अन्य

खत

‘सकेसम्म लोग्ने मान्छेहरू नै खोज्नू । यसपालि पुरुष मात्रको पालो । आइमाई बोकेर हिँड्न साह्रै कठिन हुन्छ,’ चुच्चे टोपी र कालो अनुहारसहितका तिनीहरूमध्ये एक बोल्दै थियो ।

योगीको प्रवचनलाई भक्तले सुनेझैँ मैले उसैलाई सुन्दै थिएँ । मसँगै रामेले पनि सुन्दै थियो । मानौँ, ऊ र उसका साथीहरू हामीलाई ठूलै कष्टबाट उद्धार गर्न आएका भगवान्का रूप हुन् ।‘हामीलाई कुनै शंका नगरे हुन्छ, चेलिबेटी लानेहरू पनि प्रशस्तै छन् । तिनमा र हामीमा फरक छ । बेरोजगारलाई रोजगारी खोज्दिनु हाम्रो काम हो ।’

लौरी देखेर चोरले खुट्टा उठाएझैँ उसले शंकाको कुरा गरेको न मैले बुझेँ, न त रामेले । उनीहरूमा त हाम्रो भरोसा थियो । बेराजगारीले हैरान भएका हामीहरू उनीहरूका नजरमा थियौँ । मैले उनीहरूमा आफ्नै स्वार्थ मात्र देखेँ । तिनीहरूको स्वार्थको ख्यालै गरिनँ ।

मैले त तिनीहरूले भनेझैँ विदेशमा काम गरम्ला, पैसा कमाम्ला, घर जग्गा जोडम्ला, बच्चालाई राम्ररी पढाम्ला– यति मात्रै सोचेको थिएँ । तिनीहरूले हामीप्रति बांगो सोचेका होलान् भनेर सोच्दै सोचिनँ ।छेउमै बसेका तिनीहरूमध्येको अर्कोले डायरीमा टिप्पणी उठाएझैँ गथ्र्यो । त्यसरी टिप्पणी त हाम्रो गाउँमा गाईवस्तु, जग्गा किनबेच गर्दा उठाइन्थ्यो । ठूलै विषय भाको जसरी त्यहाँ बैठक चल्यो । टेबलमा चार कप चिया आइसकेको थियो । सबैले एक–एक कप चिया लियौँ।

चियाको सुर्को लिँदै तेर्सो बोल्यो, ‘दिल्ली बेग्लै ठाउँ छ । पोहोर पनि हामीले धेरैलाई लगेर काम लगाइदिएका हौँ । गाउँमा हल्लिएर कहिले उँभो लाग्ने ? जुवातास खेल्ने, मेला पर्वमा भुल्ने मात्रैले कहाँ हुन्छ ! पोहोर हामीले पल्लो गाविस छानेका थियौँ । यसपालि यहाँ आएका छौँ ।’उसका कुरा सुनेर गुलियो चियाको स्वाद झनैै गुलियो महसुस गर्दै थिएँ म । गुलियो चियाझैँ तिनका गुलिया कुरा सुनिरहुँ भइराख्यो ।‘तपाईंहरू दुई यो कामका लागि मुख्य हुनुहुन्छ । गाउँमा अब बढीमा पाँचजना खोजे हुन्छ । एकपटकमा सातजना भन्दा बढीलाई काम खोज्न पनि सकिन्न । बोलेर मात्र नहुने ।’ सिलसिलाबद्ध तीनका मीठा वाणी मैले र रामेले सुन्यौँ ।

कोसीपारि छिर्ने ठाउँमा तिनीहरूसँग हाम्रो भेला चल्दै थियो । हाम्रा सपनालाई साकार पार्न उनीहरूले गुलियो रससहितको योजना सुनाए । उनीहरूका पनि सपना होलान् भनेर मैले फेरि पनि सोचिनँ । होटल अगाडिको सडकमा बेलाबेला आएर रोकिने, हिँड्ने मझ्यौला जिपले धुलो उठाउने अनि दौडने गर्थे ।

