एलपि भानु शर्मा
प्राध्यापक पोखरा विश्वविद्यालय एवं
जीवन विकास विशेषज्ञ
पहिले हामी ठूलो परिवारसँग बस्थ्यौँ । परिवार सदस्य संख्या न्यूनतम १०/१२ जनादेखि २०/२५ जनासम्मको हुने गथ्र्याे । एक अर्कासँग धेरै घुलमिल हुन्थ्यो । धेरै जनाको धेरै जनासँग प्रगाढ तथा आत्मीय सम्बन्ध हुन्थ्यो । एकअर्काको समस्या एउटाले सुन्न नभ्याए पनि अर्काेले सुन्थ्यो । सुखदुःख सहजै बाँडिन्थ्यो । सुख जति बाँड्यो उति बढ्छ । दुःख जति बाँड्यो उति घट्छ । यसरी सबैको हेरचाह हुन्थ्यो । तर अहिलेको सम्बन्धमा आत्मीयता भेटिन्न । बोलिरहेको, हाँसिरहेको, सँगै हिँडिरहेको मान्छेसँग पनि हामी आत्मीय हुन सकेका छैनौं । त्यति धेरै आत्मीयता भएका हाम्रा सम्बन्धहरु कसरी भत्किए ? सम्बन्धलाई महत्व दिने हामी कहाँनेर चुक्यौं ?
सम्बन्ध टुट्नुको कारण
हामीले सम्बन्ध कसरी बिगार्यौँ, नजिक बनाउन सकेनौँ भनेर खोतल्दै जाँदा के थाहा हुन्छ भने हामीले हाम्रो संस्कृतिप्रति गरेको उपेक्षा र नकार्ने प्रवृत्तिले सम्बन्ध टुटेको देख्नमा आउँछ । हामी केटाकेटी छँदा मामाघर गयौँ भने मामाघर पुग्नु अगावै हामीलाई ए भान्जा–भान्जी आएछन् भनेर स–सम्मान गरिन्थ्यो । सबैसँग केही न केही सम्बन्ध गाँसिएको हुन्थ्यो । सबैले आफ्नो सम्झिँदा खुब मज्जा आउँथ्यो । गाउँमा कुनै पाहुना भनाँै आफन्ती आए भने त्यो आफन्ती एक घरको मात्र हुँदैनथ्यो । सबैको हुन्थ्यो ।
अहिले समय बदलिएको छ । सम्बन्धहरु पहिले जस्तो छैन । एउटै परिवारको समेत भेटघाट निकै कम हुने गरेको छ । आत्मीयता हराउँदै गएको छ । यसो हुनुको एउटै कारण छ, हामी छरिएर बस्यौँ, छरिएर मात्र बसेनाँै, हामीले हाम्रो देश नराम्रो, हाम्रो चालचलन नराम्रो, हाम्रो संस्कार नराम्रो भन्नेतर्फ लाग्यौँ । यस्तो सोच एकदमै गहिरोसँग प-यो । झन् हिजोआजका बच्चाबच्चीमा यस्तो प्रकारको गहिरो छाप परेको छ । आज आमी विदेशी भएर बस्न मरिहत्ते गरेका छांै । डिभी भर्न लाइन लागेका छाैं । आफ्नो र आफूलाई घृणा गरेका छाैं ।
तर अहिले त्यो अनुभूति पाइन्न त्यसको पछाडि एउटै कारण छ । हामी यताउति छरिएर बस्याैं । छरिएर बस्दा पनि मेरो देश नराम्रो, मेरो घर नराम्रो, मेरो समाज नराम्रो, हाम्रो चालचलन नराम्रो, हाम्रो संस्कार नराम्रो भनेर नकारात्मकता केलाउनेतर्फ लाग्याै । यस्तो सोच एकदमै गहिरोसँग प-यो । आज हामी विदेशी नागरिकता लिएर बस्न थाल्याैं । यस्तै मानसिकताको उपज हो, मनोविज्ञान हो । त्यही मनोविज्ञानले हामी आफ्नो संस्कारबाट परपर भएका छौँ । अरूको संस्कार, संस्कृति मन पराएका छौं । तिनै सुकिलामुकिला मान्छे मन परायाैं । त्यहाँको विलासिता मन परायौँ तर आफ्नो गाउँघरको सम्झना हामीलाई भएन । बिस्तारै सहरीकरण बढ्दै गयो । जुन स्वाभाविक थियो । तर सम्बन्धहरुबीचको आत्मीयता हामीले राख्न सकिएन ।
हामीले आफ्नोमा गौरव गर्न सकेनौँ । आफ्नो घरमा आमा बिरामी हुनुहुन्छ भने हेरविचार गर्न छाडेर छिमेकीकोमा के मिठो पाकेको छ भनेर चियाउँदै हिँड्यौं । यहीँबाट हाम्रो समस्या सुरु भयो ।
अहिले प्रायःको एकल परिवार छ । एकल परिवारमा भए पनि आत्मीयता छैन । उनीहरु एकआपसमा बोल्दैनन्, आत्मीयता महसुस गर्दैनन् । धेरै जसो मेसिनसँग झुण्डिएर बस्छन् । हो हामीलाई मेसिन पनि चाहिन्छ तर मेसिनले हामीलाई प्रयोग गर्ने होइन, मेसिनलाई हामीले प्रयोग गर्ने हो । तर, हामीले जे गर्न नपर्ने हो त्यही गरिरहेका छांै । यसले गर्दा हृदय जोडिने सम्बन्धहरु जोडिएका छैनन् ।
