बाबु आमाकी एक्लो सन्तान, सिचु मानन्धर । गएको पुषदेखि १२ वर्षमा टेकिन् । अहिले बनेपास्थित रामभक्त मेमोरियल स्कूलको कक्षा ७ मा पढ्दैछिन्।
टिभीमा पत्रपत्रिकामा देशैभर भर्ना अभियानको चर्चा चुलिरहँदा उनले बाबु नवराजलाई भनिन्, ‘म पनि एक जनाको पढाइमा साथ दिन चाहन्छु ।’ हुन पनि मावलीका हजुरबा तथा समाजसेवी सिद्धिगोपाल मानन्धरसँगै सामाजिक काममा रहरले जाने गरेकी सिचुको मनमा यस्तो भावना पलाउनु स्वाभाविकै थियो।
छोरीको कुरा सुनेर खुसी भएका नवराजले जिस्क्याउँदै सोधे, ‘मैले पैसा दिएर तिमीले अरुलाई पढाउन लागेको ?’, सिचुको उत्तर थियो, ‘होइन, मेरै पैसा छ । दशैं, तिहार, बर्थडेमा जम्मा भएको पैसाले सहयोग गर्ने विचार गरेको हुँ ।’त्यसपछि उनीहरुले कहाँको र कस्तो विद्यार्थीलाई सहयोग गर्ने भनेर चिनेजानेका मानिसहरुसँग सोधखोज गर्न थाले ।
त्यसै क्रममा काभ्रेका पत्रकार केशवराज पौडेलले उनको गाउँ नजिकै विपन्न दलित परिवारको एउटा बालिकाको पढाइमा समस्या आएको कुरा सुनाए । उनले महादेवस्थान – १ ढोडिनीस्थित डेडीथुम्का माध्यमिक विद्यालयमा यस पटक कक्षा २ मा भर्ना हुनुपर्ने सबिना विकको अवस्थाबारे जानकारी गराएका थिए।
सबिनाका बाबु बुधबहादुरको दैनिकी गाउँको डेरीबाट दूधको क्यान बोकेर कुन्ताबेंसीमा लैजाने र त्यहाँबाट भारी बोकेर फर्कने थियो । त्यसैको कमाइले बालबच्चालाई खान, लाउन र पढाउनमा खर्च गर्दै आएका छन् । सबिनाका जेठा दाइ पैसा नभएकै कारण बीचैमा पढाइ छाडेर ज्यामी काम गर्न शहर पसेका रहेछन् ।
अर्को दाइ सबिनाकै स्कूलमा अहिले कक्षा १० मा पढ्दै छन् । स्कूलले दिएको जग्गाको टुक्रोमा टहरा हालेर गुजारा गर्दै आएका बुधबहादुरले भूकम्पमा भत्केको घर बनाउने अनुदान समेत नपाएका पौडेलले जानकारी गराएका थिए । ‘बाबासँग केशव अंकलले कुरा गर्नु भएपछि मलाई सबिनालाई नै सहयोग गर्नुपर्छ भन्ने लाग्यो । तर, कस्तो केटी होली ? मैले दिएको सहयोग लिने हो कि होइन, स्कूलका सरहरुले के भन्नु होला भन्ने कुराहरु सोच्दैमा त्यो रात बित्यो ।’ सिचुले भनिन्।
भोलिपल्ट उठ्ने बित्तिकै आमा रीनालाई रातभरि मनमा खेलेका कुराहरु सुनाएपछि आमाबाट पनि समर्थन पाइन् । फुपूलाई पनि यो कुरा सुनाइन् । बाबुले त स्वीकृति दिएकै थिए, आमा र फुपूको पनि साथ पाएपछि के चाहियो र उनलाई ! फुरुङ्ग हुँदै त्यस बिहानभरि सबिनालाई स्कूल जाँदा आवश्यक पर्ने सामग्रीहरुको लिस्ट बनाइन् । स्कूलबाट फर्केपछि बजार जानुपर्छ भनेर आमालाई राजी पनि गराइन्।‘पैसा जम्मा गर्दै आएको खुत्रुके फोरेँ । पैसा त धेरै जम्मा भएको रहेछ । खाजा खाएर बजार गयौं । दुई वटा स्कूल ब्याग, कापी, पेन्सिल, स्कूल ड्रेस, घर बस्ने लुगा, जुत्ता–मोजा, चकलेट किन्यौं’, सिचुले भनिन्।
सधैंजस्तै स्कूलमा गएकी सिचुलाई कक्षाबाटै लिएर बाबु–छोरी ढोडिनी पुगे । सिचुलाई धेरै पछि गाउँ देख्दा मज्जा लाग्यो । ढोडिनीको उकालोमा एक छिन दौडिन भ्याइन् पनि । उनले स्कूलकै छेउमा सबिना बस्दै आएको टहरा पनि हेरिन्।‘स्कूलकै ड्रेसमा आएको छोरीलाई देखेर त्यहाँका सरहरुले पनि अचम्म मान्नु भयो । छोरीले सबिनालाई कक्षा २ मा भर्ना गरिदिने र कक्षा १२ सम्म पढाइदिने संकल्प लिएको सुनाएपछि उहाँहरु झनै खुशी हुनु भयो’, नवराजले भने, ‘खाँचोमा रहेकी बालिकालाई यसरी पहिलो पटक सहयोग लिएर अर्को स्कूलकी छात्रा आएकोमा उहाँहरुले हामी दुवैलाई धन्यवाद पनि दिनु भयो ।’, उनले थपे।
सिचुले सबिनालाई अंकमाल गरिन् । नौलो मान्छे र आफ्नो स्कूलको भन्दा फरक ड्रेसमा आएको देखेर एकछिन सबिना लजाएको सिचुको भनाई छ, ‘कस्तो क्यूट थियो नि ऊ ।’
त्यसपछि सिचुले स्कूल ब्याग, कापी, पेन्सिल, स्कूल ड्रेस, घर बस्ने लुगा, जुत्ता–मोजा र चकलेट सबिनालाई दिइन् । सबिना फिस्स हाँसिन् । उनीहरुको हाँसोलाई नवराजले क्यामेरामा कैद गरे । हेडसरको कोठामा यो काम सकेपछि उनीहरुले स्कूलबाहिर सामुहिक फोटो पनि खिचे।
अटोमोबाइल व्यापारी नवराज र कम्प्युटर इन्जिनियर रीनाकी छोरी सिचुले यसपटक मात्रै नभई सबिनाको स्कूल तहको शिक्षा पूरा गराउनेमा प्रतिबद्धता देखाएकी छिन् । ‘उसलाई कक्षा १२ सम्म पढाउनै पर्छ । त्यस बेलासम्म म सहयोग गरिरहन्छु । पछि गएर मैले जम्मा गरेको पैसाले पुग्दैन होला । त्यतिबेला बाबा, ममी र हजुरबासँग सहयोग मागेर भए पनि बोलेको कुरा पूरा गरिछाड्छु ।’ सिचुले दृढता व्यक्त गरिन्।गीत गाउन र फूटबल खेल्न मन पराउने उनी सबिनालाई पनि आफूजस्तै प्रतिभा भएको हेर्न चाहन्छिन्, ‘पछि उसले खेलाडी बन्छु, अनि गीत गाउँछु भनेमा त्यसमा पनि मेरो साथ र सहयोग हुन्छ ।’ सिचुले थपिन् ।
प्रकाशित: १५ वैशाख २०७५ ०३:५८ शनिबार