अन्य

खुसीको खोजी

पत्नी जेनिफर स्टाेनसँग लेखक राेबर्ट वाल्डिङ्गर ।

‘दसैँ आउँदाजस्तो खुसी हामीलाई केहीमा लाग्दैनथ्यो । दसैँमा खसी काटिन्थ्यो, दुई जोर नयाँ लुगा सिलाइन्थ्यो । त्यो लगाउन पाउँदा र घरमा मीठामीठा पकवान खान पाउँदा मन रमाउँथ्यो । अहिलेका केटाकेटीका लागि खुसी खोज्न दसैँ कुर्नु पर्दैन,’ फिल्म निर्देशक तथा गीतकार यादव खरेलले आफ्नो बाल्यकाल सम्झँदै सुनाएका कुराले त्यस बेलाको विरल खुसीको कुँजी बताउँछ । त्यस बेलाको समाजमा आधारभूत आवश्यकताका सामान्य कुरा पनि दुर्लभ थिए । लाउन–खानको दुःख थियो । सामान्य भौतिक सुविधा पनि विलासी कुरा थिए त्यसबेला । त्यतिबेलाका विलासी कुरा यतिबेला सामान्य प्रयोगका सामग्रीमा परिणत भएका छन् । यति भए कस्तो खुसी भइन्थ्यो होला भन्ने भावना हिजोआज तुरुन्त बिलाउन थालेको छ । खुसीको स्थायित्व हुन छाडेको छ । कुनै एउटा कुरा पाउँदा त्यो बेला महिनौँ रमाउने मन अहिले क्षणिक खुसी हुन थालेको छ र क्षणमै बिलाउन थालेको छ ।

पहिलेका खुसीलाई खुसीको पहिलो संस्करण (खुसी १.०) मान्ने हो भने त्यो पुरानो संस्करणको खुसीले नेपालीको जीवनमा स्थायित्व पाउन छाडेको छ । समाज विकसित भएको छ । समाजका आयाम फराकिलो हुन थालेको छ । त्यसैले पुरानो किसिमको खुसीले मानिसको जीवनमा वास्तविक खुसी ल्याउन सकेको छैन । मानिस सुखी छ तर खुसी छैन । भौतिक सम्पन्नता बढ्दै जाँदा मानिसलाई सुख भएको छ । बढी हिँड्नु परेको छैन, पहिलाजस्तो पसिना चुहाउनु परेको छैन तर त्यसले खुसी दिलाएको छैन । बरु दुःख नै बढेको छ । बढ्दो दुःखमा खुसीको अर्को चरण खोज्ने क्रम अर्थात् खुसीको दोस्रो संस्करण (खुसी २.०) को खोजीको आवश्यकता बढेको छ । त्यसैले त मानिस सुखी हुँदाहुँदै पनि अझ बढी खुसी खोज्दै जाँदा मानिसहरु अम्मलमा फँसेका छन्, कुलतमा परेका छन्, खुसीको खोजीमा मानिस अझ बढी दुःखमा जाकिएका छन् ।

यस्तो अवस्थामा नेपालमा मात्र होइन, संसारभरि नै छ । त्यसैले त संसारभरिका वैज्ञानिकहरु खुसी खोज्न थालेका छन् । वैज्ञानिक मात्र होइन, प्रख्यात जोगी, योगी र भिक्षुहरु घोत्लिन थालेका छन्– मानिस के हुँदा खुसी हुन्छन् ? केमा अडिएको छ खुसी ? खुसीको स्थायित्व कसरी बढाउने ? 

त्यसो त हाम्रो पूर्वीय दर्शनले खुसी पाउने अस्त्रका रुपमा यज्ञ, योग र ध्यानलाई मानेको छ तर बजारले ती कुरालाई बिर्सिएको छ । अहिले पैसा छ भने तुरुन्त खुसी पाइन्छ । बजारले तपाईंलाई तुरुन्त खुसी दिन्छ तर ती सीमित अवधिका लागि । खुसीबारे खोजीनीति गर्दा वैज्ञानिकहरुले तीन कुरा पत्ता लगाएका छन् ।