यस्तै अस्पतालमा म कुरुवा थिएँ । श्रीमतीको डायलाइसिस गराइँदै थियो । यस्तैमा डाक्टरले भने, ‘सक्नु्हुन्छ भने मिर्गौला नै फेरौँ तपाईंकी श्रीमतीको । औषधिभन्दा राम्रो हुन्छ । तर तपाईंले दिनुपर्ला । सल्लाह गर्नुस् ।’ म झसंग भएँ ।

उत्तरतिर होटलको मुन्तिर कोसी नदी सुसाएर आफ्नै गन्तव्य नाप्दै थियो ।‘पहिलो, यो भेट निकै उत्साहपूर्ण भयो,’ चुच्चे टोपीसित बोल्यो ।हाम्रो सहभागितालाई देखेर तिनले उपलब्धिमूलक ठाने सायद । मैले र रामेले पनि त्यही ठान्यौ । अब छिटै केही हुने भयो भन्ने आशा पलायो मनमा । निकै भलाकुसारीपछि हामीहरू आ–आफ्नो घरतिर लाग्यौँ । तिनीहरू राजधानीतिर लागे ।गाउँ फर्किंदै गर्दा रामेसँग मैले योजनाको भवन बनाएँ । आफ्ना विरादरीका जवान युवक पाँचजनाको सूची तयार गर्यो ।

वैकल्पिक पनि सोच्यौँ, आज साँझ नै भेटेर छलफल चलाउने निधो ग¥यौँ । हुन त रोजगार मान्छे खोज्न पो गाह्रो छ । बेरोजगार खोज्न अहिले के गाह्रो ! जताततै बेरोजगारी मात्रै छ गाउँ ठाउँमा । यस्तै सोच्दासोच्दै गाउँ पुगियो ।साँझ यत्रतत्र छाइसकेको थियो । पहाडको खोचमा रहेको हाम्रो गाउँ अँध्यारै भयो । चारैतिर अँध्यारो समथर देखियो । न पहाड, न त पाखा–पखेरा देखिए । मात्र घरको टिनको छानो टल्कियो । घर–घरकै ठाउँमा थियो । मलाई रहरले डोराइरह्यो ।
मैले घरका समस्या झन् देखेँ । बेला–बेला थला पारिरहने श्रीमतीको रोग झन् सम्झे । गएको हप्ता मात्र औषधि गरेर फर्केर पनि खुट्टा मुहार तथा पूरा जिउ सुनिरहने श्रीमतीको समस्या ठूलो भयो ।

छोरालाई राम्रो स्कुल पठाउन नसकेकामा ग्लानि गरेँ । छोरीमा पनि त्यस्तै भयो । पहिरोले अघिल्लो वर्ष, मुरी फलाउने बारी नै बगायो । कैले खडेरी परेर सकस छ, कैले पानी बढी परेर सकस । जसरी पनि गरिब किसानलाई सास्ती छ । म झन् निराश भएँ । हुन त गाउँभरि निराशा । पाखा–पखेरामा निराशा छ । जताजतै गुनासो छ ।

गरिखानलाई पनि ठाउँ भएन । मात्र जीवन धान्न पनि गाह्रो यहाँ । सुख–सुविधा त परका विषय भए । यस्तै सोच्दै घर पुगेको थिएँ ।बिस्तारामा छोराछोरी निदाएका छन् । टिलपिल मट्टीतेलको दियो कुनामा बल्दै छ । श्रीमती भान्सामा छे । एकैछिनमा खाना खाइवरी बिस्तारामा पुगेँ । दलिनका काठहरूको कालो झन् देखिए । ती मान्छेहरूको कुरा झन् सम्झिएँ ।‘काममा जानै प¥यो । घरमा बूढीलाई छोराछोरीले पनि सघाउँछन् ।

