अन्य

तिम्रो याद

‘कहिले गरिनँ र कति गर्छौ याद भनेर नसोध है, आत्मीयतामा जवाफ हुँदैन, मायाको सीमा नभएको जस्तै । बाटोमा हिँड्नु र बाटोमै बिलाउनु जीवनको लय हो भने मलाई त्यो मनपर्दैन।

यात्रामा निस्केपछि कुनै गन्तव्यमा पुगेर एउटा उचाइको शिखर चुम्न बाटोहरू बनेका हुन्छन्,’ फोन संवादमा मैले भनेकी थिएँ । घन्टौँ गफ गरेपछि अन्तितमा अझै मोबाइल राख्ने बेला भनेको थियो उसले, ‘के गर्दै तिमी फेरि भन त !’केही मनमा लागेका कुरा लेख्दै थिएँ, तिम्रो फोन बज्यो, अनि विचलित भएँ ।‘शीर्षक के नि ?’ उसको प्रश्न थियो ।‘थाहा छैन, राखेकै छैन, कसरी हुनु शीर्षक !’म राखिदिउँ त तिम्रो शीर्षक के हो ?‘भन त !’ मेरो आग्रह ।‘याद’‘वाउ !’

‘याद मात्रै कि तिम्रो याद ?’‘मात्रै, याद ।’उसले मोबाइल राख्यो ।त्यसपछि कम्प्युटर अगाडि बसेर हातले किबोर्ड थिच्न थालेँ । मनमा अनेकौँ भावनाका खात एकाएक निस्किए । के लेखौँ ? कहाँबाट सुरु गरौँ ? पहिलो हरफ के हुन सक्ला ? पहिलो हरफ उसलाई मनपर्ला कि नाइँ ! मनपरेमा त पढ्ला, परेन भने नपढ्ने पो हो कि ? एउटा लेखकको जिज्ञासा । थोरै लेखेँ, फेरि मेटेँ । फेरि लेखेँ फेरि मेटेँ । कति गम्भीर विषय दिएको होला, लेख्नका लागि पनि ‘याद’ ।

कसैलाई याद गर्न वा मनमा राख्न त्यति सजिलो कहाँ छ र !तैपनि केही त लेख्नु थियो, के लेखौँ उसको बारेमा ! हाँसो मिठो बोकी हिँड्छ । उसको आँखामा डुबेको वर्षौं भइसकेछ । मनमा राख्छ कि राख्दैन होला ! कि मेरो अगाडि खुब हाँस्छ र एक्लै हुँदा रुन्छ कि ? किन मेरा लागि उसले जिन्दगीमा यति धेरै समय खेर फाल्दै छ । अनेकौँ जन्मन्छन् प्रश्न । उत्तर थाहा छैन, थाहा नहुनु पनि जिन्दगी हो नि । कहिलेकाहीँ भ्रममा हुँदा पनि केही क्षणका लागि कति आनन्ददायी हुन्छ । तर त्यो आनन्दको रंग नहुने रहेछ । के उसको याद मेरा लागि भ्रम हो त ?

किन मेरा लागि उसले जिन्दगीमा यति धेरै समय खेर फाल्दै छ । अनेकौँ जन्मन्छन् प्रश्नहरू । उत्तर थाहा छैन । थाहा नहुनु पनि जिन्दगी हो नि । कहिलेकाहीँ भ्रममा हुँदा पनि केही क्षणका लागि कति आनन्ददायी हुन्छ । के उसको याद मेरा लागि भ्रम हो त ? दर्जनौँपटक जन्मिए, फेरि उही प्रश्न ।

दर्जनौँपटक जन्मिए, फेरि उही प्रश्न । भ्रम नै सही, उसको याद छ– मनमा, दिमागमा, मुटुमा, आँखामा । नत्र किन कहिलेकाहीँ कसैको अभावमा सबैभन्दा बढी उसलाई सम्झन्छु त ।मनमा केही उमंग र उत्साहको वर्षा हुन्छ, जब तिम्रो नामको याद मनमा बस्छ । न्याउरो मुहार पनि एकाएक चम्किन्छ, धेरै समय नहाँसिरहेको मुहार पनि एकाएक हाँस्छ, अनेकौँ बहानामा तिमीसँगै गफ गर्न थाल्छ । अल्छीले ग्रस्त भइरहेको शरीर एकाएक स्फूर्त हुन्छ । लाग्छ, वर्षौंको ध्यानपछिको ऊर्जा मिलेको छ, जीवनमा र भएकी छु, एक बलशाली केटी ।कति लामो गफ हो ? प्रश्न तेर्सिन्छ आफैँमाथि ।जिन्दगीको केही हिस्सा तिमी, अनि म त हो । यसैले झन् ऊर्जा दिन्छ।

