अन्य

विएचयूका केही सम्झनाहरू

डा. कृष्ण भट्टचन

काशी हिन्दू विश्वविद्यालय (वनारस हिन्दू युनिभर्सिटी, छोटकरीमा विएचयू) को डा. अम्बेडकर चेयर, समाजशास्त्र विभागका पूर्व विभागीय प्रमुख र सामाजिक शास्त्र शंकायका पूर्व डिन प्रा. मञ्जित कुमार चतुर्वेदीजीले मलाई केही महिनाअघि फोन गर्नु भयो । विएचयूमा अप्रिल १८ को दिन डा. अम्बेडकर मेमोरियल लेक्चरको पहिलो लेक्चर र समाज शास्त्र विभागसँगको सह आयोजक भएको डा. अम्बेडकर विचारधाराको विश्वमा सान्दर्भिकतासम्बन्धी दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटन शत्र, अप्रिल १९, मा किनोट् स्पिच दिन उहाँले मलाई निम्त्याउनु हुँदा आल्हादित भएँ । सो विश्वविद्यालयमा चालीस वर्षअघि समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गर्न जाँदाको सम्झनाले थप रोमाञ्चक बनायो । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा राजनीति शास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गर्दागर्दै समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नका लागि त्रिभुवन विश्वविद्यालयले मलाई र फणिन्द्रेश्वर पौडेललाई सन् १९७८ मा फ्याकल्टी डेभलपमेन्ट छात्रवृत्ति दिएको थियो । समाजशास्त्रमा स्नातकोत्तरको अध्ययन गर्दादेखि हालै फर्केर जाँदाका केही सम्झनाहरू यस प्रकार छन् :

समाजशास्त्र विभाग

- समाजशास्त्र विभागमा हिन्दी माध्यमबाट पढ्ने ९० जना जति र हामी अंग्रेजी माध्यमबाट पढ्ने १७ जना थियौं । १७ मध्ये हामी दुईजना नेपालबाट, दुईजना थाइल्यान्डबाट र एकजना क्याम्बोडियाबाट थियौं भने बाँकी एकजना महिलासहित भारतका थिए । यसपटकको भ्रमणमा हिन्दी समूहका सहपाठी ए.पी.सिंहसँग भेट भयो । हाल उहाँ यही विभागमा प्राध्यापक हुनुहुन्छ ।

- हामीलाई अंग्रेजी भाषामा समाजशास्त्र पढाउने शिक्षकहरू प्रायः सबै राम्रा थिए । प्रो. गोपाल सिंह नेपाली सरले पनि पढाउनु हुन्थ्यो । उहाँलाई सबैले उच्च सम्मान गर्थे । उहाँले मलाई बरोबर घरमा बोलाउनु हुन्थ्यो र आप्mनो अनुभव सुनाउनुका साथै प्राज्ञिक उन्नति गर्न विभिन्न सुझाव दिनुहुन्थ्यो । उहाँ नेपालीमध्ये समाजशास्त्र विषयमा सन् १९५९ मा विद्यावारिधि गर्ने पहिलो समाजशास्त्री हो । उहाँ विएचयूबाट रिटायर्ड भइसकेपछि नर्थ बंगाल युनिभर्सिटीपछि त्रिविको समाजशास्त्र तथा मानवशास्त्र विभागमा मृत्युअघिसम्म हामीसँगै प्राध्यापन गर्नुभयो ।

- पुस्तकालयमा भने समाजशास्त्रका पुस्तक र जर्नलहरूको अत्यन्त राम्रो संग्रह थियो । लाइब्रेरीभित्र गएर पुस्तक र जर्नल हेर्न साथी अरबिन्द जोशीले धेरै सहयोग गरे । यसको फाइदा समाजशास्त्रको स्टेट अफ द आर्ट अवधारणा, सिद्धान्त आदिमा पूर्ण जानकार हुने अवसर पाएको थिएँ ।

