अन्य

पियानोका गुरुबा

पियानोवादक उपेन्द्रलाल सिंह।

पियानोवादक उपेन्द्रलाल सिंहले भर्खरै संगीतका विद्यार्थीलाई एउटा सुन्दर उपहार पस्केका छन्– ‘नोटेसन बुक’ । त्यसमा नेपाली र नेवारी भाषाका २० गीत राखिएको छ । त्यही नोटेसनका आधारमा अब पारखीहरू संगीतमा डुबुल्की मार्न सक्छन्।

विशेषतः विद्यार्थीहरूलाई लक्ष्य गरेर पुस्तक प्रकाशन गरिएको हो। त्यसो त संगीतमा रुझान भएका सबैलाई यसले गाइड बुकको काम गर्ने नै छ। सिंहले यसमा लोकप्रिय सदाबहार गीतहरूको नोटेसन राखेका छन्।

पियानोवादक उपेन्द्रलाल सिंह स्वदेशदेखि विदेसम्म प्रख्यात छन्। उनको ‘उपेन्द्र एण्ड फ्रेण्ड्स’ ब्यान्डले हरेक वर्ष जापानको ‘फुजी रक फेस्टिभल’मा नेपाली धुनले मोहित तुल्याउँदै आएको छ।

पुस्तकमा ‘असारै महिनामा’, ‘बितेका कुराले’, ‘चियावारीमा’, ‘गहिरो गहिरो सागर जस्तै’, ‘गाँजलुले आँखै छोप्ने’, ‘जागें सारा रात’, ‘जति माया लाए पनि’, ‘केही मिठो बात गर’, ‘किन यसरी’, ‘म मरे पनि’, ‘म मौनतामा’, ‘मलाई माफ गर देऊ’, ‘पहिलो जुनीमा’, ‘परेलीमा’, ‘राजमति’, ‘रेशम फिरीरी’, ‘सोल्टिनी भनी बोलाको’, ‘सोलिसे स्वये मगा’, ‘तारा मात्र’ र ‘तिम्रो त्यो हँसिलो मुहारको’ बोलका गीतको नोटेसन छ।

उनले नोटेसन बुकसँगै म्युजिक एल्बम ‘नोस्टाल्जिया–२’ समेत संगीतप्रेमीलाई अर्पण गरेका छन् । यसमा १० गीतको धुन समावेश छ । यसअघि सन् २०१० मा उनले सार्वजनिक गरेको ‘नोस्टाल्जिया–१’ एल्बममा पनि १० वटै गीतका धुन थियो।

तिनै एल्बममा समाबेश गीतहरू राखेर ‘नोटेसन बुक’ प्रकाशन गरिएको हो । दुवै एल्बममा पियानोसँगै अन्य बाजाको धुन प्रयोग गरिएको छ । पहिलो एल्बममा पाश्चात्य फ्लेबर हावी भयो भन्ने टिप्पणी सुन्नुपर्याे उनले । ‘त्यसैले नोस्टाल्जिया–२ मा नेपालीपन दिन धेरै प्रयास गरेको छु,’ उनी प्रस्ट्याउँछन्, ‘यसमा गायक शिव मुखियाको पनि ठूलो देन छ।’

राजधानीमा द हिडन टे«ेजरले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनको एल्बम र नोटेसन बुक विमोचन गरियो । पुस्तक हिमालयन म्याप हाउसले प्रकाशन गरेको हो भने एल्बमचाहिँ स्याक कम्पनीले।

हिडन टे«ेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले सन् २०१८ मा मुलुकभित्र र बाहिर सिंहको सांगीतिक कार्यक्रम गरिने जानकारी दिए । उनका अनुसार ‘म्युजिक फर एजुकेसन’ नाराका साथ बिर्तामोड, धरान, विराटनगर, हेटौंडा, नारायणगढ, बुटवल, नेपालगन्ज, धनगढी, सुर्खेत, पाल्पा, पोखरासँगै भारतको दार्जिलिङ, ग्यान्टोक, सिलुगढी र सिक्किममा सांगीतिक यात्रा गरिनेछ।