तीन कुराले मानिसलाई खुसी दिन्छ । पहिलो, मानिसको जिनमा नै खुसी भन्ने तŒव हुन्छ । जेनेटिक्सका कारण मानिस खुसी हुन्छ । कुनै मानिस कति खुसी वा दुःखी हुने भन्ने कुरा उसको जिनमा कोडिङ भएर आएको हुन्छ । त्यसैका आधारमा ऊ खुसी वा दुःखी हुन्छ । यसमा उसको कुनै हात हुँदैन । अन्य दुई वटा कुरामा भने उसले खुसी हुने बाटो समात्न सक्छ । खुसीको दोस्रो कुँजी जीवनका ठूला उपलब्धिहरु (बिग लाइफ इभेन्ट्स) हुन् । तिनले मानिसलाई लामो समयसम्म खुसी दिन्छ । तिनै खुसीको सहाराले अन्य लक्ष्यका लागि ऊ अघि बढ्छ । खुसीको तेस्रो कुँजी, खुसी हुने छनोट हो । म खुसी हुन्छु भनेर मानिसले यसैलाई छनोट ग¥यो भने ऊ दुःखी हुने कुनै सम्भावना हुँदैन ।

अमेरिकाको मिनेसोटा विश्वविद्यालयले गरेको अध्ययनले माथिको कुरा पत्ता लगाएको हो । अध्ययनअनुसार जिनका कारण मानिस ४० प्रतिशत खुसी हुने गर्छन् । बाँकी ६० प्रतिशत खुसीमध्ये बिग लाइफ इभेन्ट र छनोटको सिद्धान्तले भूमिका खेल्छ । सबैको जीवनमा सधैँ बिग लाइफ इभेन्ट नआउन÷नहुन सक्छ । त्यसैले छनोटको सिद्धान्त अनुसार खुसी छनोट गरी खुसी भइरहन सकिन्छ भनी अनुसन्धाताको निष्कर्ष छ ।

पुरुषहरु बढी बेखुसी

अध्ययनले सामान्यतः पुरुषभन्दा महिलाहरु नै बढी खुसी हुने देखाएको छ । पुरुषहरु दैनिन्दिनीमै बढी भिडिरहनु पर्ने भएकाले उनीहरु बढी बेखुसी देखिएका हुन् । महिलाहरुले प्रायः खुसीका पलहरु दिनदिनै खोजिरहेका हुन्छन् । त्यसैले तुलनात्मक रुपमा पुरुषभन्दा बढी महिला खुसी हुने अध्ययनले देखाएको हो । 

मानिसको जीवनमा ४५ वर्षदेखि ५५ वर्ष उमेर समूह सबैभन्दा बेखुसी हुने समयावधि हो । यही अवधिमा जुनसुकै स्त्रीपुरुषले पनि ‘मिडलाइफ क्राइसिस’ भोग्ने गर्छन् । त्यसैले यस अवधिमा हुने निराशा, दुःख र अवसादबाट जोगिन नै खुसी खोज्नुपर्ने वैज्ञानिकहरु सुझाउँछन् ।

सबैभन्दा खुसीको क्षण बालबालिकालाई हुन्छ । उनीहरुलाई तनाव हुँदैन, दुःख हुँदैन । उनीहरु हरबखत नयाँ नयाँ खुसी खोजिरहेका हुन्छन् र त्यो अधिकांशतः अवस्थामा फेला पारिरहन्छन् । उनीहरुका लागि हर कुरा, हर चिज आश्चर्यको हुन्छ । उनीहरुलाई रुख, बोट, फलफूलदेखि प्रकृति र वरपरका हरेक कुरा आश्चर्यका हुन्छन् । यस्तो अवस्थामा उनीहरुको खुसीमापन गर्नु उति धेरै आवश्यक नहुने वैज्ञानिकहरुको धारणा छ ।

कुनै युवा पुरुष वा महिला जब १८ वर्ष कटिसक्छन्, त्यसपछि उनीहरुको खुसीलाई मापन गर्नुपर्ने वैज्ञानिकहरुको राय छ । यस हिसाबले २० देखि ३० वर्षको १० वर्षे अवधि कुनै पनि स्त्रीपुरुषका लागि खुसियालीपूर्ण जीवन हुने अध्येता बताउँछन् । अनुसन्धानमा सक्रिय शोधकर्ताहरुका अनुसार २०–३० वर्षे अवधिमा युवाहरुलाई धेरै कुरा जीवनमा खोज्नुपर्ने हुन्छ । सङ्घर्ष गर्नुपर्ने हुन्छ । पत्ता लगाउनुपर्ने हुन्छ । यस अवधिमा उनीहरुलाई सामान्यतः तनाव कम हुन्छ र पाएका ससाना सफलताले उनीहरुलाई खुसी राखिरहन्छ । खुसीको मापन ३० वर्षपछि भने फरक हुन थाल्छ । अब ठूला उपलब्धिबाहेक ससाना उपलब्धिले उनीहरुलाई खुसी तुल्याउन छाड्छ । यहीँबाट मानिस दुःखी हुन थाल्छ । 

