एलपी भानु शर्मा
नेपाली नयाँ वर्ष अत्यन्तै सार्थक समयमा पर्छ । यो समयमा वसन्त ऋतु, प्रकृति नयाँ हुन्छ । यो समयमा प्रकृतिमा आमूल परिवर्तन आउँछ । वनस्पतिका पुराना पात झर्छन् र नयाँ–नयाँ पालुवा पलाउँछन्, नयाँ फूलहरु फूल्छन् । वास्तवमै हामी नेपालीको नयाँ वर्ष प्रकृतिप्रदत्त छ ।
हाम्रा ऋषिमुनिले कसरी यस दिनलाई नयाँ वर्ष मनाउने भनेर तोकेका होलान् ? सनातन धर्मको प्रकृति र ईश्वरको चक्र हुन्छ । त्यही चक्रअनुसार नयाँ वर्ष मनाउन प्रारम्भ पो गरेको हो कि भन्ने पनि देखिन्छ ।
प्रकृतिसँग मिलेको नयाँ वर्ष
वास्तवमा नेपाली नयाँ वर्ष प्रकृतिसँग मिलेको छ । यो ऋतुमा प्रकृतिले आफूलाई पूरै नयाँ बनाउने काम गरेको छ । प्रायः सबै रुखमा पुराना पात झरेर नयाँ पात पलाउँछन् । वसन्त ऋतुमा कोइलीको कुहुकुहु आवाज साह्रै मनमोहक हुन्छ । अरू ऋतुको तुलनामा वसन्त ऋतुमा पक्षीहरु धेरै कराउँछन् । ती पक्षीहरुको आवाज अत्यन्त मनमोहक हुन्छ । सधैं सुनिरहुँ जस्तो यसको पनि प्रतिकात्मक अर्थ छ । यो समयमा प्रकृतिले पुरानोलाई पूरै मर्न दिन्छन् । जतिसुकै राम्रो फूल किन नहोस् त्यो पनि यो मौसममा झरेर नयाँ पलाउँछ । जति राम्रो भए पनि अर्काे वर्षलाई भनेर रहँदैन। त्यस फूललाई मर्न दिइन्छ । यसको अर्थ पुराना तौरतरिकालाई मर्न दिएको हो, हामीमा पनि वनस्पतिमा नयाँ पालुवा आएजस्तै नयाँ जोसजाँगर आउने, नयाँ तरिकाले जीवन ज्युने भनेर प्रकृतिले नै मिलाइदिएको छ ।
जसरी प्रकृतिले आफूलाई नयाँ बनाएर जिएको छ, त्यसरी हामीले तादाम्यता मिलाएका छौं कि छैनौं त । हाम्रा पुराना सोच, विचार, बुद्धि त्यागेका छाै कि छैनौं त ?
स्वभावअनुसार नयाँ वर्ष मनाउने तरिका
हाम्रो समाजमा तीन किसिमका मान्छेको बसोबास छ । पहिलो नयाँ वर्ष के हो ? कसो हो, अत्तोपत्तो हुन्न । दोस्रो बाहिरी मनोरञ्जनमा डुबेर साथीभाइ जम्काभेट गर्ने, जुवातास खेल्ने, बाहिर घुम्न जाने आदि गर्ने हुन्छन् भने तेस्रो मान्छे आत्मिकरूपमा रूपान्तरण भई हरेक दिन नयाँ वर्ष मनाउनेहरु पनि छन् । ती मानिसहरु अत्यन्तै कम छन् ।
म यो लेखमा हरेक दिन नयाँ वर्ष कसरी मनाउने ? वास्तविक नयाँ वर्ष के हो ? कसरी आत्मिक रूपान्तरण गरेर हरेक दिनलाई नयाँ वर्ष मनाउन सकिन्छ भनेर चर्चा गर्नेछु ।
अहिले मनाइने नयाँ वर्ष
अहिलेको पुस्ताले मनाउने नयाँ वर्ष भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, घुम्न जाने, मोजमस्ती गर्ने, पाटी गर्ने चलन बढ्दो छ । अहिले जुन तरिकाले नयाँ वर्ष मनाइएको छ यो केबल बाहिरी क्षणिक सुखमा मात्र सीमित छ । यसले हाम्रो जीवनमा दीर्घकालीन कुनै प्रभाव पार्दैन । पश्चिमा शैलीमा मनाउने तरिका दिन प्रतिदिन बढ्दै गएको छ ।
पुरानै सोच, पुरानै बुद्धि, पुरानै मस्तिष्क, पुरानै कार्यालय, पुरानै काम गर्ने शैली, यी सबै पुरानै गर्ने हामी नयाँ वर्ष मनाउने भन्छौं, यस्तो मा कसरी नयाँ वर्ष मानिन्छ, मनाइन्छ ? अहिलेको नयाँ वर्ष एकदिन पात्रोमा मात्र सीमित भएको छ ।