हिजोआज बाबा–आमासँग पनि आत्मीयता हुन छाडिसकेको छ । काका–काकी, मामा–माइजू, फूपू–फुपाजु भनेको त हिजोआजका केटाकेटीलाई यादै हुन छाडिसक्यो ।
अब यसलाई कसरी समाधान गर्ने त ? यसको पनि सामाधानको उपाय नभएको होइन, हामीले केही सहज विधि अपनाउने बित्तिकै अझ भनांै हामी आफू आफैँमा रूपान्तरित हुनेबित्तिकै यस्ता समस्या रहँदैनन् ।
आफ्नोलाई प्रेम गरौं
हामी हाम्रो नाता, कुटुम्ब, समाज, घर गाउँलाई सदा सम्झिरहनु पर्छ । हामीले हाम्रो देशको भू–भागलाई धेरैभन्दा धेरै प्रेम गर्न आवश्यक छ । आफ्नो घर गाउँलाई नराम्रो देख्ने, आफूसँग भएका कुरालाई नराम्रो सम्झिने प्रवृत्ति हटाउनु पर्छ ।
हामीले सांस्कृतिक गाउँ फर्क अभियान गर्न जरुरी छ । मैले राजनीतिक भनिरहेको छैन । हामी जहाँ जान्छौं त्यहाँ त्यहाँ हाम्रो संस्कार पनि लैजाने गर्नुपर्छ । हामीमा भएका राम्रा कुरालाई अनुशरण गर्ने गर्नुपर्छ । जब हामी यसरी घर गाउँको संस्कार संस्कृति अपनाउँछांै । विकासको क्षेत्रमा लगानी गर्छाैं, सबैमा आफ्नो पन आउँछ अनि सबै सम्बन्धहरु फेरि जोडिन थाल्छन् ।
आत्मीयता बढाअाैं
जब मनमा अन्धकार र घोर निराशा छाउँछ त्यतिबेला आफ्नो भन्ने कोही हुँदैन । आत्मीयताले मन खुसी हुन्छ, त्यहाँ निराशा, दुःखी, तनावm अनिद्रा हुँदैन । यदि जीवन विज्ञानमा आएर ममा अनिद्रा छ भने म पहिले नै सोध्छु तपाईंको परिवारमा कतिजना हुनुहुन्छ ? धेरै परिवारसँग बस्नेमा त्यस्तो केही समस्या हुँदैन । परिवारसँग उठबस गर्दैमा यो निराशापना पूरै हटिसक्छ । तर, जब एक्लै बस्छ, सीमित परिवारसँग मात्र बस्छ, ऊसँग यस्ता समस्या देखा पर्छन् । त्यसकारण हामी फेरि आफ्नो मान्छेसँग जोडिनु, बढी घुलमिल हुनु आवश्यक छ ।
सम्बन्धहरु फेसबुक ट्वीटरबाट मात्र जोडिएर हुँदैन, हाम्रा पाँच इन्द्रियबाट जोडिन आवश्यक छ । हामीले सम्बन्ध प्रगाढ बनाउन बोली सुनेर, भेटघाट गरेर, अंकमाल गरेर, उसको सामीप्यमा बसेर, उसको भावना बुझेर गर्न सक्छौँ । यसरी ५ वटा इन्द्रिय सहभागी भएर सम्बन्ध भयो भने हामी मजबुत हुन्छौँ ।
अहिले भएको समस्या के हो भने, मानिसहरु मेसिनसँग सम्बन्धित छन्, मेसिनसँगै मानिसको उगबस छ, इन्द्रियसँगको सम्बन्ध कत्ति पनि छैन अनि कसरी हुन्छ सम्बन्ध गाढा ?
इन्द्रियले जोडेको सम्बन्ध अत्यन्तै गहिरो हुन्छ । मेसिन हामीलाई चाहिन्छ । प्रयोग गराैं । आफ्नो पनमा फर्किऊँ । आत्मीयतामा ध्यान दिऊँ ।
ध्यान
ध्यान सम्बन्ध जोड्ने अचुक औषधि हो । ध्यान त यस्तो हो जब ध्यान गर्न थाल्छौँ आफैं सम्बन्ध बलियो भइहाल्छ । ध्यान गर्ने व्यक्तिलाई आमा–बुबालाई माया गर, आफूभन्दा सानोलाई माया गर भनेर भनिराख्नुपर्दैन । यो स्वाभाविक हुन्छ । पानी जहाँ पनि पर्छ अनि भिजाउँछ । आगो जहाँ पर्छ त्यहाँ जलाउँछ । त्यसरी नै ध्यान गर्ने व्यक्ति जहाँ–जहाँ जान्छ त्यहाँ–त्यहाँ प्रेम बाँड्छ अनि सम्बन्ध गाढा बनाउँछ । ध्यान गर्ने व्यक्तिले गर्ने काममा उत्पादनशीलता बढाउँछ । कम काम गरेर पनि इफेक्टिभ काम गर्छ, मिहिनेत बढी गर्छ, आय–आर्जन पनि बढी गर्छ । बचेको समय परिवारलाई दिन्छ । यो अचुक औषधि हो । हामी सबैले ध्यान गर्न सिक्यौँ भने आत्मीयता र सम्पनता दुवै ल्याउँछाैं ।
प्रजु पन्त सँगको कुराकानीमा आधारित
प्रकाशित: २ असार २०७५ १०:०३ शनिबार