अध्ययनले देखाएअनुसार अधिकांश मानिसले ४०–४५ वर्षसम्म आइपुग्दा धेरै किसिमका असन्तुष्टि पाल्न थाल्छ । यही अवधिमा उसले आफूले गरिसकेका काम र गर्न बाँकी कामको मूल्याङ्कन थाल्छ । सन्तुष्ट नभए गरिरहेको काम छाड्ने र नयाँ काम थाल्ने कारण पनि खुसीको खोजीका कारण भएको वैज्ञानिकहरु बताउँछन् । 

खुसीको मापन

दुर्घटनामा परेको मानिस र चिठ्ठा पाएको मानिसबीच के फरक छ ? एउटा अध्ययनले के देखाएको छ भने– दुर्घटनामा परेको मानिस ६ महिने उपचारपछि जिन्दगीप्रति सकारात्मक हुन्छ । यसपछि ऊ खुसी रहने प्रयास गर्छ । म मर्न पनि सक्थेँ तर बाँचेँ भन्ने निष्कर्षमा पुग्दै जीवनका हरेक कामका लागि कृतज्ञ हुने र खुसी हुने काममा लाग्छ । यसको ठीकविपरीत चिठ्ठा पाएको मानिस चिठ्ठा पाइसकेपछिको अवधिमा त्यति पनि खुसी हुँदैन जति चिठ्ठा किन्दाको अवधिमा हुन्छ ।

किन यस्तो हुन्छ त ? शोधकर्ताहरु भन्छन्, किनभने समय क्रमसँगै हाम्रो खुसीको तह बढ्न थाल्छ । पहिला जे कुराले खुसी निर्धारित गथ्र्यो, अब त्यसको तह बढ्न थाल्छ र त्यही कुराले खुसी दिन छाड्छ । अब त्यो तहभन्दा माथिको तहले मात्र खुसी दिन थाल्छ । चिठ्ठा पाउने मानिस दुःखी हुनुको मुख्य कारण पहिला ऊ ससाना कुरामा खुसी हुन्थ्यो, पैसा पाएपछि उसलाई ती खुसी सहज हुन थाल्यो । त्यसैले ऊ पहिलेका भन्दा अझ बढी ठूलो खुसीको खोजीमा लाग्न थाल्छ र पाएन भने दुःखी र निराश हुन थाल्छ ।

कसरी खुसी कायम राख्ने ?

शोधकर्ताहरुका अनुसार १२ प्रतिशत खुसी हामी आफैँले सिर्जना गर्न सक्छौँ । धार्मिक विश्वास (बिलिफ), परिवार (फेमिली), समाज (सोसाइटी) र काम (प्रोफेसन) भित्रै मानिसले खुसी खोज्नुपर्ने हुन्छ । यी चार कुराभित्रै हामीले चाहेजस्तो खुसी दिन्छ । यहाँ खुसीका लागि पैसा छुट्याइएको छैन किनभने जोसँग पैसा छैन, उनीहरुले पैसा पाउँदा मात्र खुसी हुन्छन् । पैसा हुनेहरुका लागि थप पैसाले खुसी दिँदैन । पैसा उनीहरुका लागि कुनै अर्थको हुँदैन ।

अमेरिकी अध्येताहरुले ८९% अमेरिकीहरु आफ्नो जागिरलाई मन पराउने र जागिरमार्फत् खुसी भएको बताउने गरेको पत्ता लगाएका छन् । त्यहाँ ११% ले मात्र काम मन पराउँदैनन् । अमेरिकीहरु किन काम भनेपछि मरिहत्ते गर्छन् त ? अध्येताहरु भन्छन्, ‘यसले उनीहरुको जीवनमा मूल्य थपिरहेको हुन्छ । आफ्नो जीवनमा मात्र होइन, त्यो जागिरले आफ्नो वपिरपरिका मानिसको जीवनमा पनि अर्थ र मूल्य थपिरहेकोमा ऊ विश्वस्त हुन्छ । मेरो सेवाले अरुलाई सहयोग पुगिरहेको छ भन्ने महसुस भयो भने त्यो कामले व्यक्तिलाई सन्तुष्टि र खुसी दिन्छ ।’

