अन्य

‘हाम्रै हेलचेक्र्याइँले सहर बिग्रिएका हुन्’

निकिता चण्डक, पूर्वमिस नेपाल

तपाईंलाई मनपर्ने ठाउँ कुन हो ?
मेरो जन्मथलो मोरङको ऊर्लाबारी हो । यो ठाउँ मलाई प्रिय लाग्छ । मैले यहीँबाटै धेरै कुराको ज्ञान लिने अवसर पनि पाएकी थिएँ ।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं देशको केन्द्रबिन्दु हो । यहाँ धेरै अवसर छन् । देशका अन्य सहरभन्दा विकसित पनि छ, काठमाडौं । यहाँ भिन्न–भिन्न पेसामा संलग्न मानिस बसोवास गर्छन्। यहाँको मौलिकता पनि भिन्दै छ । नेवारहरूको उद्गम थलो नै उपत्यका हो।

काठमाडौं नभइदिएको भए आज हामी धेरै काम वा अध्ययनका लागि अन्य देशका सहरमा पुग्नुपथ्र्यो होला । यहाँको भौगोलिक बनावट र मौसम विश्वका कुनै देशका सहरमा पनि पाइँदैन । यहाँ जाडोमा पनि ठिक्क जाडो र गर्मीमा पनि ठिक्क गर्मी हुन सक्छ । मात्र यहाँ प्रदूषण र अस्तव्यस्तता देख्दा दिक्क लाग्छ ।

यहाँको प्रदूषण र अस्तव्यस्तता कम गर्न के गर्नुपर्ला ?
मलाई सबैभन्दा मननपर्ने भनेकै प्रदूषण र अस्तव्यस्तता हो । काठमाडौं धेरै राम्रा पक्ष हुँदाहुँदै पनि केही सामान्य पक्षले सहरलाई कुरूप बनाएका छन् । सहरलाई कुरूप बनाउने जुन–जुन समस्या देखिएका छन्, तीमध्ये धेरैजसो समस्या हामीले नै निम्त्याएको हो।

हाम्रै हेलचेक्र्याइँले हाम्रा सहर बिग्रिएका हुन् । पैदलयात्रुले जथाभावी बाटो काट्ने, सरकारी कर्मचारीले पारदर्शी भएर काम नगर्ने, ट्राफिक प्रहरीले आफ्नो कारबाहीलाई चुस्त नबनाउने, सहरवासीको नैतिकता र आचरण ठीक नहुनु जस्ता कारण सहर बिग्रिएको हो ।

तपाईंको विचारमा सहरको विकास कसरी होला ?
सहरको विकाससँग जोडिएका सबै पक्षले आ–आफ्नो भूमिका र जिम्मेवारी निभाउनुपर्छ । मेरो होइन, हाम्रो भन्ने मनसाय राखेर विकासका कामतर्फ लाग्नुपर्छ । सहर सुन्दर देखिनका लागि संरचनाको पनि ठूलो भूमिका रहन्छ । उपत्यकाका संरचना एकै किसिमका छैनन् । यहाँ भवन निर्माणमा मनपरी छ । सरकारले पनि भवन निर्माणका लागि ल्याएको मापदण्ड कार्यान्वयन गराउन सकेको छैन।

सरकारको कस्तो कमजोरीले सहर बिग्रिएको होला ?
सरकार नै सहर विकासको मुख्य योजनाकार हो । ती योजना बनाउन सरकारमा पुगेका नेताको सोमत राम्रो भएन । कुनै पनि नेताले स्वच्छ मनले काम नगरेकाले नै सहर बिग्रिएको हो भन्न सकिन्छ ।

सहर विकासका लागि सहरवासीको भूमिका के देख्नुहुन्छ ?
कुनै पनि ठाउँको विकासका लागि त्यस ठाउँमा बसोवास गर्ने मानिसको भूमिका प्रमुख रहन्छ । आफ्नो ठाउँलाई कस्तो बनाउने भन्ने योजना र सोच पनि त्यहीँका मानिसले बनाउँछन् । संसारमा यस्ता धेरै ठाउँ छन्, जहाँ सरकारले भन्दा नागरिकले नै आफ्नो ठाउँलाई सुन्दर बनाएका छन् । हाम्रोमा दुवै पक्ष राम्रा भएनन् । न सहरमा बस्नेहरू सहरको विकासमा लागे, न त राजनीतिक दलहरू नै । विदेशमा बाटोलाई हेरेर विकास भए वा नभएको बुझिन्छ, हाम्रोमा त सडक अवस्था हेर्दा डर लाग्छ । ट्राफिक पुलिसले पनि बढी जाम भएको ठाउँमा हेर्दैनन् ।

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
त्यति धेरै देशका सहर पुगेकी छैन। थाइल्यान्ड, भारत, चाइनालगायत देशका सहर घुमेकी छु । छिमेकी मुलुकका सहर अति नै व्यवस्थित बनेका छन् । तर, हामीले हाम्रा सहरको विकास गर्न सकेनौँ । विदेशका प्रत्येक सहरलाई त्यहाँको कानुनले बाँधेको हुन्छ । हाम्रोमा मनपरी चल्छ । राजनीतिक दलकै कारण नेपालका सहर बिग्रिएका हुन् जस्तो लाग्छ।

