अन्य

नुवाकोटमा गति लिँदै पुनर्निर्माण

नुवाकोटमा भूकम्प गएको तीन वर्षपछि आवास पुनःनिर्माणले बल्ल गति लिएको छ ।  निर्माण सामग्री र दक्ष जनशक्ति अभाव तथा आवास निर्माण बापत पाउने अनुदान रकमको वितरण प्रक्रिया प्रभावकारी नहुँदा सुस्त रहेको पुनःनिर्माणले पछिल्लो समय केही गति लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ।

जिल्लाका ६९ हजार दुई सय ८९ लाभग्राहीमध्ये हालसम्म घरको जग तहसम्म निर्माण सम्पन्न गरी दोस्रो किस्ताको अनुदान सिफारिस हुनेको संख्या ५० हजार ८९ घरधुरी छन् । आवास निर्माणको जग तह पूरा गरी दोस्रो किस्ताको लागि एक लाख ५० हजार रूपैयाँका लागि निवेदन दिनेको संख्या ५१ हजारभन्दा बढी भएकाले तोकिएको मापदण्ड पूरा गरेका लाभग्राहीलाई अनुदान उपलब्ध गराउन सिफारिस गरिएको इकाइ प्रमुख विदुर खड्काले जानकारी दिए । उनका अनुसार आवास निर्माण गरी दोस्रो किस्ताको अनुदान रकम लिने कूल लाभग्राही ७८ प्रतिशत छन्।

‘तोकिएको मापदण्डअनुसार आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम पाउने लाभग्राहीको संख्या निकै कम छ,’ खड्काले भने, ‘घर सम्पन्न गरी तेस्रो किस्ता पाउनेको संख्या सात हजार पाँच सय छ।’

शौचालय समेतको आवास निर्माण गरी तेस्रो किस्ता बापत एक लाख अनुदान पाउने लाभग्राही ११ प्रतिशत मात्र छन् ।
आवास निर्माण गर्ने लाभग्राही धेरै भए पनि निर्माण सम्पन्न भएको घरको प्राविधिकमार्फत् स्वीकृत नहुँदा तेस्रोे किस्ताको अनुदान पाउने लाभग्राही कम देखिएको इकाइका इन्जिनियर उरुषा शाक्यले जानकारी दिए।

सात बस्तीमा घर सम्पन्न शून्य

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको तथ्यांक अनुसार साविकका सात गाविसहरू शिखरवेशी, सामरी, समुन्द्रादेवी, लिखु, हल्देकालिका, दुईपीपल र घ्याङफेदीमा आवास निर्माण सम्पन्न हुने घरधुरी शून्य छ ।
प्रभावितले आवास निर्माण सम्पन्न गरे पनि घर परीक्षण गर्ने प्राविधिकको अभाव, दोस्रो किस्ता वितरणको समयसीमा असार मसान्तसम्म तोकिएकाले त्यसतर्फ बढी केन्द्रित भइरहेकाले तेस्रो किस्ता सिफारिस गर्न समय दिन नसकेको शिखरबेसीमा खटिएका इन्जिनियर आशिष अधिकारीले बताए। 

‘आवास निर्माण गर्ने घरधुरी संख्या शिखरवेशीमा तीन सयभन्दा बढी रहेको अनुमान छ,’ अधिकारीले भने, ‘चार जना प्राविधिकको दरबन्दी हुनुपर्नेमा असिस्टेन्ट सब–इन्जिनियर र आफूमात्र रहेकाले तेस्रो किस्ताको सिफारिस जेठ लागेपछि मात्र सुरु गर्ने योजना छ।’

चौध हजार बढीले अनुदान रकम पाएनन्

भूकम्पले आवास गुमाएका लाभग्राहीमध्ये १४ हजार पाँच सय ४६ ले निर्माण गरेको भवन तोकिएको मापदण्डअनुसार नभएको भन्दै अनुदान उपलब्ध गराउन रोक लगाइएको छ । मापदण्ड पूरा नभएका घरको प्रवलीकरण गरी बलियो बनाएर विपद् प्रतिरोधी बनाउन इन्जिनियर परिचालन गर्ने तयारी गरिरहेको इकाइका इञ्जिनियर शाक्यले बताए।

उनका अनुसार त्यसका लागि अर्को सातादेखि स्थलगत खटिएका प्राविधिकलाई तालिम दिने तयारी गरिएको छ । मापदण्ड पूरा नभएका अधिकांश आवास भूकम्पपछि बनाइएको तर, आवास निर्माणमा सहयोग पु¥याउन प्राविधिक परिचालन हुनुपूर्व बनेका घर बढी छन्।  

अनुदान लिएका १३ हजारले घर बनाएनन्

लाभग्राही सूचीमा रहेका सबैलाई घर बनाउन सुरु नै नगरी पहिलोे किस्ता रकम उपलब्ध गराउने सरकारी नीतिले नुवाकोटका १३ हजारले घर नबनाई अटेर गरेका छन्।

यहाँ रहेका ६९ हजार दुई सय ८९ लाभग्राहीमध्ये ६४ हजार ५३ परिवारले पहिलो किस्ताबापत ५० हजार अनुदान रकम लिएका छन् । पहिलो किस्ताबापत अनुदान लिएकामध्ये ५१ हजार ९ सय ६० ले मात्र घर बनाउन सुरु गरेको सरकारी तथ्यांक छ।

‘अनुदान लिएका करिब १३ हजार परिवारले अझै घर बनाउन सुरु नै गरेका छैनन्,’ इकाइ प्रमुख खड्काले भने, ‘घर नबनाउनेमा कमजोर आर्थिक अवस्था, विस्थापित भएका र केही फर्जी लाभग्राहीसमेत छन्।’  (रामहरि न्यौपाने/रासस)

प्रकाशित: २१ वैशाख २०७५ ०६:५४ शुक्रबार

नुवाकोटमा गति लिँदै पुनर्निर्माण