युनिभर्सिटी अफ सिकागोले गरेको अर्को एक अध्ययनले खुसीका लागि पैसाको भूमिका निकै न्यून हुने देखाएको छ । पैसाले होइन, सफलताले मानिसलाई खुसी बनाउँछ । दुई अलग समुदायका तर भिन्दाभिन्दै आम्दानी भएका दुई किसिमका युवालाई सोध्दा यस किसिमको परिणाम आएको हो । त्यसैले खुसियालीपूर्ण जीवनका लागि अध्ययनकर्ता भन्छन्, ‘इन्टरप्राइज योर लाइफ, नट बिजनेस् ।’ अर्थात् जीवन खडा गर्नुहोस्, व्यवसाय होइन । जीवनमा थपिने प्रत्येक इँटाले मानिसलाई जति खुसी दिन्छ, त्यति उसले थप्ने बिजनेस (व्यवसाय÷व्यापार) ले नदिन सक्छ ।’

खुसी हुने मस्तिष्क

हाम्रो मस्तिष्क कति उम्दा रचना र कति खतरनाक प्रयोगशाला हो भने यसले तपाईंलाई कसैसित प्रेममा पारिदिन सक्छ, क्लिष्ट गणितीय समस्या समाधान गर्न सक्छ, जिन्दगी र ईश्वरका अर्थमाथि चिन्तन गर्न सक्छ, एक्लोपन र अवसादमा छिराउन सक्छ । यति मात्र होइन, यसले तपाईं खुसीको तरङ्गमा लहराइरहन सहयोग गर्न सक्छ र आनन्दविभोर पार्न सक्छ । 

खुसीलाई हजारौँ वर्षदेखि दार्शनिक र आध्यात्मिक गुरुहरुको निजी वस्तुजस्तो ठानिन्थ्यो । अहिले भने यो विज्ञानको अध्ययन थलो बन्न पुगेको छ । मनोवैज्ञानिकहरु मस्तिष्कका विकारमा ध्यान दिन्थे भने हिजोआज यसका सकारात्मक पक्षमा केन्द्रित हुन थालेका छन् । जेनेटिक वैज्ञानिकहरु के कारणले मानिस खुसी हुन्छ भनेर खोज्दै खुसी हुने जिनतर्फ लम्कदैछन् । अर्थशास्त्री एन्गस स्टेवार्ड डेटनले सन् २०१५ मा ‘खुसीको विज्ञान’ खोजेबापत नोबेल पुरस्कारसमेत पाए । अर्थात्, हिजोआज ‘खुसी’ एउटा जल्दोबल्दो विषय बन्न पुगेको छ ।

र, यसमा सबैभन्दा महङ्खवपूर्ण भूमिका कग्निटिभ न्युरोसाइन्स (संज्ञानात्मक स्नायू विज्ञान)ले खेलेको छ । गएका २० वर्षमा संज्ञानात्मक मनोविज्ञान र स्नायू विज्ञान गरी दुई विधा छुट्टिएका छन् । यी दुवै क्षेत्रको संयुक्त अध्ययनले मानव मस्तिष्कका स्नायूसम्बन्धी आधारभूत अध्ययनलाई फाइदा तुल्याएको छ ।

सुपर कम्प्युटिङदेखि लिएर न्युरोइमेजिङसम्म प्रविधिमा भएको तीव्र विकासका कारण मस्तिष्कका बारेमा बुझाइ तीव्र र स्पष्ट हुँदै आएको छ । हिजोआज दिमागभित्र भइरहेका गतिविधि, तिनमा हुने रक्त प्रवाह र परिवर्तनका बारेमा तुरुन्त अध्ययन गर्न सजिलो भएको छ ।

खासमा यस अध्ययनका लागि अमेरिका र युरोपेली संघले लामो समयदेखि ठूलो धनराशि खर्च गरिरहेका थिए र यो क्रम अझै जारी छ । वैज्ञानिकहरुले सोचेजस्तै परिणाम निस्कियो भने भविष्यमा खुसी कसरी भइन्छ भन्ने विषयमा एउटा निष्कर्ष नै निस्कने सम्भावना बढेर गएको छ ।

