अन्य

गणतन्त्र र स्रष्टा

नेपाली स्रष्टाले परिवर्तनका निम्ति चलेका आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। उनीहरूको योगदानलाई पन्छाएर यस प्रकारका आन्दोलनको चर्चा गर्न सकिन्न । राणाविरोधी आन्दोलनमा उनीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। आन्दोलनको पृष्ठभूमिको निर्माणमै उनीहरूले महत्वपूर्ण भूमिका खेलेका थिए। सिर्जना र संस्थागत दुवै रूपमा यस्तो भूमिका निर्वाह गरिएको पाइन्छ । सिर्जनामा पाइने परिवर्तनमुखी चेतनाले नेपाली समाजमा जागरण ल्याउन र उसलाई परिवर्तनका निम्ति सक्रिय बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको थियो। राणाशासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति स्रष्टाले अकथनीय शारीरिक एवं मानसिक यन्त्रणा खप्नुपरेको थियो। राणाशासनविरुद्ध सङ्घर्ष गरेकै कारण कैयौँ स्रष्टा देश छाड्न बाध्य भएका थिए, कतिलाई सर्वस्वसहित जेल हालिएको थियो। अन्ततः स्रष्टाहरू समेतको त्याग र बलिदानका कारण सात सालमा लोकतन्त्रको स्थापना भएको थियो।

सात सालमा प्राप्त लोकतन्त्रको ०१७ सालमा घाँटी निमोठियो। पञ्चायती शासन व्यवस्थाको आरम्भ भयो। पार्टीहरूमाथि प्रतिबन्ध लगाइयो । मौलिक अधिकार खोसिए । हजारौँ वामपन्थी एवं लोकतान्त्रिक नेता, कार्यकर्तालाई पक्राउ गरियो । कैयौँ मुलुक छाड्न बाध्य भए । दमनको सिकार हुनबाट स्रष्टाहरू पनि बचेनन् । प्रतिगमन र दमनको प्रतिवाद राजनीतिक पार्टीहरूले मात्र गरेनन्, स्रष्टाहरूले पनि गरे । पञ्चायतविरोधी संघर्षमा स्रष्टाहरूको सक्रियता बढ्दै गयो। सिर्जनात्मक र संस्थागत दुवै ढंगले स्रष्टाहरू सक्रिय भए। पार्टीहरू प्रतिबन्धित भएको यस कालखण्डमा साहित्यिक संस्थाका माध्यमबाट स्रष्टाले अधिनायकवादको विरोध र परिवर्तनका निम्ति खेलेको भूमिका ऐतिहासिक रहेको छ । कतिपय अवस्थामा यस्ता संस्था राजनीतिक पार्टीका विचार प्रवाह गर्ने वैधानिक मञ्चजस्ता पनि देखिन्थे।

स्रष्टाले साहित्यकला लगायत सम्पूर्ण वाङ्मयको समुचित विकासका निम्ति राज्यलाई गम्भीर र सचेत बनाउन भूमिका खेल्नैपर्छ, तर स्रष्टाहरूको ध्यान मुलुकको समग्र पक्षहरूतर्फ पनि जानुपर्छ। गणतन्त्रसँग स्रष्टाहरूको गहिरो सम्बन्ध छ। गणतन्त्रलाई सार्थक बनाउन प्रभावकारी भूमिका सम्पादन गर्नु स्रष्टाको पनि दायित्व हो।

यस अँध्यारो कालखण्डमा परिवर्तनका निम्ति संघर्ष गर्दा स्रष्टाहरूले सत्ताबाट खप्न परेको दमन कहालीलाग्दो छ। उनीहरूले जेल र निर्वासनको यातना मात्र खपेनन्, जीवनको आहुति समेत दिए। ०३६ को सङ्घर्षमा उनीहरूले सक्रिय भूमिका निर्वाह गरे। ०४६ को ऐतिहासिक जनआन्दोलनमा पनि उनीहरूले अग्रभागमै बसेर भूमिका सम्पादन गरे। उनीहरूले सञ्चालन गरेको सडक आन्दोलनले परिवर्तनका निम्ति ऐतिहासिक योगदान दियो।

