अन्य

अखबारी कार्टुनका आठ दशक

यसपालीको ‘अप्रिल फुल’ अर्थात् गत चैत १९ गते रविन साय्मिले एउटा अलि फरक कार्टुन बनाए । नागरिक दैनिकमा प्रकाशित हुने साय्मिको कार्टुन स्तम्भ ‘मुहूर्त’मा भोलिपल्ट छापिएको त्यो कार्टुन एकाएक हिट भयो ।

उनले गणतान्त्रिक नेपालकी राष्ट्रपतिलाई रानीको अवतारमा उतारेका थिए, कार्टुनमार्फत् । पत्रिकामा छापिएको दिन बिहानैदेखि सामाजिक सञ्जालमा कार्टुन सेयर हुन थाल्यो ।
उनी आफैँले ट्विटरमा राखेको राष्ट्रपतिको रानी अवतारले पनि केही घन्टाभित्रै ५३ रिट्विट र एक सय ३१ लाइक पायो । साय्मिको फेसबुकबाट भने केही समयमै एक सय ७८ पटक सेयर हुन पुग्यो, राष्ट्रपतिको महारानी रूप।

साय्मिले बनाएका कार्टुनमध्ये यो साह्रै चर्चित भने होइन । त्यैपनि सन्दर्भ मिल्नुका साथै क्याप्सनबिनै मन छुने अभिव्यक्ति प्रकट भएकाले हुनसक्छ, धेरैले यसलाई मन पराए । संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न जाँदा राष्ट्रपतिको सवारीले आजित जनताको मनोभावना मुखरित भएकाले नै यसले चर्चा बटुल्न पुग्यो । हुनत त्यो कार्टुनले राष्ट्रप्रमुखको सवारीमाथि मात्र होइन, गणतन्त्रमा पनि राजतन्त्रकै शैली विकास भएकोमाथि नै व्यंग्य गरेको थियो।  

तीन दशकदेखि कार्टुन कर्ममा क्रियाशील रविनले सयौँ कार्टुन बनाइसकेका छन् । तीमध्ये कतिले अत्यधिक चर्चा कमाए, कति चर्चाबिनै हराए ।अचेल हरेक पत्रिकामा दैनिकै जस्तो कार्टुन प्रकाशित हुन्छन् । प्रकाशितमध्ये कतिपय कार्टुनले निक्कै चर्चा बटुल्छन् भने कतिपयले खासै चर्चा पाउँदैनन् । कार्टुन र कार्टुनिस्टबिनै पत्रिका निकाल्ने कल्पना हुन छाडेको छ अचेल।

तर, कुनै जमाना यस्तो थियो, जुनबेला कार्टुनबिनै पत्रिका निस्कन्थे । कार्टुन छाप्न चाहनेका लागि समेत बनाइदिने कार्टुनिस्ट थिएनन् ।कार्टुन छाप्न मन भए पनि कार्टुनिस्ट नहुँदा आफैँले कार्टुन कोर्ने कोशिस गरेको नयाँ सन्देश साप्ताहिक संस्थापक सम्पादक एवं पूर्वमन्त्री रमेशनाथ पाण्डेले आफ्नो आत्मवृत्तान्त ‘कूटनीति र राजनीति’मा उल्लेख गरेका छन्।

पाण्डेले लेखेका छन्, ‘त्यसताका भारतबाट प्रकाशित हुने कार्टुनहरूको प्रसिद्ध पत्रिका शंकर्स विक्लीबाट नेपालको राजनीतिसित मिल्ने कार्टुन झिक्थेँ र नेपाली पात्रको तस्बिरलाई कार्बन कपीमा झिकेर त्यसमा टाँस्थे अनि ब्लक बनाउन पठाउँथे,’ (पृ. ३८)।