त्यो सम्भावना भविष्यमा निस्कने छ भने अहिले नै हामीले के हात पा-यौँ त ? अहिलेसम्मको खोजले के देखाएको छ त ? अध्ययन र खोजले देखाएको छ– न्युरोप्लास्टिसिटीका नामले चिनिने यस अवधारणाअनुसार अबका दिनमा तपाईं हाम्रो जिन्दगीमा शारीरिक र कामकाजी दैनिकीलाई नयाँ तरिकाले व्यवस्थित गर्न सकिन्छ । पहिला के ठानिन्थ्यो भने एउटा उमेरमा पुगिसकेपछि दिमाग वा मस्तिष्कको विकास क्रम रोकिन्छ । यसले दिमागको जटिल न्युरोहरुमा परिवर्तन असम्भव छ । दिमागको जटिल परिपथमध्ये कुनै एकमा नोक्सान भयो भने त्यसले सबै कुरालाई हानि पु-याउँछ । क्यालिफोर्निया विश्वविद्यालय सान डिएगोका सेन्टर फर ब्रेन एन्ड कग्निसनका निर्देशक न्युरोसाइन्टिस्ट भिएस रामचन्द्रनले १९९५ मा सिलसिलेवार प्रयोगमार्फत् के देखाए भने मस्तिष्कका केही भाग क्षतिग्रस्त, नष्ट र गायब भयो भने पनि बाँकी बचेका अंशले बिग्रिएका ती अंशका बाँकी काम पनि सिक्न थाल्छ, गर्न थाल्छ ।

यही कारणले हिजोआज दिमागलाई पनि गतिशील अंग मान्न थालिएको छ । बालिग अवस्थामा पनि मस्तिष्कका नयाँ कोशिका (न्युरोन) निर्माण सम्भव छ । यसले भएका नोक्सानी वा गडबडीलाई सच्याउन सक्छ । यसमा प्लास्टिसिटी अर्थात् नयाँ अवस्था अनुसार आफूलाई ढाल्ने गज्जबको क्षमता छ । गज्जबको कुरा त के छ भने यी कोशिकाहरु एकअर्कासँग लगातार ‘कुराकानी गर्न’ सक्छन् भन्नेसमेत देखिएको छ ।

न्युरोप्लास्टिसिटीका कारण नै मानिसले वाद्ययन्त्र बजाउन सिक्छ, नयाँ भाषा सिक्छ, अपांगता, चोट र जन्मदै भएका कैयौँ कमजोरीलाई सुधार्छ । कैयौँ विकारमा सुधार ल्याउँछ । यसले अवसाद, दुश्चिन्ता, अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (मानिसलाई बाध्य पार्ने एक किसिमको आवेशी विकार), विभिन्न कुलतबाट बाहिर निकाल्ने र बेखुसीका प्याटर्नलार्य खुसीमा परिणत गर्ने बाटो यही न्युरोप्लास्टिसिटीले गर्ने गर्छ ।

हालै काठमाडौँ आएका म्याथ्यु रिकार्डले नेपाल बसाइको अवधिमा मानिसलाई कसरी खुसी रहने भनी सिकाएर गए । ७० वर्षका म्याथ्यु कुनै बेला वैज्ञानिक थिए । उनको विशेषज्ञता मोलिक्युलर जेनेटिसिस्ट थिए । यतिबेला उनी ध्यान, तिब्बती उपचारविधि र दलाई लामाका विशेषज्ञ बन्न पुगेका उनले अमेरिकामा मस्तिष्कसम्बन्धी अध्ययनमा १२ वर्ष अध्ययन गरेका थिए । यस अध्ययनको निचोडपछि नै उनी कसरी खुसी हुन सकिन्छ भनी संसारलाई देखाउँदै हिँड्न थालेका छन् । 

हाम्रो मस्तिष्कमा खुसी हुने यति धेरै सम्भावना छ कि त्यसलाई मानिसले उपयोग नै गरेका छैनन् भनी उनले प्रयोगशालामा देखाएका थिए । न्युरो वैज्ञानिकहरुले उनैलाई प्रयोगशालामा लगेर २५६ सेन्सर जडान गरे । त्यसपछि उनको मस्तिष्कमा उच्चस्तरका गामा तरङ्गहरु उत्पन्न गरे । गामा तरङ्ग चेतना, एकाग्रता, सिक्ने र स्मृतिसँग जोडिएको हुन्छ । उनको मस्तिष्कको स्क्यान गरिएपछि सुखद् भावनासँग जोडिएको देब्रेतिरको मस्तिष्क जसलाई प्रि–फ्रन्टल कर्टेक्सको गतिविधि पनि देखाइयो । यही प्रयोगले हाम्रो प्रशन्न रहने विशाल क्षमताका बारेमा पत्ता लागेको हो ।