०५२ सालदेखि मुलुकमा जनयुद्ध आरम्भ भयो । नयाँ जनवादी क्रान्ति यसको अभीष्ट थियो । जनयुद्धको आधारको निर्माण, यसको विकास र विस्तारमा एकथरी स्रष्टाको महŒवपूर्ण भूमिका छ । यस युद्धमा दर्जनौँ स्रष्टा मारिए, सयाैँ घाइते भए । यस युद्धले नेपाली समाजमा परिवर्तनकारी चेतनाको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह ग-यो । यसका आलोच्य पक्ष भए पनि गणतन्त्रको स्थापनामा यसले पु-याएको योगदानलाई न्यून गर्न मिल्दैन । ०६२/६३ को ऐतिहासिक जनआन्दोलन र यसको सफलता माओवादीहरूको भूमिकाविना सम्भव थिएन। यस आन्दोलनमा पनि स्रष्टाहरूको अविस्मरणीय भूमिका रहेको छ । स्रष्टाहरूले विभिन्न मञ्चको निर्माण गरेर आन्दोलनलाई अघि बढाउन सघाए। आन्दोलनलाई गणतन्त्रको बिन्दुसम्म पु-याउन स्रष्टाले उल्लेखनीय भूमिका सम्पादन गरे। राजनीतिक आन्दोलनहरू प्रायः सम्झौतामा टुंगिन्छन् । ०६२/६३ को आन्दोलन पनि गणतन्त्रको स्थापनासम्म नपुगेरै टुंगिन्छ कि भन्ने त्रास थियो। यस सन्दर्भमा स्रष्टाले गरेको खबरदारी प्रंशसनीय छ । आखिर आन्दोलन गणतन्त्र स्थापनाको बिन्दुमा पुगेर टुंगियो । यो नेपाली इतिहासको युगान्तकारी परिघटना थियो । यस युगान्तकारी परिघटनाका एक बलिया आधार स्रष्टाहरू पनि थिए।

गणतन्त्र स्थापना भएको दश वर्ष भएको छ। अनेकौँ अप्ठेरा र आशंकाका बीचबाट संविधानको निर्माण भएको छ । संविधानमार्फत आन्दोलनका उपलब्धिलाई संस्थागत गरिएको छ। संविधान कार्यान्वयनको दिशामा मुलुक अघि बढेको छ। एक नागरिक र आन्दोलनमा सहयोग पु-याएको व्यक्तिका रूपमा स्रष्टाहरूले परिवर्तनको प्रक्रियाप्रति चासो राख्नु र टिप्पणी गर्नु स्वाभाविक छ । इतिहासका तुलनामा आज यो चासो अझ बढेको छ । स्रष्टाहरू परिवर्तनको मर्मअनुरूप राज्य अगाडि बढोेस् भन्ने चाहन्छन्। उनीहरूको चाहना समानता, सामाजिक न्यायको प्राप्ति, सम्पूर्ण विभेद र उत्पीडनको अन्त्य एवं एक समृद्ध समाजको निर्माण रहेको पाइन्छ।

परिवर्तनको मर्मअनुसार अगाडि बढ्ने कुरामा इतिहासदेखि नै राज्यमा गम्भीर समस्या रहेको पाइन्छ। ००७ र ०४६ पछिका अनुभवलाई यसका दृष्टान्तका रूपमा अघि सार्न सकिन्छ। गणतन्त्र स्थापनापछिका अनुभवहरू पनि त्यति सुखद् छैनन् । शब्द र कर्मबीचको विरोधाभास नेपाली राजनीतिको एक कटु यथार्थ हो। स्रष्टाहरूले यस स्थितिप्रति निरन्तर आलोचनात्मक दृष्टि राख्दै आएका छन् । गणतन्त्रको स्थापनापछि नेपाली राजनीतिमा देखिएका गलत प्रवृत्तिको उनीहरूले कटु आलोचना गरेको  पाइन्छ। खासगरी, नैतिक मूल्यमा आएको स्खलनप्रति उनीहरू असाध्यै गम्भीर र संवेदनशील पाइन्छन्। कतै सपनाको हत्या हुने त होइन भन्नेसम्मको भय उनीहरूमा पाइन्छ । यो भयको निर्माण शून्यमा भएको छैन । अनेकौँ विरोधाभासका बीचबाट हिँडिरहेको नेपाली राजनीति र अझै भनेजस्तो गरी फेरिन नसकेको राज्यको चरित्र यस भयको मूल कारकका रूपमा रहेका छन् । आज राज्य एक नयाँ संकल्पसहित अघि बढ्न चाहेको देखिन्छ, तर यसको व्यवहारमा परीक्षण हुन बाँकी नै छ।