‘आज एउटा जटिल विषयमा लेख्दै छु नि,’ साथीलाई सुनाएँ ।‘के विषय नि ? मेरो बारेमा त हैन नि ?’ अलिकति मात्रै हाँसी साथी, चियाको कप हातमा बोकेर ।‘हैन, उसको यादको बारेमा ।’चियाको गिलासलाई भुइँमा राख्दै झनै चनाखो भएर सोधी, ‘कसको यादमा भन् त ?’‘तँ हैनस्,’ मैले यति मात्रै जवाफ दिएँ ।उसले धेरै कर गरी– भन्न भन् ।मैले पनि दोहोर्याएँ– भन्दिन्, भन्दिन् भन्दिन् ।

तिम्रो यादको बारेमा अरुलाई सुनाउन सक्दिनँ । ठूलो निधार । साना आँखा । मिलेका दाँत । अनि, पुक्क–पुक्क परेका गाला । घुम्रिएको कपाल । धेरै लामो भन्न नमिल्ने कद । मीठो हाँसो । धेरै सुन्ने र थोरै बोल्ने बानी । सानो कुरामा धेरै खुसी हुने र ठूलो कुरामा धेरै दुःखी बन्ने मन।

हजारौँ प्रश्नको पनि एउटै जवाफमा टुंग्याउने उत्तर । सरल जीवन । कहिलेकाहीँ रमाइलो । कहिलेकाहीँ दुःखी, संसारको रीतलाई आत्मसात् गरेको एक सुन्दर मान्छे । मैले जानेको, मैले चिनेको, मैले देखेको तिमी ।यतिले मात्रै तिम्रो यादको व्याख्या पूरा गर्न सक्दिनँ म । तिमीसँग मन छ । दिमाग छ, हेर्नका लागि आँखा, सुन्नका लागि कान, अनन्त पाइला हिँड्नका लागि गोडा छन्, तिमीसँग । तिम्रो भूगोलमा तिमीले आफैँलाई कसरी हेर्छौ, त्यो तिम्रो विचार । तर, मेरो विचारमा तिमी एक सरल मान्छे लाग्छ।

कुनै मायाको देश हुन्छ भने त्यो देशको राजकुमार तिमी हुन्थ्यौ होला, यस्तै सोच्छ मन । मनको कुरा मनैले जानून्, मलाई थाहा छ, तिम्रो उत्तर यस्तै हुन्छ । धेरै महिना भएछ, तिमीलाई नदेखेको । तर, नभेटेकोजस्तो कहिले लाग्दैन, किनकि हृदयमा बसेको मान्छे कहिले हट्छ र कहिले आउँछ भन्ने कुरा नै हुँदैन, हृदयको मान्छे सधैँ हृदयमै हुन्छ । कहिले बच्चा कहिले युवा कहिले प्रौढ अनि कहिले बूढो बनेर यसरी हृदयमा अटाउन सक्नु पनि मजाको कुरा न हो।

अचेल तिम्रो यादको पाठशाला भएर जान्छन्, मेरो मनका कुराहरू । के के पढ्छौ भनेर कसैले सोध्यो भने जवाफ दिन मन लाग्छ, जिन्दगी पढ्दै छु । कम्ता मजा आउँदैन रहेछ, जिन्दगी पढ्न । कहिले ओहोर गर्छ, कहिले दोहोर । कहिले बतासले हल्लाउँछ, कहिले जिन्दगीका कम्पहरूले ।फेरि सोध्न मन लाग्ला तिमीलाई कुन नशा हो ।अरे यार प्रेमको नशा । प्रेमको नशामा हल्लिने मान्छेलाई कुनै नशाले पनि हतपत छुँदैन नि ! मनमनै हाँसे । मनको कुरा जो थियो।

साथीले बोलाई, ‘ओइ, चिया सकियो, हजुरको मन कता पुग्यो नि !’फेरि भनेँ, ‘तिम्रो यादमा ।’‘ओइ, मेरो यादमा ?’दुवै हाँस्यौँ ।कसम भन्छु, मेरो यो संसारमा कोही छैन । मसँग धेरैजना रुन्छन्, तर म रुनका लागि कसैको न्यानो काख छैन । हरेकपटक भित्ता समाएर भित्तामै पुस्छु, आफ्नो आँसुका थोपाहरू । उसैले बुझ्छ, मेरो आँसुलाई । उसैले सुमसुमाउँछ र मायालुसँग भन्छ, रो–रो, तेरो रुने साथी मै हुँ।