पात्रोमा मात्र सीमित नयाँ वर्षको कुनै औचित्य रहँदैन । पात्रोमा त सबै चाडपर्व आउँछन्, जान्छन् । यसमा कुनै सार्थकता भेटिँदैन । जबकि हामीले प्रकृतिमा है-यौं भने यति सार्थक बनाएको छ कि पुरानो काम नलाग्नेलाई मर्न दिएको छ, नयाँलाई जन्म दिएको छ । प्रकृतिले हरेक कुरा नयाँ दिएको छ । त्यसकारण अहिलेको पुस्ताले नयाँ वर्ष जुन तरिकाले मनाएको छ, त्यो बिलकुलै आफूलाई चिन्ने प्रकारको छैन । औपचारिकतामा आधारित रहेर नयाँ वर्ष मनाउने गरिएको छ । खासमा नयाँ वर्ष आत्मनवीकरणको विज्ञान हो ।
नयाँ वर्ष आत्मनवीकरणको विज्ञान हो
वास्तवमा नयाँ वर्ष मनाउनका लागि हामी पूरै रिन्यु हुनुपर्छ । नयाँ वर्ष आत्मनवीकरणको विज्ञान हो । हामी हिन्दूहरुको विज्ञान, यो भनेको आफ्नो समीक्षा आफँै गर्ने हो । जस्तो हाम्रो रिसाउने बानी छ, नयाँ वर्षमा पनि रिससहित गइयो भने के अर्थ भयो र ? रिस त झर्नुप-यो नि, रुखको पात झरेसरह । बिग्रेको स्वास्थ्य छ भने सुध्रिनुप-यो, बिग्रेका सम्बन्धलाई नयाँ बनाउनुप-यो । बिग्रेका सम्बन्ध लिएर जाने हो भने त्यो पात्रोमा सीमित हुन्छ । हाम्रो नयाँ वर्ष हुन सक्दैन ।
आफ्नो पूरै समीक्षा गरौं
नयाँ वर्ष मनाउँदा अब अलि फरक तरिकाले मनाऊँ । आफ्नो पूरै समीक्षा गरौं । आफ्नोे स्वास्थ्यमा कहाँ समस्या छ ? व्यक्तिगत जीवनमा कहाँ समस्या छ ? मेरो जीवनको उद्देश्य के थियो ? के गरेँ, के गरिन ? आफ्नो पूरै समीक्षा गर्ने हो । आत्मसमीक्षा नै वास्तवमा नयाँ वर्ष हो । यो कसैलाई देखाउन, सुनाउन जरुरी छैन । यो आफैँमा रूपान्तरित हुने कला हो ।
आफूप्रति पनि इमानदार रहनुप-यो । कसैसँग गरेको बाचा, अरूलाई ठग्दिन भनेका कुरा, अघिल्लो वर्ष यो यो काम गर्छु भनेको थिएँ गरेँ कि गरिन । मैले हरेक दिन व्यायाम, प्राणायाम, ध्यान गर्छु भनेको थिएँ गरेँ कि गरिन । यो वर्ष पढाइ पूरा गर्छु, नयाँ व्यवसाय सुरु गर्छु भनेको कुरा, १० जना नयाँ मान्छेसँग सम्बन्ध जोड्छु भनेका कुरा, दिगोदरिलो प्रामाणिक मित्रता गाँस्छु भनेका कुरा आदि–आदि हुन सक्छन् । के–के गरियो के–के गरिएन त्यो आफू बसेर आत्मसमीक्षा गरौं । आत्मसमीक्षा गरिसकेपछि यति कुरा काम नलाग्ने रैछ । यो छोड्दिऊँ । राम्रा गुणलाई अगाडि बढाउने कुरामा हामीले ध्यान दिनुपर्छ ।
हामीले यो समीक्षाको पाटोलाई २ घण्टामा सक्न सक्छौं । आफूले आजसम्म गरेका राम्रा काम र नराम्रा कामको लिस्टिङ बनाऊँ । नराम्रालाई छाडिदिऊँ, राम्रालाई अँगालौं । मैले आजसम्म गरेका राम्रा काम यहाँसम्म राम्रो रैछ । समग्र जीवनलाई हेरेर ७५ सालमा के गर्ने हो भनी नयाँ दृष्टिकोण बनाऊँ । त्यसको ठीकसँग दृष्टिकोण बनायौँ भने, आफैँप्रति इमानदार भयो भने कति कुरा म आफैं गर्न सक्छु भन्ने हुन्छ, कति कुरा अरूको पनि साथ चाहिन्छ भन्ने हुन्छ । अनि आफू कसरी अगाडि बढ्ने भन्ने कुरामा स्पष्ट हुन सकिन्छ ।
आत्मसङ्कल्प गरौं