विदेशी पत्रिकामा कार्टुन छापिएको देखेपछि आफूले नेपालमा पनि नयाँ सन्देशमार्फत नै हरेक अंकमा कार्टुन छाप्न सुरु गरेको पाण्डेले लेखेका छन् । ‘नयाँ सन्देशले नै प्रत्येक अंकमा कार्टुन छाप्ने परम्परा नेपाली पत्रकारितामा सुरु गरेको हो । त्यसको सम्पूर्ण जस दुर्गा बराल (वात्स्यायन)लाई जान्छ,’ (पृ. ३८) । पाण्डेले नेपाली पत्रकारितामा दुर्गा बरालले नै कार्टुनपिताको सम्मान पाउनुपर्ने पनि उल्लेख गरेका छन्।

अखबारी कार्टुनको विकास र विस्तार राणा शासनको अन्त्यपछि हुन थालेको भए पनि त्यसअघि नै व्यंग्यचित्र बनाएको इतिहास छ । नेपाली कार्टुनिस्ट र कार्टुन अनुसन्धानकर्ताले चन्द्रमानसिंह मास्केलाई पहिलो कार्टुनिस्ट मान्ने गरेका छन् । उनले तत्कालिन राणा शासकविरुद्ध कार्टुन बनाएका थिए । १९९७ सालमा मास्केले व्यंग्यचित्र बनाएपछि उनलाई तत्कालिन शासकले सर्वस्व सहित १८ वर्षको जेल सजाय दिएका थिए।

पाण्डेले नियमित कार्टुन छाप्न सुरु गरेको नयाँ सन्देश २०१८ सालदेखि २०४२ सालसम्म प्रकाशित भएको थियो । पत्रिकालाई तत्कालिन पञ्चायत शासकले पटक–पटक बन्द गराएका थिए । पाण्डेको आत्मवृत्तान्त अनुसार पछिल्लो पटक २०२६ जेठदेखि नयाँ सन्देश नियमित प्रकाशन सुरु भएको थियो । त्यसको दुई वर्ष (२०२८ साल) पछिदेखि कार्टुन बनाउन थालेका हुन्, मोहनश्याम महर्जन अर्थात् खोकनाले।

‘त्यस बेला कार्टुन बनाउन साह्रै गाह्रो थियो,’ पुराना दिन सम्झँदै उनी भन्छन्, ‘अहिलेजस्तो टिभी थिएन, पत्रिकामा फोटो छापिँदैन थियो, जसकोबारे कार्टुन बनाउनुपर्ने हो उसैको अनुहार कस्तो छ थाहा हुन्न थियो ।’ अनुहार थाहा नभएको व्यक्तिबारे कार्टुन बनाउनु पर्दा धेरै अप्ठ््यारो महसुस हुने गरेको स्मरण गर्छन् खोकना।

‘पत्रकारले दिएको विवरणका आधारमा कार्टुन बनाउनु पथ्र्यो,’ उनी भन्छन्, ‘नमिलेर कहिलेकाहीँ त चार–पाँच पटकसम्म एउटै कार्टुन बनाउनु पथ्र्यो ।’ अहिले प्रविधिले कार्टुनकारितालाई सजिलो पारिदिएको छ । जोसुकैको पनि अनुहार कस्तो छ भनेर हेर्न फोटो कुरिरहनु पर्दैन । जसको बारेमा कार्टुन बनाउनुपर्ने हो उसैको नाम गुगलमा हालेर सर्च गर्‍यो फ्याट्ट बोलिहाल्ला जस्तो तस्बिर आइदिन्छ । खोकनालाई कार्टुनकारितामा सबैभन्दा द्रुतगतिमा भएको परिवर्तन लाग्छ यो।

विकृति विसंगतिलाई चित्रमार्फत अभिव्यक्त गर्ने विशिष्ट कला हो, कार्टुन । साहित्य, संगीतभित्र जस्तै यसका पनि विधा छन्, अनि ती विधाभित्र पनि विविधता। व्यंगचित्रलाई सम्पादकीय (एडिटोरियल), ठट्यौली (ग्याग), चित्रात्मक (इलुस्ट्रेटिभ), चित्रांश (स्ट्रिप) र सजीव (एनिमेटेड) गरी पाँच क्षेत्रमा वर्गीकरण गर्न सकिने कार्टुन अनुसन्धानकर्ता डा. रामकुमार पाँडेको तर्क छ (समकालिन साहित्य डटकम, माघ १२, ०६५)।