- समाजशास्त्रमा हामीभन्दा एक वर्ष सिनियर अनुराग गिरीले मलाई सक्दो सहयोग गर्नुभयो । अनुरागजीको पढ्ने तरिका अनौठो लाग्थ्यो । जाँच आउनुअघि आफ्नो क्लासको टपरलाई दुईचार दिनअघि आफ्नो होस्टलको कोठामा राख्ने र पढाउन लगाउने । गर्मीका बेला उहाँसँग मैले एक दिनमा एकपछि अर्को चार शो सिनेमा हेरेको थिएँ ।

- त्यसबेला पहिलो वर्ष र दोस्रो वर्षको लिखित परीक्षामा मैले स्नातकोत्तर तहमा (हिन्दी र अंग्रेजी दुवै समूह) मा सर्वाधिक अंक ल्याउन सफल भएँ । पहिलो वर्षमा नगद पुरस्कारसहित पत्र पाएँ । दोस्रो वर्षको थेसिसमा अर्को विद्यार्थीले धेरै अंक पाएर गोल्ड मेडल पाउनबाट भने वञ्चित भएँ । मैले त्यसबेला गोल्ड मेडल पाउनु नपाउनु ठुलो कुरा होइन, काम गरेर देखाउनु ठूलो हो भनेको अझै पनि सम्झने मेरो शिक्षकहरू र विद्यार्थी साथी दुवैसँग यसपटक भेट भयो ।

- त्यहाँ पढ्न आउने कतिपय नेपाली विद्यार्थीलाई समाजशास्त्र विषय पढ्न अभिप्रेरित गर्ने अवसर पाएँ । त्यसबेलाका कतिपय साथीहरू अहिले नेपाल सरकारको निजामती सेवामा कार्यरत छन्् ।

- विएचयूमा समाजशास्त्र विषय राम्रोसँग अध्ययन गर्ने अवसर पाएकोले त्रिभुवन विश्वविद्यालयमा डा. चैतन्य मिश्रको नेतृत्वमा सन् १९८१ मा समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभाग स्थापना हुँदा स्तरीय नयाँ पाठ्यक्रम बनाएर स्तरीय प्राध्यापन गर्नमा मैले पनि सक्दो योगदान गर्न र पछि सन् १९८६ मा विभागीय प्रमुखको जिम्मेवारी र फुलब्राइट छात्रवृत्तिमा युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट समाजशास्त्रमा विद्यावारिधिको अध्ययन सफलातपूर्वक सम्पन्न गर्न सकेँ ।

होस्टलको अनुभव

- पहिलोपटक वनारस हिन्दू विश्वद्यालयमा समाजशास्त्र विभागको विभागीय अध्यक्ष एसके श्रीवास्तवसँग भेट्दा थाहा भयो कि वनारसमा आएको ठूलो बाढीको कारणले विश्व विद्यालय ३ महिनाका लागि बन्द रहेछ । उहाँले हामी इन्टरनेसनल हाउस नामक विदेशी विद्यार्थीका लागि बनाएको छात्रावासमा बस्ने तर तुरुन्त नेपाल फर्केर विश्व विद्यालय खुलेपछि मात्र आउन भन्नुभयो । इन्टर नेसनल हाउसमा त्यहाँ एमबिबिएसमा अध्ययनरत शशांक कोइरालाजीसँग भेट भयो र उहाँसँग केहीबेर कुराकानी भएपछि हामीसँग भएको सुटकेश उहाँले राखी दिनु भयो । हामी नेपाल फक्र्यौं । फर्कँदा वनारसबाट गोरखपुर जाने रेलमा बस्ने सिट नपाएपछि एकजना कुल्लीले हामी दूवैलाई भ्mयालबाट छिराएपछि एक खुट्टामा उभिँदै गोरखपुर गएको सम्झना ताजै छ ।

