अन्य

कविता बुझ्दिनन् छोरी ...तर

सरिता तिवारी 

छोरी
जुन दिन तिमीले बुझ्ने छौ
दुनियाँका असल मानिसहरूले लेखेका 
गुनिला कुराको मूल्य 
बुझ्ने छौ त्यो दिन
तिमीले उच्चारण गरेका शब्दहरू 
ककस्को रगतले साटिएर आइपुगेका हुन् 
तिम्रा ओठसम्म ।

अहिले त तिमी
एल गोल्डिङ र सेलेना गोमेजको फ्यान हौ
जुन दिन बुझ्ने छौ
यो भूमिमा चेतनाको दैलो खोल्ने 
अनाम विराङ्गनाका रक्तगाथा
त्यसपछि 
तिमीलाई उत्पात मन पर्नेछिन् योगमाया
हजुरआमा जस्तै प्यारी लाग्नेछिन्
पारिजात र पासाङ ल्हामू

इतिहासको पेजबाट ओर्लेका
जोन अफ आर्कका परागजस्ता लाग्नेछन्
चुनु गुरुङ
चिनिमाया लामा
शारदा श्रेष्ठ र
बुझ्ने छौ त्यसपछि 
चैते गुराँसको रंगभन्दा निख्खर
मान्छेका संकल्पको मोल

मलाई सय प्रतिशत छ विश्वास
राख्ने छौ तिमीले मेरो दूधको लाज
राख्ने छौ पूर्वजहरूका प्रणको मान 

प्रकाशित: २९ जेष्ठ २०७५ ११:११ मंगलबार

कविता बुझ्दिनन् छोरी ...तर नागरिक परिवार