यस्तो पैसा जोर्न पाए, भविष्य सजिलो होला,’ यस्तै सोचेँ । श्रीमतीलाई कुरा बताएँ । उसले लामो सास फेरी र बोली, ‘होस पुर्याएर काम गर्नु । जे गरे पनि । जहाँ गए पनि ।’ सपनाको माला बुनेरै म निदाएछु, त्यस रात ।भोलिपल्ट सूचीमा परेका साथीहरूलाई कुरा राखेँ । मनोगत रूपमा सम्पूर्ण युवाको अवस्था मेरोझैँ थियो । बेराजगारी र आर्थिक विपन्नता । सबैले कुरा सुन्नेबित्तिकै कुरा माने । यसबाट झन् म हौसिएँ । ‘पोहोर नै जानुपर्ने रहेछ,’ केही गम खाएँ ।

हतार गरेर अर्को हप्ता आयो । तिनीहरूसँग हाम्रो भेट भयो । स्थान उही थियो कोशीपारि । तिनीहरूमध्ये दुई मात्र आएका थिए । म र रामे त्यहाँ पुगेका थियौँ । हामीलाई उनीहरूले दिल्ली जाने योजना सुनाए । यता गाउँका बाँकी युवाको जिम्मा हामीले लियौँ ।
तेस्रो हप्ता हामी सातजना गाउँबाट दिल्लीका लागि हिँड्यौँ । हामीलाई डोर्याएर झन् अघिअघि हाम्रो सपना हिँड्यो । हिँड्ने बेला गाउँलाई, परिवारलाई आश्वस्त पार्यौँ । तिनीहरू काठमाडौंमा थिए । हामीले तिनीहरूलाई त्यहीँ भेट्यौँ । त्यसपछि सुनौली पुग्यौँ । बोर्डरपारि गाडी लिएर अर्का दुई व्यक्ति आए । कालो वर्णका, अग्ला–अग्ला । हामीलाई भेट्ने पुराना दुई यहीँबाट छुट्टिए । छुटिने बेला कुनो च्यापेर तिनले नयाँ मान्छेसँग खासखुस गरे । नयाँले पुरानालाई केही दिए खामजस्तै ।

निकैबेरपछि चुच्चे टोपीवाला छेउ आयो र भन्यो, ‘दिल्लीमा सबै व्यवस्था भइसकेको छ । दिल्ली पुग्दासम्मको खर्च कटाएर कम्पनीले पहिलो महिनामा हिसाब मिलाउँछ ।’त्यसपछि ऊ फक्र्यो ।एक दिनको गाडीको यात्रापछि दिल्ली पुगियो । यस्तै के चोकको एउटा गल्लीको सामान्य होटलमा एउटै ठूलो कोठामा हामीलाई बसाइयो । हाम्रो आशा पनि हामीसँगै बस्यो । हामीलाई पनि एउटा झिनो आशाले अप्ठेरोमा पनि सहजताका साथ निदाउन हाल्यो । भोलि बिहानै ती दुई व्यक्ति आए । हामी सबैजनालाई प्रवचन सुनाएझैँ बोल्न थाले ।

बोल्दाबोल्दै तिनीहरूले अािर्थक प्रलोभनसहित भने आज मेडिकल जाँच हुन्छ । भोलिदेखि काम ।गर्मीको महिना । चिसोमा बसेका हामी अन्डा उम्लिने गर्मीमा सपना देखेर आएका छौँ । हुन त यहाँ पनि गरिखाने मान्छेलाई गाह्रै रहेछ । मान्छेको भीड अत्यधिक छ । मकै पोलेर जीवन निर्वाह गर्ने पनि रहेछन् । रिक्सा तानेर, मजदुरी गर्नेहरू त झनै धेरै ।होटलबाट नजिकै सानो गल्ली हुँदै डो¥याइएर हामी मेडिकल सेन्टर पुग्यौँ ।