- इन्टरनेसलन हाउसमा हामी नेपाली विद्यार्थीहरू धेरै थियाैं । फाइन आर्टस विषयका कीरण मानन्धर, वीरेन्द्र प्रताप शाह, परमेश अधिकारी, प्रवीण र युवक व्यवस्थापन विषयका सञ्जय कोइराला, न्यूक्लियर केमिष्ट्रीका देवेन्द्र वाग्ले र अन्य विषयका कल्याण श्रेष्ठ, किशोर लामा आदि सँगै थियौँ । गफ गर्ने अखडा भन्योे कि कीरणजीको वाग्लेजीको कोठा हुन्थ्यो । हाम्रो होस्टलनजिकै प्रदीप गिरी बस्नु हुन्थ्यो । अर्थशास्त्रमा पिएचडी अध्ययन गर्न भनी महेश आचार्य पनि होस्टलमै बस्नु हुन्थ्यो । शैलेष आचार्य पनि केही समय बस्नुभयो ।

- एक दिन हामी केही साथीहरूसँगै सिनेमा हेर्न जाने भन्यौ तर सबैलाई टिकट किन्ने पैसा पुगेन । महेशजीले सबैलाई आपूmसँग भएको दैनिक पत्रिका ल्याउन भन्नु भयो र त्यो बेचेर पनि नपुगेको पैसा फणिनेन्द्रेश्वरजीलाई राख्न लगाएर हेरेका थियौं ।

- शैलेसजीले ऋचा पत्रिका निकाल्न लाग्नु भएको रहेछ । कवि भूपी शेरचनले चिसो छिँडीमा रातभर शीर्षकको मेरो कथाका सम्बन्धमा मलाई लेख्नु भएको प्रतिक्रियाको हस्तलिखित कपी छाप्न माग्नु भयो । मलाई कवि भूपिले दुईवटा सुझाव दिनुभएको थियो । एउटा नेपाली र विश्व साहित्य अध्ययन गर्ने र अर्को प्रतिभा भएको मान्छेले मेहनत गरेको खण्डमा प्रतिभा वा मिहिनेत एउटाले मात्र पु¥याउने ठाउँभन्दा धेरै टाढा पु¥याउँछ भन्ने थियो । त्यो पत्र छापियो तर मैले पाण्डुलिपि फिर्ता पाइन । मसँग भएको ऋचाको प्रति पनि हरायो । केही समय पहिले आदिवासी फिल्म फेस्टिबलको बेला उहाँसँग भेट हुँदा सोधेको वहाँसँगको पाण्डुलिपि र ऋचा दुवै रहेन छ ।

- होस्टलमा दुर्गा सुवेदीजीसँग वनारस र पछी फेरि काठमाडौंमा भेट हुुँदा उहाँलगायतले गर्नुभएको नेपालको पहिलो जहाज अपहरण र रकमको सदुपयोग, दुरुपयोगको बारेमा थुपै्र जिज्ञासा शान्त पारेको थिएँ । उक्त रकम गिरिजाले व्यक्तिगतरूपमा दुरुपयोग गरेपछि मोहभंग भएको भन्नुभएको सम्झन्छु ।

- होस्टलमा फिजी, माल्दिभ्सलगायतका हिन्दूविद्यार्थीको साप्ताहिक प्रवचन कार्यक्रममा मैले इशोपनिषदको समाजशास्त्रीय विश्लेषण गरी प्रवचन दिने मौका पाएको थिएँ । इशोपनिषदको पहिलो श्लोकमा पूर्णलाई जोड, घटाउ, गुणन, भाग आदि जे गरी पनि पूर्ण नै हुन्छ भन्ने सम्बन्धमा आलोचनात्मक टिप्पणी गरेको थिएँ ।

- होस्टलमा आयोजना भएको टक प्रोग्राममा हार्वर्ड विश्वविद्यायलमा अध्ययन गरी फर्कनुभएका समाजशास्त्री आनन्दकुमारबाट वल्र्ड सिस्टमको सिद्धान्तबारेको नवीनतम विचार सुन्न पाउँदा मन्त्रमुग्घ बनेको थिएँ ।