उनका अनुसार नेपालमा व्यंग्यचित्र बनाउने काम छापाखाना सुरु हुनुपूर्व देखि नै हुँदै आएको देखिन्छ । पाँडेले ‘नेपाली कार्टुनको एउटा कालखण्ड’ पुस्तकमा लेखेका छन्, ‘नेपालमा प्राचीन कला, संस्कृतिको विकृति र बेथिति, विडम्बना र विरोधाभाषको हास, उपहास, परिहास गरेको पाइन्छ ।

श्रीमानलाई कुचाको पुच्छर हाली भेडा बनाएको पुरानो चित्रदेखि बाँदरले सिंहशार्दूलको शौर्य हल्लाउन लागेको काष्ठमूर्ति आदि खोज्दै गए नेपालको गल्ली र मठ मन्दिरमा भेटिन्छ,’ (पृ. १०) । समकालिन साहित्यको आलेखमा उनले नेपालमा पुराना अभिलेखबाट सत्रौँ शताब्दिको दोस्रो दशकमा नेपाली हास्यचित्र राम्रै खुलिसकेको उल्लेख गरेका छन्।

अन्य खाले यस्ता हास्यचित्रको प्रयोग पौराणिक कालदेखि हुँदै आए पनि पत्रपत्रिकामा प्रयोग हुने अर्थात् एडिटोरियल व्यंग्यचित्रको प्रयोग भने राणा शासनको अन्त्यपछि मात्र सुरुवात भएको निष्कर्ष छ, ‘नेपाली प्रेसमा कार्टुन’ पुस्तकका लेखक कुन्दन अर्यालको । ‘नेपाली कार्टुनको एउटा कालखण्ड’ पुस्तकमै प्रकाशित आलेखमा उनले २००७ देखि २०१७ सालको अवधिलाई ‘नेपाली अखबारका शैशवकालीन कार्टुन कला’ भनेका छन् (पृ. १४)।

नयाँ सन्देशले अखबारमा नियमित कार्टुन प्रकाशित गर्न थालेपछि भने नेपालमा एडिटोरियल कार्टुन नियमित भएको अर्यालले उल्लेख गरेका छन् । अर्यालको कुरालाई कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन) समेत स्वीकार्छन् । कला सिक्न काठमाडौं आएका उनले नयाँ सन्देशमार्फत नै कार्टुन बनाउन थालेका थिए । ‘मैले नयाँ सन्देशबाटै कार्टुन बनाउन सुरु गरेको हुँ,’ उनी भन्छन्, ‘कार्टुन बनाउनका लागि मलाई रमेशनाथ पाण्डेले आग्रह गरेका थिए।’

नयाँ सन्देशमा कार्टुन बनाएर वात्स्यायनले खासै पारिश्रमिक त पाएनन्, ललितकला सिक्न आएका उनी प्रखर कार्टुनिस्ट भएर भने निस्किए । पञ्चायत कालमा प्रजातान्त्रिक धारको कार्टुन बनाउन थालेपछि उनी दुर्गा बरालबाट वात्स्यायन हुन बाध्य भए आफ्नै सुरक्षाका लागि । राज्यको दमनबाट बच्न उनले अँगालेको छद्म नाम नै उनलाई कार्टुनिस्टका रूपमा चिनाउने काम गर्‍यो।

पाँच दशकदेखि कार्टुनकारिता गरिरहेका वात्स्यायन आफैँ नेपाली अखबारी कार्टुनका इतिहास हुन् । पाँच दशकमा उनले समाजका विभिन्न परिवर्तनको साथ कार्टुनकारितामा आएका परिवर्तनलाई समेत नियालेका छन् । कतिपय परिवर्तनलाई त उनले आत्मसात समेत गरेका छन् भने कतिपयलाई आत्मसाथ गर्न नसक्दा नयाँ पुस्तालाई छाडिदिएका छन् । ‘पहिले कार्टुन बनाउन अहिलेजस्तो सजिलो थिएन,’ उनी भन्छन्, ‘त्यसबेला र अहिलेको तुलना नै हँुदैन, प्राविधिक रूपमा पनि र गुणत्मक रूपमा पनि।’

