अन्य

भविष्यप्रति निराश साइफाई लेखक

यस्तो पनि

मानौं भोलिको संसार सबै उच्च गतिको इन्टरनेट फाइफजी वा सिक्सजीमा आधारित भयो भने अटोमेसनमा क्रान्ति आउने छ। जसलाई जहाँ चढ्नु छ, उसले एक क्लिकका भरमा ट्याक्सी बोलाउने छ र जहाँ उत्रनु छ, उसले त्यो ठाउँलाई चिनो लगाए मात्र पुग्छ। तर, यो प्रणालीमा थोरै मात्र खराबी आयो भने के हुन्छ? साइफाई लेखकहरू भन्छन्, ‘यस्तो बेलामा सारा मानिस गाडीभित्र अड्किने छन्। उद्धार गर्न सरकारका सारा स्रोत उपयोग गर्दा पनि कयौं दिन लाग्न सक्नेछ।’

यसका लागि बेलायती प्राविधिज्ञहरू अहिलेदेखि नै त्यस्ता समस्या मात्र होइन, विश्वव्याधि, साइबर आक्रमण लगायतका नयाँ नयाँ समस्याका लागि तयार हुनुपर्ने हालै सम्पन्न साइफाई सम्मेलनमा बताइयो। यो साइफाई सम्मेलनको सुन्दरता चाहिँ सरकारी नीतिनिर्माता, वैज्ञानिक शोधकर्ता, संकट व्यवस्थापक कम्पनीहरूसँगै रक्षा मन्त्रालयले समेत सहभागिता जनाएको थियो। 

साइफाई उपन्यासकार एम्मा न्युमनले यस किसिमको वृहद् सम्मेलनले भविष्यमा आइपर्ने समस्याबारे दृष्टिकोण बनाउन सघाउने बताइन्। भविष्यमा सबैभन्दा खतरनाक अवस्था कस्तो हुन्छ र त्यसबाट कसरी जोगिने भन्नेबारे लामो समयदेखि विज्ञान लेखकहरूले लेखिरहेका छन्।

सरकारी तवरमा भने पहिलो पटक यसरी साइफाई लेखकहरूलाई भेला गरेर उनीहरूलाई छोटा घटना बनाई पात्रहरूमार्फत कुरा बुझाउने सम्मेलन गरिएको थियो। ब्रिटिस साइन्स फिक्सन एसोसिएसनका अध्यक्ष तथा कोभेन्ट्री विश्वविद्यालयका लेक्चरर एलेन स्ट्राउडले बेलायतले अर्को शताब्दीमा के के समस्या भोग्न सक्छ भन्नेबारेमा आफ्ना धारणाहरू व्यक्त गरेका थिए। 

यसअघि गत वर्ष बेलायती रक्षा मन्त्रालयले साइफाई लेखकहरू भेला पारी प्रविधि विषयमा आधारित कथाहरू प्रकाशन गरेको थियो। रक्षा मन्त्रालयले ती कथाहरू आफ्नो वेबसाइटमा राखी, तिनले व्याख्या गरेका समस्यामाथि बेलायती सेनाले भविष्यमा कसरी संकट व्यवस्थापन गर्छ भनी चर्चा चलाएको थियो। यो कार्यक्रम त्यसैको विस्तृतीकरण रहेको मन्त्रालयले जनाएको छ। 

बेलायतमा यस्तो भेला पहिलो पटक गरिएको भए पनि अमेरिकामा भने साइफाई लेखकका कथालाई गम्भीरतापूर्वक लिने गरिएइको छ। कतिसम्म भने अमेरिकी साइफाई लेखक ल्यारी निभेन र जेरी पावरनेलजस्ता लेखकहरूलाई राष्ट्रपति रोनाल्ड रेगनले आफ्नो सल्लाहकार बनाएका थिए। उनीहरूले ‘स्टार वार्स’लाई लोकप्रिय बनाउन भूमिका खेलेका थिए। 

सन् २००१ सेप्टेम्बर ११ मा न्यूयोर्कमा आक्रमण भएपछि अमेरिकाको रक्षा मन्त्रालयले हलिउड फिल्मका पटकथाकारलाई भेला गरी आउँदा दिनमा अमेरिकामाथि कुन प्रकारले आक्रमण होला भनी रायसल्लाह लिएको थियो। 
प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ९ माघ २०८१ ०९:०२ बुधबार

#NagarikDaily