- नेपाली विभागको प्रमुख डिल्लीराम तिम्सिनाजीले वाणी साधनाका लागि लेख माग्नु हुँदा मैले साहित्य र समाजशास्त्रको बारेमा लेखेको लेख छापिदिनु भएको थियो । मसँग भएको वाणी साधना हराएपछि प्रा. चूडामणि बन्धुजीसँग भएको वाणी साधनाबाट मेरो लेख फोटोकपी गर्न सकेँ । यसपालीको भ्रमणमा नेपाली विभागका प्रमुख र विद्यार्थीहरूसँग कुराकानी गरे । वाणी साधना र ऋचाको प्रति त्यहाँ पनि रहेनछ ।

अन्य अनुभव

- तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले विएचयूमा उद्घाटन गरेको ६९ औं साइन्स कांग्रेसमा मलगायत विएचयूका २० जना विद्यार्थी स्वयंसेवक भएका थियौं । सांस्कृतिक कार्यक्रममा भरत नाट्यम नाच्न निम्त्याइएको कलाकारले एक पृष्ठजतिमा उल्लेख गरेको स्टेजमा हुनुपर्ने आवश्यकताका बारेमा स्वयंसेवकको बैठकमा छलफल गर्दा प्रोफेसनालिजम् भनेको के हो भन्ने बारेमा धेरै कुरा सिक्ने मौका पाएको थिएँ । सांकृतिक कार्यक्रम सकिएपछि संकट मोचन मन्दिरमा डिनर खाँदा रोचक के थियो भने उक्त कार्यक्रम संयोजक हाइड्रोलोजीको विभागीय प्रमुख आफंै संकट मोचन मन्दिरको प्रमुख पुजारी रहेछ ।

- विएचयूको खेल मैदानमा सुनिल गाभाष्करले खेलेको क्रिकेट खेल प्रत्यक्ष हेर्न पाउँदा खुबै रमाइलो लागेको थियो ।

- विएचयू पढ्ने विद्यार्थीका लगि सम्पूर्ण सुविधा सहज भएको र नपढी दादागिरी गर्नेका लागि पनि दादागिरी गर्न उत्तिकै सहज भएको विडम्बनापूर्ण लाग्थ्यो । कतिपय दादा विद्यार्थीहरू पुलिसबाट जोगिन सुन्दरलाल बहुगुणा अस्पतालमा भर्नाहुने, बेडमा पेस्तोल लुकाएर राख्ने, राति केहीबेर बाहिर निस्केर जाँड रक्सी खाएर आउने कुरा सुन्दा निकैअनौठो लाग्थ्यो ।