स्रष्टाहरूले परिवर्तनपछि राज्यले स्रष्टा र साहित्यलाई समुचित महत्व प्रदान गर्न नसकेको टिप्पणी गर्दै आएका छन्। ठुल्ठूला परिवर्तनपछि सबै मुलुकले साहित्य लगायत कलाका विविध रूपलाई बढी महत्व दिन्छन् र स्रष्टाहरूको भूमिकालाई अझ सिर्जनात्मक र सबल बनाउन रचनात्मक भूमिका सम्पादन गर्छन्। नेपालमा यो कम भएको पाइन्छ । ००७ सालदेखि नै यस्तो हुँदै आएको छ । आज पनि यो कटु यथार्थमा खासै परिवर्तन आएको छैन । राज्यले साहित्य, कला, संगीतका क्षेत्रमा गरेको लगानीबाटै यो कुरा स्पष्ट हुन्छ । यी अनुत्पादक क्षेत्र हुन् भन्ने धारणा अहिले पनि राज्यमा पाइन्छ । स्रष्टा एवं समग्र वाङ्मयकै महŒव बोध गर्ने कुरामा राज्यमा समस्या छन् । तीनवटा प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक प्रतिष्ठानहरूलाई गाभेर एउटै बनाउने सरकारको निर्णयले स्रष्टाहरूले गर्ने टिप्पणीलाई अझ बल प्रदान गरेको छ।

साहित्यले मनुष्यको ‘आत्मिक इन्जिनियरिङ’ मा महत्वपूर्ण योगदान दिन्छ । साहित्यले मात्र होइन, कलाका सबै रूपले यो भूमिका निर्वाह गर्छन्। राजनीतिले जस्तो साहित्यले परिवर्तनका निम्ति सिधै भूमिका खेल्दैन, तर यसले मनुष्यलाई भित्रबाट बदल्दै परिवर्तनको प्रक्रियामा सहयोगी बनाउँछ । साहित्यले मूलतः मनुष्यमा उच्च मूल्यहरूको निर्माण र संवेदना जगत्को परिष्कार एवं समृद्धिमा योगदान दिन्छ। साहित्यलाई महत्व दिनु भनेको समाजको रूपान्तरणलाई महत्व दिनु भनेको हो। आज नेपाली समाज जहाँ छ, यसलाई यसबाट माथि उठाउन साहित्य कलालाई समुचित महत्व प्रदान गर्न जरुरी छ। साहित्यलाई समुचित महत्व प्रदान गर्न नसके नेपाली समाजको रूपान्तरण र विकासको प्रक्रिया नै प्रभावित हुनेछ।