त्यहाँ हामी मात्र थियौँ । सुनसान थियो । एक–दुई कर्मचारीजस्ता परिचारिकाहरू । काउन्सेलिङ रूपमा हामीलाई लगियो । त्यहाँ एउटा जुँगासितको सेतो गाउन लाएको मान्छे कुर्चीमा थियो । हामी पस्नेबित्तिकै विनम्रताका साथ बस्न भन्यो । र, आफ्नो कुरा राख्यो ।कुरा गर्दै जाँदा त्यसले कामबारे केही बोलेन । मात्र यति भन्यो, ‘तपाईंहरूलाई पैसा मिल्छ । जस्तो तपाईंको सम्झौता भएको छ त्यहीअनुरूप ।’हामीले सम्झौता बुझेनौँ । हुन त गाउँमा अघिल्ला मान्छेले एउटा कागतमा हामीलाई सही गराएका थिए । त्यो कागत सादा थियो । मात्र हाम्रो नाम र औँठाछाप लाउने ठाउँ लेखिएको थियो । ‘कामको कन्फर्मेसन हो भनिएको थियो ।’

त्यसैलाई आधार बनाएर यहाँ अर्का कागतपत्र बनेको रहेछ । जुँगेले त्यो पनि हामीलाई देखायो र भन्यो, ‘यो हामीसँग कानुनी कागतपत्र छ । तिम्रो र हाम्रो सम्झौताको ।’मैले अझै कुरा बुझिरहेको थिइनँ ।त्यत्तिकैमा रामे बोल्यो, ‘जसरी उसले सबै कुरा बुझेको छ । रामेको कुरा सुनेपछि त्यस्तो लाग्यो । रामे पनि तिनीहरूकै मान्छे हो । ऊ पनि तिनीहरूकै सगोलको हो । उसको पनि मिलेमतो छ । बाँकी हामीलाई यहाँ पु¥याउने र अर्कै स्वार्थमा प्रयोग गर्ने । अलिकति शंका बीचबीचमा उठेकै हो ।

तर, आफ्नै साथी माथि शंका उठेर पनि बसेको थियो । हाम्रो असन्तुष्टिका बाबजुद पनि मेडिकल जाँच गर्ने भन्दै हाम्रो रगत जाँच गरे । रगत तान्ने बेला हामीलाई केही इन्जेक्सन लगाइदिएछन्, त्यहाँसम्म सबै होस थियो । त्यसपछि होस बन्द भयो ।अर्को दिन साँझ होस खुल्दा म त्यही अस्पतालको शड्ढयामा थिएँ । मलाई सलाइन पानी दिइएको थियो । पिसाब नलीमा नली लगाइको थियो । दुवै कोखामा एउटा पाइप, जहाँबाट अलिकति रगत मिसिएको पानी झर्दै थियो । निकै दुखाइ भएपछि म कराएँ, दुख्यो ।तुरुन्त सिस्टर आई र हातमा इन्जेक्सन दिई । म फेरि निदाएँ।

तेस्रो दिन, चौथो दिन हुँदै पाँचौँ दिन भयो । बिस्तारै शरीरमा जडिएका नली निस्किए मेरा शरीरबाट । त्यतिबेलासम्म सँगै आएका साथीहरू कहाँ छन् भन्ने केही पत्तो थिएन । सोध्दा कसैले केही भन्दैनथे । त्यतिबेला मात्रै बुझेँ, हामीलाई मिर्गौलाका लागि यहाँ ल्याइपुर्याइएको रहेछ । ती मान्छेका अनुहार सम्झिन खोजेँ, तर तिनको मुहार धमिलिएर आयो । रामेलाई झनै सम्झेँ । रिस बढी नै उठेछ क्यारे । निकै दुख्यो देब्रे कम्मर । ऐड्ढया भन्दै कराएँ । सिस्टर आएर फेरि सुई दिई । दुखाई कम भएर गयो । रिस गुम्सिएर रह्यो।

जीवनमै नसोचेको, नजानेको दुर्घटनामा म परेको थिएँ । अपरेसनबाट तंग्रिएपछि यहाँसम्म ल्याइपु¥याउने ती व्यक्तिलाई निकै खोजेँ । तर कोही देखापरेनन् । अस्पतालमा गुनासो गर्दा मेरै सहीछाप भएको कागतपत्र देखाए । म त्यसपछि खम्बा भएँ । १५ दिनसम्म आरामका लागि भन्दै अस्पतालले आफ्नै कोठामा राख्यो । डिस्चार्ज गर्ने दिन फेरि त्यही काउन्सेलिङ रुममा मलाई लगियो र खाममा हालेर केही पैसा दिइयो । दिने व्यक्ति अर्कै थियो । मात्र यति भन्यो । राम्ररी काम गर्नु । एउटा मिर्गौला भए पनि काम चल्छ । यसमा पूरा ५० हजार छ । म यता न उता भएँ । मुढो भएँ । ऊ उठेर हिँड्यो।