वनारस सहरको अनुभव

- वनारसमा ठग्छ भन्ने थाहा भएकोले सचेत थियौं तर कसरी ठग्छ सोको अन्दाज भने थिएन । एक दिन म र साथी फणिन्द्रेश्वरजी प्रसिद्ध विश्वनाथ मन्दिर हेर्न गयाैं । मन्दिर कहाँ छ, नयाँले थाहा नपाउने हुनाले अलमल हुँदा ठगले नयाँ मान्छे भनेर थाहा पाएर पछि लागीहाल्दो रहेछ । सहयोग लिँदा यता र उता भन्दै लैजाने क्रममा नेपालबाट पुर्खाको को आए सबै नालीबेली लेखेको सुनाउने ठाउँमा लग्यो । मेरो नाम भनेपछि मेरो पुर्खा कोही आएको छैन भन्यो । त्यहाँबाट केही पर पुगेपछि गणेशलाई कति लड्डु, १०८ कि कति चढाउँछाैं भनी सोध्यो । मैले त्यो भनेको अर्थ के हो भन्दा एक लड्डुको पाँच रुपैयाँ तिर्नु पर्छ भन्यो । मैले एउटा पनि लड्डु खुवाउँदिन भन्दा खुबै रिसायो । फणिन्द्रेश्वरजीलाई अर्कोले कुनामा लगेर कति लड्डु चढाउने भनी सोधेछ र नचढाए छुरी हान्ला भन्ने डरले म विद्यार्थी भएकोले पैसा छैन । सातवटा लड्डु चढाउँछु भन्नु भएछ । नजिक आएर मलाई त्यसो भन्नुभएपछि उम्केर जान तीन लड्डु भनेर पन्ध्र रुपैया दिएँ । त्यस्तै, त्यसबेला स्थानीय यातायात भनेको रिक्सा थियो । विएचयूबाट बाहिर निस्कँदा रिक्सावालाले भाडा कति दिने भनी नसोध्ने र बाहिरबाट विएचयू आउँदा विद्यार्थीले भाडा कति हो भनेर नसोध्ने रहेछ । आप्mनो अखडामा जाँदा मनपरी ठग्ने उद्देश्यले त्यस्तो गर्दो रहेछ । वनारसमा ठगबाट जोगीनेलाई विश्वमा कहीँ पनि ठग्न सक्दैन जस्तो लाग्थ्यो। विगतमा नेपालको पहाडबाट आउने सोझो नेपालीलाई कति ठग्थ्यो होला सहजै अनुमान गर्न सकिन्थ्यो ।

- वनारसमा अत्यधिक रिक्सा चल्थ्यो । एउटै रिक्सामा धेरै घण्टी हुन्थ्यो । गोदौलियाको चोकमा रिक्सा रोकिँदा सयांै रिक्साका हजारौ घण्टी बज्दा अर्कै प्रकारको आनन्द हुन्थ्यो ।

- विएचयूको गेट अघि लंकामा सस्तो अर्थात् तीन रुपैयाँ जतिमा चपाति वा भात, दाल तरकारी, चटनी खान पाइन्थ्यो । राबडी, चिया, पान अति मिठो पाइन्थ्यो । राम्रा पुस्तक सस्तोमा पाइन्थ्यो । हिँड्ने मान्छे र रिक्साको भीड हुन्थ्यो । अहिले ठूलो भवन र पसल, अपार्टमेन्ट, गाडीको भीडले मान्छेलाई हिँड्न नै गाह्रो रहेछ । 

नेपाल स्टडी सेन्टरको कार्यक्रममा सहभागिता

- विएचयूको नेपाल स्टडी सेन्टरले विएचयूमा सन् १९८५ तिर आयोजना गरेको नेपालसम्बन्धी कन्फरेन्समा नेपाल तथा एशियाली केन्द्रको कार्यकारी निर्देशककुमार खड्ग विक्रम शाहको नेतृत्वमा प्रा. यदुनाथ खनाल, महेशचन्द्र रेग्मीलगायत म पनि सहभागी भएको थिएं । कार्यक्रममा महेशचन्द्र रेग्मीजीसँग बसेको बेला मैले केही कुरा गर्ने मौका पाएको थिएँ । त्यसअघि मेरो उहाँसँग भेट भएको थिएन र त्यसपछि पनि भएन । मैले उहाँलाई तपार्इंको ल्यान्ड टेनियर एण्ड ट्याक्सेसन इन नेपाल, ल्यान्ड ओनरसीप इन नेपाल, इकोनोमी हिस्ट्र अफ नेपाललगायतका आर्थिक इतिहासका पुस्तक अर्थशास्त्र विभाग र इतिहास विभागमा पढाइँदैन तर हामीले समाजशास्त्र तथा मानव शास्त्र विभागमा सुरुदेखि पढाउँदै आएका छौं भने । अब फर्केपछि उक्त पुस्तकका लेखक तपाईं स्वयंले विद्यार्थीलाई कहिले काहीँ गेष्ट लेक्चर दिनुभए सुनमा सुगन्ध हुने थियो भने । उहाँले मलाई त्यस्तोमा चाख छैन भन्नु भयो । उहाँको मृत्युपछि उहाँको परिवारको सदस्यहरूको सहभागितामा भएको शोक सभामा मैले महेशचन्द्र रेग्मीजी आदिवासीको हराएको कीपटको इतिहासलाई जीवित बनाइदिनु भएको र आदिवासीले विर्ता, जागिर र रकमबाट कसरी जमिन गुमाउन पुगे भन्ने सत्यतथ्य आपूm बाहुन भएर पनि नलुकाउनु भएकोले उहाँको मृत्यु स्वाभाविक भए पनि आदिवासीका लागि शहीद हो भनेको थिएँ ।