युरोपेली मुलुकमा १६ औँ शताब्दीदेखि नै सुरु भएको कार्टुनकारिताले नेपालमा फड्को मारेको धेरै नभए पनि यसबीच ठूलो प्रगति गरेको बताउँछन् अर्का कार्टुनिस्ट राजेश केसी । साढे दुई दशकदेखि निरन्तर एडिटोरियल कार्टुन बनाइरहेका केसीका नजरमा पत्रकारिताको व्यावसायिकतासँगै कार्टुनकारिता पनि फस्टाएको हो।

‘पहिलेभन्दा अहिलका कार्टुनमा निकै भिन्नता पाइन्छ, अझ परिस्कृत हुँदै गएको अनुभूति हुन्छ,’ केसी भन्छन्, ‘नेपाली कार्टुनको विकास रहर लाग्ने नै छ ।’ सुरुमा सामाजिक विषयमा कार्टुन बनाएका केसी अहिले भने राजनीतिक विषयमा कार्टुन बनाउँछन् । केसीले विभिन्न पत्रपत्रिकामा फलानो स्तम्भको कार्टुन स्तम्भ चलाए । अहिले अनलाइनमान पनि सोही स्तम्भमा उनी कार्टुन बनाइरहेका छन्।

अखबारी कार्टुनको विकास र विस्तार राणा शासनको अन्त्यपछि हुन थालेको भए पनि त्यसअघि नै व्यंग्यचित्र बनाएको इतिहास छ । नेपाली कार्टुनिस्ट र कार्टुन अनुसन्धानकर्ताले चन्द्रमानसिंह मास्केलाई पहिलो कार्टुनिस्ट मान्ने गरेका छन् । उनले तत्कालिन राणा शासकविरुद्ध कार्टुन बनाएका थिए । १९९७ सालमा मास्केले व्यंग्यचित्र बनाएपछि उनलाई तत्कालिन शासकले सर्वस्व सहित १८ वर्षको जेल सजाय दिएका थिए (नेपाली कार्टुनको एउटा कालखण्ड, पृ. ३२)।

मास्केलाई दिइएको कठोर सजायपछि तत्कालिन समयका कार्टुनिस्ट खुलेर बाहिर आउन सकेनन् । तर, राणाविरोधी आन्दोलनका क्रममा बनाइएका पर्चाहरूमा समेत कार्टुन प्रयोग हुने गरेको पाइएको छ । २००७ सालपछि र २०१५ सालको आम निर्वाचनका बेलाका पर्चा र पार्टीका मुखपत्रमा पनि कार्टुनको प्रयोग भयो।

वात्स्यायन २०१५ सालको चुनावी पर्चा र मुखपत्रहरूमा निकै कार्टुन प्रयोग भएको बताउँछन् । ‘संयुक्त प्रजातन्त्र पार्टीको मुखपत्र संयुक्त प्रयासमा यस्ता कार्टुन छापिएका पाइन्छन्,’ उनी भन्छन्, ‘अखबारमा नियमित प्रकाशित हुने चलन चाहिँ पछि सुरु भयो ।’

भनिन्छ, एउटा तस्बिरले हजार शब्द बोल्न सक्छ । सायद उत्कृष्ट कार्टुनले त्यसभन्दा बढी बोल्न सक्छ । त्यसैले त विश्वका कतिपय ठूला घटनापछि बनेका कार्टुनले तहल्का मच्चाउने गरेका छन् ।