हामीले आत्मसमीक्षा गरिसकेपछि के गर्ने नगर्ने भन्नेबारे स्पष्ट भइसकेका हुन्छौं । त्यसकारण आफूले गर्छु भनेका काम गर्नका लागि आत्मसङ्कल्प गर्न जरुरी छ । जस्तो हामीले पढ्छु भनेर सङ्कल्प गरेका छौं भने त्यो आफूबाट मात्र सम्भव हुँदैन । त्यसका लागि विश्वविद्यालयको सहायता लिनुपर्ने हुन्छ । आफैँ पढेर उपाधि लिन त सकिन्न । त्यसका लागि क्याम्पससँग सम्बन्ध बनाऊँ । व्यवसाय सुरु गर्नु छ, एक्लै त सकिन्न । साथीभाइको संगत गरौं । त्यस्तै मान्छे खोज्ने ऋण चाहिन सक्छ बैंकहरु खोज्ने । आफूले गर्न सक्ने कुरालाई बुँदागत रूपमा बनाऊँ । आफैँसँग आत्मसङ्कल्प गरौं ।
म अबदेखि यस्तो गर्छु, उस्तो गर्छु भन्ने र गरेरै छाड्ने व्यक्तिका लागि वास्तवमै नयाँ वर्ष आउँछ । पुरानो छोड्दिऊ । यस्तो सङ्कल्प भित्री अन्तर्मनबाट आउनुपर्ने हुन्छ । सामाजिक व्यवहारको रूपमा मात्र आएर हुँदैन ।
सामाजिक व्यवहार त असली हुँदैन । औपचारिकता मात्र हुन्छ । मन पनि घमाइलो बनाउनुपर्छ । सङ्कल्प ग-यौं भने वास्तवमै जीवन नयाँ बन्छ ।
एकपटक नयाँ वर्षको कला बुझियो भने वर्ष दिनसम्म नयाँ वर्षका लागि कुर्नै पर्दैन । एकपटक तरिका बुझेपछि वर्ष दिनलाई पर्खिन पर्दैन ।
हरेक दिन बेलुकी आफ्नो समीक्षा गराै । म कुन बाटोमा हिँडेको छु । आफैँले सोचेअनुसार हिँडेको छु कि छैन । यसका लागि करिब १० मिनेट मात्र छुट्टायौं भने पनि समीक्षा हुन्छ ।
त्यसपछि बिस्तारै आफूले गरेका नराम्रा कामलाई त्यागिदिने । अबदेखि म यस्तो गर्छु भन्ने गर्ने । नयाँ जीवन सुरु हुन्छ । नयाँ वर्ष, नयाँ सोच, नयाँ लक्ष्य, नयाँ उद्देश्य प्रकाश, नयाँ स्वास्थ्य नयाँ ज्ञान, नयाँ धारणा, नयाँ विचार, नयाँ सम्बन्धका साथ अगाडि बढ्नुपर्ने हुन्छ । बिस्तारै यसको कला सिकिन्छ । पात्रो किन पर्खनुप-यो ? यसलाई सामाजिकबाट व्यक्तिगत बनाउनुपर्छ, मनोवैज्ञानिक बनाउनुपर्छ । आत्मिक बनाउनुपर्छ । हार्दिक बनाउनुपर्छ । त्यसपछि हरेक दिन, हरेक महिना नयाँ हुन्छ ।
एक वर्ष भनेको एक्याइसौ शताब्दीको मान्छेका लागि लामो समय हो । वि.सं. सुरु हुँदा सुस्त थियो तर अहिले फरक छ प्रविधिको युग हो । हरेक दिन आत्मसमीक्षा र आत्मसङ्कल्प ग-यौं भने सबै नयाँ युगमा प्रवेश गर्छाैं । जंगलभित्र जानुभयो भने रूख मात्रै भेटिन्छ । त्यस्तै समाजभित्र गयो भने व्यक्ति मात्रै भेटिन्छ । व्यक्ति परिवर्तन हुने हो भने पूरै परिवर्तन हुन्छ ।
व्यक्तिले फरक प्रकारको सोच बनाएर काम ग-यो भने नयाँ युगमा प्रवेश गर्छ । नयाँ वर्षसँगै व्यक्ति नयाँ युगमा प्रवेश गर्छ । अबको युग भनेको प्रगतिको युग, खुसीको युग हो । सोच नयाँ बनाउनुप-यो । समीक्षा मनोवैज्ञानिक कुरा हो । आफूलाई पुनर्मूल्यांकन गर्नुपर्छ । इमानदारिताको साथ काम गरियो भने केही चाहिँदैन । हरेक दिनलाई नयाँ वर्षको रूपमा मनाइयो भने वास्तवमै व्यक्ति, समाज र देश नै चम्किन्छ।
(पोखरा विश्वविद्यालयका प्राध्यापक एवं जीवन विकास विशेषज्ञ शर्मासँग प्रजु पन्तले गरेकाे कुराकानी)
प्रकाशित: २४ वैशाख २०७५ १२:३९ सोमबार