हालैको भ्रमण

पछिल्लोपटक विएचयूमा गएको झण्डै तीन दशकभन्दा बढीको समयमा पुग्दा बेग्लै अनुभूति भयो ।

- बम्बै विश्वविद्यालयका पूर्व डिन प्रा. पि.जी. जगदण्ड प्रमुख अतिथि र मैले विशेष अतिथिको रूपमा १० दिने अनुसन्धान विधिसम्बधी प्रशिक्षणको उद्घाटन सत्रमा अनुसन्धान गर्ने विभिन्न बाटोहरूको सम्बन्धमा बोल्ने मौका मिल्यो ।

- अपराह्नमा डीन प्रा. जयकान्त तिवारीले अध्यक्षता गर्नुभएको डा. अम्बेडकर मेमोरियल लेक्चरको कार्यक्रममा प्रमुख अतिथि महात्मागान्धी अन्तर्राष्ट्रिय हिन्दी विश्वविद्यालयका कुलपति प्रा. कमलेश दत्त त्रिपाठीजी, टिप्पणीकार राजनीतिशास्त्रका प्राध्यापक आर.पी. पाठक र विएचयूका समाजशास्त्र, राजनीतिशास्त्र, इतिहासलगायतका विभाग र अन्य विश्वविद्यालयबाट आएका प्राध्यापकका साथै विद्यावारिधि, स्नातकोत्तर तहका विद्यार्थी सहभागी थिए । त्यसबेला हामीलाई पढाउने केही गुरुहरूसमेत श्रोतादीर्घामा हुनुहुन्थ्यो । मेरो ब्याचमा हिन्दी माध्यममा अध्ययन गरेका साथी प्राध्यापक एपी सिंहले मलाई चिने तर सुरुमा मैले उहाँलाई भने चिन्न सकिन । पछि उहाँको अफिसमा बसेर विगतका सम्झना ग¥यौं ।

- डा. अम्बेडकर लेक्चर धेरै विश्वविद्यालयमा धेरै विज्ञले विभिन्न विषयमा धेरैपटक दिइसकेकाले मैले धेरै चर्चा नगरिएको विषय आदिवासीको दृृष्टिकोणमा डा. अम्बेडकर विचारधारा छानेको थिएँ । भारतमा ३६० देखि ५५० जति आदिवासी भएकोले पनि आदिवासीले डा. अम्बेडकरको के विचारसँग सहमत वा असहमत हुन्छ सोबारे बहस उठाउने विचार थियो । डा. अम्बेडकरको प्रमुख विचारहरू जस्तै जातको अन्त्य, वर्गको अन्त्य, हिन्दू धर्मअन्तर्गत जातीय विभेद अन्त्य नहुने भएकोले हिन्दू धर्मको परित्याग र बौद्ध धर्म ग्रहण, अन्याय र विभेदको अन्त्य गर्नका लगि शिक्षा, संगठन र विद्रोहको रणनीति, अहिंसात्मक क्रान्तिका विषयमा आदिवासी दृष्टिकोणको व्याख्या गरेँ । आदिवासीलाई असभ्य, जंगली र जन्जात अपराधी शब्दको प्रयोग तत्कालीन उपनिवेशिक सोचलाई डा. अम्बेडकरले पनि प्रयोग गरेकोमा आलोचना गर्दै अब डा. अम्बेडकरको विचारधारालाई पछ्याउनेहरूले सुधार गरी गरी आदिवासीको आत्मनिर्णय, स्वायत्तता, स्वशासन, भूमि, भूभाग र स्रोतमा स्वामित्व र नियन्त्रण, प्रथाजन्य कानुनको सुनिश्चितता गर्नुपर्ने बताए । डा. अम्बेडकरले पाँचाैं र छैटौं अनुसूचीमा यसका केही कुरा परे पनि अब त्यसलाई पूर्णता दिनु पर्ने बताए ।

