अन्य

सम्पदा पुनर्निर्माणमा उदासीनता

भूकम्प गएको तीन वर्ष बितिसक्दा क्षति पुगेका एक हजार ५ सय ९८ सम्पदामध्ये ७९ वटा अर्थात् ४.९४ प्रतिशतको मात्रै पुनर्निर्माण भएको छ ।

पुरातत्व विभागले प्रकाशन गरेको भूकम्पद्वारा प्रभावित स्मारकको प्रारम्भिक प्रतिवेदनबमोजिम २० जिल्लाका एक हजार पाँच सय ९८ सम्पदा भूकम्पबाट प्रभावित भएका थिए । उपत्यकाका एक हजार एक सय चार र उपत्यका बाहिरका चार सय ९४ सहित एक हजार पाँच सय ९८ सम्पदामा भूकम्पबाट क्षति पुगेको विवरण विभागसँग छ ।

महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन २०७४ मा उल्लेख गरिएको विवरण अनुसार भूकम्पले काठमाडौँमा पाँच सय ६४, ललितपुरमा दुई सय ८४ र भक्तपुरमा दुई सय ५६ गरी एक हजार एक सय चार सम्पदामा क्षति पुर्याएको थियो । देशभरि सात हजार चार सय दुई र उपत्यकामा मात्र पाँच हजार चार सय दुई पुरातात्विक सम्पदा सूचीकृत छन् । महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘क्षति भएकामध्ये पुनर्निर्माण सम्पन्न भएका, निर्माणाधीन र बाँकीको संख्या यकिन गरी राखिएको पाइएन ।’

सम्झौताको एक वर्षपछि सुरु हुँदै काष्ठमण्डप पुनर्निर्माण
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेको काष्ठमण्डप समुदायको सहभागितामा पुनर्निर्माण हुने सम्झौता भएको एक वर्ष बितिसक्दा पनि काम सुरु हुन सकेको छैन । काष्ठमण्डप पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने गरी गत वर्ष वैशाख २९ गते सम्झौता भएको थियो । सम्झौतालगत्तै स्थानीय तहको निर्वाचन भयो ।

काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठका अनुसार, महानगरपालिकामा पदाधिकारी निर्वाचित भएर आएपछि महानगरले आफैँ बनाउने भनेर अभियानलाई काम गर्न नदिएकाले पुनर्निर्माणको कार्य अवरुद्ध हुन गएको हो । अभियानका अध्यक्ष श्रेष्ठले भने, ‘पुनर्निर्माण गर्न सुरु भइसकेको काष्ठमण्डप क्षेत्रमा महानगरपालिकाले असार ६ गते ताला लगाई साँचो लिएर हिँड्यो । महानगरपालिका आफूले पनि बनाएन, हामीलाई पनि काम गर्न दिएन ।’

अभियान र महानगरपालिकाबीच काष्ठमण्डपलाई पहिलेकै स्वरूपमा पुनर्निर्माण गर्ने गरी गत वर्ष वैशाख २९ गते १५ बुँदे सम्झौता भएको थियो । तर, सो सम्झौतालाई मान्यता नदिई महानगरपालिकाले आफैँ बनाउँछु भनी निर्माण कार्य रोकेको पनि दश महिना बितिसक्यो ।पुनर्निर्माण कार्यमा विवाद भई आपसी समझदारी कायम हुन नसकेमा प्राधिकरणको कार्यकारी समितिबाट हुने निर्णय नै अन्तिम हुने भनी सम्झौतामा उल्लेख थियो । यसै आधारमा महानगरपालिकाले हस्तक्षेप गरेर अभियानलाई काम गर्न नदिएपछि अभियानले पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखेरै जानकारी गरायो ।

प्राधिकरणको कार्यकारी समितिले महानगरलाई नै काम गर्न दिने निर्णय गरिदिएपछि रोकिएको पुनर्निर्माणको काम अलपत्र भयो । महानगरपालिकाले काम सुरु नगरेपछि पुरातत्व विभागले गत पुस १८ गते पत्र काटेर छिटो काम सुरु गर्न अनुरोध गरेको थियो । तर, अहिलेसम्म काम अघि बढ्न सकेको छैन । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘पुराताŒव विभागबाट बनेर आएको नक्सा पास भइसकेको हुनाले अब स्थानीयवासीसँग छलफल गरी काम अघि बढाउने तयारीमा छौँ ।’

काष्ठमण्डप पुनर्निर्माणका लागि महानगर र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिले छलफल गरी समिति गठन गरेका छन् । समितिको अग्रसरतामा वैशाख ३१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पुनर्निर्माण शुभारम्भ गरेका छन् ।

पुनर्निर्माण शुभारम्भपछि निर्माण सामग्री जुटाउने काम भइरहेको निर्माण समिति संयोजक एवम् प्रदेशसभा सदस्य राजेश शाक्यले जानकारी दिए । ‘निर्माण सामग्री जुटाएर चार महिनामा पुनर्निर्माण सुरु गर्छौँ, सरकारले नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाए अनुसार तीन वर्षमा काष्ठमण्डप पुनर्निर्माण सम्पन्न हुन्छ,’ उनले भने । काष्ठमण्डपको एक हजार एक सय वर्ष पुराना काठहरू वसन्तपुर क्षेत्रमा अलपत्र छाडिँदा चोरी हुने र नासिने जोखिम बढेको छ । हनुमानढोका संरक्षण कार्यक्रमले भने विभिन्न कलाकृति कुँदेर काष्ठमण्डपमा हालिएका झ्याल, ढोकालगायत पुरातात्विक चीजबीज सुरक्षित रहेको दाबी गरे पनि अभिलेख भने देखाउन सकेन।

