखि जेठसम्म बाह्रसिंगे हेर्ने उत्तम सिजन । घाँसका मुना खाइरहेका बाह्रसिंगे गाडी वा मान्छेको आवाज सुनेमा कान ठाडा–ठाडा पारेर आवाज आएतिरै हेर्छन् ।
फाँटामा बाह्रसिंगेबाहेक १५ पाटे बाघ, दुई दर्जन हात्ती, ४ सय २४ प्रजातिका चरा लगायतका जीवजन्तु छन्।
निकुञ्जमा जीप राइड, जंगल वाक र हात्ती सफारी सुविधा छ । तर, थोरै पर्यटक मात्रै त्यहाँ पुग्छन् । शुक्लाफाँटाको राम्रो मार्केटिङ भइसकेको छैन । घुमन्तेहरू दिउँसो तीन बजेभित्र निकुञ्ज प्रवेश गरेर सूर्यास्त हुनु पहिल्यै बाहिरिनुपर्ने निकुञ्जको नियम छ । वर्षामा आरक्ष घुम्न सकिँदैन ।
पारिपट्टिको दोधारा–चाँदनी गाउँलाई महेन्द्रनगरसँग जोड्न महाकाली नदीमाथि बनाइएको झोलुङ्गे पुल १४ सय मिटर लामो छ । घाम डुब्ने बेला पुलको दृश्य मनमोहक देखिन्छ ।
महेन्द्रनगर क्षेत्रमा खान/बस्नको दुःख छैन । निकुञ्ज प्रवेशद्वारमै पर्यटनकर्मी परमानन्द भण्डारीले रिसोर्ट चलाएका छन् । त्यसबाहेक नजिकैको राना थारु बस्तीमा सामुदायिक होम स्टेको सुविधा छ । त्यहाँ थारू परिकारका साथमा थारू संस्कृति अवलोकन गर्न पाइन्छ ।
कसरी पुग्ने
...
रामारोशन
रामारोशन क्षेत्रका दर्जन तालमध्ये सबैभन्दा ठूलो जिगाले हो । त्यसमा काठका डुंगा खियाउने सुविधा छ । त्यहाँका अरू तालमा लामीदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्लो धउने, गाग्रे, डाँठेखाल, दल्लयाना, रामे र गेराह हुन् ।
बाटुल्लामा काठका पुराना डुंगा छन् । तालमा हाँस पौडी खेल्छन् । ठूलै छ ताल, फन्को मार्न पाँच घण्टा लाग्छ ।
धार्मिक हिसाबले समेत रामारोशनको महŒव ठूलो छ । त्यहाँ नन्दादेवी, कालिकादेवी, रूपादेवी, जाल्पादेवी, मालिकादेवी, नीलकण्ठ, मस्टो, बाबछाला, गुणलानी, बलवान आदिका मन्दिर छन् ।
रक क्लाइम्बिङ, हनी हन्टिङ, जंगल वाक, प्याराग्लाइडिङ, मेडिटेसन आदिको सम्भावना छ ।
दुःखको कुरा कतिपय ताल पुरिइसके । कति पुरिनेक्रममा छन् । सरकारले यता ध्यान पु-याएको छैन । संरक्षण क्षेत्र घोषणा गरेर बिजुली, पानी, सुरक्षाकर्मीलगायत व्यवस्था गर्नुपर्ने स्थानीयको माग जायज छ । अब प्रदेश सरकारले यसमा ध्यान पु-याउनु पर्छ ।
रामारोशन कैलाशखोलाको मुहान पनि हो । त्यहाँ, लोठसल्ला, सतुवा, दालचिनी, पाँचऔंले, सिलाजित, बाँजखोटो, बोजो, पदमचाल, कटुकी, सुगन्धवाल, बिसमारो, गदाल्नु लगायतका जडिबुटी पाइन्छन् । त्यहाँ जंगली जनावर र पक्षी पाइन्छन् । रामारोशनमा गुफा र झरना छन् । मुख्य मैदान किनिमिनी, रामे र रोशन हुन् ।
रामेसम्म मुजाबगर हुँदै सडक ट्र्याक छ । असार–साउनमा ताल किनार रमाइलो हुन्छ । फूलले ढपक्कै ढाक्छ । असोजदेखि मंसिर र फागुनदेखि जेठसम्म रामारोशन घुम्ने उत्तम सिजन हो ।
रामारोशन पदयात्रा जयगडदेखि गर्नु राम्रो हुन्छ । रामे पाटनमा एउटा मात्र सीता गेष्ट हाउस छ । अरू होटल तथा लज छैनन् । बन्दोबस्तीका सामान बोकेर यात्रा गर्दा सजिलो हुन्छ । रामारोशनलाई चम्काउन त्यहाँका पाटनमा सुविधायुक्त होटल खुल्नु पर्छ ।
कसरी पुग्ने
काठमाडौंबाट धनगढी, डडेल्धुरा, डोटी हुँदै मंगलसेनसम्म सडक यात्रा । तिमल्सैना सडकबाट ४२ किलोमिटर कच्ची सडकमा रामारोशन । हिउँदमा कच्ची सडकमा रिजर्भ्ड जिप लैजान सकिन्छ ।
प्रकाशित: २ असार २०७५ १०:४९ शनिबार