विदेशका सहर कस्तो लाग्यो ?
विदेशका सहर धेरै नै सुन्दर छन् । नेपालभन्दा पछि बनेका धेरै देशका सहर नमुना भएका छन् । दुबई, मलेसिया, जापान, युरोपतिरका सहर अति नै व्यवस्थित र सुन्दर छन् ।

हाम्रा सहर र बाहिरी मुलुकका सहरबीच कस्तो भिन्नता पाउनुभयो ?
हरेक मुलुकका सहर भिन्न–भिन्न छन् । हाम्रा सहरको विशेषता र मौलिकपन अरु देशको भन्दा फरक छ र अरु देशको मौलिकता र विशेषता पनि हाम्रोभन्दा फरक हुनु स्वाभाविकै हो।

सरसर्ती हेर्दा अरु देशका सहर आधुनिक किसिमले विकास भइरहेका छन् । आधुनिकतालाई हेर्दा हाम्रा सहर अरु देशका सहरभन्दा पछाडि छन् । विदेशी सहरमा हरेक सेवा–सुविधा चुस्त हुन्छ । दुइटा ट्राफिक प्रहरीले पनि पूरै सहरलाई निगरानी राख्न सक्छन् । प्राकृतिक र ऐतिहासिक रूपमा भने हामी धनी छौँ । हाम्रा सहर कला र परम्पराले सजिएका छन्।

उपत्यका बाहिरका सहर कस्तो लाग्छ ?
ठिकै लाग्छ । पछिल्लो समय देशका धेरैजसो सहरमा जनसंख्याको चाप बढेको छ । जसरी मानिसको चाप बढिरहेको छ, त्यसैअनुरूप सहरमा विकासका काम भएका छैनन् । नेपालको सम्पत्ति भनेकै मौसम, पहाड, हिमाल र हेरिटेज हो । हाम्रोमा सयौँ वर्ष पहिलेका मन्दिर र जात्रा पर्व छन् । यसलाई सबै मिलेर संरक्षण गर्नुपर्छ।

देशको कुन सहर मनपर्छ ?
मेरो रोजाइको सहर पोखरा हो । पोखरा म एकपल्ट मात्रै पुगेकी छु । यो ठाउँ निकै सफा र सुन्दर लाग्यो । यहाँ होटल र घरको माथिल्लो तलाबाट हिमाल, फेवाताल नियाल्न पाइँदोरहेछ । सहरको सुन्दरताबारे पोखरावासी सजक पनि रहेछन् । काठमाडौं तथा अन्य ठाउँबाट पोखरा पुग्नेका लागि प्रशस्त घुम्ने र रमाउने मनमोहक ठाउँ छन् ।

आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सबैखाले सेवा–सुविधा होऊन् । सहरमा कतै पनि भद्रगोल देख्न नपरोस् । सहरमा बस्ने सबैले एकै किसिमका सुविधा उपभोग गर्न पाऊन् । सहरवासी एकअर्कामा माया देखियोस् । सहरमा कोही पनि भौँतारिएको देख्न नपरोस् ।

उपत्यकाको मनपर्ने पक्ष ?
यहाँ धेरै अवसर छन् । सेवा–सुविधा छन् । यहाँको मौसम सदावहार लाग्छ । उपत्यकाको मौसम चाख्नकै लागि विदेशी पर्यटक आउने गरेका छन् ।

यहाँको मननपर्ने पक्ष ?
यहाँको अस्तव्यस्तता देख्दा दिक्क लाग्छ । धुवाँधुलो, ट्राफिक जाम, भीडभाड र अव्यवस्थित पार्किङ उपत्यकाको चुनौती बनेको छ । सरकारी निकायले बेवास्ता गरेकाले नै सहर यति भद्रगोल भएको हो।

उपत्यकाभित्र कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
त्यति हिँड्ने फुर्सद हुँदैन । विभिन्न कार्यक्रममै व्यस्त हुन्छु । कहिलेकाहीँ फुर्सदका बेला उपत्यकाका तीनै दरबार क्षेत्रमा जाने गरेकी छु । म घुम्न नहिँडे पनि उपत्यका नजिक धेरै मनोरम ठाउँ छन्।

पछिल्लो समय पुगेको सहर ?
म भारतको नयाँदिल्लीलगायत त्यहाँका अरु सहर घुमेकी थिएँ ।

कस्तो लाग्यो ?
भारतका सहर सुन्दर छन् । जनसंख्याको चाप बढी भए पनि त्यहाँको सरकारले सहरलाई व्यवस्थित पारेको छ । सहरमा हरेक सेवा र सुविधा पाइन्छन् ।

मन भएर पनि पुग्न नपाएको सहर ?
मलाई मेरै देशको मुस्ताङ जान मन छ । यो ठाउँबारे धेरै सुनेकी छु । केही भिडियो र तस्बिरमा मुस्ताङलाई नियालेकी थिएँ । फोटो हेर्दै जाउँजाउँ लागेको छ ।
प्रस्तुति :  शिवहरि घिमिरे

प्रकाशित: १४ वैशाख २०७५ ०२:५२ शुक्रबार

हाम्रै हेलचेक्र्याइँले सहर बिग्रिएका हुन्