अमेरिकाको वाटरगेट काण्डदेखि भारतमा इन्दिरा गान्धीले लगाएको संकटकालका बेलामा बनेका कार्टुनले त्यसबेलाको सत्ता र समाजलाई हल्लाइदिएका थिए । हुन त कहिलेकाहीँ कार्टुन र कार्टुनिस्ट ‘कन्ट्रोभर्सी’मा समेत फस्ने गर्छन्, जसरी मुसलमानका पैगम्बर मोहम्मदको कार्टुन बनाएर केही पश्चिमा कार्टुनिस्ट विवादमा परे।

नेपालका कार्टुनिस्टले बनाएका कतिपय कार्टुन पनि विवादमा नपरेका होइनन् । कतिपयले त कार्टुनकै कारण जेल समेत बस्नु परेको थियो । खासगरी पञ्चायत कालमा प्रजातन्त्रका पक्षमा कार्टुन बनाउनेलाई सरकारले दुःख दिने गथ्र्यो । २०४६ सालपछि पनि कार्टुनलाई लिएर विवाद र सरकारी पक्षबाट दुःख दिने काम नभएको भने होइन । तर, यसबेला पत्रकारिताले पनि फड्को मार्न थालेकाले बिस्तारै सरकारले समेत कार्टुन पचाउन थालेको कार्टुनिस्टहरूको अनुभव छ।

इतिहास छोटै भए पनि नेपाली कार्टुन विश्वका उत्कृष्ट कार्टुनमध्येमै पर्ने कार्टुनिस्टहरू बताउँछन् । ‘हाम्रा कार्टुनहरू कपितय हिसाबले त युरोपेली अमेरिकीकाभन्दा पनि उत्कृष्ट हुने गर्छन्,’ केसी भन्छन्, ‘पश्चिमाले बेग्लै खाले कार्टुन बनाउँछन् ।’ विभिन्न कार्टुनसम्बन्धी कार्यशालामा विदेश जाँदाको अनुभवले समेत नेपाली कार्टुन विश्वका उत्कृष्ट कार्टुन मध्येमै पर्ने देखाएको उनले बताए।

वात्स्यायनका नजरमा पनि नेपाली कार्टुन विश्वस्तरकै छन् । तर, अझै परिस्कृत भइनसकेको उनको धारणा छ । ‘हाम्रा कार्टुन युरोप–अमेरिकाकै हाराहारीमा छन्,’ उनी भन्छन्, ‘अझै हाम्रो अध्ययन पुगेको छैन, उनीहरूको अध्ययनको दायरा धेरै फराकिलो भएकाले हाम्रालाई धेरै उत्कृष्ट भन्न चाहिँ मिल्दैन।’

नयाँ सन्देशमार्फत नियमित एडिटोरियल कार्टुन प्रकाशित गर्न सुरु गरेका पूर्वमन्त्री पाण्डे अहिले पनि विदेशीदेखि नेपाली मिडियासम्मका कार्टुन हेर्ने गर्छन् । उनी विदेशी र नेपाली कार्टुन हेरेर तिनको तुलना गर्छन् । पाण्डे पनि नेपाली र भारतीय कार्टुनहरू युरोपेली तथा अमेरिकीभन्दा फरक र भिन्न खाले व्यंग्य रसले भरिएको पाउँछन्।

‘पश्चिमाले बनाउनेभन्दा यहाँका कार्टुनमा छुट्टै खालको विशिष्टता देखिन्छ,’ उनी भन्छन्, ‘यसलाई अझै परिस्कृत र विकसित बनाएर लान सकिने देखिन्छ ।’ उनी अचेल भने नेपाली अखबारले कार्टुनलाई प्राथमिकतामा नराखेको विश्लेषण गर्छन् । ‘पहिलो पेजको प्रमुख समाचारमा कार्टुन राखेकै देखिदैन अचेल,’ उनी भन्छन्, ‘कार्टुन राख्नेबित्तिकै समाचारका पाठक धेरै बढ्छन् जस्तो लाग्छ मलाई, तर किन हो अचेल त्यस्तो देखिँदैन।’