समाजको समृद्धिको तात्पर्य भौतिक मात्र होइन, आत्मिक पनि हो। आत्मिक समृद्धिको यात्रा भौतिक समृद्धिसँगसँगै हुनुपर्छ । आत्मिक समृद्धिविनाको भौतिक समृद्धिको खास अर्थ रहँदैन । स्रष्टाले साहित्यलाई समुचित महत्व प्रदान गर्नुपर्छ भन्नुको पछाडि यही वास्तकविकताले काम गरेको छ। साहित्यले मनुष्यको आत्मिक समृद्धिमा विशेष योगदान दिन्छ र दिँदै आएको छ । साहित्यलगायत कलाका विविध रूपलाई प्रदान गरिएको महत्वबाट एउटा राज्यले समाजको आत्मिक रूपान्तरण र समृद्धिलाई कति महत्व दिएको छ भन्ने थाहा हुन्छ । हाम्रो सन्दर्भमा यसको तस्बिर सन्तोषजनक छैन। गणतान्त्रिक मुलुकमा गणतन्त्रका निम्ति लडेका स्रष्टाहरूले स्रष्टा र सिर्जनाको समुचित सम्मान हुनुप-यो, साहित्य कलाको विकासलाई महत्व प्रदान गर्नुप-यो र नेपाली समाजको ‘आत्मिक इन्जिनियरिङ’को प्रक्रियालाई अघि बढाउनुप-यो भन्नु एकदमै जायज छ।

गणतन्त्र दिवसका सन्दर्भमा स्रष्टाहरूले राज्यको साहित्य कलाप्रतिको भूमिकाबारे टिप्पणी गरिरहँदा चुनौतीहरूतर्फ पनि ध्यान दिन आवश्यक छ । संविधानलाई कार्यान्वयन गर्दै परिवर्तनको दिशामा अघि बढ्न अनेक चुनौती छन् । चुनौतीहरू भित्र–बाहिर दुवैतिरबाट छन् । सामन्तवादको पूर्ण अन्त्य अझै भएको छैन। संस्कृतिका क्षेत्रमा यसको उपस्थिति बलियो छ । सामन्तवादको उपस्थिति कम–बेसी अन्य क्षेत्रमा पनि रहेको छ । बाह्य उत्पीडनको अन्त अझै भएको छैन। परिवर्तनलाई उल्ट्याउन चाहने शक्तिहरू अहिले पनि सक्रिय छन् । मुलुक आर्थिक रूपले कमजोर छ, जनताका जनजीविकाका समस्या यथावत छन् । वर्गीय, जातीय र लैंगिक विभेद एवं उत्पीडनको डरलाग्दो चित्र हाम्रा अगाडि छ । राज्य फेरिन सकेको छैन । नोकरशाही भ्रष्ट छ । राजनीति विसंगति र विकृति मुक्त हुन सकेको छैन । संविधान बनेको छ, तर यसको मर्मअनुसार कार्य गर्न बाँकी छ।

गणतन्त्र स्थापनाका निम्ति स्रष्टाले जुन भूमिका निर्वाह गरेका थिए, आज त्यो भूमिका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदिको रक्षा गर्दै नेपाली समाजलाई समग्र परिवर्तन र समृद्धिको दिशातिर लिएर जानका निम्ति हुनुपर्छ। सबै प्रकारका विभेद र उत्पीडनको अन्त एवं एक स्वाधीन र समुन्नत राष्ट्रको निर्माण स्रष्टाहरूको उद्देश्य हुनुपर्छ। यसका निम्ति आलोचनात्मक विवेक आवश्यक छ। यसको अभावमा रचनात्मक भूमिका निर्वाह गर्न सकिन्न। वर्तमान समय आलोचनात्मक विवेकमा ह्रास आएको समय हो। चुनौतीसँग जुध्न र मुलुकलाई नयाँ दिशा दिन आलोचनात्मक विवेक र रचनात्मक दृष्टिविना सम्भव छैन । स्रष्टाले साहित्यकला लगायत सम्पूर्ण वाङ्मयको समुचित विकासका निम्ति राज्यलाई गम्भीर र सचेत बनाउन भूमिका खेल्नैपर्छ, तर स्रष्टाहरूको ध्यान मुलुकको समग्र पक्षहरूतर्फ पनि जानुपर्छ। गणतन्त्रसँग स्रष्टाहरूको गहिरो सम्बन्ध छ । गणतन्त्रलाई सार्थक बनाउन प्रभावकारी भूमिका सम्पादन गर्नु स्रष्टाको पनि दायित्व हो।

प्रकाशित: १९ जेष्ठ २०७५ ०४:३८ शनिबार

गणतन्त्र स्रष्टा