तर, कतिन्जेल रुने ? किन रुने, अनि केका लागि रुने ? किन सोच्ने ? केका लागि सोच्ने ? यी सब वाहियात हुन् जस्तो लाग्छ । हरेकपटक भत्किनु र आफैँले आफैँलाई लेपन लगाएर टाल्नु जिन्दगीको नियति बनेको छ । हिजो चल्यो, आज चल्दै छ, भोलि पनि अवश्य चल्छ भन्ने कुरामा विश्वास लिएकी छु । रुँदारुँदै थाकिसकेकी छु, अब रुन बन्द गर्नुपर्छ । अझ भनौँ, तिम्रो यादको बतासले हल्लाउन थालेपछि यस्तै सोच्न थालेको छ मन । अनि पो हाँसिदिन्छु नि म पनि।

फेसबुकमा एउटा म्यासेज आयो, ‘तिम्रो यादमा वर्षौं भयो, यो जिन्दगीलाई रित्तो–रित्तो बनाइराखेको ।’उत्तरमा लेखिदिएँ, ‘कसैलाई मनमा सजाएर राखेपछि त भरिनुपर्ने हो त, कसरी रित्तो–रित्तो भयो महोदय ?’उसले फिस्स हाँसेको स्टिकर पठायो ।मैले मजाले हाँसेको पठाइदिएँ, फेरि उसले लेख्ने हिम्मत गरेन ।‘किन चुप ?’ साथीले सोधी ।‘लेख्दै छु ।’‘के ?’‘जवाफ ?’

‘कसका लागि ?’ हृदय हल्लाउने प्रश्न छोडी र उही मुस्कानको साथ बाहिरिई ।हो त नि, तिम्रो यादमा त छु नि आजकाल । तिम्रै याद बोकी हिँड्न थालेको दिनदेखि त होला सायद, मैले आफूलाई अरुमा खोज्नुनपरेको र तिम्रो यादको वर्षात्ले होला, म निर्थुक्क भिजेको । तिमीले बोलेका प्रत्येक शब्दले कानमा एक प्रकारको संगीत भरेर निस्कन्छ । तिमीले हेरेको आँखाको झझल्को फेरि आइदिन्छ । तिमीले छोएको यो हातको औँलाहरूले फेरि एकपटक आफैँलाई समाउँछ र चुम्बनको वर्षा गराउँछ ।

हेर्दा मौन देखिन्छु, तर हृदयमा तिमी घुमिरहेका हुन्छौ । कसैको कपालको रंगसँग तिमीलाई दाँज्न मन लाग्छ । कतै कोही मुसुक्क हाँस्यो भने तिम्रो झझल्को आउँछ । तिमी नआए पनि तिम्रो यादको उपस्थितिले मनमा एक प्रकारको उत्साह जगाउँछ । र त सबैले देख्लान् भनेर लुकीलुकी हाँस्छु । कसैले देख्लान् भनेर लुकीलुकी तिमीसँग गफ गर्छु ।सोध्दैनौ कहिले आउँछ तिमीलाई मेरो याद भनेर ।अनि, उही मौन भाषामा नवराज पराजुलीले हेप्पी बर्थ डे कवितामा लेखेको जस्तो–म छु जस्तो लागेको दिन तिमीलाई सम्झन्छु।

अनि, मर्छु जस्तो लागेको दिन तिमीलाई सम्झन्छु ।तिमी मेरो कुरा सुनेर पक्कै हाँस्छौँ नि ! पागल केटी, के के भन्छे भन्छे । के के कुरा गर्छे गर्छे । के के सोच्छे सोच्छे । के के देख्छे देख्छे । यही पागलपन त छ, जिन्दगीमा जिउँदो भन्ने । यदि यही नहुने हो भने कसरी महसुस गर्ने आत्मीयता, कसरी रहने खुसी, कसरी खोज्ने आफैँ पूर्ण हुनुको एउटा महत्वपूर्ण पाटो, कसरी देख्ने आफैँलाई विश्वसुन्दरी र कसरी गर्ने तिमीलाई प्रेम ?

प्रकाशित: १२ जेष्ठ २०७५ ०१:०५ शनिबार

तिम्रो याद