प्रविधिको उपलब्धता र आम्दानीका हिसाबले पश्चिमा कार्टुनिस्टसँग नेपाली कार्टुनिस्टको तुलना नभए पनि गुणात्मक हिसाबले उनीहरूकै हिसाबमा पुग्न सक्नु ठूलो उपलब्धी मान्छन् वात्स्यायन । ‘अन्य क्षेत्रमा युरोपेली अमेरिकीको हाराहारी पुग्न नसक्ने हामी कार्टुनकारितामा भने हाराहारी पुग्नु धेरै राम्रो कुरा हो,’ उनी भन्छन्।

व्यावसायिक अखबारको आगमन र विकासले नेपाली कार्टुनकलाको समृद्धिमा सबैभन्दा ठूलो भूमिका खेलेको छ । पञ्चायत कालभर गोरखापत्र र सीमित साप्ताहिक पत्रिकामा खुम्चिएको नेपाली पत्रकारिताले २०४६ सालपछि फड्को मारेको हो । त्यसपछि बिस्तारै अखबारको संख्या बढ्न थाले, त्यससँगै कार्टुनिस्टको माग पनि । यसले सौखका लागि कार्टुन बनाउनेले समेत व्यावसायिक कार्टुनकारिता गर्न थाले । त्यसैले धेरै कार्टुनिस्ट २०४६ सालपछिको काललाई नै नेपाली कार्टुनको व्यावसायिक विकासको कालखण्ड मान्छन्।

व्यावसायिक अखबारको वृद्धिसँग कार्टुनलाई नै पेसा बनाउन सकिने अवस्था आएको बताउँछन् कार्टुनिस्ट केसी । ‘व्यावसायिक रूपमा पत्रिकाहरू निस्कन थालेपछि नै कार्टुनिस्टले पनि जागिर पाउन थालेका हुन्,’ उनी भन्छन्, ‘त्यसले उनीहरूलाई नाम र दाम दुवै दिएको छ ।’
कार्टुनमा भविष्य बनाउने सम्भावना भए पनि नयाँ पुस्तामा कार्टुनमै लाग्ने लगन कम भएको देख्छन् केसी । ‘अहिले हामी सबैको ध्यान धेरैतिर हुन थाल्यो,’ उनी भन्छन्, ‘कार्टुनमै मात्र लाग्ने लगन धेरैमा कम भएको जस्तो लाग्छ ।’ कार्टुनमा राम्रो कमाइ हुने भएपनि अहिलेको पुस्ताले खासै महत्व नदिनुलाई उनी अनौठो ठान्छन्।

कार्टुन भनेको व्यंग्यचेत र चित्रकारिताको संगम भएकाले दुवै क्षमता भएकाले मात्र कार्टुन बनाउन सक्ने बताउँछन् कार्टुनिस्ट रविन साय्मि । दुवै क्षमताको संगम कमैमा मात्र हुने भएकाले पनि नयाँ पुस्ता कार्टुनतर्फ आकर्षित नभएको हुनसक्ने उनी बताउँछन् । ‘अहिलेको पुस्ता कार्टुनभन्दा नयाँ प्रविधिमा आधारित एनिमेसनतर्फ आकर्षित भएको देखिन्छ,’ उनी भन्छन्, ‘त्यसले पनि हो कि धेरै यसतर्फ नआएको?’साय्मि नेपाली अखबारले राजनीतिक कार्टुन धेरै रुचाउने भएकाले त्यसैको मात्र बजार बनेको बताउँछन् । ‘सामाजिक कार्टुनका लागि यहाँ खासै स्पेस नै छैन,’ उनले भने, ‘सबैले राजनीतिक कार्टुन नै बनाउन सक्छन् भन्ने छैन।’

मास्केको कार्टुनलाई पहिलो मान्दा नेपाली कार्टुनको इतिहास झण्डै आठ दशकको हुन आउँछ । यसबीच कार्टुनको प्राविधिक र गुणात्मक विकासमा धेरै परिवर्तन देखा परिसकेका छन् । काठको ब्लक बनाएर हाते प्रेसबाट छाप्नुपर्ने अवस्थाबाट जिंक ब्लक हुँदै अहिले पत्रिकाहरू डिजिटल र स्वचालित प्रेसबाट छापिन थालिसकेका छन्। हातले बनाएका कार्टुनलाई स्क्यान गर्न समेत नमिल्ने जमानाबाट अहिले सिधै कम्प्युटरमै कार्टुन बनाउन सकिने प्रविधि भित्रिसकेका छन्।