प्रशन्न रहने विधिलाई माइन्डफुल भनिन्छ । सन् १९९० को दसकमा यसले वैज्ञानिकहरुको ध्यान पनि आकृष्ट गरेपछि यसमाथि ठूलो अनुसन्धान र परिणामहरु देखिन थालेका छन् । दैनिक जीवनमा नकारात्मक शक्तिको तुलनामा सकारात्मक जीवन कसरी जिउने, स्वास्थ्य र कुशलता, प्रेरणा, क्षमता, सम्भावना, सामाजिक कामहरुमा सक्रिय कसरी रहने भनी अनुसन्धान हुन थाले । 

न्युरो बायोलजीमा भएका नयाँ अनुसन्धानका कारण मनोचिकित्सामा धेरै परिवर्तन आएका छन् । माइन्डफुलनेसमा आधारित संज्ञानात्मक व्यवहार चिकित्सा पद्धति –एमबिसिटी)ले अवसाद र दुश्चिन्ताजस्ता विकारको उपचारका लागि माइन्डफुल ध्यानजस्ता कुरामा केन्द्रित गराउन थालिएको छ ।

खुसीको क्षण

भुटान, इक्वेडोर, मेक्सिको, भेनेजुएला, बोलिभियाजस्ता मुलुकले भौतिक प्रगतिको साटो मानसिक स्वस्थ र खुसीलाई विकासको उच्चतम उपलब्धि ठानिरहेका छन् । अचेल ठूला विदेशी कम्पनीमा कामदारहरु खुसी रहून् भनी चिफ ह्यापिनेस अफिसरले नियुक्त गर्ने फेसन चलेको छ । खुसीको भाउ यतिबेला कतिसम्म बढेको छ भने कोकाकोलाले ‘खुसी खोल्नुस्’ भनिरहेको छ भने हिटाची कम्पनीले ‘हेनोडोमिटर’ (खुसीमापक) यन्त्र पनि बनाएको छ । फेसबुक र ट्वीटरमा कति जनाले आज दिनभरिमा खुसी अभिव्यक्त गरे भन्ने जाँच्नेहरुको पनि कुनै कमी छैन ।

दुई किसिमका खुसी

नोबेल पुरस्कार विजेता अर्थशास्त्री एंगस डिटन र मनोवैज्ञानिक ड्यानियल कनमेनले सन् २०१३ मा साढे चार लाख मानिसमाझ  गरेको शोधले देखाएको छ, खुसी दुई किसिमका हुन्छन् । दैनिन्दिनीको आनन्द, तनाव, उदासी, रिस र लगाव र आफ्नो जिन्दगीलाई लिएर हुने गहिरो सन्तोष । यी दुवैमा पैसाको भूमिका कति हुन्छ त ? शोधमा के पाइयो भने खराब स्वास्थ्य, एक्लोपन र अन्य किसिमका समस्या हटेका खण्डमा खुसी पाइने धारणा धेरैले राखेका थिए । जिन्दगीको असली मूल्यांकन भनी आम्दानी र व्यवहारले गथ्र्यो । शोधकर्ताले के पाए भने वार्षिक ७ लाख रुपैयाँभन्दा कम आम्दानी गर्ने मानिसहरु त्यति धेरै खुसी हुन सकेको पाइएन भने त्योभन्दा बढी मानिसमा सन्तोष त थियो तर खुसी हुन सकिरहेका थिएनन् ।

खुसीको फाइदा 

तपाईंको निधारको ठीक पछाडि, देब्रे आँखाभन्दा माथि तपाईंको जुन मस्तिष्क छ, त्यसमा नै सुखको रहस्य लुकेको छ भनी वैज्ञानिकहरुले पत्ता लगाएका छन् । राम्रो महसुस गर्नका लागि तपाईंको स्नायु प्रणालीमा रहेका ससाना अणुहरुले खबर पु¥याउँछन् र तपाईंको शरीरले खुसी महसुस गर्छ । जति खुसी हुनुहुन्छ, तपाईं उति मुस्कुराउनु हुन्छ । जति खुसी हुनुहुन्छ, तपाईंको मस्तिष्कले उति नै बढी त्यस्ता अणुहरु तपाईंलाई पठाइरहन्छ ।

को मानिस बढी खुसी ?