सपना, आशा जम्मै सेलाएर, एउटा मिर्गौला दान गुमाई, दिल्लीबाट म पूरा घरबाट हिँडेको महिना दिनमा घर फर्किएँ । ती मान्छे सपनामा झैँ आए, फसाएर कतै बिलाइगए । तिनीहरू भेटिने मेरो आशा पनि घाइते हुँदै गयो । घरमा आउँदा घर मलिन–मलिन भयो । सबै कुरा सुनेपछि घरमा रुवाबासी चल्यो । मसँगै गएकाहरूको कुनै अत्तोपत्तो थिएन । गाउँ फर्कने म नै पहिलो रहेछु । जे भए पनि जिन्दगी त्याग्न नसकिने रहेछ । जिउनु रहेछ, जे परे पनि यस्तै ठानेँ । देब्रे कोखामा लागेको घाउ त बिस्तारै निको भएर आयो । गाउँमै केही गर्नुको विकल्प मलाई अरु भएन ।सजिलो भए पनि, अप्ठेरो भए पनि यात्रीको बाटो कटेझैँ गरी मेरा ती अप्ठेरा दिनहरू बितेर गए । निराशाका बाबजुद गाउँमै मन भुलाइरहेको थिए।

श्रीमतीको बिमारी एक्कासि बल्झियो । मैले कमाएर ल्याएको अर्थात् मिर्गौलाँसँग साटेर ल्याएको ५० हजार भारतीय रुपैयाँ उपचारमा सकियो । भएको बारी समेत बेचेर भए पनि उपचार गर्ने आँट गरेँ श्रीमतीको । लामो चेकजाँचपछि श्रीमतीको दुवै मिर्गौला बिग्रिएको जानकारी पाएँ । त्यतिबेला टाउकोमा ढुंगा खसेझैँ भयो । निरन्तर डायलायसिस गर्नुपर्ने भयो । निकै खर्चिलो थियो, डायलायसिस । हातखुट्टा, मुहारसँगै पूरा जिउ फुलेर बेलुनझैँ भएकी श्रीमतीको दुःख हेर्न सकिनँ । श्वास फेर्न पनि घरीघरी गाह्रो हुन्थ्यो उसलाई । खाना पनि राम्ररी खान नसक्ने, खाएमा खानेबित्तिकै बान्ता हुन्थ्यो । एकपछि अर्को दुःख थपिए पनि सहनै पर्ने रहेछ, सहदै थिएँ।

यस्तै अस्पतालमा म कुरुवा थिएँ । श्रीमतीको डायलाइसिस गराइँदै थियो । यस्तैमा डाक्टरले भने, ‘सक्नु्हुन्छ भने मिर्गौला नै फेरौँ तपाईंकी श्रीमतीको । औषधिभन्दा राम्रो हुन्छ । तर तपाईंले दिनुपर्ला । सल्लाह गर्नुस् ।’ म झसंग भएँ । डाक्टरले मेरो एउटा मात्र मिर्गौला भएको कुरा अनुमान गर्ने कुरा पनि भएन । सोध्दा पनि सोधनेन्, मैले बताउन पनि सकिनँ । डाक्टर त्यति भनेर गइसकेका थिए । म कतै हेरेर टोलाइरहेँ । त्यति नै बेला देब्रे कोखामा मिर्गौला निकालेको खत बेसरी मलाई चिलायो । मेरो होस कतै हरायो । म ढुंगा भएर उभिइरहेँ । श्रीमती मृत्युसँग संघर्षरत थिई।

प्रकाशित: २६ जेष्ठ २०७५ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App