भूकम्पपछि पुरातात्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय र संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को संयुक्त पहलमा गरिएको उत्खननबाट प्राप्त भएका अवशेषको आधारमा यो सम्पदा इस्वी संवत्को सातौँ शताब्दीमै बनेको पुष्टि भएको थियो । यसअघि काष्ठमण्डप १२ औँ शताब्दीमा बनेको उल्लेख नाम संगीति ग्रन्थमा फेला परेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्मराज बाँस्कोटाले बताए ।

घाँसेमैदान बन्दै रानीपोखरी
अढाइ वर्षअघि १८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा रानीपोखरी र त्यहाँको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न राष्ट्रपतिले शिलान्यास गरे पनि पुनर्निर्माणको काम अलपत्र छ । रानीपोखरी घाँसे मैदानमा परिणत भएको छ । महानगरपालिका र निर्माण व्यवसायीसँग भएको सम्झौता अनुसार गत कात्तिक मसान्तसम्ममा पुनर्निर्माण सकिनुपर्ने थियो । महानगरका इन्जिनियर भीष्मराज सोगुका अनुसार रानीपोखरी पुनर्निर्माणमा हालसम्म चार करोड रूपैयाँ खर्च भइसकेको छ ।

‘विज्ञ समूहले बनिसकेको संरचना भत्काउने प्रतिवेदन दिएकाले यसअघिको खर्च यसै खेर गयो,’ उनले भने । यहाँ १०८ तीर्थस्थलको जल हालेर बनाइएको ‘विष्णुतीर्थ’ पुनर्निर्माण क्रममा कंक्रिट प्रयोग गरिएको विषयमा नगर प्रमुख र उपप्रमुखबीच विवाद भएपछि २०७४ पुस १३ गते महानगरले पोखरी पुनर्निर्माणको अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्यो ।

समितिले पुरानै स्वरूपमा पुनर्निर्माण हुनुपर्ने प्रतिवेदन दिएको छ । तर, काम अघि बढ्न सकेको छैन । बालगोपालेश्वर गत वर्ष असारमै पुनर्निर्माण सम्पन्न हुनुपर्ने गरी सम्झौता भएको थियो । स्थानीयवासी सुमना श्रेष्ठले भनिन्, ‘ऐतिहासिक सम्पदाहरू अस्तित्वको संकटमा परेका छन् । रानीपोखरी चौर बनेको छ भने बालगोपालेश्वर मन्दिर जमिनमै हराएको छ ।’

बनेन रातो मच्छिन्द्रनाथ मन्दिर
अढाइ वर्षअघि भूकम्प सुरक्षा दिवसकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ ललितपुरको बुङ्मतीमा रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणको शिलान्यास गरेका थिए । यो काम पनि सुस्त गतिमा छ । श्रीलंका सरकारको पाँच करोड आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै गरेको रातो मच्छिन्द्रनाथको मन्दिर २०७५ असारमा सकिनुपर्ने सम्झौता छ । तर, अहिलेसम्म २५ प्रतिशत मात्र काम भएको परियोजना प्रमुख एवम् पाटन दरबार हेरचाह अड्डा प्रमुख काजी प्याकुरेलले बताए । ‘तीन महिनादेखि काम रोकिएको छ, हालसम्म फाउन्डेसनको पेटीसम्मको मात्र काम भएको छ, समय थप गर्ने गृहकार्य भइरहेको छ, द्रुत गतिमा काम भए पनि दुई वर्ष पुनर्निर्माण सक्न लाग्छ,’ उनले भने ।

धरहरा ढलेको ढल्यै
सरकारले २०७३ असार ३१ गते ‘मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि धरहरा पुनर्निर्माण खातामा नौ करोड रूपैयाँ जम्मा भइसकेको छ । नेपाल टेलिकमले धरहरा पुनर्निर्माण गर्ने सम्झौता गरेर पनि त्यस सम्झौताबाट विमुख भएपछि प्राधिकरणले धरहरा आफैँले बनाउने निर्णय गरेको छ । प्रवक्ता यमलाल भुसालले धरहराको ड्रोइङ र डिजाइनको काम भइरहेको बताए । असार मसान्तसम्म काम सुरु भएर दुई वर्षमा सकिने उनको भनाइ छ ।

पशुपतिका ७५ सम्पदा अलपत्र
पशुपति क्षेत्रका ५१८ स्मारकहरूमध्ये ९५ वटामा भूकम्पले क्षति पुर्याएको थियो । अरु १५ सम्पदा पूर्णरूपमा क्षति भएका थिए । पूर्ण क्षति भएकामध्ये हालसम्म एक र आंशिक क्षति भएकामध्ये चार सम्पदाको पुनर्निर्माण भएको जानकारी पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए ।

उनका अनुसार हाल १५ सम्पदाको पुनर्निर्माण भइरहेको छ । तर, पशुपति क्षेत्रका ७५ सम्पदा अझै अलपत्र छन् । प्राधिकरणको तथ्यांक अनुसार भूकम्पले देशभर सात सय ५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म सयको पुनःनिर्माण सम्पन्न भयो । भूकम्पपछि भत्केका प्रमुख सम्पदास्थल पुनर्निर्माण हुन नसक्दा बाह्य पर्यटकको आगमन घट्दै गएको पर्यटन व्यवसायीको भनाइ छ ।
(रासस )

प्रकाशित: १८ जेष्ठ २०७५ ०२:०९ शुक्रबार

सम्पदा पुनर्निर्माणमा उदासीनता