कृतज्ञ मानिस

जसले स–साना कुराका लागि धन्य महसुस गर्छ । भएका कामका लागि धन्यवाद दिन्छ । र, सबैभन्दा खुसी मानिस त्यो हुन्छ, जसले राति सुत्ने बेलामा दिनभरिका कुराका लागि कृतज्ञता व्यक्त गर्छ । 

तल्लिन र मग्न व्यक्ति

मनोवैज्ञानिक मिहाई चिकसेन्ट मिहाईको धारणामा जो व्यक्ति मग्न हुन्छ, त्यो मानिस खुसी हुन्छ । जुनसुकै काममा तल्लिन र मग्न रहने स्वभावले उसलाई खुसी दिन्छ । तल्लिन र मग्न रहनका लागि तपाईंसँग कौशल पनि चाहिन्छ । तल्लिनताले तपार्यंलाई स्पष्ट लक्ष्य दिन्छ । यस्तो बेलामा कुन बेला समय बित्यो भन्ने नै उसलाई थाहा हुँदैन । तल्लिनताको अवस्थामा मानिस खुसी हुन्छन् ।

उदार मानिस

नेचर कम्युनिकेसनको जुलाई २०१७ अंकमा जुरिच विश्वविद्यालय, स्विट्जरल्यान्डका शोधकर्ताले उदार हृदय भएका परोपकारी मानिसको मस्तिष्कको एमआरआई स्क्यान गरी हेरे । यसमा मस्तिष्कको टेम्पोरो–पेरिएटल जङ्सन (टिपिजे)का साथै भेन्ट्रल स्ट्राइएटमका क्षेत्रमा न्युरोन निकै सक्रिय भएको पाइयो । यस्तो अवस्थामा मानिस खुसी हुन्छ अर्थात् जो जति बढी उदार छ, ऊ त्यति नै बढी खुसी हुन्छ ।

पैसावाल व्यक्ति

तीस वर्षभन्दा बढी समय भएको शोधले के देखाएको छ भने गरिब देशका मानिस त्यो बेला बढी खुसी हुन्छन्, जुन बेला उनीहरुको मूलभूत आवश्यकता पूरा हुन्छ तर जसै उनीहरुको हातमा आवश्यकभन्दा बढी पैसा आउँछ, खुसीको स्तरमा त्यति धेरै अन्तर हुन छाड्छ ।

युवा मानिस

जर्नल अफ इकोनमिक साइकोलजी, २००६ अनुसार यौवनले मानिसलाई त्यति खुसी दिँदैन । शोधले के देखाएको छ भने मान्छे जसै वयस्क हुँदै जान्छ, उमेर बढ्दै जाँदा बिस्तारैबिस्तारै खुसी हुन सिक्छ, हुँदै जान्छ । (हुन त खुसीको स्तर वृद्धावस्था बढ्दै जाँदा घट्दै जाने पनि देखिएको छ) । हाम्रो पौराणिक कथाका एक पात्र ययातिले पनि यौवनले मात्र खुसी दिँदैन भन्ने निष्कर्ष दिएको छ । 

सन्तान भएका मानिस

बालबालिका जन्मिएपछि बढ्ने वित्तीय भारका कारण मानिसले खुसी गुमाउँदै जान्छ । सन्तानकै कारण घरमा कलह, झगडा, रेखदेख लगायतका कुरामा झन्झटजस्ता कुरा थपिन्छ । पहिलो सन्तान जन्मिएपछि वैवाहिक सन्तुष्टि घट्दै जान्छ । जसै छोराछोरी हुर्किएर काममा व्यस्त हुन थाल्छन्, अनि मात्र खुसी फर्कन थाल्छ ।

८० वर्षे अध्ययन निष्कर्ष

सन् १९३७ मा हार्वर्ड विश्वविद्यालयका निर्देशक क्लार्क हिथबाट सुरु भएको मानिस कसरी खुसी हुन्छ भन्ने अध्ययन ८० वर्ष पुग्दा पनि रोकिएको छैन । हिथ आफू १९५४ सम्म हार्वर्डको निर्देशक थिए र उनले आफूपछिका पुस्ताले पनि यो अध्ययनलाई जारी राखून् भन्ने चाहन्थे । जसका कारण यत्तिका वर्षपछि पनि अमेरिकी यस विश्वविद्यालयले अध्ययनलाई जारी राखेको छ ।

यस अध्ययनले मानिस खुसी हुनुको मुख्य कारण जेनेटिक (जिनसम्बन्धी) र शारीरिक नियति रहेको देखाएको छ । सुरुका अनुसन्धाताहरुले शारीरिक अवस्था, बौद्धिक क्षमता र व्यक्तिलाई गरिएको व्यवहारले भविष्यमा असर पार्छ भन्ने सोचेका थिए । खुसी मापन गर्नका लागि सुरुवाती दिनमा हाडका संरचना, भृकुटी (आँखाहरूको बीच नाकको सुरु भाग), कोठीजस्ता कुराहरुको समेत अध्ययन गरेका थिए । तिनले मानिसको स्वास्थ्य र खुसी रहनमा कत्तिको योगदान हुनसक्छ भन्ने उनीहरुको अध्ययनको विषय थियो । खुसी मानिसले कसरी लेख्छ र कस्तो लेख्छ भन्नेसम्मका विषय थिए, त्यसबेला ।

