अन्य

जसका लागि आरक्षण, उनैले पाउँदैनन् सिट

केही दिनअघि भैंसेपाटी–रत्नपार्कको गाडीमा गोपाल खड्का (६१) सकिनसकी उभिएका थिए। अग्ला कदका खड्काको असहजता सजिलै अनुमान गर्न सकिन्थ्यो।

ज्येष्ठ नागरिक र अपांगका लागि छुट्याएको सिटमा अन्दाजी १७÷१८ वर्षका दुई युवा बसेका थिए।

प्रायः भरिभराउ हुने खोकना, बुङमतीको गाडीमा उभिन पनि मुस्किलले पाइन्छ। यात्रुहरू सिटमा बसेर प्यासेज (बीचको हिँड्ने भाग)मा तीन लहरमा यात्रु उभ्याइन्छ।

भैंसेपाटी चोक पुग्दा खड्काले ती युवालाई भने, ‘ए भाइ ! यो त हामी बस्ने सिट भनेर छुट्याको रै’छ। तिमी बसेछाैं।’ ज्येष्ठ नागरिक सिटमा बसेका एक युवाले रुखो स्वरमा जवाफ दिए, ‘तपाई कहाँसम्म जाने हो?’

खड्का बोले, ‘रत्नपार्कसम्म।’ सबै उभिएका यात्रुको मुखमा आँखा डुलाएपछि छेउमा बसेका एक युवा गाह्रो मान्दै उठे। त्यसपछि खड्का सोही सिटमा गएर खड्का बसे। अर्का युवा भने रिसाहा अनुहारमा सोही सिटमा बसिरहे।

सार्वजनिक यातायातमा देखिएको यो दृश्य उदाहरण मात्र हो। सार्वजनिक यातायातमा आरक्षण गरिएका सिटमा लक्षित वर्ग बस्ने पाउँदैनन्। ती सिटमा युवाको हालीमुहाली चल्छ। कसैले अधिकार खोज्दै सिट छाड्न आग्रह गर्दा पनि उनीहरू सजिलै छोड्दैनन्।

खोकना गाउँबाट तोरीको तेल, तरकारीलगायत सामग्री बेच्न सहर आउने खड्का प्रायः उभिएरै यात्रा गर्नुपरेको बताउँछन्। ज्येष्ठ नागरिकका लागि छुट्याएको सिटमा अन्य वर्गका व्यक्ति बस्ने गरेको र उनीहरू उठ्न नभन्दासम्म सिट नछाड्ने गरेको उनले बताए।

‘अधिकार माग्न खोज्दा कोही त झगडा नै गर्छन्,’ उनले दुखेसो पोखे, ‘त्यसैले छोड्नेजस्तो मानिस देखिए बोल्छु, नत्र उभिएर यात्रा गर्छु।’

सार्वजनिक सवारी साधनमा महिला, अशक्त, अपांग र ज्येष्ठ नागरिकका लागि ६ सिट आरक्षण गरिएको छ। तर, ती सिट लक्षित वर्गभन्दा पनि अरुले प्रयोग गरिरहेको देखिन्छ।

‘उभिएर यात्रा गर्दा निकै गाह्रो हुन्छ। ढाड र हड्डीको समस्याले धेरै समय उभिन पनि सक्दिनँ,’ उनी भन्छन्, ‘बूढो मान्छे देखेपछि त्यसै पनि सिट छोड्नु पर्ने हो। तर, यहाँ त आरक्षण गरेकै सिट पाइँदैन।’

सार्वजनिक सवारीमा आरक्षण सिट छुट्याए पनि अन्य वर्गले ‘कब्जा’ गर्ने गरेको खोकनाका बुद्धिबहादुर डंगोल (५६) बताउँछन्। उनी भन्छन्, ‘जसले जे गरे पनि हुन्छ भन्ने छ, नियम कानुन छैन।’

महिलाले नै महिलाले वास्ता नगर्ने उनी बताउँछन्। ‘भर्खरका युवती÷महिला महिला सिटमा बसेका हुन्छन्। तर, पाका उमेरका चाही उभिएर यात्रा गर्छन्।’

काठमाडौंको नगर बसका गाडी चालक नारायणप्रसाद अधिकारी पनि लक्षित वर्गलाई छुट्याएको सिट छाड्न कोहीले आनाकानी गर्ने गरेको बताउँछन्। ‘धेरैले भनेपछि सिट छोड्छन् । कोही भने बुझेर पनि नबुझे जस्तो गर्छन्,’ उनले भने। आरक्षण गरिएको सिटमा लक्षित वर्गलाई बसाउन आफूले पनि पहल गरेको उनले बताए।

उनी २२ वर्षदेखि गाडी चलाउँदै आएका छन्। यसअधि उनले उपत्यकाबाहिर लामो दूरीको बस पनि चलाएका थिए।

यद्यपि, पछिल्लो समय मानिस दयावान भएको उनको बुझाइ छ। ‘अशक्त, अपांग, ज्येष्ठ नागरिक, गर्भवती तथा बच्चाको आमा उभिएको देखेपछि अहिले धेरैले सिट छाड्छन्, चाहे त्यो अांरक्षण होस् या अरु,’ उनले भने। सुरुमा आरक्षणबारे जानकारी नहुँदा सिट छोड्न झगडा गरे पनि अहिले भने छोडिदिने गरेको उनले बताए।

केही दिनअघि हेमप्रशाद ढकाल (६३) ग्रिनल्यानचोकदेखि गोंगबुसम्म उभिएर यात्रा गर्दै थिए, एक युवाले उनलाई सिट छोडिदिए। आरक्षण नभएको सिटमा बस्नु भनेर सिट छोड्दा खुसी लाग्ने उनी बताउँछन्।

रिटार्यड आर्मी रहेका उनी सार्वजनिक सवारीले नियम पालना नगरेकोमा दुखेसो पोख्छन्। यात्रुको सिटभन्दा बढी चापमा यात्रु राख्ने, मनपरी ढंगबाट सवारी चलाउने गरेको गुनासो उनको छ।

‘युवाले ज्येष्ठ नागरिक देख्दा पनि छोड्दैनन्, छोड्नु भनेर अनुरोध गर्नु पर्छ, सह–चालकलाई पहल गर्न लगाउनुपर्छ,’ उनले भने, ‘पढेलेखेका शिक्षित वर्गले नै अशक्त, ज्येष्ठ नागरिकलगायतलाई आरक्षण सिट नछोड्नु लाजमर्दो कुरा हो।’ सिट आरक्षण गरेर मात्र होइन, नियम व्यवहारमा कार्यान्वयन गर्न जरुरी रहेको उनी बताउँछन्।

प्रकाशित: २४ चैत्र २०७४ ०४:२८ शनिबार

जसका लागि आरक्षण उनैले पाउँदैनन् सिट