- डा. अम्बेडकर विचारधाराको उपादेयताका सम्बन्धमा विश्व दृष्टिकोण विषयक दुईदिने राष्ट्रिय गोष्ठीमा भारतका सबै राज्यबाट प्रतिनिधित्व भएका २५० भन्दा बढी कार्यपत्र प्रस्तोताहरू सहभागी थिए । डिन प्रा. जयकान्त तिवारीको अध्यक्षता, प्रमुख अतिथि मुम्बई विश्वविद्यालयका पूर्व डिन प्रा. पिजी जगडण्ड, समाजशास्त्रका विभागीय प्रमुख प्रा. अरबिन्द जोशी र अम्बेडकर चेयर प्रा. मञ्जित चतुर्वेदी भएको उद्घाटन सत्रमा मैले दिएको किनोट स्पीचमा डा. अम्बेडकर विचारधारा हिन्दू धर्मअन्तर्गतको चतुरवर्णमध्येका दलित, पाकिस्तान र बंलादेशका मुश्लिम समाज र श्रीलंकाको सिंहली समाज, नेपालको आदिवासी नेवार दलित, जापानको बुराकी, सेनेगलमा ओलोफ, पश्चिम अफ्रिकाको माण्डे, नाइजेरिया, क्यामरुन र चाँदमा भाँडा बनाउनेहरू, इथोपियाको शाब, नाइजेरियाको ओशुले वंश र कामका आधारमा हुने छुवाछूत र भेदभाव भोगकाहरूका लागि जात र वर्ग अन्त्य गर्न डा. अम्बेडकर विचारधारा सान्दर्भिक छ भने । त्यस्तैगरी हिन्दूकरणमा पारिएका र जातीय भेदभाव भोग्न बाध्य आदिवासी, रंगभेद भोगेका काला जाति, संसारका कहीँ पनि सामाजिक न्याय खोजीरहेकाले शिक्षित हुने, संगठित हुने र हल्लाउने रणनीतिलगायतका विचारधारा सान्दर्भिक छ । जातीय छुवाछूत र विभेद गर्ने ब्राह्मणवादीले समेत आप्mनो मानसिक सोच बदल्ने सुझाव उत्तिकै सान्दर्भिक छ । डा. अम्बेडकर जीवनीबाट इतिहास, व्यक्ति र समाजका साथै जगतबीचको सम्बन्धको उत्कृष्ट उदाहरण भएकोले उनले जीवनमा गरेका काम, उनको विचारधारा, उनले गरेका कामलाई आजको सन्दर्भमा व्याख्या गर्ने वा परियोजनाको रूपमा थप काम गर्दै जाने, दैनिक व्यवहारमा रूपान्तरण गर्नेलगायतका कामहरू नयाँ पिँढिको दायित्व हो भने । डा. अम्बेडकरको देवत्वकरण वा दानवीकरण भन्दा उनको विचारधाराको आलोचनात्मक विश्लेषण गर्न सुझाव दिएँ ।

विचएच्यु, राँची विश्वविद्यालय र मुम्बई विश्वविद्यालयलगायतका सहभागी प्राध्यापक र विद्यार्थीहरूले मलाई फेरि फेरी निम्याइ रहन्छु भनेकोले अब नयाँ अनुभव गर्न पाउने सोचले फेरि पनि हर्षित छु ।

विएचयूका केही सम्झनाहरू नागरिक परिवार