अन्य

हराए मेयरका १०१ योजना

‘मलाई चुनावमा जिताउनुस् । सय दिनमा एक सय एक काम गरेर देखाउँछु ।’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनअघि मतदाताको घरदैलोमा पुगेर गरेको प्रतिवद्धता हो यो।

उनको प्रतिबद्धता कार्यान्वयन हुन्थ्यो भने अहिले काठमाडौंको पहिचान फेरिसकेको हुन्थ्यो। फराकिला सडक, हरियाली वातावरण र सुविधा सम्पन्न केन्द्रीय राजधानी बनिसक्थ्यो। काठमाडौंबाट बाहिरिँदा कसैले पनि ‘गुड बाई, धुल्माडौं’ भनेर फेसबुकमा पोस्ट गर्देनथे।
गत जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट काठमाडौंको मेयरमा शाक्य निर्वाचित भए । त्यसको तीन दिनपछि जेठ १७ गते उनले कार्यभार पनि सम्हाले । त्यसयता आइतबार (आज)सम्म ३ सय १३ दिन पुगेको छ।

यो अवधिमा शाक्यले प्रतिबद्धता गरेका नागरिकमैत्री आचारसंहितादेखि महानगरलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ–गभर्नेन्स सिस्टम सुरु गर्नेसम्मका काम भएको देखिँदैन । यस्तै, महानगरलाई साइकल सिटी बनाउने, खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरी धुलो र खाडलरहित सडक बनाउने, धुवाँधुलो न्यूनीकरण गरी ‘नो मास्क सिटी’को अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि पूरा हुन सकेको छैन । सडक बाटोमा थुपारिएका निर्माण सामग्री हटाउने, सुपथ मूल्य पसल खोल्ने, सार्वजनिक सुनुवाइ गर्ने, स्मार्ट कार पार्किङ बनाउनेलगायत प्रतिबद्धता पनि अलपत्र छन्।

सय दिनभित्र सम्पदा क्षेत्रको विकास र प्रवर्द्धनका लागि विशेष योजना बनाउने प्रतिबद्धता गरेका मेयर शाक्यले भत्केका सम्पदा उठाउन चासो नदेखाएको बुझिन्छ । बरु, सम्पदाको पुनर्निर्माणमा उनी विवादमा मुछिए । ऐतिहासिक महत्वको रानीपोखरी र बागदरबारको पुनर्निर्माणका क्रममा उनी विवादित बने।

‘उहाँ (मेयर शाक्य) आफूले उठाएका योजना नै पूरा गर्ने पक्षमा देखिनु हुन्न,’ काठमाडौं– १६ का अध्यक्ष मुकुन्द रिजाल भन्छन्, ‘यही पारा हो भने सय दिनमा गर्ने भनिएका एक सय एक काम पाँच वर्षमा पनि पूरा हुने छाँट देखिँदैन ।’मेयर शाक्य दैनिक कार्यालयको कामबाहेक अन्य काममा केन्द्रित हुने गरेका छैनन् । बिलासी गाडीमा हुइँकिने उनी कार्यक्रम उद्घाटन, विदेश भ्रमण, गोष्ठी, पार्टी बैठक तथा कार्यकर्ता भेटघाटमा व्यस्त हुने गरेका छन्।

बिलासी गाडीमा हुइँकिने मेयर शाक्य कार्यक्रम उद्घाटन, विदेश भ्रमण, गोष्ठी, पार्टी बैठक तथा कार्यकर्ता भेटघाटमै व्यस्त हुने गरेका छन् ।
 

मेयर शाक्यले जनगुनासोको समेत ख्याल नगरेको महानगरकै कर्मचारी बताउँछन् । यसले नतिजा देखिने र जनताले महसुस गर्ने गरी कुनै काम हुन सकेको छैन ।‘आफैंले प्रतिबद्धता गरेका काम मेयरज्यूले गर्न सक्नुभएन,’ रातोपुलकी सम्झना अर्याल भन्छिन्, ‘वर्षदिन पुग्नै लाग्दा पनि जनअपेक्षानुसार काम नगरेपछि मेयरज्यूको नेतृत्वमै प्रश्न उठेको छ ।’ कार्यभार सम्हालेको १० महिनासम्म पनि ‘सामान्य काम’ मात्रै गरेकाले उनको अहिलेसम्मको कार्यकाल ‘असफल’ भएको उनले बताइन्।

उनको कार्यशैलीप्रति जनता मात्र होइन, पार्टीलेसमेत प्रश्न उठाएको छ । एमालेभित्र मेयर शाक्यले अपेक्षाकृत काम गर्न नसकेको आलोचना हुन थालेपछि पार्टीले छायाँ मेयरका रूपमा राजेन्द्र स्थापितलाई पठाएको स्रोतको दाबी छ । महानगर कार्यपालिकाको नवौं बैंठक (असोज ९ गते )ले स्थापितलाई जनसम्पर्क तथा सूचना सल्लाहकारको रूपमा नियुक्त गर्‍यो।

तर पनि महानगरको काम कारवाहीमा परिवर्तन आउन सकेको छैन । स्थापितले भने मेयर शाक्यबाट ‘ठूलो’ जिम्मेवारी नदिएकाले प्रभावकारी भूमिका खेल्न नसकेको बताउँछन् ।स्रोतका अनुसार पार्टीले आफूप्रति विश्वास नगरेर स्थापितलाई पठाएको भन्दै शाक्य स्थापितलाई जिम्मेवारी दिन पक्षमा छैनन्।