यसबीचमा प्राविधिले जति फड्को मा¥यो कार्टुनको गुणत्मकता भने उत्ति साह्रो बढ्न नसकेको जस्तो लाग्छ वात्स्यायनलाई । ‘गुणात्मक हिसाबले जत्ति विकास हुनुपर्ने थियो अझै त्यत्ति हुन सकेको छैन,’ उनी भन्छन्, ‘कार्टुनमा आउनुपर्ने व्यंग्यचेत र वैचारिक स्पष्टतामा कमजोरी देखिन्छ।’

वात्स्यायन आफैँलाई आफ्नै कार्टुनमा पनि वैचारिक महत्वलाई ध्यान पुर्‍याउन नसकेजस्तो लाग्छ । त्यसका लागि अध्ययनको कमीलाई नै उनी दोष दिन्छन्। अहिले नेपालमा बनिरहेका कार्टुन हेर्दा वैचारिक रूपमा कमजोर देखिने उनी बताउँछन् । यसैगरी बिस्तारै व्यंग्यचेत समेत कमजोर भएको हो कि ? जस्तो देखिएको उनलाई लाग्छ।सुरु–सुरुमा नेपाली कार्टुनमा बढी व्यक्तिगत घोचपेच हुने गथ्र्यो । त्यस चरणलाई पार गरेर स्वस्थ व्यंग्य गर्ने चरणमा नेपाली कार्टुन पुगे पनि अझै वैचारिक र व्यंग्यचेत कमजोर भएको उनी बताउँछन्।

दत्तचित्त भएर कार्टुनमा नै लाग्ने अवस्थामा अहिलेको पुस्ता नभएकाले पनि यस्तो समस्या देखिएको बताउँछन् कार्टुनिस्ट रविन साय्मि । कार्टुनमै समर्पित भएर लाग्ने हो भने यसैबाट राम्रो आम्दानी गर्नुका साथै प्रख्यात हुने अवस्था समेत रहने उनको तर्क छ।

विश्वस्तरमा बिक्न सक्ने कार्टुन बनाउन सके विभिन्न एजेन्सीमार्फत बिक्री गर्न सकिने उनी बताउँछन् । ‘अहिले ग्लोबलाइजेसनको बेला छ, यस्तो बेला विश्वस्तरमा बिक्ने कार्टुन बनाउँदा अवसर छैन भन्ने हँुदैन,’ उनी भन्छन्, ‘बजार हुँदाहुँदै हामीले लिन नसक्नु अर्को कुरा हो, तर अब कार्टुनबाटै राम्रो कमाइ गर्न समस्या छैन।’

साय्मिले बनाएका कतिपय कार्टुन पनि विदेशी मिडियाले क्यारी गरेका छन् । विदेशी मिडियामा बिक्ने कार्टुन बनाउनका लागि भने अन्तर्राष्ट्रिय पाठक र परिस्थिति हेर्नुपर्ने हुन्छ । त्यसका साथै विश्व राजनीतिको पनि ज्ञान हुनु जरुरी हुन्छ।

व्यावसायिक कार्टुनिस्टका आफ्नै बाध्यता होलान्, यसैमा एकाग्र भएर लाग्नु नसक्नुका । तर, आठ दशकमा विभिन्न आरोह–अवरोह पार गर्दै नेपाली कार्टुनकला परिस्कृत र विकसित बनिरहेको छ । नयाँ प्रविधिलाई अपनाउँदै विश्वस्तरका विषयवस्तुलाई समेट्न सके नेपाली कार्टुन पनि विश्वबजारमा हिट हुनसक्ने सम्भावना भने बढ्दैछ।

प्रकाशित: ८ वैशाख २०७५ ००:२८ शनिबार

अखबारी कार्टुनका दशक