नेपाली संगीत उद्योगमा उपेन्द्रलाल स्थापित नाम हो । उनी दुई दशकभन्दा बढी समयदेखि पियानोवादनमा समर्पित छन् । खासमा पियानो नेपाली बाजा होइन, युरोपियन हो । तर, संगीतलाई अन्तर्राष्ट्रिय भाषा मानिन्छ, यसको सीमा हुँदैन।

पियानोको धुनमा नेपाली गीतलाई ढाल्न सक्नु सिंहको खुबी हो । उनले थाइल्यान्डबाट पियानो बजाउन सिकेका हुन् । स्कुले जीवनदेखि नै संगीतमा रुचि भएका सिंह एसएलसी सकेपछि गितार बजाउन थालेका थिए । त्यो बेला उनको एउटा ब्यान्ड थियो– ‘ब्लाइन्ड फेथ’।

‘त्योबेला म जति बजाउन जान्ने कोही छैन जस्तो लाग्थ्यो,’ पुराना दिन सम्झँदै उनी हाँस्छन्, ‘जब थाइल्यान्डमा पढाइ सुरु भयो, तब बुझें कि मैले त केही पनि जानेकै रहेनछु।’

आखिर संगीत त महासागरै हो जति हेलियो उति गहिराइमा पुगिन्छ।

उनले त्यहाँको सुपाज्ञान स्कुल अफ म्युजिकमा आठ वर्षसम्म पियानो अध्ययन गरे । र, सन् १९९६ मा स्वदेश फर्के । उता पढ्दैखेरी मनमा नेपाल फर्केर संगीत तालिम केन्द्र खोल्ने हुट्हुटी जागिसकेको थियो।

उनी थाइल्यान्ड जाने बेला नेपालमा कुनै व्यावसायिक संगीत प्रशिक्षण केन्द्र थिएनन् । जन्मथलो (ब्रह्मटोल, काठमाडौं) फर्केपछि उनले पियानो सिकाउन सुरु गरे । डेढ सयभन्दा बढीलाई उनले पियानोमा पारंगत बनाइसके । अहिले न्युरोडमा छ उनको केन्द्र– ‘एट नोट म्युजिक ।’ त्यहाँ उनले तीन दर्जनलाई प्रशिक्षण दिइरहेका छन् । उनी घरघरमा गएर पनि सिकाउँछन्।

उनको एउटा आफ्नै ब्यान्ड छ– ‘उपेन्द्र एन्ड फ्रेन्ड्स’, जसले नेपाली लोकगीतलाई पाश्चात्य संगीतसँग फ्युजन गराएर नयाँ स्वाद पस्कँदै आएको छ । उसको आफ्नै मौलिक धुन पनि छ, जसले तीन एल्बम निकालेको छ– मुच्र्छना, म्युजिकल पिलग्रिम्स र रिदमिक डिलाइट्स।’

उनको ब्यान्ड काठमाडौंको नेटो काटेर विदेशसम्म फैलिएको छ । जापानमा बर्सेनी आयोजना हुने ‘फुजी रक फेस्टिभल’मा सन् २००७ देखि यसले सहभागिता जनाउँदै आएको छ । उनीहरू फेस्टिभलका सहभागीलाई नेपाली धुनले मोहित तुल्याउँछन्।

यतिमा मात्र सीमित छैनन् उपेन्द्रलाल, उनी कहिले काठमाडौंका कन्सर्टमा त कहिले रेस्टुराँमा पियानो बजाइरहेका भेटिन्छन् । संगीतमा लठ्ठ छन् उनी । पियानोको नशामा झुम्म छन्।

उनको सपना, जपना सबै संगीत हो । संगीतबाहेक केही सोच्न सक्दैनन् उनी । ‘धेरैभन्दा धेरै विद्यार्थी उत्पादन गर्न चाहन्छु,’ ५२ वर्षीय उपेन्द्रलाल भन्छन्, ‘एल्बम पनि निरन्तर निकालिराख्नेछु।’

प्रकाशित: २६ जेष्ठ २०७५ ०५:०३ शनिबार

पियानोका गुरुबा