–सृजना पाण्डेय
हिजोआजका बालबालिका घरको खाजा भनेपछि दिक्क मान्छन्, खान मान्दैनन् र भरसक बाहिरकै अस्वस्थकर खान्कीतर्फ नजर लगाउँछन् । घरको नखाइदिँदा र बाहिरका खाजामा बल गर्दा त्यसले कैयौँ किसिमका समस्या निम्तने गर्छन् । यसले बालबालिकालाई तत्कालिक मात्र होइन दीर्घकालिक असर पनि पार्ने हुन्छ । त्यसैले अधिकांश बाबुआमालाई आफ्ना सन्तानले घरकै सुहाउँदिलो खान्कीतर्फ आकर्षित भए हुन्थ्यो भन्ने सोच्छन् । यसका लागि हामीले केही प्रयोग गर्न सक्छौँ ।
– घरमा बाबुआमाले टिफिनका लागि फरकफरक किसिमको खाजा बनाइदिने, ताकि उसलाई बाहिरी खाजाभन्दा घरको खाजामा रुचि बढोस् ।
– अफिस नजाने आमाहरुले स्कुल जाने बच्चालाई टिफिनकै समयमा खाजा बनाएर लगिदिँदा बच्चाले तातो र स्वादिष्ट खाजा खान पनि पाउने हुँदा झनै राम्रो हुन्छ ।
– घरमा नबस्ने, अफिसमा काम गर्ने आमाहरुलाई भने यो सम्भव हुँदैन ।
– बाहिर बाटोमा हिँड्दा अरूको बच्चाले जे खायो त्यही खाने भनी सताउँदा प्रथमतः उनीहरूलाई फकाइफकाई घरमा ल्याउने र उनीहरूलाई मनपर्ने खाजा बनाएर खुवाउने ।
– प्रायः बच्चाले अथवा ठूलाले पनि पानीपुरी चटपटे बढी मात्रामा मन पराउँछन् । त्यसका लागि घरमा पानीपुरी चटपटेको सामग्री ल्याएर आफैंले बनाई खुवाउन र खान सकिन्छ ।
– गृहिणीलाई बिहान घरको कामका साथै खाना बनाउने ख्याउने यताउता गर्दा बच्चालाई खाजा बनाउने फुर्सद नभई आमाहरूले बाहिरको खाजा टिफिनका रूपमा राख्दिनु बाध्यता हुन जान्छ । जसले गर्दा बच्चाले बाहिरको खानेकुरा खान बढी रुचि राख्छन् ।
– त्यसका लागि आमाले कुन बार कुन खाजा लगिदिने भन्ने रुटिन बनाउनुपर्छ ।
– त्यही रुटिनअनुसार अघिल्लो साँझ नै टिफिनका लागि सामग्री तयार गरिदिनुपर्छ ।
– बिहान एकछिन चाँडो उठेर भए पनि आमाहरूले खाजा बनाउने समय निकाल्नुपर्छ । जसले गर्दा बच्चामा बाहिरको खाजा खाने बानी हट्नुको साथै बच्चाको स्वास्थ्य पनि राम्रो हुन्छ । आमाहरु पनि मेरो बच्चाले मेरै हातले तयार पारेको शुद्ध खाजा खाएको छ भनी सन्तुष्ट हुन्छन् ।
– बच्चाले कहिलेकाहीँ स्कुलको टिफिनमा पैसा मागेर स्कुलकै क्यान्टिनमा खाजा खाने भन्छन्, यस्तो अवस्थामा उनीहरुलाई पैसा भने दिनु हुँदैन किनभने बच्चाले पैसा हराउन पनि सक्छ । अभिभावक आफैँ गएर सर वा म्यामलाई पैसा दिई यो खाजा खान भन्नु भनेर जानकारी दिनुपर्छ । यसो गर्दा बच्चाको स्वास्थ्यमा ख्याल गर्न सकिन्छ ।
– पैसा दिने बानी ग¥यो भने उसले त्यो पैसा खाजाको रूपमा प्रयोग नगरी अन्यत्रमा खर्च गर्न सक्छन् । त्यस्तै खाजा पनि उनीहरुको उमेर सुहाउँदिलो नछान्न सक्छन् । यसकारण आफ्नो घरमा जे छ, त्यसैलाई राम्रो सँग मिलाएर समय निकालेर बच्चालाई खाजा (टिफिन) तयार गरिदिनुपर्छ ।
– कहिलेकाहीँ बच्चाले बाहिरको खाजा खान हदैसम्म जिद्दी गर्छन् । यस्तो अवस्था आउँदा आफँैले चिरपरिचित राम्रो ठाउँमा लगेर बच्चालाई खाजा खुवाइदिनुका साथै आफूले पनि खाँदा बच्चा रमाउँछन् । कहिलेकाहीँ बाहिर खाने कुरामा कञ्जुस्याइँ गर्नु हुँदैन । बालबालिकाको चाहनामा कहिलेकाहीँ साथ पनि दिनुपर्छ । यसोगर्दा आमाबाबु र बच्चाको माया अझै गाढा बन्दै जान्छ । अनि आमाबाबुले भनेको कुरा पनि बच्चाले मान्ने हुन्छन् ।
– सकेसम्म बाबुआमा नभए बाबुआमामध्ये एकजनाले कहिलेकाहीँ बच्चालाई समय निकालेर घुमाउने गर्नुपर्छ । यसो गर्दा उनीहरू अझ खुसी हुन्छन् र उनीहरुको अटेरीपन कम हुनसक्छ ।
– बच्चालाई घुमाउन लैजाँदा घरमै बनाएको खाजा लैजानु पर्छ ।
– बच्चासँग बाबुआमाले साथीकै व्यवहार गर्न जान्नुपर्छ अनि मात्र बच्चाले बढीभन्दा बढी हाम्रो कुरा पनि सुन्ने हुन्छन् ।
– बाबु वा आमाले बच्चालाई प्रत्येक दिन कम्तीमा पनि १ घण्टाको समय निकालेर उनीहरूको थोरै भए पनि गाइड गरिदिनुका साथै उनीहरूसँग साथीकै रूपमा व्यवहार गरियो भने बच्चाले सबै कुरा खुलस्त रूपमा बाबुआमासँग भन्छ किनकि बच्चाको सबै कुरा बुझ्नका लागि पनि बाबुआमालाई सहज हुन जान्छ । आमाबाबुले आफूले भनेको कुरा मान्ने गराउनका लागि आफूले पनि केही कुरा मानिदिनुपर्छ ।
प्रत्येक बालबच्चाका अभिभावकले बालमनोविज्ञानको शिक्षा अवश्य लिनुपर्छ । यो शिक्षा लिएका अभिभावकलाई आफसेआफ बच्चाको व्यवहार यस्तो हुन्छ भन्ने थाहा हुन्छ र त्यहीअनुसार सम्झाइबुझाई बच्चालाई कसरी ख्वाउन सिकाउने, कसरी पढाउन लेखाउन सिकाउने भन्ने ज्ञान वृद्धि हुन जान्छ ।
प्रकाशित: १९ चैत्र २०७४ १३:१७ सोमबार