अन्य

नेपथ्यका चित्कारहरू

आँखाहरूका ती सुन्दर फाँटहरूमा
हरेक बिहान ढकमक्क राता गुराँसहरू फूलाउने वाचा गरिए
दिलका पाखाहरूमा ढपक्कै विश्वासका
सुकिला पछ्यौरीहरूले ढाक्ने आशाहरू देखाइए
ठूलो अफसोस त्यो हुन सकेन ।

लापरबाहीले थिचिएका आशाहरू
रद्दीका टोकरीहरूमा खाँद लाग्दै गए
आश्वासनका ठूला खडेरीहरूमा
देखावटीका रोपाइँहरू भए ।

धान फल्नुको त कुरै जावस्
कहिल्यै बिरुवाले जमराहरू पनि हालेनन्
दृष्टिपात हुँदाहुँदै, बीउहरू विलीन भए ।

पवित्र संस्कृति र सभ्यताको हाट–बजारहरू लागे
होलसेलका माइकलहरू सधैँ तँछाडमछाड गरी
मूल्य तोक्ने र किनबेचमै मस्त रहे ।
दूधजस्ता झरनाहरू सधैँ कहालिएर रुन बाध्य भए
पर्वत र शिखरहरू अमुक बनी भित्रै काँपिरहे ।

व्यस्तताको यो आहत
नियमित चल्यो
केही दशक पार गर्यो
एक–एक गरी देशका खम्बाहरू गुमायो
स्वदेशको ऋण परदेश भूमिमा पोख्न बाध्य भए ।

खबर पढेर आज छातीहरू चिरिन्छन्
नयनहरू सावन बनेर कोलाहल गर्छन्
आफ्नो र परिवारको एकछाक पेट भर्ने बाध्यता
अनि सुकिलो गुन्यू र कछाडले शरीर ढाक्ने रहर
परिवारका ओठहरूमा असंख्य हाँसोहरू फर्काउने वाचाहरू
एक–एक गरी मिलाउँदै
गुन्टा बोकेर
देशभक्तहरू त्रिभुवन विमानस्थलबाट उड्न बाध्य भए ।

खाडी देशहरूका ताता रापहरूमा
देशभक्तहरूका गन्तव्य छोटो समयमै रापिन थाल्छन्
दृढता एकादेशका कहानी हुन जान्छन्
प्रयत्नहरू घाइते हुन्छन्
गाढा प्रयणहरू मधुर बन्दै जान्छन्
बाध्यतामा सहनुपर्ने ‘बर्बता’माथि
परेलीहरू केवल सावनको रीतमा
हस्ताक्षर गर्छन्
मनहरू अनिदो रात बनेर नेपथ्यबाट चित्कार्छन् ।

रेमिट्यान्स !  अनि लास !
रेमिट्यान्स ! अनि लास !
उफ् ! अफसोस !
अभाव साधन स्रोतको हुँदै होइन
परिचालन र कार्यान्वयनको त्रुटि हो ।
कमजाेरी सबल नेतृत्वको हो
दोष लालची संस्कारको हो ।

प्रकाशित: १९ जेष्ठ २०७५ ०३:०३ शनिबार

नेपथ्यका चित्कारहरू