स्थानीय तहमा शाक्यका प्रत्यासी रहेका नेपाली कांग्रेसका राजुराज जोशी भने शाक्यले चुनाव जित्नकै लागि सय दिनमा एक सय एक प्रतिबद्धता गरेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘प्रतिबद्धता त पूरा गरेनन् नै । जसरी काम गर्नु पथ्र्यो, त्यसरी काम गर्न पनि सकेनन् ।’
मेयर शाक्यले कामै नगरेका भने होइनन् । वृद्धभत्तामा दुई हजार थप्ने, सार्वजनिक जग्गा खोज्ने, सम्पदा क्षेत्रमा वाइफाइ जोड्नेलगायतका काम गरेका छन् । तर, ती कामले मात्रै महानगरवासी सन्तुष्ठ देखिएका छैनन्।

खाल्डाखुल्डी सडक, ट्राफिक जाम, धुलोधुवाँले महानगरवासी हैरान छन् । यी समस्याको समाधान नभएको महानगरवासीको गुनासो छ ।‘हामीले जनप्रतिनिधिबाट धेरै अपेक्षा राखेका पनि थिएनौं,’ बौद्धका आङबाबु शेर्पाले भने, ‘सडक बनाउने, हरियाली वातावरण बनाउने, धुलो नियन्त्रण गर्ने, जाम घटाउने लगायत काम मात्रै गरेको भए खुसी हुन्थ्यौं ।’

महानगरमा वर्षेनी ११ अर्बको बजेट छ । त्यसकारण पनि काम गर्नका लागि आर्थिक अभाव नहुने महानगर राजस्व विभागका कर्मचारी बताउँछन् । मेयर शाक्यले चाहे योजना बनाएर कार्यान्वयन गर्न सक्ने महानगरकै कर्मचारी बताउँछन् । तर, उनले कार्यकारी अधिकृतको भन्दा कम योजना ल्याउने गरेको कर्मचारीले बताए ।

यहाँका समस्या समाधानका लागि मेयर शाक्य नपाउने स्थानीय गुनासो गर्छन् । ‘हामीले सम्पदा पुनर्निर्माणका विषयमा छलफल गर्न धेरै पटक समय माग्यौं,’ वसन्तपुरका गणपतिलाल श्रेष्ठले भने, ‘चुनावअघि सबैलाई समेटेर काम गर्छु भन्ने शाक्य अहिले भेट्ने समयसम्म मिलाउँदैनन् ।’ शाक्यले सम्पदा पुनर्निर्माणलाई बेवास्ता गरेको उनको आरोप छ । महानगरका कर्मचारीले भनेअनुसार गरेकाले नै शाक्यले केही काम गर्न नसकेको उनको भनाइ छ।

‘कुन कर्मचारी कस्तो भनेर उनले चिन्न सकेनन्,’ श्रेष्ठले भने, ‘कर्मचारी आफ्नो फाइदाको लागि सोच्छन् । तर, मेयर शाक्य त्यो कुरा बुझ्न सक्दैनन् ।’ मेयर शाक्यले भ्रष्ट कर्मचारीलाई काखा र काम गर्न चाहना भएकालाई पाखा गर्दा केही काम गर्न सकेका छैनन् ।

उनको आरोपलाई मेयरको कार्यशैलीले पनि पुष्टि गरेको छ । मेयरमा निर्वाचित भएलगत्तै शाक्यले कर्मचारीको सरुवा गर्नु यसैको उदाहरण हो । पार्टीको आडमा रहेर कर्मचारीलाई काखा–पाखा गरेपछि कतिपयले शाक्यलाई असहयोग गर्दै आएको बुझिएको छ।शाक्यको कार्यशैलीलाई उपमेयर हरिप्रभा खड्गीसमेत सन्तुष्ट छैनन् । उपमेयर खड्गी कांग्रेसबाट निर्वाचित हुन्।

यता मेयर शाक्य भने चुनावका बेला गरेका एक सय एक प्रतिबद्धता क्रमिक रूपमा पूरा भइरहेको बताउँछन् । ‘सबै कुरा रातारात पूरा हुँदैन,’ मेयर शाक्यले भने, ‘एकपछि अर्को गर्दै एक सय एक काम पूरा हुन क्रममा छन्।’

आफूमाथि मिडियाकर्मी खनिएको र यसले गर्दा राम्रा काम प्रचार हुन नसकेको उनको भनाइ छ । ‘गर्छुभन्दा पनि गर्न दिँदैनन्,’ शाक्यले उदाहरण दिँदै भने, ‘रानीपोखरी बनाउँदा विवाद भयो, विवाद समधानको लागि विज्ञ समिति बनाइयो । विज्ञ समितिले मल्लाकालीन शैलीमा बनाउन भन्यो । तर, त्यो शैलीमा बनाउन म तयार रहँदा कसैले सर्मथन गरेनन् ।

अनि कसरी गर्न सकिन्छ त काम ?’ सबैले सहयोग गर्ने हो भने प्रतिवद्धता पूरा गर्न सकिने शाक्यले बताए ।कानुनी अड्चनसँगै जनप्रतिनिधि र कर्मचारीकै असहयोगले काम गर्न गाह्रो रहेको शाक्यले बताए ।‘आफूले उठाएका प्रतिबद्धताबारे जानकार छु,’ मेयर शाक्यले भने, ‘मेरो कार्यकालमा ती काम जसरी पनि पूरा गर्छु । मेरो कार्यकालको उपलब्धि हुने गरी पाँच वर्षभित्र काम गरेरै बाहिरिन्छु।’

प्रकाशित: २६ चैत्र २०७४ ०३:२७ सोमबार

हराए मेयरका १०१ योजना