यतिबेला भने अध्ययनको दायरा खुम्चिएको छ । मानिसको व्यवहारमा महŒवपूर्ण भूमिका खेल्ने डिएनएसम्मको अध्ययन हुन थालेको छ । त्यो बेला डिएनए नै पत्ता लागिसकेको थिएन र यस्तो सोच्नु साइन्स फिक्सनको उच्चतम अवस्था ठानिन्थ्यो ।

सन् १९६६ मा यस खोजमा एक जना मनोविज्ञ जर्ज भेलन्ट पनि मिसिए । उनले २००४ सम्म अध्ययन अघि बढाएका उनले सामाजिकता र सम्बन्धले मनोभावनामा खेल्ने भूमिकाका बारे खोज गरेका थिए ।

‘एजिङ वेल’ पुस्तकमा जर्ज भेलेन्टले स्वस्थ र खुसीपूर्ण जीवनका सूत्र बताएका छन् । उनको धारणामा शारीरिक सक्रियता, मद्यपान–धूमपानको परहेज, जीवनका उकालीओरालीसँग जुझ्ने परिपक्व व्यवहार र सन्तुलित वैवाहिक जीवन बाँचेको मान्छे बढी खुसी र लामो समयसम्म बाँच्ने बताएका छन् । खासगरी जीवनमा आइपरेका अप्ठेरालाई सहज किसिमले लिने र व्यवहार गर्ने मानिस लामो समयसम्म बाँच्ने र ती सुखी पनि हुने देखिएको हो ।

यस अध्ययनले निम्न कुरा देखाएको छः

– भौतिक सन्तुष्टिले मानिसको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

– खुसियालीपूर्ण वैवाहिकमा रहेका मानिस ८० वर्षको उमेरमा शारीरिक कष्ट पाए पनि उत्ति धेरै रिसाउँदैन, जति एकल मानिस झर्कोफर्को मान्ने र रिसाउने गर्छ ।

– एकल मानिसलाई बढी भावनात्मक रुपमा कमजोर हुने र दुखाईमा बढी पीडा प्रदर्शन गर्ने हुन्छ ।

– न्यानो वैवाहिक सम्बन्धमा हुने वा अन्यत्र पनि सबैसँग राम्रो व्यवहार र सम्बन्ध राख्ने व्यक्ति लामो समयसम्म बाँच्छ र खुसी हुन्छ ।

– एकल व्यक्ति चाँडै मर्ने सम्भावना हुन्छ । एकल व्यक्तिको एक्लोपना धूमपान र रक्सीचुरोटको कुप्रभावभन्दा बढी हुन्छ ।

– बढी रक्सी चुरोट नखानेको स्वास्थ्य तुलनात्मक रुपमा राम्रो स्वास्थ्य हुने र ती लामो समयसम्म बाँच्नेसमेत देखिएको छ । गज्जबको सामाजिक सम्बन्धमा रहने व्यक्तिको मानसिक स्वास्थ्य राम्रो हुन्छ ।

– आफ्नो पार्टनरप्रति विश्वस्त महिलाले बढी नै झैँझगडा गरे पनि उनीहरु कम तनाव र अवसादमा पर्छन् । त्यस्ता महिलाको मस्तिष्क शक्ति र स्मरणशक्ति कडा नै हुन्छ ।

– असल वैवाहिक र अन्य किसिमका सम्बन्धले हाम्रो शरीरको मात्र रक्षा हुँदैन, मस्तिष्क पनि रक्षा हुन्छ । राम्रो सम्बन्धको अर्थ सधैँ मायाप्रेमले भरिएको नै हुनुपर्छ र हुन्छ भन्ने छैन ।

– बुढेसकाल सुरु भएपछि आफ्नो शरीरलाई पहिलेभन्दा बढी माया प्रेम गर्नुपर्छ, के थाहा तपाईंको यो शरीर सय वर्षसम्म तपाईंको साथ नछाड्ने पो हो कि !

प्रकाशित: १ जेष्ठ २०७५ १२:२८ मंगलबार

खुसीको खोजी नागरिक परिवार